त्रिभुवन विश्वविद्यालयको उपकुलपति मेरिटका आधारमा नियुक्त हुनुपर्छ भन्ने बहस भइरहेको छ।
पछिल्लो समय राजनीतिक भागबन्डाका आधारमा त्रिविलगायत विश्वविद्यालय पदाधिकारी नियुक्ति गरिएको थियो। विश्वविद्यालयका शैक्षिक गुणस्तर तथा व्यवस्थापकीय पक्ष सुधार ल्याउन मेरिटका आधारमा उपकुलपति नियुक्ति गर्ने तयारीसाथ प्रक्रियासमेत चलिरहेको छ।
प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल प्रचण्डले अबदेखि मेरिटोक्रेसी सुरू हुने र त्यसको प्रस्थानविन्दु त्रिवि हुने घोषणा नै गरेका थिए।
त्रिवि उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकोमा सर्टलिस्टमा १४ जना परेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको नेतृत्वमा रहेको सर्ट कमिटीले केही दिनमा तीन जनाको नाम कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई पेश गर्नेछन्। फागुन पहिलो साता त्रिविले २० औं उपकुलपति पाउने सम्भावना छ।
तर कतिपय शिक्षाविद् र पूर्वउपकुलपतिहरूले उपकुलपति छनोट मापदण्डमै प्रश्नसमेत उठाइरहेका छन्। मेरिटका आधारमा उपकुलपति नियुक्ति गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री दाहालमाथि योग्यलाई नियुक्त गर्नुपर्ने चुनौती पनि छ।
समग्र त्रिवि सुधार्न योग्य उपकुलपति खोजिरहेका बेला त्रिविभित्र राजनीतिक भागबन्डालाई नै निरन्तरता दिइएको पाइएको छ। गत कात्तिकदेखि निमित्त पदाधिकारीका भरमा चलेको त्रिविले कार्यकारी परिषदबाट राजनीतिक भागबन्डाका आधारमा हालै नियुक्ति गरेको छ।
निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसालले कार्यकारी परिषदबाट निर्णय गराएर राजनीतिक भागबन्डाकाकै आधारमा नियुक्ति दिएका हुन्। त्रिविको दैनिक कार्यसञ्चालन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गत कात्तिक १६ गते भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो।
त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको गत कात्तिक १६ देखि पदावधि सकिएको थियो।
‘रिक्त पदमा त्रिवि ऐन २०४९ को दफा २१ (ख) बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न बढीमा तीन महिनाका लागि तपाईं (शिवलाल भुसाल) लाई प्रधानमन्त्री एवं कुलपतिबाट उपकुलपतिको जिम्मेवारी तोकिएको छ,’ सचिव अर्जुनप्रसाद पोखरेलले गत कात्तिक १७ गते दिएको पत्रमा उल्लेख छ।
त्रिवि ऐनअनुसार निमित्त तीन महिना दिन मिल्छ। सो अवधि माघ १६ भित्र पनि त्रिवि उपकुलपति नियुक्त नभएपछि गत माघ १६ गते भुसाललाई नै उपकुलपतिमा निरन्तरता दिइएको थियो। भुसाललाई नै दोहोर्याएर निमित्त उपकुलपति दिएको भन्दै आलोचनासमेत भएको थियो।
दैनिक कार्य सञ्चालन गर्न उपकुलपति तोकिए पनि भुसालले यस अवधिमा सहायक डीन, विभागका प्रमुख र क्याम्पस प्रमुखहरू नियुक्त गरेका छन्।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट व्यक्तिहरूलाई निमित्त उपकुलपति भुसालले नियुक्तिमा प्राथमिकता दिएको र निमित्त उपकुलपतिले दीर्घकालीन असर पर्ने निर्णय गरेको भन्दै विरोध भएको छ।
