गुडिरहेको लाइटर बोकेको ट्रकमा एकाएक आगो लागेपछि चिसापानीस्थित कर्णाली पुलमा नै क्षति पुगेको छ। जसका कारण राजमार्ग नै अवरूद्ध हुन पुगेको छ।
बर्दियाका प्रहरी प्रमुख एसपी प्रवीण धितालले चिसापानीस्थित कर्णाली पुलमा ट्रकमा सल्किएको आगोले केही क्षति हुन गएको जानकारी दिए।
उनका अनुसार अहिले पुलमा सवारी आजतजावत रोकिएको छ।
झन्डै आठदेखि दस मिटरजति पुलका सपोट लठ्ठाहरु जलेको अवस्था रहेकाले जोखिमलाई ध्यानमा राखेर सवारी आवामगन रोकिएको उनले बताए।
‘पुलमाथि आगोको मुस्लोका कारण तार र लठ्ठाको कभरिङहरू जलेका छन्,’ उनले भने ‘ती सपोर्ट लठ्ठाभित्र ग्रिज लगाइ बाहिर प्लाष्टिकको कभरेज गरिएको रहेछ ।’
चिसापानीको यो पुल एउटा पिलरमा मात्रै ठडिएको छ भने वारपार तारहरूको सपोर्ट छ। एसपी धितालका अनुसार पुलमाथि सेल्फी खिचिरहेका युवाले ट्रकमा आगो लागेको बताएका थिए।
त्यसपछि चालक पुलको बीचमै ट्रक छाडेर भागेका थिए ।
लाइटरलगायत अति प्रज्ज्वलनशील वस्तु बोकेर गुडिरहेको ट्रकमा आगो सल्किएपछि त्यो निभाउन मुस्किल परेको एसपी धितालले बताए ।
‘बालुवा, माटो वा पानी जे हाले पनि झनै आगो बल्थ्यो,’ एसपी धितालले भने ‘साढे चार बजेतिर सल्किएको आगो राति साढे ९ बजेतिर बल्ल नियन्त्रणमा आयो।’
वीरगञ्जबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रक र ट्रकको सबै सामान जलेर नष्ट भएको छ।
पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीसाधन कैलालीको लम्कीदेखि टीकापुर, बर्दियाको राजापुर, भुरीगाउँको वैकल्पिक मार्ग हुँदै पठाइएको छ। पुलको अवस्था जाँच गरेपछि वा मर्मत नहुञ्जेल राजापुरस्थित सत्ती पुल, कोठियाघाट गेरूवापुल, गुलरिया, नेपालगन्ज हुँदै यात्रा गर्न प्रहरी प्रशासनले आग्रह गरेको छ ।
एसपी धितालका अनुसार पुलमा पुगेको क्षतिका कारण झन्डै ५० किलोमिटर घुमाउरो बाटो यात्रा गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
पुलमा आगलागीबाट भएको क्षतिको अवस्था बुझ्न बुटवलबाट मंगलबार नै एउटा टोली आउन थालेको एसपी धितालले बताए ।
उपकरणसहित टोली आएर अवस्था जाँच गरेपछि मात्रै पुलमा सवारी साधन चलाउन मिल्ने नमिल्ने यकिने हुने एसपी धितालले बताए।
आगलागीको कारण यकिन भइ नसके पनि पुल नजिकै ठूला ब्रेकरहरू रहेको र ती ब्रेकरमा ब्रेक लगाउँदा घर्षण उत्पन्न भइ ट्रकमा आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ।
‘चालकले गति सीमित गर्न स्पिड ब्रेकरमा एकाएक ब्रेक हानेपछि उत्पन्न घर्षण कारण लाइटरबाट आगो सल्क्यो कि, ट्रकको आन्तरिक वाइरिङबाट आगो लाग्न पुग्यो, यकिन भइ सकेको छैन,’ एसपी धितालले भने ।
एकाएक ट्रकमा भएको आगो लागेपछि कतिपय सवारीसाधनहरू सडकमै रोकिएको प्रहरीले बताएको छ ।
यो पनि:
कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी