फागुपूर्णिमा अर्थात् होली पर्व तराई क्षेत्रमा सोमबार धुमधामका साथ मनाइएको छ।
फागु पर्वलाई मेलमिलाप र सद्भावको सन्देश लिई आउने रङहरूको पर्व मानिन्छ।
यही रङहरूको पर्व होली सोमबार बुटवललगायत आसपासको क्षेत्रमा पनि धुमधामसँग मनाइएको छ। बसन्त ऋतुको आगमनको सुरूआतमा पर्ने होली पर्वलाई सद्भाव र आत्मीयता साटासाट गर्ने पर्वको रूपमा लिइन्छ। परम्परागत रूपमा एकआपसमा विभिन्न रङ र पानी खेली यो पर्व मनाइने गरिन्छ।
नेपाल पत्रकार महसंघ रूपन्देहीले पनि विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सोमबार होली मिलन कार्यक्रम गरेको छ।
रूपन्देहीका विभिन्न संघसंस्था तथा सम्पूर्ण पत्रकारहरूको उपस्थितिमा पत्रकार महासंघको परिसरमा होली मिलन कार्यक्रम गरिएको हो।
एक आपसमा भाइचारा स्थापित गर्ने र होलीलाई मिलनको पर्वको रूपमा होली मिलन कार्यक्रम गरिएको महासंघका अध्यक्ष रामराज पोखरेलले बताए।
यस्तै, बुटवलका विभिन्न सामाजिक संघसंस्थाहरूले पनि होली मनाएका छन्।
बुटवलको ट्राफिक चोक, पुरानो बसपार्क, राजमार्ग चौराह, योगिकुटी, अमरपथ, दिपनगर, भैरहवाको देवकोटा चोक, कोटिहवा, मुर्गिया लगायतका क्षेत्रमा उल्लासमय रूपमा होली पर्व मनाइएको छ।
तस्बिरहरू: