दुःखका बेला सरकारले साथ नदिए पनि पश्चिम रुकुमको सानीभेरी गाउँपालिकाका बासिन्दाहरू बिस्तारै आफ्नै बलबुताले घर बनाउने प्रयास गर्दै छन्।
यस्तैमध्येका हुन् नवराज मल्ल र उनकी पत्नी प्रतिभा। उनीहरू अहिले घरको जग हाल्दै छन्।
भूकम्पले ढालेको घर उठाउन उनीहरू आफैँले गिटी कुटे। आफैँले जग खने। अहिले घर बनाउन केही कामदार लगाएका छन्।
‘सरकारले घर बनाउन पाँच लाख रुपैयाँ दिन्छ भनेको सुनेको छु तर अहिलेसम्म पाएको छैन,’ नवराज भन्छन्, ‘सरकारको आश गरेर घर नबनाई बस्नु भएन। जस्तो भए पनि एउटा घर नभई हुँदैन।’
नवराज बिरामी थिए। नेपालगञ्जमा शल्यक्रिया गरेर फर्केको तीन दिन मात्र भएको थियो, हिँडडुल गर्न सक्ने अवस्थामा थिएनन्।
त्यही समयमा गत कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर आएको ६ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्पले उनको घर ढाल्यो। उनी पुरिए।
घरमा पुरिएका नवराजलाई छरछिमेकले उद्धार गरेका थिए।
‘एक मिनेट ढिला भया ज्यान जाने थियो,’ स्थानीय लवजमा प्रतिभाले भनिन्, ‘म बाहिर निस्किएर चिच्याएँ, गाउँले आएर उद्धार गरिदिया।’
भत्केको घरमा पुरिए पनि उनलाई चोटपटक लागेन। अहिले उनी घर बनाउने काममा व्यस्त छन्। घर भूकम्प प्रतिरोधी प्रविधिको हुने उनको भनाइ छ।
उनले ढुंगा, गिटी, काठपात र अन्य आवश्यक सामग्री जोहो गरेका छन्। यी धेरै सामग्रीमा आफ्नै मिहिनत परेको छ। यसो गर्दा पनि घर तयार हुन कम्तीमा १० लाख रुपैयाँ लाग्ने उनको अनुमान छ।
भूकम्प पीडितलाई सरकारले अस्थायी टहरा बनाउन ५० हजार र पक्की घर बनाउन पाँच लाख रुपैयाँ अनुदान दिने कुरा उनले सुनेका छन्। उनले अस्थायी टहरा बनाउन पहिलो किस्ताबापत २५ हजार पाए। दोस्रो किस्ता पाएका छैनन्।
पक्की घर बनाउन पाउने भनेको पाँच लाखको रुपैयाँको त अत्तोपत्तो नै छैन।सानीभेरीकै गोलचौरकी सावित्रा चन्द पनि नयाँ घर बनाउने काममा व्यस्त छिन्।
कहिल्यै पनि भूकम्पको अनुभव नगरेकी सावित्रा अहिले झस्किन्छिन्। सडकमा ठूला गाडी चलेर जमिन थर्किंदा पनि डर लाग्ने गरेको उनले बताइन्।
‘पूर्वतिर भूकम्प आया सुनिन्थ्यो। आफैँले भोगेपछि डर भइराख्या छ,’ उनले भनिन्, ‘कतिबेला भाग्नुपर्छ थाहै नहुने रहेछ, हल्लिने बित्तिकै भाग्ने गरी सुत्नुपर्या छ।’
सावित्रा घर बनाउन सरकारी सहयोग पर्खिंदै छिन्। उनी अझै टेन्टमा ओत लागेकी छन्, छिमेकीको पक्की घर बनाउने काममा सहयोग गर्दै छिन्।
सानीभेरीकै कल्पना चन्द र उनका श्रीमान् मस्त निद्रामा हुँदा भूकम्पले हल्लाएको थियो। श्रीमान् विद्यालय स्रोत व्यक्ति हुन्। कल्पनाको सानो पसल छ। मध्यरातमा भूकम्पले घर हल्लिने बित्तिकै उनी निस्केर चिच्याइन्। श्रीमान् घरभित्रै पुरिए, खुट्टा मात्र देखिएका थिए।
गाउँलेहरू मिलेर उद्धार गरे, ज्यान जोगियो।
सरकारले राहतमा त्रिपाल, चामल, नुनतेल र केही लत्ताकपडा दियो। उनीहरू पनि अहिले घर बनाउँदै छन्। सरकारको आश गर्नको साटो जस्तो सकिन्छ त्यस्तै घर बनाउन लागेको कल्पनाको भनाइ छ।
भूकम्प आएपछि सरकारी कर्मचारीको पनि भागाभाग भयो। पश्चिम रुकुम जिल्ला हुलाक कार्यालयका शाखा अधिकृत कुमारी रिमा मल्ल कार्यालयकै आवासमा सुतेकी थिइन्। भूकम्पले हल्लाएपछि ब्युँझिन् र भाग्न सफल भइन्।
