‘पेसे कहाँ रहा, अब तो हमारा लाइफ खत्तम हुवा!’
यो भनाइ जिल्ला प्रहरी परिसर काठमाडौंको क्यान्टिन छेवैमा बसिरहेका एक पुरूषको हो।
बिहीबार अपराह्न ४ बजेतिर भेटिएका उनले काठमाडौं आइपुग्नुको घटनाबारे बेलिविस्तार लगाउँदै थिए।
उनी पञ्जाब चण्डिगढका ३४ वर्षीय भूपेन्द्र सिंह हुन्। कुर्सीमा उनीसँगै भारतका विभिन्न ठाउँबाट आइपुगेका ११ सहयात्रीहरू पनि थिए। चार जना मंगलबारमात्रै आइपुगेका थिए।
उनी भने फेब्रुअरी ८ मा आइपुगेका थिए। केही उनीभन्दा पहिल्यै आइसकेका थिए।
उनीहरू काठमाडौंमै काम गर्न भनेर आएका थिएनन्। उनीहरूको गन्तव्य थियो अमेरिका!
सिंह चण्डिगढमा मोबाइल व्यवसाय चलाएर बसिरहेका थिए। बालबच्चा पाल्न त्यही व्यवसायले धानिरहेको थियो। त्यहीबेला कोरोनाको महामारी सुरू भयो। भारतमा पनि लकडाउन भयो, सिंहको व्यवसाय धरासायीमा पर्यो।
लकडाउन भएयता व्यवसाय खासै चल्न सकेन। व्यवसाय नै नचलेपछि त्यसको विकल्प खोज्नतिर लागे उनी।
‘म मोबाइल व्यवसायी हुँ। व्यवसाय ठीकठाक नै चलिरहेको थियो। तर लकडाउन भयो,’ उनले हिन्दी भाषामै भने, ‘त्यसपछि मेरो व्यवसाय नै संकटमा पर्यो। बालबच्चा पाल्न गाह्रो पर्न थाल्यो।’
उनले प्लस टुसम्म मात्रै गरेका छन्। पढाइलाई निरन्तरता दिन नसकेपछि उनी त्यस व्यवसायमा जोडिएका हुन्।
त्यसैबीच उनले अमेरिकाको सपना बुन्न थालेका थिए। अमेरिकामा जान पाए आफू सँगसँगै परिवारकै जिन्दगी 'सेट' हुने उनको आश थियो। त्यसका लागि उनले स्थानीय एजेन्टहरूसँग सम्पर्क गरे। उनलाई अमेरिका सिधा जान सहज थिएन। त्यसपछि घुमाउरो बाटोमार्फत् जानलाई एजेन्टहरूले सुझाव दिएका थिए।
अमेरिका जानका लागि लाखौं लाग्थ्यो। तर त्यति धेरै रकम पनि थिएन। पैसा नभए पनि उनले आफ्नो सपना साकार गर्न पुर्ख्यौली जग्गा दाउमा लगाएका हुन्।
‘पैसा पनि थिएन। त्यसैले मैले पुर्ख्यौली जग्गा बेचेको हुँ। एक किल्ला (चार बिगा) जति जग्गा थियो। त्यही बेचेर पैसा पाएको हुँ,’ उनले भने।
जग्गा बेचेर पैसा पाएपछि उनले फेरि एजेन्टहरूसँग कुराकानी गरे। एजेन्टहरूले सिंहलाई पहिले नेपाल जानुपर्छ, त्यहाँबाट आबुधाबी र ब्राजिल हुँदै मेक्सिको पुग्ने र अन्तिममा अमेरिका पुग्ने भनेका थिए।
निरन्तरको कुराकानीपछि उनी पनि विश्वस्त भइसकेका थिए। कतिपयलाई मेक्सिको पुर्याइसकेको भनेर फोटो पनि एजेन्टहरूले देखाएका थिए।
‘मेक्सिकोको भनेर फोटो पनि देखाएका थिए। त्यसैले पनि विश्वास भइसकेको थियो,’ उनले भने।
अमेरिका जान सजिलो होस् भनेर आफूसँग भएको पैसाबाट उनी घुम्न दुबई पनि गए। दुबईमा गएको देखाएपछि सजिलो हुन्छ भनेकाले उनी त्यहाँ घुम्न गएका थिए। एजेन्टहरूले पैसा नेपाल आइपुगेपछि मात्रै दिए पनि हुन्छ भनेका थिए।
