वादी समुदाय नेपालको पछाडिएको समुदाय हो। अल्पसंख्यक रूपमा रहेको यो समुदाय आर्थिक–सामाजिक रूपमा निकै उत्पीडनमा छ। वर्गीय र जातीय उत्पीडनसँगै यो समुदायका महिलाहरूले लैंगिक उत्पीडन भोग्दै आएका छन्। वादी समुदाय मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा थोरै संख्यामा रहेको भए पनि मनाङ र मुस्ताङबाहेक ७३ जिल्लामा यो समुदायको प्रतिनिधित्व देखिएको छ।
वाद्यवादन र नाचगानलाई आफ्नो पेशा बनाएको यो समुदायलाई सुरूसुरूमा तत्कालीन राजा रजौटा र जमिन्दारहरूले मनोरञ्जनका लागि उपयोग गरे।
यतिले मात्रै उनीहरूको गुजारा चलेन। आफ्नै ओत र गरी खाने माध्यम नभएका उनीहरू बाध्यतावस यौन व्यवसायमा पनि लागे।
बाध्यात्मक देहव्यापार गरे पनि अहिले उनीहरू यसबाट बाहिर आइसकेका छन्। र, उनीहरू आत्मनिर्भर बन्ने प्रक्रियामा छन्। यो समुदाय भारतको वैशालीबाट लिच्छवि कालमा नेपाल छिरेको विश्वास गरिन्छ ।
अझै पनि वादी समुदाय समाजको पिँधमा छन्। उनीहरूलाई हेय भावले हेर्ने नजर, दृष्टिकोण बदलिएको छैन।
राज्य, समाजको उत्पीडन र उपेक्षा बदल्न त्यही समुदायका युवा हिक्मत वादी लागिपरेका छन्।
उनी अहिले शिक्षाको माध्यमबाट कर्णालीका वादी बस्ती उज्यालो बनाउने अभियानमा जुटेका छन्। उनको पुर्ख्यौली घर दैलेख हो।
शिक्षाका लागि आफूले निकै संघर्ष र ताडना खप्नु परेपछि उनले ‘वादी सरोकार मञ्च’ स्थापना गरे।
यसले वादी समुदायको अधिकारको पैरवी गर्छ। समाजमा सँगसँगै हिँड्नसक्ने, कानुनदेखि शासन–सत्ताको पहुँचसम्म उनीहरूलाई पुर्याउनका लागि आवाज उठाउँछ।
यही वादी सरोकार मञ्चका अध्यक्ष हिक्मत कर्णाली उत्सव कुडा कर्णालीमा पैकेलो अर्थात हिरो बनेका थिए। र, उनले आफ्ना कथा–व्यथा प्रस्तुत गरे।
उनी सोमबारको सत्रको 'पैकेलो' थिए।
पैकेलोको मञ्चमा पुगेका उनले सुरूआतमा आमालाई सम्झिएका थिए।
उनकी आमाका बुवाले अन्तरजातीय विवाह गरेका रहेछन्। उनकी आमाका बुवा बस्नेत थरका थिए ।
त्यतिबेलाको समाज निकै कठोर थियो। सामाजिक प्रबन्धहरूले वादी समुदायलाई उठ्न दिँदैनथ्यो। मान्छेको दर्जा दिन नै मुस्किल ठान्थ्यो।
उनका मावली हजुरबुवाले वादी समुदायकी महिलासँग वैवाहिक सम्बन्ध गाँसेपछि बहिष्करणमा परे। घरपरिवारले निकालाबासब गरिदिए।
अत्यन्तै तिरस्कार गरेर वादी समुदायमै पठाइदिए।
हिक्मतकी आमा पनि वादी समुदायमै हुर्किइन्। उनकी आमाको बालखैमा विवाह भएको थियो। २७ वर्षकै उमेरमा ७ वटा छोरीको जायजन्म भइसकेको थियो।
उनका बुवालाई छोराको आश थियो। उनकी आमाबाट छोरा जन्मने आश मारिसकेका बुवाले अर्को बिहे गरे।
तर, बुवाले सानीआमा ल्याएकै वर्ष हिक्मत पनि आमाको कोखमा हुर्किरहेका थिए ।
२०५० सालमा उनको जन्म भयो– दैलेखको तल्लो डुङ्गेस्वरमा बस्दै आएका वादी समुदायको सदस्यका रूपमा।
अर्को बिहे गरेसँगै बुवा केही दिदीहरू र सानी आमालाई लिएर अछाम गएको हिक्मतले बताए।
‘हाम्रो समुदायको चलनै थियो। अर्को बिहे गरेपछि अन्त जाने। बुवा गएपछि हाम्रो परिवारमा अझै बज्रपात भयो। दुःखमा रहेको हाम्रो परिवारको जिन्दगीमा अझै दुःख थपिए,’ उनले सुनाए।
आमा र दिदीहरूले उनलाई हुर्काएको। आफूहरूले पढ्न नपाए पनि भाइलाई पढाउनुपर्छ भनेर दिदीहरूले संघर्ष गरेको हिक्मतले सुनाए।
‘दिदीहरूको पनि सबैको १२ /१३ वर्षकै उमेरका बिहे भयो। त्यसपछि फेरि मेरो दुःखका दिन सुरू भए। दिदीहरूले गर्ने सबै कामहरू आफैंले गर्नुपर्ने भयो,’ उनले भने।
पहिलोपटक आफूले गुडको भारी बोकेर २५ रुपैयाँ कमाएको अनुभव पनि उनले सुनाए।
आमा त्यतिबेला निकै खुसी भएको पनि उनले बताए।
‘छोरो कमाउने भयो भनेर आमा निकै खुसी हुनुभयो,’ उनले भने।
जीवन–निर्वाहका लागि उनी अरूका घरमा काम गर्न जान्थे। मेलापात गर्थे। यसो गरेरै २०६५ सालमा उनले एसएलसी उत्तीर्ण गरे।
‘पढ्न, आमा र आफ्नो पेट पाल्नका लागि निकै दुःख गरेँ। साथीहरू रमाइरहेको बेला खोलामा माछा मार्दै बसेँ। अरूको काम गर्दै बसेँ,’ उनले भने।
ज्याला मजदुरी गरेर कमाएको पैसाले गाउँकै कस्मेटिक पसल खोलेको उनले बताए। त्यसपछि बिस्तारै व्यवसाय फस्टाउन थालेपछि सुर्खेतमा फेन्सी र पुस्तक पसल खोलेको उनले बताए।
यतिमात्र होइन, उनले भाइलाई रोजगारिको लागि विदेश पनि पठाए। आयआर्जनको अर्को क्षितिज फेला परेपछि उनले प्रगतिको अर्को फड्को मारे।
हिक्मतले गाडी पनि जोडे।
लगत्तै जीवनलाई नयाँ ढंगबाट अघि बढाउने निधो गरेर २०७२ सालमा विवाह पनि गरे।
तर, उनको लक्ष्य यतिमात्रै थिएन। जुन समुदायमो उनी जन्मिए, त्यही समुदायको हितमा काम गर्ने, समुदायको उत्थान गर्ने उनको सोच थियो।
त्यसलाई परिस्कृत तुल्याउँदै वादी समुदायका लागि काम गर्ने विभिन्न संस्थामा जोडिन थाले।
‘आफ्नो समुदायकालाई सबल बनाउनको लागि संघर्ष गर्न थालेँ। वादी समुदायका बालबालिकाहरूको पहुँच शिक्षामा पुर्याउन पर्छ भन्दै लागेँ,’ उनले भने, ‘२०७७ साल फागुन ९ देखि २६ गतेसम्म मुख्यमन्त्री कार्यालयअगाडि वादी समुदायको उत्थानका लागि आन्दोलन सुरू गरेँ।’
यो आन्दोलनले उनलाई नयाँ चिनारी दियो।
त्यतिबेला उनले वादी समुदायका लागि जमिनको माग गरेका थिए।
आफू आफ्नो लागि अब्बल बन्दै गए पनि आफ्नो समुदायको लागि केही गर्न नसकेको हृदयको भित्री तहबाट महसुस भएको थियो। त्यसैले उनले वादी समुदायको बालबालिकालाई सुर्खेतमा ल्याएर पढाउन सुरू गरे।
आर्थिक स्रोत थिएन।
वादी समुदायका बालबालिकाको आङमा शिक्षाको घाम पुर्याउने निधो गरिसकेकाले पछि हट्ने अवस्था थिएन। उनले पसल, गाडी सबै बेचे।
कमजोर भएपछि सबैले हेप्दा रहेछन् भन्ने चाल पनि उनले त्यतिबेलै पाए।
‘बालबालिकालाई पढाउन थालेपछि ऋण लागिरहेको थियो। बजारका व्यापारीहरूले थप्पड पनि हाने। तर मैले बालबालिकाहरूलाई पढाउने काम रोकिनँ,’ उनले भने।
अहिले उनले १ सय २७ जना बालबालिकाहरूलाई सुर्खेतमा होस्टेलमा राखेर पढाइरहेका छन् ।
‘कर्णालीलाई बनाउनु छ भने बालबालिकालाई खान दिएर कुपोषित हुनबाट जोगाऊँ। शिक्षित बनाऊँ,’ उनले भने।
लामै संघर्षको बाटो हिँडेपछि हिक्मतलाई लागेको छ– संघर्ष गर्दै गयो भने असफल भन्ने कुरा केही छैन।
र त, अहिले कर्णालीसँगै देशभरबाट उनका बालबालिकाका लागि सहयोग आइरहेको छ। कर्णाली सरकार र नगरपालिकाले पनि हिक्मतको होस्टेमा हैंसे गरिरहेका छन्।