‘हाम्रो क्वाटर (आवास) पुरानो थियो। भूकम्पले चिरा परेको छ,’ उनले भनिन्, ‘घर त भत्किएन तर जोखिम बढेको छ।’
कुमारी रिमाका श्रीमान् सानीभेरी गाउँपालिकामै शिक्षक छन्। भूकम्पले घर भत्किएपछि उनीहरूले पनि नयाँ घर बनाउन सुरु गरेका छन्।
‘बिदाको दिन घर बनाउने काममा गाउँ आएकी हुँ,’ उनी भन्छिन्, ‘भूकम्पले नभत्काउने गरी संहिताअनुसार नयाँ घर बनाउँदै छौं।’
भूकम्पले सबैजसो घर भत्काएपछि गाउँलेहरू सानोभेरी माध्यमिक विद्यालयको भवनमा आश्रय लिन पुगेका थिए। विद्यालय भवन पक्की भएकाले सजिलो भएको कुमारी रिमाले बताइन्।
‘सात जनासम्मको परिवार स्कुलको एउटै कोठामा बसेर ज्यान जोगाएको हो। सुरुमा त टेन्ट पनि थिएन,’ उनले भनिन्, ‘दिनभरि बाहिर खुला ठाउँमा बस्थ्यौं, रात परेपछि स्कुलको कोठामा पस्थ्यौँ।’
सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टका अनुसार गाउँपालिकाभित्र भूकम्पले १२ जनाको ज्यान लियो, ८९ जना घाइते भए। घाइतेमध्ये २६ जना गम्भीर अवस्थामा थिए, उपचार अझै चल्दै छ।
‘कसैको हात भाँचिया छ, कसैको खुट्टा भाँचिया छ,’ उनी भन्छन्, ‘भूकम्पले कति दुःख दियो, कुरा गरेर सकिँदैन।’
सानीभेरी गाउँपालिकाका १७ वटा विद्यालय भवनमा बढी र ३१ वटामा आंशिक क्षति भएको उनले बताए। स्वास्थ्यचौकी र सामुदायिक भवनहरूमा पनि क्षति पुगेको छ।
सानीभेरी गाउँपालिकाका ६ हजार ३०० घर भूकम्पले ढाल्यो। नयाँ घर बनाउन सरकारसँग राहत माग गरे पनि अहिलेसम्म नपाएको अध्यक्ष विष्टको भनाइ छ।
सरकारले पक्की घर बनाउन पाँच लाख रुपैयाँ दिने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयनमा नआएको उनले बताए।
‘जनताले घर बनाउन सहयोग मागेका छन्। हामी पनि माग गरेका गर्यै छौं,’ उनी भन्छन्, ‘भूकम्प पीडितलाई राहत दिन सरकारले अहिलेसम्म कार्यविधि पनि बनाएको छैन, ढिलासुस्ती धेरै छ।’
अस्थायी टहरा बनाउन सरकारले ५० हजार रुपैयाँ दिने भनेकोमा पहिलो किस्ताबापत प्रतिपरिवार २५ हजार रुपैयाँ दिएको उनले बताए। दोस्रो किस्ता अहिलेसम्म गाउँपालिकामा पुगेको छैन।
विष्टका अनुसार नयाँ घर भूकम्प प्रतिरोधी प्रविधिले बनाउन आग्रह गरिएको छ। गाउँपालिकाले भवन मापदण्ड बनाएर गाउँलेलाई जानकारी गराएको छ।
उनी भन्छन्, ‘नयाँ घर भूकम्प प्रतिरोधी हुनुपर्छ भनेर हामीले मापदण्ड लागु गरेका छौं।’
भूकम्पका कारण झरेका ढुंगा र पहिरोले बाटो अवरुद्ध भएको थियो। घाइतेलाई उद्धार गरेर अस्पताल पु¥याउन समस्या भएको थियो।
उनले भने, ‘हामीले गाउँपालिकाको डोजर लगाएर बाटो खुलायौं। यहाँ (स्थानीय स्वास्थ्य चौकीमा) उपचार हुन नसक्ने घाइतेलाई एम्बुलेन्समा हालेर बाहिर पठायौं।’
सानीभेरी गाउँपालिकामा भूकम्पले नयाँ समस्या पनि सिर्जना गरेको छ।
‘कहिल्यै नसुकेको मूल भूकम्पले सुकायो। यसले नयाँ समस्या पैदा गरेको छ,’ अध्यक्ष विष्ट भन्छन्, ‘गाउँलेले धेरै टाढाबाट पानी बोकेर खाइरहेका छन्। गाउँमा पानीको धारा पुर्याउन सकिने अवस्था छैन।’
उनका अनुसार गाउँपालिकाभित्र खानेपानीका १२ वटा मूल सुकेका छन्। यसबाट ३० वटा खानेपानी आयोजनामा असर परेको छ। अहिले गाउँमा पानीको हाहाकार छ।