४५ लाख रुपैयाँ लाग्ने र त्यो पैसा घरपरिवारमार्फत् दिए पनि हुन्छ भनिएको थियो। काठमाडौंमा भने ३ हजार डलर लिएर आउनू भनिएको थियो।
‘काठमाडौंमा भएका व्यक्तिहरूसँग मेरो निरन्तर संवाद भइरहेको थियो। म दुबईमा थिएँ। कुनै देश घुमेको रहेछ भने सजिलो हुन्छ भनिएको थियो। त्यसैले म गएको थिएँ,’ उनले भने, ‘म त्यहाँ हुँदा नै हो मलाई नेपाल आउनू भनेर भनेको। त्यसपछि म फ्लाइटबाट यहाँ आइपुगेँ।’
काठमाडौं आइपुगेपछि उनले चण्डिगढमा पनि सन्देश पठाए। घर परिवारमा पनि छोरा अमेरिका जाँदैछ भन्ने परेको थियो। खुसी नै थिए।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एजेन्ट भनिएका व्यक्तिले लिन आए। सिंहलाई काठमाडौंबारे त्यति थाहा थिएन। काठमाडौंमात्र आइपुगेको भए पनि अबको १०-१२ दिनमै अमेरिका पुग्ने सपनाको खुसीले उनको भुँइमा खुट्टा थिएन।
ती एजेन्टले उनलाई काठमाडौंको रातोपुलस्थित एक घरमा लिएर गए। त्यहाँ उनी जस्तै अमेरिका जाने सपना बुनेर आएका भारतीय नागरिकहरू थिए। उनलाई एउटा कोठामा बस्न भनिएको थियो।
त्यो कोठामा पर्दा लगाइएकाले अँध्यारो थियो। अरूहरू भुइँमै सिरक ओढेर बसिरहेका थिए। उनलाई पनि त्यहीँ बस्न भनिएको थियो।
त्यसरी बस्न लगाउँदासम्म पनि उनलाई केही लागेको थिएन। तर त्यहाँ रहेका व्यक्तिहरूले उनको मोबाइल लिए। आफूले बोकेको ३ हजार डलर पनि लुटे। त्यसपछि भने उनलाई शंका लाग्यो। आफ्नो आँखामा गिरोहले छारो हालेको भन्ने कुरा उनले बुझे।
‘मेरो ३ हजार डलर लुटे। भारतमा परिवारलाई फोन गर्न लगाए। त्यहाँबाट ४५ लाख भारतीय रुपैयाँ बुझाउन समेत लगाए। घाँटीमा कैँची राखेर मोबाइलमा बोल्न लगाइएको थियो। बन्धक बनाइएको कुरा भन्यो भने मार्ने धम्की दिइएको थियो। मैले पनि बाटोमै छु भन्ने हिसाबले कुरा गरेर पैसा पठाउन लगाएँ।’
परिवारले सिंह अमेरिकाको यात्रामै छन् भन्ने सोचेका थिए। तर उनले भने आफू दलालको चंगुलमा फसिसकेको चाल पाइसकेका थिए। कोठामा उनले भारतमै हुँदा देखेका व्यक्ति पनि त्यहीँ देखे।
‘जुन मान्छेलाई देखेर मैले अमेरिका जाने यात्रा तय गरेको थिएँ त्यो व्यक्ति पनि यहीँ फेला परे,’ उनले भने।
जुन घरमा उनीसहितलाई बन्धक बनाइएको थियो त्यहाँ ८ जना जति काम गर्थे। किचेन पनि त्यहीँ थियो। केही ठूला जिउडाल भएका व्यक्तिहरू पनि थिए। एउटा कोठामा दुई वटा घडी पनि थियो। तर त्यसले नेपालको समय देखाउँदैन थियो।
एउटामा ब्राजिल र अर्कोमा मेक्सिकोको समय देखाउँथ्यो। एक भित्तामा हरियो पर्दा समेत लगाइएको थियो। जहाँ राखेर फोटो भिडिओ खिचाइन्थ्यो। त्यसपछि सिंह जस्तै अन्यलाई पनि बोलाएर बन्धक बनाउने गरिन्थ्यो।
सिंहका अनुसार गिरोहले खाना पानी दिन्थ्यो। तर बाँच्न पुग्ने जतिमात्रै!