त्रिविमा अहिले निमित्त उपकुलपति भुसाल, निमित्त रजिस्ट्रार कृष्णप्रसाद बस्याल र निमित्त रेक्टर भार्गव धिताल छन्। भुसाल माओवादीनिकट हुन् भने कानुन संयकायका डीनसमेत रहेका निमित्त रजिस्ट्रार बस्याल कांग्रेसनिकट र कृषि संस्थानका डीनसमेत रहेका रेक्टर धिताल माओवादीनिकट हुन्।
विश्वविद्यालयको कार्यकारी निकायका रूपमा कार्यकारी परिषदले काम गर्छ।
उपकुलपतिको अध्यक्षतामा रहेको परिषदमा रजिस्ट्रार र रेक्टर सदस्य हुन्छन्। अध्ययन संस्थान डीनमध्येबाट एक, संकायका डीनमध्येबाट एक, विश्वविद्यालय शिक्षकमध्येबाट दुई सदस्य रहने व्यवस्था छ।
कार्यकारी परिषदमा रहेकामध्ये अहिले उपकुलपति, रजिस्ट्रार र रेक्टर निमित्त छन्। यस्तो अवस्थामा राजनीतिक भागबन्डाकै आधारमा त्रिविमा नियुक्ति प्रक्रिया अघि बढाइएको हो।
कार्यकारी परिषदलाई डीनहरू, कार्यकारी निर्देशकहरू, केन्द्रीय विभाग प्रमुखहरू, क्याम्पस (महाविद्यालय) प्रमुख पनि नियुक्त गर्ने अधिकार छ। तर परिषदमा आधा सदस्य नै निमित्त भएका बेला नियुक्ति गर्न नमिल्ने परिषदकै सदस्य बताउँछन्।
निमित्त उपकुलपति भुसालले माघ २३ गते कार्यकारी परिषद बैठक राखेर सहायक डीन, विभागीय प्रमुख र ६ क्याम्पस प्रमुख नियुक्ति गर्ने निर्णय गरेका हुन्।
त्रिवि कार्यकारी परिषद सदस्य प्राध्यापक महानन्द चालिसेले निमित्त उपकुलपतिले बैठक गरेर नियुक्ति गर्न नसक्ने बताए। तर राजनीतिक भागबन्डाका आधारमा निमित्त उपकुलपति भुसालले विभिन्न नियुक्ति गर्ने गरी निर्णय गरेकोले आफूले बैठकमै विरोध गरेको उनको भनाइ छ।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रष्ट भनेको छ- दैनिक कामकाज गर्नलाई मात्रै निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो। नियुक्तिजस्ता निर्णय गर्न पाइँदैन,’ उनले सेतोपाटीसँग भने, ‘परिषदकै बैठकमा मैले यो कुरा राखेको थिएँ, निमित्त उपकुलपतिले गलत गर्नुभयो।’
कार्यकारी परिषद सदस्य चालिसे दोहोर्याएर भुसाललाई नै निमित्त उपकुलपति जिम्मेवारी दिनु सरकारको गलत निर्णय हो भन्छन्।
‘सरकारबाट पनि गलत भएको छ। उहाँ (भुसाल) लाई ऐनअनुसार तीन महिना मात्रै निमित्त दिन मिल्छ। दोहोर्याएर उहाँलाई नै फेरि निमित्त दिइयो, यो त्रिवि ऐनअनुसार पनि मिल्दैन, सरकारले नै गलत गर्यो। सरकारले नै गलत गरेपछि उहाँ (भुसाल) ले पनि गलत काम गर्दै आउनुभएको छ,’ उनले भने।
कार्यकारी परिषदका सदस्यहरू निमित्त भएका बेला नियुक्तिजस्ता निर्णय लिन हुन्न भनेर आफूले बैठकमै कुरा राखेको उनले बताए।
‘म परिषदमा अल्पमतमा छु, तैपनि मैले अहिले नियुक्ति गर्नेजस्ता काम हामीले नगरौं भनेको थिएँ,’ उनले भने, ‘दैनिक क्रियाकलापका काम गरौं भनेर भनेको थिएँ। तर राजनीतिक पार्टीहरूको चर्को दबाब भएर हो कि के हो निमित्त उपकुलपतिले विभिन्न पदमा नियुक्ति अघि बढाउनुभयो।’
नियुक्ति गर्दा वरिष्ठता हेरेरभन्दा पनि राजनीतिक भागबन्डाकै आधारमा गर्ने अभ्यास रहेको उनले बताए।
