इन्दिरा दली पुस्तकालयविद् हुन्। ७५ वर्षीया इन्दिरासँग पुस्तकालयमा काम गर्दाको लामो अनुभव छ। तर केही समयअघि नेपाल आर्ट काउन्सिलमा भएको 'कलेक्टर्स कन्भेन्सन' मा उनी किताब होइन, पुतलीहरूसँग भेटिइन्।
उनले सानेपास्थित आफ्नो घरमा सयौं पुतली संकलन गरेकी छन्। तिनै पुतली प्रदर्शन गर्न उनी कन्भेन्सनमा आएकी थिइन्। सँगसँगै, पुतलीबारे आगन्तुकका जिज्ञासा पनि मेट्दै थिइन्।
हामी पुग्दा इन्दिराले युरोपेली परीकथा 'लिटिल रेड राइडिङ हुड' सँग जोडिएको पुतली समातेकी थिइन् र आगन्तुकहरूलाई त्यसकै कथा सुनाउँदै थिइन्।
कथा यस प्रकार छ —
रातो लुगा लगाएकी एउटी बालिका बिरामी हजुरआमा भेट्न जंगलको बाटो टाढाको गाउँ जाँदै थिइन्। उनले हजुरआमाका लागि केही खानेकुरा पनि लगेकी थिइन्।
जंगलै जंगल हिँड्दै गर्दा एउटा ब्वाँसोसँग उनको जम्काभेट हुन्छ। त्यो ब्वाँसो रातो लुगा लगाएकी बालिकाको शिकार गर्ने योजना बनाउँछ।
उसले बालिकालाई सोध्छ, 'तिमी कहाँ जान लाग्यौ?'
बालिका भन्छिन्, 'म बिरामी हजुरआमा भेट्न गाउँ जान लागेको।'
यस्तो जबाफ सुनेपछि ब्वाँसोले जुक्ति फुराउँछ र भन्छ, 'हजुरआमाका लागि फूलहरू पनि टिपेर लग। उहाँ खुसी हुनुहुनेछ।'
ब्वाँसोको सुझाव बालिकालाई चित्त बुझ्छ। उनी फूल खोज्न जान्छिन्। त्यही मौकामा ब्वाँसो हजुरआमाको घर पुग्छ र उनको शिकार गर्छ। अनि हजुरआमाको लुगा लगाएर बालिकाको प्रतीक्षा गर्न थाल्छ।
जब बालिका हजुरआमा खोज्दै आउँछिन्, हजुरआमाको भेष धारण गरेको ब्वाँसोले सानी बालिका र उनले ल्याएको खानेकुरा खाइदिन्छ।
पुस्तकालयविद् इन्दिरा दलीसँग यही कथामा आधारित एउटा पुतली छ। त्यो पुतली तल र माथि दुवैतिर उल्ट्याउन मिल्छ। एकातिर बालिकाको अनुहार छ भने अर्कातिर हजुरआमाको। हजुरआमाको अनुहार भएको पछाडिको भागमा ब्वाँसोको आकृति पनि छ।
तीन पात्र समेटिएको उक्त पुतली इन्दिरालाई एक जना जापानी साथीले उपहार दिएका थिए।
पुतलीसँग जोडिएको 'लिटिल रेड राइडिङ हुड' को कथा सुनाएपछि उनले भनिन्, 'पुतली भनेको खेलौना मात्र होइन, कथा भन्ने माध्यम पनि हो। बालबालिकाको शिक्षाका लागि यसरी पनि सोच्न सकिने रहेछ भन्ने यो एक उदाहरण हो।'
इन्दिराको संकलनमा साना-ठूला विभिन्न आकारका पुतली छन्। सबभन्दा सानो पुतली त चामलको दानाजत्रो छ। यीमध्ये कुनै पुतली हिजो-अस्ति मात्र किनिएका वा उपहार पाएका हुन्। कुनै भने सयौं वर्ष पुराना छन्।
एउटा पुतली इन्दिरा अमेरिका जाँदा डेनिस नाम गरेका साथीले दिएका थिए। उनले सन् २००९ को क्रिसमस उपहारका रूपमा पुतलीसँगै पोस्टकार्ड पनि दिएका थिए, जसमा लेखिएको छ – यो मेरी आमाको पुतली हो। सायद यो स्वीडेनको पुतली हो, जुन सन् १९३० भन्दा अगाडि बनेको हुनुपर्छ।
यस आधारमा त्यो पुतली सय वर्षभन्दा पुरानो भएको इन्दिरा दाबी गर्छिन्।
इन्दिराले आफूसँग कति पुतली छन् भन्ने गन्ती राखेकी छैनन्। सानेपास्थित घरको एउटा कोठा ५०-६० देशका पुतलीले भरिएको छ। उनले त्यसलाई अमेरिकी, एसियाली, युरोपेली, अस्ट्रेलियाली, टर्की, जापानी, नेपाली भन्दै क्षेत्रीय आधारमा नामाकरण गरेकी छन्।
पुतलीका अतिरिक्त उनले साना कप-प्लेट, भान्साका सामग्री, वाद्यवादन यन्त्र, जनावर, चरा र देवीदेउताका मूर्ति पनि संकलन गरेकी छन्। साना किताब र कलम पनि थुप्रै छन्।
संकलनमा रहेका कतिपय खेलौना इन्दिरा आफैंले बनाएकी हुन्। थर्मकोलबाट बनाइएको ताजमहल यसको उदाहरण हो।
पुस्तक र पुस्तकालयप्रति गहिरो रूचि राख्ने इन्दिरा पुतलीतर्फ कसरी आकर्षित भइन् त?
हाम्रो यो प्रश्नमा इन्दिरा आफ्नो बाल्यकालतिर फर्किइन्।
उनलाई सानैदेखि किताब मन पर्थ्यो। उनका बुबा शिक्षक थिए। बुबाले आफ्नो कोठाको ६–७ वटा दराज किताबै किताबले भरेका थिए। तिनै किताबबीच हुर्किएकी इन्दिरालाई भविष्यमा पढ्नेबाहेक अरू कुनै काम गर्न नपरोस् भन्ने लाग्थ्यो। बुबासँग लुटुपुटु गर्दै तोते बोलीमा उनी भन्थिन्, 'मलाई आमाले जस्तो घरमा काम गर्न मन छैन। जिन्दगीभरि पढ्न मन छ। म सबथोक पढ्छु र ठूलो विद्वान हुन्छु।'
सानी इन्दिराको कुरा सुनेर बुबा मुसुमुसु हाँस्थे र भन्थे, 'हुन्छ छोरी, तिमी संसारकै ठूलो विद्वान हुनेछौ।'
इन्दिराका बुबा दिनभर विद्यालयको पढाइ सकेर साँझ घर फर्किएपछि छोरीलाई अंग्रेजी बालकथाहरू नेपाल भाषामा उल्था गरेर सुनाउँथे। तीमध्ये ह्यान्सेल एन्ड ग्रेटल, सिन्ड्रेला लगायत कथा सुन्दा इन्दिरा एकदमै रोएकी थिइन्। त्यसमा बुबाले दोस्रो विवाह गरेपछि बालबच्चाले दुःख पाएको कथा छ।
उनी कथा सुनेपछि किताब च्यापेर रूँदै बुबालाई भन्थिन्, 'केटाहरू कति नराम्रा हुने है! कान्छी श्रीमती ल्याएपछि छोराछोरीलाई कस्तो दुःख दिने रहेछन्!'
इन्दिराको कुरा सुनेर बुबा सम्झाउँथे, 'सबै एउटै हुँदैनन् नि!'
