आइतबार होलीमा डी. पोपिना रेष्टुरेन्टमा दिनभरजसो चहलपहल थियो। ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा रहेको रेष्टुरेन्टमा पर्वको दिन ग्राहकहरू मादक पदार्थ सेवन गर्न पुग्थे।
अझ धेरैजसो ढोलाहिटी क्षेत्रमा बस्नेहरू नै त्यहाँ पुग्ने गरेका थिए।
६/७ महिनादेखि तीन जना साथीहरू विजय राई, सुलभ राई र भूपाल राईले मिलेर उक्त रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।
आइतबार दिनभर ललितपुर जिल्लामा कुनै अप्रिय घटना भएका थिएनन्। उच्छृंखल गतिविधि गरेको आरोपमा भने प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो। त्यसदिन डी.पोपिना रेष्टुरेन्ट विजय र सुलभले चलाइरहेका थिए।
विजय, सुलभ, विशाल हाङ मुकाराङ राई, पुजन राईसहित अन्य ८/१० जना त्यहाँ बसेर रमाइलो गरिरहेका थिए। उनीहरूसँगै साहिल श्रेष्ठ भन्ने व्यक्ति पनि सँगै थिए।
करिब ८ बजेतिर भने रेष्टुरेन्टमा छेङ्वीहाङ राई, नाम्नु हाङ राई, विराट राई र अनन्त राई त्यहाँ पुगेका थिए। उनीहरू सबै जना मदिराले मातिएका थिए।
त्यहाँ पुगेर छेङ्वीहाङ राईको समूह पुगेपछि उनीहरूले साहिल श्रेष्ठसँग विवाद गर्न खोजे।
साहिल श्रेष्ठसँग रिसइबी रहेको भन्दै उनीहरूले रेष्टुरेन्टभित्रै झगडा सुरू गरे।
विवाद बढ्दै गएपछि यहाँ यसो नगर्न भन्दै सुलभले छेङ्वहाङ राईको समूहलाई त्यहाँबाट निकालेका थिए। रेष्टुरेन्टबाट निकालेर होटलको सटर समेत लगाइएको थियो। त्यसको रिसमा छेङ्वी हाङले रेवश राईलाई फोन गरेका थिए।
छेङ्वी हाङले फोनमा भनेका थिए, ‘हामी अहिले डी पोपिना रेष्टुरेन्ट बाहिर छौं। हामीलाई हेपेर निकालियो।’
करिब १० बजेपछि रेवश राईसहित केही व्यक्तिको समूह त्यहाँ पुग्यो। रेष्टुरेन्टको सटर बन्द नै थियो।
तर रेवश लगायतले बाहिरबाटै रेष्टुरेन्टको सटर खोलेर भित्र गए। त्यहाँ गएर उनले सञ्चालकहरूलाई धम्क्याए, ‘मेरो भाइहरूलाई धम्क्याउने, होच्याउने तिमीहरू को हौ?’
रेष्टुरेन्टभित्रै केहीबेर रेवश राई र विशालबीच धकेलाधकेल सुरू भयो। विजयले पनि रेवशलाई निकाल्न खोजे। तर त्यहाँ हाताहातको स्थिति सिर्जना भइसकेको थियो। झगडा बढ्दै गएपछि आवेगमा रहेका विजय किचेनमा छिरे। त्यहाँ रहेको चक्कु लिएर आए।
पुजन राई रेष्टुरेन्ट बाहिर सडकपेटीमै उभिरहेका थिए। चक्कु लिएर आएको देखेपछि पुजनले उनलाई रोक्न खोजे।
‘सडकपेटीमा उभिरहेका पुजनले विजयलाई यस्तो गर्न हुन्न भनेर रोक्न खोजेका थिए,’ जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले भने, ‘खोस्न खोज्दा चक्कु पुजनको बायाँ तिघ्रामा लाग्यो। उनी घाइते भए।’
पुजन घाइते भएपछि विशाल र सुलभले उठाएर उनलाई भित्र लगेर राखे। तर त्यही बेला बाहिर झगडा गरिरहँदा विजयले रेवशको छाती र कोखामा चक्कुले प्रहार गरे। रेवश गम्भीर घाइते भए। त्यो घटनालगत्तै एक जना व्यक्तिले विजयलाई मोटरसाइकलमा राखेर भगाएका थिए।
घाइते भएका रेवश सडक किनारमा अडेस लगाएर बसिरहेका थिए। त्यहाँ रेष्टुरेन्टमा रहेका दुई जनाले स्कुटरमा राखेर सुमेरू अस्पताल पुर्याए। सुलभले ट्याक्सीमा चढाएर पुजनलाई पाटन अस्पताल पुर्याए।
अस्पताल पुर्याएपछि उनीहरू दुबै जनालाई मृत घोषणा गरिएको थियो। अस्पतालमा मृत घोषणा गरिसकेपछि घटना शंकास्पद भएपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको थियो।
सुमेरू र पाटन दुबै अस्पतालबाट करिब ११ बजे घाइतेको मृत्यु भएको खबर पाएपछि जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालसहितको टोली खटिएको थियो।
प्रहरी वृत्त सातदोबाटो र प्रहरी वृत्त चापागाउँबाट पनि डिएसपीको नेतृत्वमा टोली खटियो।
रातारात प्रहरीले यस घटनामा संलग्नहरूलाई पक्राउ गर्न थाल्यो। घटनास्थलमा पुगेको प्रहरीले आसपासका सिसिटिभी फुटेज पनि केलाएर अनुसन्धान अघि बढायो।
प्रहरीले अस्पतालमा पुर्याउन गएका केहीलाई सुरूमै नियन्त्रणमा लिएको थियो। त्यसपछि उनीहरूमाथि सोधपुछ गरेर थप व्यक्तिहरूलाई नियन्त्रणमा लिन थालेको हो।
यसरी नै अन्तिममा मुख्य अभियुक्त विजय राईलाई सोमबार बिहान पख ढोलाहिटी क्षेत्रबाटै नियन्त्रणमा लिइएको थियो।
‘राति नै खटिएर हामीले जतिसक्दो धेरै मानिसहरूलाई पक्राउ गर्यौं। कोही नछुटून् भनेर हामीले सुरूमा १८ जनालाई नियन्त्रणमा लियौं,’ एसएसपी खनालले भने,‘त्यसपछि हामीले स्क्रिनिङ गरेका हौं।’
प्रहरीले सोमबार दिनभरजसो उनीहरूमाथि सोधपुछ गरेको थियो। पक्राउ गरेकै रात उनीहरू मापसे गरी लट्ठिएका कारण प्रहरीलाई राम्ररी जवाफ दिइरहेका थिएनन्।
दिनभरजसो सोधपुछ गर्दा प्रहरीले घटना हुनुको कारण पत्ता लगाएको हो।
एसएसपी खनालका अनुसार दुई पक्षबीच गत तिहारमा विवाद भएको थियो। तिहारमा साहिल श्रेष्ठले छेङ्वीहाङमाथि अपशब्द बोलेर होच्याएका थिए। उनले अहिले त्यही कुराको इख लिएर बसेका थिए।
‘तिहारमा अपशब्द बोलेर होच्याएको भन्ने निहुँ रहेछ। दुई महिना अगाडि पनि दुई पक्षबीच झगडा भएको देखियो,’ एसएसपी खनालले भने।
सामान्य रिसइबी र आवेगका कारण ढोलाहिटीमा दुई जनाले ज्यान गुमाएको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका १८ जनामध्ये ६ जनालाई प्रहरीले सोमबार राति नै छाडिसकेको छ।
मृतक परिवारले पाँच जनाविरूद्ध कर्तव्य ज्यान कसुरमा जाहेरी दिएका छन्। अन्य आठ जना पनि प्रहरीको नियन्त्रणमा छन्। उनीहरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो।
खोटाङ घर भई ललितपुर बस्ने रेष्टुरेन्ट सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङ घर भई खुमलटार बस्ने रेष्टुरेन्ट सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुर घर भई जैनखेल बस्ने विशाल हाङ मुकारूङ राई र काठमाडौं गोकर्णेश्वर घर भई सानागाउँ बस्ने छेङ्वीहाङ राई सार्वजनिक भएका हुन्। विजय राईलाई भगाउने व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ।
विजय राई यसअघि पनि पक्राउ परी दुई वर्ष जेल बसिसकेका व्यक्ति हुन्। प्रहरी वृत्त थानकोटले उनीविरूद्ध २०७५ सालमा मुद्दा चलाएको थियो। लागुऔषधको मुद्दामा उनी दुई वर्ष जेल बसेर छुटेका थिए।