‘विभाग प्रमुखका तोक्न निश्चित मापदण्ड बनाइएको छ, यसमा समस्या छैन,’ उनले भने, ‘क्याम्पस प्रमुख नियुक्तिमा अरू केही हेरिँदैन, राजनीतिक भागबन्डामै गर्ने गरिन्छ। यो क्याम्पसमा कांग्रेस, त्यो क्याम्पसमा एमाले, अर्कोमा माओवादी भनेर भागबन्डा गरेर क्याम्पस प्रमुख नियुक्त गरिन्छ।’
माघ २३ को कार्यकारी परिषदले प्राध्यापक चिरञ्जीवि आचार्यलाई मानविकी तथा सामाजिक शास्त्र संकायको सहायक डीनमा नियुक्त गरेको थियो। उनी नेपाली कांग्रेसनिकट हुन्।
नेपाली केन्द्रीय विभाग प्रमुखमा कृष्णप्रसाद न्यौपाने, भूगर्भशास्त्र विभाग प्रमुखमा दिनेश पाठक र गणित विभाग प्रमुखमा चेतराज भट्टराई नियुक्तिको निर्णय कार्यकारी परिषदले गरेको थियो।
६ वटा क्याम्पसमा प्रमुख नियुक्तिको पनि निर्णय भएको छ। राजनीतिक भागबन्डाका आधारमा क्याम्पस प्रमुखहरू तोकिएका छन्।
सत्तारूढ नेकपा (माओवादी) ले गोरखा र लमजुङ क्याम्पस प्रमुख लिएको छ। गोरखा क्याम्पसमा उपप्राध्यापक नवराज पाण्डे र लमजुङ क्याम्पसमा उपप्राध्यपाक मिलन सुवेदी नियुक्त भएका छन्। माघ २३ को कार्यकारी परिषदको निर्णयअनुसार भन्दै माघ २४ मा उनीहरूलाई नियुक्ति पत्र दिइएको छ।
काठमाडौंको पब्लिक युथ धोबीचौरमा उपप्राध्यापक रामेश्वर आचार्य क्याम्पस प्रमुख नियुक्त भए। उनी कांग्रेसनिकट हुन्।
इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस प्रमुखमा सहप्राध्यापक गंगाराम पौडेल नियुक्त भएका छन्। उनी नेकपा (एमाले) निकट हुन्।
परिषदले रामपुर क्याम्पसमा उपप्राध्यापक कपिल काफ्ले र नेपाल ल क्याम्पसमा सहप्राध्यापक श्यामबहादुर कार्कीलाई क्याम्पस प्रमुख नियुक्त गरेको छ। काफ्ले कांग्रेसनिकट र कार्की माओवादीनिकट मानिन्छन्।
त्रिवि निमित्त पदाधिकारीको ध्यान आफ्ना मान्छे कहाँ नियुक्त गर्ने भन्नेमै छ: स्ववियु सभापति
त्रिविका स्ववियु सभापति श्यामराज ओझाले निमित्त पदाधिकारीहरूले शैक्षिक सुधारलगायत विषयमा ध्यान नदिएको बताए।
‘अहिले विश्वविद्यालय निमित्तको भरमा चलिराखेको छ। शैक्षिक सुधारजस्ता विषयमा उहाँहरूले ध्यान दिनुभएको छैन। राजनीतिक दाउपेच, आफ्ना मानिस कहाँ, कसरी सेट गर्नेमा केन्द्रित देखिन्छ,’ उनले भने, ‘विश्वविद्यालय र विद्यार्थीसँग जोडिएका सवालमा उहाँहरूको प्राथमिकता देखिएन।’
एकै मानिसलाई दोहोर्याएर निमित्त उपकुलपति दिने काम कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालबाट भएको उनी बताउँछन्।
‘मुख्य तीन पदाधिकारी नै निमित्त छन्। निमित्तका भरमा त्रिवि चलाएर विश्वविद्यालयका नीति, परीक्षा र मुख्य निर्णयमा ढिलाइ र प्रभाव पार्न खोजिएको छ,’ उनले भने, ‘हाम्रै दबाबमा प्रमाण पत्र अनलाइनबाट लिन मिल्ने बनाइएको थियो। तर त्यो ह्याक भयो, आजसम्म बनाउन सकेका छैनन्। निमित्त उपकुलपतिको यसमा ध्यान छैन, उहाँ राजनीतिक भागबन्डामा नियुक्ति दिन व्यस्त हुनुहुन्छ।’
के भन्छन् निमित्त उपकुलपति भुसाल?