उनी अगाडि भन्थे, 'हेर त, म तिमी र तिम्री आमालाई कति माया गर्छु। गाली पनि कहिल्यै गर्दिनँ।'
बुबाको यस्तो भनाइ सुनेर सानी इन्दिरा ढुक्क हुन्थिन्। आफ्ना बुबाले कान्छी आमा ल्याउँदैनन् भन्ने थाहा पाएर उनी खुसीले फुरूंग पर्थिन्।
उनको यो खुसी धेरै समय टिकेन। किताबको कथा उनको जीवनमा पनि लेखियो।
इन्दिराको जन्म काठमाडौंको यंगलमा भएको थियो। संयुक्त परिवार भएकाले उनका बुबाले इन्द्रचोकमा डेरा लिए। केही समयपछि सानेपामा घर किने।
आजभन्दा ६०-७० वर्षअघि सानेपा अहिलेजस्तो विकसित थिएन। न बाटो, न बत्ती, न खानेपानी। सवारी साधन नचल्ने भएकाले काठमाडौंबाट हिँडेरै जानुपर्थ्यो। मध्यसहरमा जन्मे-हुर्केकी इन्दिराकी आमालाई गाउँजस्तो सानेपा फिटिक्कै मन परेन। उनी इन्द्रचोकको डेरामै बस्ने भइन्। इन्दिरा र उनका बुबा भने सानेपामै बसे।
इन्दिराका बुबा दिउँसो डिल्लीबजार स्कुलमा काम गर्थे, साँझ दरबार स्कुलमा। एक महिना त सानेपाबाट साइकल चलाउँदै दुवै स्कुल धाए। धेरै सास्ती भएपछि छोरीलाई लिएर इन्द्रचोक नै फर्किए। सानेपाको घर त्यसै छाडियो।
'हामी कोही नहुँदा एकदिन चोर आएर घरका सबै सामान चोरेछ। अनि आमा करले यता बस्न थाल्नुभयो। बुबा र म भने उतै भयौं,' इन्दिराले भनिन्, 'पछि बुवाले थ:हितिमा अर्को घर किन्नुभयो। आमालाई पनि उतै जाऊँ भन्नुभयो। तर आमा त सानेपाको घरमा फूल, तरकारी रोपेर रमाइसक्नुभएको थियो। उहाँ जान मान्नु भएन। बुबा र म मात्र उता भयौं।'
इन्दिरा र उनका बुबा शनिबारे छुट्टीमा सानेपाको घर आउँथे र अर्को दिन फर्कन्थे।
यसैबीच इन्दिराकी कान्छी बहिनी जन्मिइन्। पछि अरू तीन जना बहिनी पनि जन्मिएका थिए, तर ती सबैको सानैमा निधन भयो।
पाँच छोरी जन्माइसकेका इन्दिराका बुबालाई उनका साथीहरूले भन्न थाले, 'ल मास्टर! अब तपाईंको छोरा हुन्न।'
साथीभाइ र आफन्तले कुरा काट्न थालेपछि एक महिनाकी सुत्केरी श्रीमतीलाई सानेपामै छाडेर उनले थःहितिको घरमा कान्छी श्रीमती भित्र्याए। अनि, यताको परिवारलाई चटक्कै छाडिदिए।
इन्दिराले बुबाको मुखबाट सुनेका युरोपेली लोककथाहरू सम्झिइन् र मनमनै भनिन्, 'केटाहरू साँच्चै नराम्रा हुने रहेछन्! कान्छी श्रीमती ल्याएपछि छोराछोरीलाई दुःख दिने रहेछन्!'
'म बुबा सम्झेर कत्ति रोएँ, रोएँ। त्यस दिनदेखि आजसम्म मेरो आँखामा राम्रो निद्रा छैन,' टिलपिल आँसु पार्दै इन्दिराले भनिन्, 'त्यति धेरै माया गर्ने बुबाले चटक्कै छाडेर जानुहुन्छ भन्ने मैले सोचेकै थिइनँ। त्यसैले म यो संसारको कसैलाई विश्वास गर्दिनँ। बरू मलाई मान्छेभन्दा बढी पुतली मन पर्छ। किनभने पुतलीले कहिल्यै धोका दिँदैन। कसैलाई हानि पुर्याउँदैन।'
