त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा आवेदन दिएका ४३ जनामध्ये १४ जना अल्पसूची 'सर्टलिष्ट' मा परेका छन्।
सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको अध्यक्षतामा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले बिहीबार बेलुकी १४ जनाको नाम सार्वजनिक गरेको हो।
उपकुलपति सिफारिससम्बन्धी कार्यविधि २०८० अनुसार आवेदन दिएकामध्ये कम्तीमा एक तिहाइ वा १५ जनामध्ये जुन कम हुन्छ सोहीअनुसार अल्पसूची प्रकाशित गर्नुपर्ने हुन्छ। त्यसअनुसार ४३ जनामध्ये १४ जनाको नाम अल्पसूचीमा परेको हो।
प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बर्णानुक्रमअनुसार काठमाडौंकी कुशुम शाक्य, पाल्पाका केशरजङ्ग बराल, काठमाडौंका गोविन्द सुवेदी, बागलुङका चित्रबहादुर बुढाथोकी, नवलपरासीका ज्ञानेन्द्रप्रसाद पौड्याल, ओखलढुंगाका टंकनाथ धमला, चितवनका तीर्थराज खनियाँको नाम सार्वजनिक भएको छ।
साथै अर्घाखाँचीका नारायणप्रसाद वेलवासे, काठमाडौंका प्रकाश घिमिरे, काठमाडौंकै भोजराज अर्याल, बागलुङका महेन्द्रप्रसाद शर्मा, काठमाडौंका रामचन्द्र बस्नेत, अर्घाखाँचीका शिवलाल भुसाल र गुल्मीका सूर्यबहादुर थापाको नाम अल्पसूचीमा परेको छ।
उनीहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण माघ २९, फागुन १ र २ गते सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा हुनेछ।
अल्पसूचीमा परेकामध्ये अर्घाखाँचीका भुसाल अहिले त्रिविका उपकुलपति छन्। यसअघि शिक्षाध्यक्ष रहेका भुसाललाई उपकुलपति नियुक्ति ढिलाइ हुँदा दैनिक कामकाज गर्न दोस्रो पटक कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनाका लागि उपकुलपति बनाएका थिए।
यो पनि: त्रिवि उपकुलपति नियुक्तिमा ढिलाइ, भुसाललाई नै निरन्तरता
यसअघिका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल गत कात्तिक १६ गते सकिएको थियो। त्यसपछि भुसाललाई कार्यवाहक उपकुलपतिको जिम्मा दिइएको थियो। भुसालमाथि सूचना लुकाएको आरोप लागेको थियो। शिक्षाध्यक्ष हुँदा 'जिम्मेवारी पालनामा गैरजिम्मेवार देखिएको' ठहर गर्दै राष्ट्रिय सूचना आयोगले भुसाललाई पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो।
‘नागरिकको संविधान प्रदत्त र कानुनले व्यवस्था गरेको सूचना हकको ठाडो उल्लङ्घन गर्ने त्रिवि शिक्षाध्यक्ष कार्यालय कीर्तिपुरका कार्यालय प्रमुख (शिक्षाध्यक्ष) लाई सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा ५ बमोजिम पाँच हजार रुपैयाँ जरिवाना हुने ठहर्छ, जरिवाना असुल उपर गरी आयोगलाई जानकारी गराउन काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई लेखी पठाउनू’ ०७७ मंसिर २५ गते आयोगले ठहर गरेको थियो।
अल्पसूचीमा चितवनका तीर्थराज खनियाँको नाम पनि परेको छ। खनियाँ ०७२ भदौमा त्रिवि उपकुलपति नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री तथा कुलपति सुशील कोइरालाले खनियाँलाई उपकुलपति बनाएका थिए।
खनियाँ बौद्धिक चोरीको आरोपमा मुछिएका व्यक्ति हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले त्रिवि उपकुलपति सर्टलिष्ट सार्वजनिक भएपछि ती नामावली देखेर असन्तुष्टि जनाएकी छन्।
‘धिक्कार छ छनोट समितिको योग्यताको परिभाषा। प्रधानमन्त्रीज्यू, तपाईंलाई प्रमाणसहित दिएको पत्र डस्टबिनमा गएछ। तपाईंको आश्वासन- युजलेस।बौद्धिक वर्ग- तपाईंहरूलाई फोटोको लागि प्रयोग गरियो। के तपाईंहरू यो टाइटलमा लुप्त हुनु भएको हो?’
