डाँडाको सानो थुम्को। चिसो हावापानी। चारैतिर सुन्दर दृश्य आँखाभरि आउने, पसल नै पसल भएको थोरै मात्र घरहरूको सानो बजार हो— लमजुुङको जोर्ने बजार। जुन दुधपोखरी गाउँपालिमा अवस्थित छ।
यसपटक जोर्ने हुँदै मोटरसाइकलको यात्रा गर्दै गर्दा १५ वर्षअघि हिँडेरै यहाँ आइपुगेको झल्को आइरहेको थियो।
ढुंगाले छाएको केही घरहरू र ढुंगैले छाएको सिँढीयुक्त बाटो, ढाकर बिसाउने चौतारा र मट्टितेलको मीठो बजारिया सुगन्ध ताजा भएर आएको थियो। म नोस्टाल्जिक बन्न पुगेको थिएँ
लमजुङको दुधपोखरी गाउँपालिका ५ र ६ मा पर्ने यो बजारमा अहिले सुविधासम्पन्न घरहरू बनिसकेका छन्। विद्युत्, मोटरबाटो पनि पुगेको छ। अहिले त्यहाँ १३ घरघुरी रहेको स्थानीयले बताए।
३० वर्षअघि यो ठाउँमा गोठ थिए। अहिले पसल भरिभराउ भएका छन्। बजार पस्नेबित्तिकै मीठा—मीठा खानेकुराको बास्ना आउँछ।
तथापि बाटोसँगै आएको सुविधाले व्यापारमा भने गिरावट आएको एमचन्द्र श्रेष्ठले बताए।
उनले तनहुँबाट आएर व्यापार सुरू गरेका हुन्।
उनले जागरिले र व्यापारिक जीवन यहीँबाट सुरू गरेको बताए।
‘२०५२ सालबा शिक्षण पेशा सुरू गरेको हुँ। त्यही बेलादेखि व्यापार पनि गर्दै आइरहेको छु। त्यतिबेला यहाँ दुई घर थियो। जंगलको बीचमा म आएपछि तीन घर थपिएको थियो,’ उनले भने।