इन्दिरालाई सबभन्दा पहिलो पुतली उनकी आमाले बनाइदिएकी थिइन्। त्यो पुतली कपडाका टुक्राटाक्री जोडेर बनाइएको थियो। लगभग इन्दिराजत्रै अग्लो थियो। धेरै समयसम्म त्यही पुतली उनको साथी भयो। बुबाको याद आउँदा उनी त्यही पुतली अंगालेर रून्थिन्। त्यसैलाई च्यापेर सुत्थिन्।
बुबाले छाडेर गएपछि घरमा पैसा अभाव भयो। इन्दिराको पढाइ छुट्यो। पढाइमा तीक्ष्ण भएकाले उनलाई स्कुलले निःशुल्क पढ्ने व्यवस्था गरिदियो। पछि उनले काम गर्दै पढ्दै गइन् र अर्थशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा स्नातक र कानुन पढिन्। पुस्तकालय विज्ञानमा स्नातक पनि गरेकी छन्।
उनी अर्थशास्त्रमा विद्यावारिधि गर्ने तयारीमा थिइन्, तर त्यसलाई बीचैमा छाडेर पुस्तकालयलाई नै आफ्नो भविष्य बनाइन्।
'अर्थशास्त्रमा विद्यावारिधी गर्दै गर्दा मैले पद्मकन्याको पुस्तकालयमा काम गर्ने अवसर पाएँ। अहिले त सरकारले पुस्तकालय व्यवस्थापन गर्न सकेको छैन भने त्यो बेलाको अवस्था झन् कस्तो थियो होला! पुस्तकालयमा काम गर्नेहरूलाई हेप्ने प्रवृत्ति थियो। त्यही भएर मैले अर्थशास्त्र छाडेर लाइब्रेरी साइन्स पढेँ,' इन्दिराले भनिन्, 'अर्थशास्त्रमा त जसले पनि काम गर्छ, तर पुस्तकालयमा काम गर्ने मान्छे कम छन् भन्ठानेर यता लागेँ।'
त्यसयता इन्दिराले आफ्नो पूरा जीवन किताब र पुस्तकालयका नाममा समर्पण गरेकी छन्।
पुस्तकालयमा काम गर्दा नै उनले विभिन्न देश घुम्ने अवसर पाइन्। त्यस क्रममा किताबसँगै उनको ध्यान त्यहाँका राम्रा र फरक खालका पुतलीमा जान्थ्यो। उनी आफ्नो खानाको पैसा जोगाएर भए पनि पुतली किन्न थालिन्।
'एकचोटि जापानमा ९ महिनाको तालिममा जाँदा मैले नखाई नखाई पैसा बटुलेर पुतली, साना खेलौना र चियाका सेट किनेकी थिएँ,' उनले भनिन्, 'अस्ट्रिया जाँदा त पैसा नपुगेर पसलेसँग छुट मागेर भए पनि पुतलीहरू ल्याएकी छु।'
इन्दिराले छनौट गर्ने पुतली बार्बी पुतली होइनन्। ती विभिन्न देशका वेशभूषा र राष्ट्रियता प्रतिनिधित्व गर्ने पुतली हुन्। उनलाई लाग्छ – पुतली भनेको खेल्ने कुरा मात्र होइन; देशको सामाजिक, सांस्कृतिक र आर्थिक स्थिति बुझाउने माध्यम पनि हो।
'मैले किन्ने पुतलीले त्यो देशका मानिसले कस्तो लुगा लगाउँछ भन्ने झल्काउँछ,' उनले भनिन्।
इन्दिरा भगवानमा विश्वास गर्दिनन्। तर उनको संकलनमा बुद्ध, सरस्वती, गणेश, महादेव लगायत विभिन्न देवीदेउताका मूर्ति छन्। उनले यसको कारण खुलाइन्, 'बच्चैदेखि आमाबुबाले पूजा गरिरहेको देखेकाले म भगवानको मूर्तिलाई नाघ्न वा थुक्न सक्दिनँ। तर जब म १०-११ वर्षकी थिएँ, त्यति बेला बिनागल्ती बुबाले हामीलाई छाड्नुभयो। त्यो बेला भगवान कहाँ थिए भन्ने कुरा मेरो दिमागमा घरिघरि आउँछ।'
'भगवानको इच्छाबिना रूखको पात पनि हल्लिँदैन भनिन्छ। उनले कहिल्यै गलत हुन् दिन्नन् भनिन्छ। तर खोई त भगवानले मलाई न्याय गरेका? त्यसैले म भगवानलाई विश्वास गर्न सक्दिनँ,' इन्दिराले अगाडि भनिन्, 'बरू मलाई पुतलीप्रति ज्यादा विश्वास छ। केही गर्न नसक्ने भगवान मलाई पुतलीजस्तै लाग्छ। त्यही भएर भगवानलाई पनि पुतलीको संकलनमा राखेकी हुँ।'
इन्दिरालाई आफ्नो संकलनमा भएका सबै पुतली भविष्यमा राष्ट्रिय पुस्तकालयलाई दिने रहर छ। त्यहाँ किताब पढ्न आउने केटाकेटीले ती पुतली हेरून् र खेलून् भन्ने उनको इच्छा छ।
इन्दिरालाई साना बालबालिकाको पढाइलेखाइमा काम गर्न पाउँदा आनन्द लाग्छ। उनले बालबालिकाका लागि भनेर २०६७ सालदेखि बल्खुमा सामुदायिक बाल पुस्तकालय खोलेकी थिइन्। आफन्तहरूको सहयोगमा सञ्चालन गरिएको त्यो पुस्तकालय यसै वर्ष बन्द गयो। त्यहाँका किताब उनको घरमै थन्किएका छन्। उनी राष्ट्रिय पुस्तकालयलाई दिने तयारी गर्दै छिन्। अहिले त्यसको डाटाबेस बनाउने काम गरिरहेको उनी बताउँछिन्।
सरकारले केही समयअघि पुस्तकालय विकासका लागि दसवर्षे गुरूयोजना बनाएको थियो, जसमा इन्दिराले संयोजकका रूपमा काम गरेकी थिइन्। गुरूयोजनामा केन्द्रीय पुस्तकालयका अतिरिक्त सातवटै प्रदेश, जिल्ला, पालिका, वडा र गाउँस्तरमा पुस्तकालय निर्माण गर्न प्रस्ताव गरिएको छ।
उक्त गुरूयोजना कार्यान्वयन हुने हो भने संघ र प्रदेश सरकारले मात्र होइन, देशभरका स्थानीय सरकारले आ-आफ्नो क्षेत्रमा पुस्तकालय स्थापना गर्नुपर्नेछ। अझ त्योभन्दा तल प्रत्येक वडामा कम्तिमा एउटा पुस्तकालय परिकल्पना गरिएको छ। स्कुल, कलेज र विश्वविद्यालयमा अनिवार्य पुस्तकालयको व्यवस्था त छँदैछ।
इन्दिराका अनुसार अब बन्ने पुस्तकालयमा चारवटा छुट्टाछुट्टै शाखा वा कोठा हुनुपर्छ — बालबालिका, युवा, अपांगता भएका र वृद्धवृद्धा शाखा। यसले पुस्तकालय जानेको संख्या र पढ्ने बानी विकास गराउने उनको भनाइ छ। तीमध्ये बालबालिका शाखा त उनी सबभन्दा अनिवार्य देख्छिन्।
इन्दिरालाई लाग्छ — बच्चैदेखि वातावरण भयो भने मानिसमा पढ्ने बानी विकास हुन्छ।
उनलाई यो चेत जापानको ओसाकामा तालिम लिन जाँदा आएको थियो।
एकदिन निकै ठूलो हुरीबतास चलेका बेला उनले काम गरिरहेको पुस्तकालयमा एक स्थानीय महिला र उनकी छोरी आएकी थिइन्। छोरीले किताब छाड्न नमानेको दृश्य देखेर साना बालबालिकाको निम्ति पुस्तकालय निर्माणमा काम गर्छु भन्ने सोच आएको उनी बताउँछिन्।
बाल पुस्तकालय खोल्नु र अहिले किताब र पुतली राष्ट्रिय पुस्तकालयलाई बुझाउने सोच आउनु त्यसैका परिणाम हुन्।
राष्ट्रिय पुस्तकालयमा बेला बेला लगाइने अंकुशले उनको मन बिथोल्छ। उनी जमलमा राष्ट्रिय पुस्तकालय भवन निर्माण भएको हेर्न चाहन्छिन्। त्यसका लागि धेरैपटक लडेकी पनि छन्।
'कुनै दिन जमलमा राष्ट्रिय पुस्तकालय बन्ला भन्ने आशा अझै मरेको छैन,' इन्दिराले भनिन्, 'यहाँ जहिले पुस्तकालय बन्नेछ, म आफूसँग भएका किताब र पुतलीहरू पुस्तकालयलाई दिनेछु।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी