होलीको दिन काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँच कडा पारिएको छ।
सवारी नियमविपरीत सवारी साधन चलाउने प्रवृत्तिलाई निस्तेज गरी सम्भावित सडक दुर्घटना रोक्नका लागि उपत्यकामा ट्राफिक चेकजाँच कडा पारिएको छ।
मूल सडक र भित्री सडकहरूमा चेकप्वाइन्ट खडा गरी बिहानैदेखि ट्राफिक चेकजाँच भइरहेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज उपत्यकाका ९० भन्दा बढी स्थानमा ट्राफिक चेकजाँचको व्यवस्था मिलाइएको छ भने ९ सय भन्दा बढी ट्राफिक प्रहरी खटाइएको छ।
बिहानैदेखि मापसे र लापसे चेकिङदेखि अन्य चेकजाँच भइरहेको छ। कार्यालयका प्रवक्ता एसएसपी जीवन कुमार श्रेष्ठका अनुसार उपत्यकाका विभिन्न स्थानमा बिहान ७ बजेदेखि ट्राफिक चेकिङ सुरू भएको छ।
त्यस्तै ३० वटा मोबाइल भ्यान परिचालन गरिएको छ। अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाइ गरी ठूला आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तिब्रगति र जिकज्याक गरि मोटरसाइकल कुदाउने उपर विशेष निगरानी गरिनेछ भने अन्य ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाईका साथ कारबाही गरिने उनले बताए।
विशेषगरी मादक पदार्थ र लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमती विपरीत रङ्ग दल्ने, लोला हान्ने, अनावश्यक हो-हल्ला गर्ने, झै-झगडा गर्ने लगायतका उच्छ्रिङ्खल गतिबिधी गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए।
होलीमा काठमाडौंको सुरक्षा व्यवस्था चुस्त राख्न तीन हजार प्रहरी पनि परिचालन गरिएको छ। तीमध्ये २ हजार पाँच सय सादा पोसाक र ५ सय जनालाई पोसाकसहित परिचालन गरिएको छ।
तस्बिरहरूः