बुटवल–तानसेन सडक खण्डको विकल्पका रूपमा सुरु गरिएको झुम्सा–चरंगे सडक साढे ५ वर्ष बितिसक्दा पनि पूरा भएको छैन।
हिउँद होस् कि बर्खा, जुनसुकै मौसममा पहिरोको जोखिम हुने सिद्धबाबा खण्डको विकल्प मानेर लुम्बिनी प्रदेश सरकारले झुम्सा–चरंगे सडकको काम सुरु गरेको थियो।
कुल २० किलोमिटर लामो उक्त सडकमध्ये १५ किलोमिटरमा धेरै काम छ, ५ किलोमिटर भने अलपत्र छ।
पाल्पातर्फ तिनाउ गाउँपालिका–३, झुम्साबाट चौकी भन्ज्याङसम्म साढे सात किलोमिटर र रुपन्देहीतर्फ बुटवल धागो कारखानाबाट देवदह नगरपालिका १० चरंगेसम्म सडक निर्माणाधीन छ।
उक्त १५ किलोमिटर खण्ड मर्मतसम्भार गर्दै र केही फराकिलो बनाइएको छ। अन्त्यन्त अप्ठ्यारो मानिने र चुरेको जंगलक्षेत्र रहेको चौकी भन्ज्याङबाट चरङगेसम्म पाँच किलोमिटरमा पनि ट्र्याक खोलिएको थियो।
बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा बर्सेनि पहिरोको जोखिम बढेपछि २०६८ सालयता विकल्प खोज्न चौतर्फी दबाब थियो।
लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकारले २०७५ सालमा १० करोड रुपैयाँ विनियोजन गरेर सिद्धार्थ राजमार्गको झुम्साबाट महेन्द्र राजमार्गको धागो कारखानासम्म २० किलोमिटर सडक प्रदेशको ‘गौरवको आयोजना’ रूपमा अघि बढाएको थियो।
बुटवल–तानसेन आवतजावत गर्ने यात्रु र सिमेन्ट उद्योगका लागि वैकल्पिक सडक मानेर काम सुरु गरिएको थियो।
सिद्धबाबाको पहिरोका कारण पाल्पा रहेका चुनढुंगा खानीबाट निकालिएका कच्चा पदार्थ रुपन्देही र नवलपरासीमा रहेका सिमेन्ट उद्योगसम्म पुर्याउन पनि समस्या परेको थियो।
प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीका अनुसार हरेक वर्ष बजेट विनियोजन गर्दै करिब पाँच वर्षमा निर्माण पूरा गर्ने लक्ष्य थियो।
प्रदेश सरकारले पछिल्ला दुई वर्षदेखि बजेट कम गरेको छ। विनियोजित बजेट पनि पूरा खर्च हुन सकेको छैन।
यातायात पूर्वाधार निर्देशनालय, रुपन्देहीका अनुसार निर्माण सुरु भएको ६ वर्षमा प्रदेश सरकारले २० किलोमिटर सडकमा ३५ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ।
दुई जिल्लामा पर्ने भएकाले झुम्सा–चौकी भन्ज्याङ साढे ७ किलोमिटर खण्डमा पूर्वाधार विकास कार्यालय, पाल्पाले र चौकी भन्ज्याङ– धागो कारखाना साढे १२ किलोमिटर खण्डमा पूर्वाधार विकासकै रुपन्देही कार्यालयले काम गर्दै छन्।
यातायात पूर्वाधार निर्देशनालयका अनुसार पाल्पा खण्डमा २०७५/७६ मा ४ करोड ८७ लाख ७३ हजार, २०७६/७७ मा २ करोड ८९ लाख ७५ हजार, २०७७/७८ मा १ करोड ५८ हजार, २०७८/७९ मा ३ करोड ७६ लाख ५१ हजार रुपैयाँ खर्चमा नाली, ग्याबिन र रिटेनिङ वालको काम भएको छ। ग्राभेल पनि गरिएको छ।
पाल्पातर्फ २ वटा पुल बनेका छन्, ६ किलोमिटर ग्राभेल र ३ किलोमिटर पक्की भएको छ।
बेलदमार खोलामा पुल बनाउन २ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ तर काम सुरु भएको छैन। सडक पूर्वाधार विकास कार्यालय, पाल्पाका प्रमुख वासुदेव भण्डारीका अनुसार निर्माण कम्पनीले पेस्की रकम लिइसकेको छ तर काम सुरु गरेको छैन।
रुपन्देहीतर्फ २०७५/७६ मा ५ करोड, २०७६/७७ मा ४ करोड २० लाख, २०७७/७८ मा २ करोड ८३ लाख र २०७८/७९ मा २ करोड १५ लाख रुपैयाँ खर्च भएको छ।
सडक पूर्वाधार विकास कार्यालय, रुपन्देहीका प्रमुख लालु गिरीका अनुुसार सडक, पुल, कल्भर्ट निर्माणका क्रममा २१ करोड रुपैयाँ खर्च भएको छ। रुपन्देहीतर्फ ६ किलोमिटरमा कालोपत्रे गरिएको छ, २ वटा पुल र ८ वटा कल्भर्ट बनेका छन्।