निमित्त उपकुलपति शिवलाल भुसालले कतिपय क्याम्पसमा पारिश्रमिक दिन, विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउन र शैक्षिक प्रमाण पत्रमा हस्ताक्षर गर्ने काम रोकिने अवस्था देखिएकोले नियुक्ति गरिएको बताए।
‘त्रिविलाई यसै राख्न त भएन, छिटो उपकुलपति पठाइदिनुपर्यो,’ भुसालले भने, ‘विद्यार्थी भर्ना रोकिने अवस्था छ, शैक्षिक प्रमाण पत्र सही गर्ने मान्छे छैन। एक/दुई महिना विद्यार्थी पर्खन्छ, सधैं गाह्रो हुन्छ। नियुक्ति नगर्ने कि भनेर केही समय पर्खेको हो तर अब ढिलो हुन्छ भने नियुक्ति अघि बढायौं।’
निमित्त उपकुलपतिले नियुक्ति गर्न मिल्छ कि मिल्दैन बहसकै विषय भएको भुसाल बताउँछन्। ‘यसमा यहाँहरू बहस गर्नुहोस्, अहिले म धेरै बोल्दिनँ,’ उनले भने।
क्याम्पस प्रमुखहरू नियुक्तिमा राजनीतिक भागबन्डाबारे सोधिएको प्रश्नमा भुसालले घुमाउरो तरिकाले स्वीकार गरेका छन्।
‘कतिपय स्वायत्त क्याम्पस छन्, उनीहरूको सिफारिसमा पनि नियुक्ति गर्ने गरिन्छ,’ भुसालले भने, ‘त्रिविमा काम गर्ने मानिस कहीँ न कहीँ जोडिएको हुन्छ। जो नियुक्त गरे पनि ल फलानो पार्टीको भनिहाल्छन्, यस्तै हो। तर निश्चित आधार तथा विधि नभइकन नियुक्ति गरेको छैन।’
निमित्त उपकुलपति भुसाल पनि त्रिवि उपकुलपति दौडमा छन्। भुसालसहित १४ जनाको नाम सर्टलिस्टमा परेको छ।
यो पनि:
चार पूर्वउपकुलपतिहरूको भनाइ
बौद्धिक चोरीमा परेका कांग्रेसनिकट पूर्वउपकुलपति खनियाँ फेरि त्रिविको सर्टलिस्टमा
त्रिवि उपकुलपतिका लागि आवेदन दिएका ४३ जनाबाट १४ जनाको नाम छनोट
त्रिवि उपकुलपति नियुक्तिमा ढिलाइ, भुसाललाई नै निरन्तरता
त्रिवि उपकुलपतिका लागि ४३ जनाले दिए आवेदन
संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले उपकुलपतिमा दाबी गर्न सक्छन्, राजनीतिक भागबन्डा हुन्न: प्रधानमन्त्री
गगन र प्रदीपले भने- त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नहोस्