गत शनिबार बेलुकातिर जानकी मन्दिर अगाडिको मुख्य सडकमा गाईको हुललाई एउटा साँढेले लेखेट्दै थियो। गाईको आतेसको भागदौड देखेर सवारीचालकहरू गाडीको गति घटाउँदै एक छेउ लाग्दै थिए। पैदलयात्रीहरू डराउँदै तर्किंदै थिए।
जनकपुरको सबैभन्दा व्यस्त उक्त सडकमा साना गाडी, रिक्सा र मोटरसाइकलका चालक तथा पैदलयात्री साँढेको आक्रमण परिने र गाईको बथानले कुल्चिने डरमा देखिन्थे। भाग्दै गरेको गाईको बथानबाट जोगिन अघि बढेको एउटा मोटरसाइकल र ई–रिक्सा आपसमा ठोक्किए।
ती दुबै मन्द गतिमा रहेकाले ठूलो दुर्घटना भएन, दुबै साधनका यात्रुलाई सामान्य चोट लाग्यो।
स्थानीय भुक्तभोगीहरूका अनुसार छाडा चौपायाका कारण जनकपुरको सहरी क्षेत्रमा सवारी दुर्घटना हुनु सामान्य जस्तो भइसकेको छ। पैदलयात्री र सबै किसिमका सवारीचालक कहीँ न कहीँ छाडा चौपायाको जम्काभेटमा पर्छन्।
सडकमा जताततै देखिने एकदुई वटादेखि बथानका बथान चौपाया नियन्त्रणका लागि सरकारी स्तरबाट कुनै पनि प्रयास हुन सकेको छैन।
‘कुनबेला कहाँबाट आएर (चौपाया) ठोक्किन्छ थाहा हुँदैन। हर्न बजाउँदा पनि साइड लाग्दैन। एकपटक साँढेले मेरो रिक्सा पल्टाइदियो। मेरो ज्यान जोगियो तर लाइट फुट्यो,’ रिक्सा चालक वीरेन्द्र मुखियाले भने, ‘नगरपालिकाले वास्तै गरेको छैन, पुलिसलाई पनि मतलब छैन।’
सडकमा छाडा रहेका गाईगोरु कतै फोहर त कतै प्लास्टिक चपाउँदै हुन्छन्। कतै सडक ढाकेर बसेका वा हिँड्दै गरेका हुन्छन्।
मधेश प्रदेशको राजधानी जनकपुरका भित्री सडकमा पनि गाईका बथान देखिन्छन्। गाईसँगै तिनका बाच्छाबाच्छी पनि हुन्छन्। घोडा र सुँगुर पनि देखिन्छन्।
जनकपुर–ढल्केवर ६ लेन सडकको मुजेलिया, पिडारीचोक, रामानन्दचोक, जिरोमाइलसम्म गाईवस्तुको बथान देखिन्छ।
छाडा चौपायाले पैदलयात्री र सवारी चालकलाई समस्यामा त पारेकै छन्, चौपाया समेत जोखिममा हुन्छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका अनुसार चालु आर्थिक वर्षको माघसम्ममा धनुषामा गाडीको ठक्करबाट ५ वटा चौपाया मरेका र ५ वटा घाइते भएका छन्। अधिकांश दुर्घटना जनकपुर बजार क्षेत्रमै भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक शेखरकुमार साहले बताए।
उनका अनुसार गत आर्थिक वर्ष सडकमा ९ वटा चौपाया मारिएका थिए।
सडकमा छाडा देखिने अधिकांश गाई र अन्य चौपाया घरपालुवा नै हुन्। तिनका धनीले नै जानजान सडकमा छाडेका हुन्। कतिपय चौपाया बेवारिसे छन्, रातदिन सडकमै हुन्छन्।
छाडा चौपायाले जनकपुरधामको ट्राफिक व्यवस्थापनमा असर पारेको छ।
स्थानीयवासी ओमप्रकाश साह भन्छन्, ‘दिनभर सडकमा छोड्ने, दुहुने बेला घर लैजाने र फेरि खुला छाड्ने प्रवृत्ति देखिएको छ। त्यस्ता मानिसलाई नगरपालिकाले उचित कारबाही नगर्दासम्म समस्या सामाधान हुँदैन।’
सडकमा यत्रतत्र छाडा चौपाया हुनु जनकपुरधामको पुरानै समस्या हो। जनकपुर उपमहानगरपालिकाका पूववर्ती मेयर लालकिशोर साहले ‘छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका, २०७५’ जारी गराएका थिए तर कार्यान्वयन हुन सकेन। सडकबाट नियन्त्रण गरेर थुन्ने ठाउँ नहुँदा समस्या जस्ताको तस्तै रह्यो।
हालका मेयर मनोज साहले वडा नम्बर १२, कुवामा करिब एक करोड रुपैयाँ खर्चमा गौशाला निर्माण गराए। गुठी संस्थानसँग एक बिघा जग्गा लिजमा लिएर उपमहानगरपालिकाले गौशाला निर्माण गरेको हो। हाल गौशालामा सडकबाट नियन्त्रणमा लिइएका करिब पाँच दर्जन गाई छन्। सडकको समस्या भने जस्ताको तस्तै छ।
उपमहानगरपालिकाले आफ्ना चौपाया सडकमा छाड्नेलाई जरिवाना पनि गराउने गरेको छ। यस्तो जरिवानाबाट चालु आर्थिक वर्षको हालसम्म साढे दुई लाख रुपैयाँ उठेको छ।
नगरपालिकाले नियन्त्रणमा लिएको गाई दुहुना हो भने जरिवाना तिरेर फिर्ता लैजाने अनि दुहुना नभए जिम्मेवारी नलिने प्रवृत्ति रहेको छ। जनावरधनीले समस्या महसुस नगरेकाले उपमहानगरको प्रयास प्रभावकारी हुन नसकेको मेयर साहको भनाइ छ। आममानिसको पनि सहयोग चाहिने उनले बताए।
‘चौपाया नियन्त्रणमा सबैको सहयोग चाहिन्छ। सबैले नगरपालिकालाई दोष दिन्छन्। चौपाया छोड्नेलाई कसैले केही भन्दैन,’केही दिनअघि उनले सेतोपाटीसँग भने, ‘कान्जी हाउसमा थुन्दा पनि दुध दिने गाई मात्र जरिवाना तिरेर लैजान्छन्। गाई बुढो भएपछि सडकमा छाडिदिन्छन्।’
उनका अनुसार सामाजिकस्तरबाट पर्याप्त सहयोग नपाएका कारणले पनि सडकमा चौपाया निन्त्रण हुन नसकेको हो। कसको चौपाया हो भन्ने थाहा पाउनेले सूचना दिने हो भने केही सहज हुने उनको भनाइ छ।
उपमेयर किशोरी साहले पनि छाडा चौपाया नियन्त्रणका लागि सामाजिक स्तरबाट सहयोग नपाएको गुनासो गरे।
आममानिसहरू भने उपमहानगरले पर्याप्त प्रयास नगरेको आरोप लगाउँछन्।