‘पाउरोटी खान दिइन्थ्यो। नमरोस् भनेर अलिअलि खान पनि दिन्थे। घरमा फोन गर्न पनि पाँच मिनेटमात्रै, घरमा बोलिरहँदा उनीहरूले घाँटीमा कैंची तेर्साइरहन्थे। हामी डराएर केही नभएजसरी बोल्थ्यौं,’ उनले भने।
उनले आफूले सुरूमा कुरा गरेका एजेन्टलाई आफू बन्धकमा परेको भनेर सन्देश पनि दिन नखोजेका होइनन्।
‘मैले म बन्धकमा परेको भनेर त्यहाँको मान्छेले बुझोस् भनेर विस्तारै रोकीरोकी कुराकानी पनि गरेँ। तर भारतमै बस्ने प्रमुख व्यक्तिले थाहा पाएर यहाँ भनिदिएछन्,’ उनले भने, ‘त्यसपछि मलाई थप्पडका थप्पड हिर्काए।’
यातना दिनकै लागि दुई वटा पाइप समेत राखिएको थियो। यसरी बसेका सिंहसहित ११ जना कसरी फुत्किने टुंगो थिएन। बुधबार मात्रै थप चार जना आइपुगेका थिए।
उनीहरूले पनि अन्य भारतीयहरूलाई बोलाउनका लागि फोटो/भिडिओ खिचाउने काम समेत भएको बताएका छन्।
केही भारतीय नागरिकहरू देखापरेपछि त्यहाँका छिमेकीहरूलाई पनि शंका लागिसकेको थियो। बेलाबेलामा ठूला म्युजिक सिस्टमहरू बज्ने हुँदा पनि छिमेकीहरूलाई शंका थियो।
उक्त घर कसले भाडामा लिएको भन्नेबारे पनि छिमेकीहरू बेखबर थिए। घरबेटीले पनि उनीहरू को हुन् र के काम गर्छन् भन्नेबारे खासै रूचि देखाएका थिएनन्। घरबेटीलाई मासिक ७५ हजार रुपैयाँ दिने गरी उक्त घर भाडामा लिइएको थियो।
घरमा शंकास्पद गतिविधि हुने गरेको भन्ने केही दिन अघि नै सूचना प्रहरीले पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए। त्यसपछि प्रहरी वृत्त गौशाला र प्रहरी परिसरको संयुक्त टोली बुधबार दिउँसो करिब २ बजेतिर पुग्यो।
सादा पोशाकमा गएको टोलीले सुरूमा एक जनालाई पक्राउ गर्यो। त्यसपछि भिडिओ खिच्दै, घरका कोठाकोठा खिच्दै माथिसम्मै पुगे।
जब माथिल्लो तलाको एउटा कोठामा पुगे- पुरूषहरू लस्करै भुइँमा सुतिरहेको फेला परे। अँध्यारो कोठामा रहेका उनीहरूलाई प्रहरीले सोधे- कहाँको हो तिमीहरू?