रुट परिवर्तन गर्न सुझाब
चरंगेबाट चौकी भन्ज्याङसम्मको ५ किलोमिटर खण्डमा भएको खर्च बालुवामा पानी सरह भएको छ।
सडक पूर्वाधार विकास कार्यालय, रुपन्देहीका प्रमुख गिरीका अनुसार चुरे क्षेत्रमा डोजर लगाएर खनेको बाटोमा माथिबाट भेलसहित आउने लेदोले हरेक वर्ष क्षति हुने गरेको छ।
‘चुरे क्षेत्रको कमजोर बनोटका कारण भूस्खलन धेरै छ। खहरे खोल्साहरूमा आउने वर्षाको भेलले हरेक वर्ष संरचनामा क्षति पुर्याउने गरेको छ,’ उनी भन्छन्, ‘धागो कारखानाबाट चरंगेसम्म कुनै समस्या छैन। चरंगे–चौकी भन्ज्याङ खण्डमा गत आर्थिक वर्षमा केही पनि काम भएन।’
प्रदेश सरकारले गत आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। पहिरोले हरेक वर्ष संरचना बगाउने भएपछि बजेट खर्च हुन नसकेको गिरीको भनाइ छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरेको छ तर काम भएको छैन। कमजोर भूगोलमा जति खर्च गरे पनि खेर जाने भएपछि सडक पूर्वाधार विकास कार्यालयमा अन्योल छ।
गिरीका अनुसार राम्ररी अध्ययन नगरी हतारमा ट्र्याक खोलिएका कारण भरपर्दो विकल्प मानिएको सडकमा पनि जोखिम उत्तिकै छ।
उनले भने, ‘सिद्धबाबामा गइरहने पहिरोका कारण विकल्प चाहिएको थियो। ट्र्याक खोल्नुपर्छ भनेपछि खासै अध्ययन भएन। अहिले पहिरो झरेर समस्या भएको छ। वर्षामा मात्र होइन, अलिक ठूलो पानी पर्दा जुनसुकै बेला पहिरो खस्ने जोखिम छ।’
पाल्पातर्फ कुनै समस्या नभए पनि रुपन्देहीतर्फको कमजोर भूगोलमा विकल्प खोज्नुपर्ने उनको भनाइ छ।
‘अहिलेसम्मको लगानी खेर गयो। हामीले बनाएका कुनै पनि संरचना सग्लो भेटिँदैन। अहिलेको रुट सफल हुने देखिँदैन,’ उनी भन्छन्, ‘अब रुट परिवर्तन गरेर मात्रै लगानी गर्दा उपयुक्त हुन्छ।’
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री चौधरी भने गिरीको भनाइमा सहमत छैनन्। भन्छन्, ‘सडक निर्माण सुरु गर्दा भौगोलिक अध्ययन गरिएको थियो। भूगोल र धर्तीलाई दोष दिएर हुँदैन। जहाँ जस्तो भूगोल छ सोही अनुसारको संरचना निर्माण गर्नुपर्छ।’
निर्माणाधीन सडक बुटवल–तानसेन सडकको विकल्प मात्र होइन, ठूला ट्रक, टिपर हिँड्ने दीर्घकालीन सडक पनि हो।
‘पाल्पामा धेरै खानी छन्। दैनिक सयौं टिप्पर र मालवाहक ट्रक सिद्धबाबा हुँदै गुड्दा बुटवल बजार अस्तव्यस्त बन्दै गएको छ,’ उनी भन्छन्, ‘यो बाटो (निर्माणाधीन) भविष्यमा मालबाहक गाडीका लागि हुन्छ भन्ने मानिएको हो।’
सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा खण्ड हुँदै पाल्पा, गुल्मी अर्घाखाँची, स्याङ्जा, पर्वत, बागलुङ, कास्की लगायतका जिल्लाबाट गाडी ओहोरदोहोर हुन्छन्। सिद्धबाबा क्षेत्रमा पहिरो झर्दा सडक धेरै दिन बन्द हुने गरेको छ।
त्यही समस्या समाधानका लागि सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको काम भइरहेको छ तर सुरुङमार्ग चालु हुन केही वर्ष लाग्ने भएकोले वैकल्पिक सडक निर्माण थालिएको थियो।
थोरै ठाउँ मात्र अप्ठ्यारो रहेकाले समाधान सहित सडक निर्माण पूरा गर्नुपर्ने देवदह नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एकबहादुर सुनारको भनाइ छ।
तिनाउ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष चित्रबहादुर थापाका विचारमा ट्र्याक खोलिएको ५ वर्षमा पनि गाडी ओहोरदोहोर गर्ने बनाउन नसक्नु प्रदेश सरकारको कमजोरी हो। पर्याप्त बजेट दिएर छिटो काम सक्नुपर्छ।