बौद्धिक चोरीको आरोप लागेकालाई उपकुलपति बनाएकोमा त्यसैबेला पनि विरोध भएको थियो।
‘प्रधानमन्त्री सुशीलजीलाई प्लेजरिजमको राम्रो ज्ञान भएको भए खनियाँलाई उपकुलपति नियुक्त गर्नु हुँदैनथ्यो,’ त्यसबेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले भनेका थिए।
पढ्नुस् त्यसबेला सेतोपाटीमा प्रकाशित लेख: कृतिचोर नै उपकुलपति!
टर्कीका भाषाविद् फेरित किलिकायाको एक लेखबाट ५३ पंक्ति हुबहु सारेको विषय खनियाँ उपकुलपति हुनेबित्तिकै सार्वजनिक भएको थियो। त्यसबेला किलिकायाले ‘बौद्धिक चोरी गर्ने खनियाँको नियुक्ति विश्वविद्यालयका लागि दुर्भाग्यपूर्ण हुनेछ,’ भन्ने प्रतिक्रिया दिएका थिए।
यो पनि पढ्नुस्: खनियाले बौद्धिक सम्पत्ति चोरी गरेका टर्कीका रिसर्चर भन्छन् : उनीबाट विद्यार्थीले के सिक्लान!
नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसियेसन (नेल्टा) द्वारा प्रकाशन हुने जर्नलमा सन् २००६ छापिएको खनियाको लेखको आधा भाग र निष्कर्ष किलिकायाको लेखबाट जस्ताको तस्तै सारिएको थियो।
खनियाँमाथि बौद्धिक चोरीको आरोप र अरू विभिन्न गतिविधिले कार्यकालमा त्रिविकै साख गिराएको आरोपसमेत लागेको थियो।
यो पनि पढ्नुस्: त्रिविमा खनियाँको दुईवर्षे खलनायकी
खनियाँमाथि कृतिचोर अभियोग
तीर्थ खनियाँले गरेको चोरी प्रमाणित भएको छ, तर उनी चुपचाप घरै बस्ने व्यक्ति भएको भए यसरी पछ्याउनुपर्ने आवश्यकता थिएन होला। त्रिविका पूर्वउपकुलपति भएका कारण उनको यो अभियोग सान्दर्भिक र अति गम्भीर हुन पुग्यो, किनकि यसले मुलुकको प्रमुख विश्वविद्यालयको छवि, आत्मबल र भविष्यमा घात पुर्याउँछ।
खनियाँले अन्यत्र पनि कृतिचोरी गरेका छैनन् भन्न सकिन्न, तर प्रसंग भनेको उनले टर्कीको एक जना भाषाविदको पेपरको ठूलो अंश आफ्नो भनेर पेस गर्नु हो। फेरिट किलिकाया नाम गरेका प्राध्यापकले ‘टिइएएसएल जर्नल’ नामक ई–पत्रिकाको वर्ष १० अंक ७ (जुलाई २००४) को संस्करणमा आफ्नो पेपर छपाए। शीर्षक थियो– ‘अथेन्टिक मेटिरियल्स एन्ड कल्चरल कन्टेन्ट इन इएफएल क्लासरुम्स’।
अंग्रेजीलाई दोस्रो भाषाका रूपमा पढाउने (‘इङ्लिस एज अ सेकेन्ड ल्याङ्वेज’) विशेषज्ञ रहेछन्, किलिकाया, र उनको पेपरको जिकिर थियो– अंग्रेजी पढाउन विशेष सामग्री तयार पार्नुभन्दा अंग्रेजी भाषामा उपलब्ध सार्वजनिक लेखनकै प्रयोग गरी पढाउँदा विद्यार्थीले छिटोछरितो हिसाबले अंग्रेजी सिक्छन्। उनले भनेका थिए, अंग्रेजीमा उपलब्ध समसामयिक पत्रिका र अन्यत्र प्रस्तुत लेख–रचना लगायत हरेक खालका ‘अथेन्टिक’ सामग्रीले नै अंग्रेजी भाषा सिक्न सजिलो पारिदिन्छ, न कि विद्यार्थीलाई भनी तयार पारिएको विशेष सामग्रीले।
यही विचार तीर्थराज खनियाँले नेपाल इङ्लिस ल्याङ्वेज एसोसिएसन (नेल्टा) को ‘नेल्टा जर्नल’ मा उही विषयमा आफ्नो पेपर प्रकाशन गरे, वर्ष ११, अंक १–२ (डिसेम्बर २००६) मा। त्यसको शीर्षक थियो, ‘युज अफ अथेन्टिक मेटिरियल्स इन इएफएल क्लासरुम्स’। उक्त लेखको आसय टर्केली प्राध्यापकको जस्तै थियो, अर्थात् ‘नन्–नेटिभ–स्पिकर’ लाई अंग्रेजी पढाउन सान्दर्भिक ‘अथेन्टिक’ सामग्रीको प्रयोग नै उपयुक्त हुन्छ। यो विचार र तर्कमा दुई प्राध्यापकको विचार मिल्नु त राम्रो कुरा नै हो, तर खनियाँले आफ्नो २००६ को लेखमा किलिकायाको २००४ को प्रस्तुतिको सहारा लिएको नभई सरासर ‘कपी’ गरेको देखियो। यो तथ्य किलिकाया आफैंले पत्ता लगाएर नेल्टाका पदाधिकारीलाई सतर्क गराएका थिए।
दुई लेखमा झन्डै दुईतिहाइ भाषा, वाक्यांश, हुबहु छन्। कतैकतै अलि फरक देखाउन खनियाँले उही शब्द प्रयोगलाई घुमाउरो पाराले प्रस्तुत गरेको देखिन्छ, तर यस्तोमा पनि विचार र प्रस्तुतीक्रम सीधै ‘कपी’ गरेको देखिन्छ। हुँदाहुँदा यदाकदा किलिकायाले गलत या अप्ठेरो अंग्रेजी प्रयोग गर्दा पनि खनियाँको पेपरमा हुबहु प्रस्तुत छ। एकठाउँमा किलिकायाले पाँच वटा ‘बुलेट प्वाइन्ट’ राखेका छन्, ‘अथेन्टिक सामग्रीको परिभाषा’ सबहेड अन्तर्गत, अनि खनियाँले पनि ठ्याक्कै त्यही गरेका छन्। किलिकायाको पेपरको पुछारमा राखिएका १४ वटा रेफरेन्समध्ये खनियाँले १२ वटा राखेका छन्। खनियाँले गरेको प्लेजरिजमलाई द रिपब्लिका अखबारले दुई पेपरलाई दाँजेर हाइलाइट नै गरी ‘कपी पेस्ट’ गरेको देखाएको थियो।
यस्तो संगीन प्रमाणसहितको आरोप आउँदा पनि न त्रिवि न त्रिविबाट बाहिरका बौद्धिक वृत्तले आपत्ति जनाएका थिए, त्यो पनि पार्टीगत भागबन्डाको दुष्परिणाम नै मान्नुपर्यो। प्लेजरिजमका वाहक नेल्टाका पदाधिकारीले पनि आवाज उठाएनन्। कृतिचोरीको यो तहको र यो हदको अभियोगले मुलुकको शिक्षा प्रणालीलाई नै तहसनहस पार्न सक्छ भन्ने आम जनमानसमा सञ्चार भएन। प्रिन्ट र अनलाइन मिडियाले अभियोग उठाए, तर नागरिक समाज र बौद्धिक वृत्तले यसलाई मुद्दा बनाएनन्।
पढ्नुस् यो लेख: यसकारण भिसी बन्न लायक छैनन् तीर्थ खनियाँ
हरेक चुनावमा कांग्रेसबाट उम्मेदवार सिफारिस हुन्छन् तीर्थ खनियाँ
प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नहुने र मेरिटका आधारमा गरिने बताउँदै आएका छन्।
तर बौद्धिक चोरी आरोप लागेका तथा नेपाली कांग्रेसबाट पटक-पटक उम्मेदवार सिफारिस हुने गरेका तीर्थ खनियाँ उपकुलपतिका लागि सर्टलिष्टमा परेका छन्।
खनियाँ कांग्रेसको राजनीतिमा सक्रिय छन् भन्ने उनी पटक-पटकका चुनावका बेला उम्मेदवार सिफारिसमा परेकोबाट देखिन्छ। २०७९ मंसिरको चुनावअघि पनि खनियाँको नाम उम्मेदवारका लागि कांग्रेस चितवनले सिफारिस गरेको थियो।