उनीहरूले जवाफ फर्काए- इन्डियाबाट।
किन आएको भन्ने प्रश्नको उत्तरमा तीमध्ये एकले भने, ‘५-६ दिन भयो। कामको चक्करमा यहाँ आइपुगेका हौं। कम्बलहरू बनाउने कामहरू गर्छौं।’
एक्कासि आएर यसरी प्रश्न गर्दा उनीहरू अचम्मित थिए। विदेश जान लागेको हो भन्ने प्रश्न गर्दा इन्कार गर्दै थिए।
जसै उनीहरूलाई तल लिएर गए प्रहरीहरू भएको थाहा पाए। उनीहरू भावुक बने।
‘हामीलाई त काम के गर्छौं भनेर सोध्यो भने कम्बल बनाउने भन्नू भनेर भनिएको थियो। सुरूमा देख्दा हामीले डरमा त्यसो भन्यौं। तर मुनि लग्दै गर्दा मैले तारा भएको प्रहरी देखेँ। त्यसपछि म भावुक भएँ,’ सिंहले भने।
प्रहरीले उद्धार गरेको थाहा पाएर उनीहरूले एकले अर्कालाई अँगाले, घरमा फोन सम्पर्क गरी घटनाबारे जानकारी दिए।
त्यसपछि भवनमा रहेका प्रहरीले ८ जनालाई पक्राउ गर्यो। ती सबै जना भारतीय नागरिकहरू नै हुन्। एक जना भने नेपाली हुन्। उनी माकलबारी बस्ने लक्ष्मण गिरी हुन्। उनले भने नक्कली कागजात बनाउन सहयोग गरेको पाइएको छ।
पक्राउ पर्नेहरूमा इन्दुसिंह यादव, निपुन गुप्ता, चरणजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मल्होत्रा, रवि मेवादे र रामचन्द्र शर्मा छन्। माकलबारी बस्ने लक्ष्मण गिरी हुन्।
इन्दु यो गिरोहका मुख्य व्यक्तिको रूपमा देखिएका छन्। २०४२ सालमा नेपाल आएर उनले गार्मेटको काम सुरू गरेका थिए। निपुन गुप्ता भन्ने व्यक्तिको नाममा घर भाडामा लिइएको थियो।
चरणजित र रामचन्द्र शर्मा कुक हुन्। अन्य व्यक्तिहरू भने मानसिक तथा शारीरिक यातना दिनका लागि राखिएको थियो। अब्दुल रहिम आइटी विज्ञ समेत हुन्। उनैको सहयोगमा विभिन्न लोकेसन देखाएर विश्वस्त पार्ने, फोटो भिडिओ तयार पारिन्थ्यो।
९ जनालाई नै पक्राउ गरेपछि परिसरले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो।
घटना सार्वजनिक हुँदा पीडितहरू पनि परिसरमा उपस्थित थिए।
त्यसैबीच सिंहलाई अब फेरि विदेश जानुहुन्छ त भनेर सोधिएको प्रश्नमा उनले भनेका थिए,‘पेसे कहाँ रहा, अब तो हमारा लाइफ खत्तम हुवा!’
यसरी उद्धार गरिएको अपरेसनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले ‘अपरेसन डंकी’ राखेको भूपेन्द्र खत्रीले बताए।
‘यो घटना भर्खरै रिलिज भएको शारूख खानको सिनेमा डंकी जस्तै छ। भारतबाट नेपाल ल्याएर अमेरिकासम्म पुर्याउने भनेर आश्वासन दिइने भएर हामीले यसलाई अपरेसन डंकी भनेका हौं,’ एसएसपी खत्रीले भने, ‘यसमा उनीहरूलाई अमेरिका पुर्याउने योजना नै नभएको देखिन्छ।’
उनले यस्ता घटनाहरूबाट जोगिन घरबेटीहरू एकदमै चनाखो हुनुपर्ने देखिएको पनि बताए।
‘मैले बारम्बार अनुरोध गर्दै आएको छु। घरबेटीले कस्तो व्यक्तिलाई कुन प्रयोजनका लागि घर भाडामा दिँदैछन्, को हुन् भन्ने यकिन गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘त्यसो गर्दा अपराध नियन्त्रणमा सहज हुन्छ।’
यसरी उनीहरूलाई बन्धक बनाएर कहिले छाड्ने भन्ने समेत यकिन नभएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन्।
पहिल्यै केही व्यक्तिहरूलाई पनि यसरी नै बन्धक बनाएको भन्ने बयान पीडितहरूले दिएका छन्।
पक्राउ परेका ९ जनामाथि प्रहरीले मुलुकी अपराध संहिता २०७४ को अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुर र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान अघि बढाएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न समेत अनुमति प्रहरीले लिइसकेको छ।
उद्धार गरिएकाहरूलाई भारत पठाउन काठमाडौंस्थित भारतीय दूतावाससँग समन्वय भइरहेको छ। प्रधान कार्यालयमार्फत् परराष्ट्र मन्त्रालय, इन्टरपोल र भारतीय प्रहरी समेतसँग समन्वय भएको एसएसपी खत्रीले बताए।
भारतमै रहेका केही गिरोहसँग संलग्नहरूलाई पनि कारबाहीको दायरामा ल्याउन प्रहरीले पत्राचार गरेको हो।
सबै तस्बिर: सेतोपाटी