०७९ भदौमा कांग्रेस चितवनले चितवन क्षेत्र नम्बर १ बाट स्वर्णिम वाग्ले, विश्व पौडेल, राजेन्द्र बुर्लाकोटी, उमेश श्रेष्ठ, भीम थपलिया, तीर्थ खनियाँ गरी ६ जनाको नाम सिफारिस गरेको थियो। कांग्रेसले यहाँ विश्व पौडेललाई टिकट दिएको थियो।
साथै २०७४ को आमचुनाव अघि कांग्रेस चितवनले २७७ जना उम्मेदवार सिफारिस गर्दा खनियाँको नाम पनि समावेश थियो। चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि खनियाँको नाम सिफारिस भएको थियो। तर उनलाई कांग्रेसले टिकट दिएको थिएन।
खनियाँ भन्छन्- मैले राजनीति छाडिसकेँ
त्रिवि उपकुलपति सर्टलिस्टमा नाम समावेश भएका तीर्थ खनियाँले आफूले राजनीति छाडिसकेको बताए।
सेतोपाटीसँग शुक्रबार बिहान कुराकानी गर्दै खनियाँले भने, ‘राजनीतिबारे मैले बोल्नै भएन, मैले पार्टी छोडेँ। अब म कुनै पनि पार्टीमा छैन। अब भिसी भए पनि नभए पनि राजनीति नगर्ने, एकेडेमिक हुने।’
बौद्धिक चोरी आरोपबारे सोधिएको प्रश्नमा उनले आफू त्रिवि उपकुलपति हुँदा धेरै कुराले आक्रमण भएको बताए।
‘म भिसी हुँदा धेरै कुराले आक्रमण भयो, मिडियाले गरे, उनीहरूको कामै थियो। त्यसपछि एउटा आयोग गठन भयो, शिक्षा मन्त्रालयका सहसचिव तुलसी थपलियाको नेतृत्वमा,’ उनले भने, ‘मेरो बारे उजुरी नै परेको थियो। उहाँहरूले मसँग बयान लिनुभयो, छानबिन गर्नुभयो। मसँग डकुमेन्ट माग्नुभयो तर मलाई उहाँहरूले उपकुलपतिबाट निकाल्नु भएन।’
आफूलाई छानबिन समितिले उपकुलपतिबाट ननिकालेपछि 'प्रमाण छैन होला' भन्ने लागेको उनले बताए। ‘प्रमाण छैन होला भन्ने लागेर मैले उपकुलपतिमा त्यसबेला निरन्तरता दिएको थिएँ,’ उनले भने।
कसरी छनोट हुन्छन् उपकुलपति?
१०० पूणाङ्कलाई आधार बनाएर धेरै अङ्क ल्याउनेलाई उपकुलपति नियुक्त गर्ने व्यवस्था छ।
प्राध्यापक पदमा कार्यअनुभवमा १०, विद्यावारिधि उपाधि प्राप्तमा ५, विश्वविद्यालय वा प्रतिष्ठान पदाधिकारी अनुभव प्राप्त गरेकोमा ४, किताब प्रकाशन गरेकोमा ५, प्राज्ञिक अनुसन्धानमूलक परियोजना सम्पन्न गरेकोमा ६, विश्वविद्यालयसम्बन्धी सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजनामा ३५, प्रस्तुतीकरणमा २० र अन्तर्वार्तामा १५ गरी कूल १०० पूर्णाङ्कमा आधार रहेर मूल्याङ्कन गराउने त्रिवि उपकुलपति सिफारिसम्बन्धी कार्यविधिको व्यवस्था छ।
शिक्षा मन्त्री राई अध्यक्ष रहेको सिफारिस समितिले आवेदन दिएकाहरूबारे विज्ञहरू प्रकाशमान श्रेष्ठ, वासुदेव काफ्ले र भीम सुवेदीमार्फत् मूल्याङ्कन गराएको थियो। कार्यविधिअनुसार विद्यावारिधि उपाधि हासिल गरेको र कम्तीमा पाँच वर्ष अनुभवप्राप्त प्राध्यापकमध्येबाट विज्ञ छनोट गर्ने व्यवस्था छ।
छनोट तथा सिफारिस समितिले सर्वोत्तम अङ्क प्राप्त गर्ने तीन जनाको नाम कुलपतिसमक्ष बुझाउनुपर्ने व्यवस्था छ। धेरै अङ्क ल्याउनेलाई कुलपतिले २० औं उपकुलपति नियुक्त गर्ने व्यवस्था छ।
(शीर्षक सम्पादन गरिएको)