नोबेल शान्ति पुरस्कारका नौ विजेता एकैपटक लुम्बिनी आउने भएका छन्।
बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करूणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ गर्दैछ।
सोही शिखर सम्मेलनमा सहभागिता जनाउन नौ जना नोबेल शान्ति पुरस्कार विजेता लुम्बिनी आउन लागेका हुन्।
सन् १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापना भएको बाह्र लाख अमेरिकी डलर पुरस्कार राशीको नोबेल शान्ति पुरस्कार विश्वको सर्वाधिक ठूलो राशीको पुरस्कार मानिन्छ। साहित्य, शान्ति, भौतिक, रसायन, क्रिया विज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई प्रदान गरिने नोबेल पुरस्कार विश्वकै सम्मानित मानिन्छ।
यति ठूलो महत्वको पुरस्कारका विजेता नौ जनालाई एकैपटक विश्वशान्ति स्थल लुम्बिनीमा ल्याएर शिखर सम्मेलनमार्फत बालहिंसा, बालश्रम, बालविवाह, बालबालिकाको बेचबिखनको अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन्।
शिखर सम्मेलनमा सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित जोजे रामोस ओर्टा, अब्देसतार वेन मौसा, विदेद बुसामावुई, लेह्म बोवी, जोडी विलियम्स, टवाको कम्र्यान, रिचार्ड रोबट्र्स र एरी वार्सल सहभागी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता निराजन घिमिरेका अनुसार शिखर सम्मेलनमा सहभागी हुने रिचार्ड रोबट्र्स चिकित्सा विज्ञान र एरी वार्सल रसायन शास्त्रको क्षेत्रका नोबल पुरस्कार विजेता हुन् भने अन्य सातै जना नोबेल शान्ति पुरस्कार विजेता हुन्।
शिखर सम्मेलनमा नौ जना नोबेल शान्ति पुरस्कार विजेतासँगै बालबालिका, शान्ति क्षेत्रका विज्ञ, संयुक्त राष्ट्रसंघका विकास साझेदार लगायत २० जना बढी विदेशी विशिष्ट व्यक्ति र सरकारी तथा गैरसरकारी क्षेत्रका अधिकारी गरी नेपालका २ सयभन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहने घिमिरेले जानकारी दिए।
प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, बालबालिका र शान्तिसँग जोडिएका व्यक्ति तथा संघसंस्थाका प्रतिनिधि कार्यक्रममा सहभागी हुनेछन्।
सम्मेलनमा जोर्डनका राजकुमार अली विन अल हुसेन, अर्थशास्त्री जेफ्री स्याक्स, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ समेत सहभागि हुने घिमिरेले जानकारी दिए।
शिखर सम्मेलनको मुख्य ‘थिम’ नै बालबालिका र शान्ति रहेकोले सोही क्षेत्रका विशिष्ट व्यक्तिहरू सम्मेलनमा सहभागी हुनेछन्।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलेदेखि नै मुख्य चासो दिएकोले प्रदेश सरकारबाटै बजेट स्वीकृत गरेर शिखर सम्मेलन गर्न लागिएको हो।
विश्वकै पर्यटकीय स्थलको रूपमा रहेको लुम्बिनी र वरपरका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरी विश्वभर चिनाउने र विकासको लागि साझेदारहरूको ध्यान आकर्षित गर्न लुम्बिनीलाई कार्यक्रमस्थल तोकिएको प्रवक्ता घिमिरेले बताए।
प्रदेश सरकारले शिखर सम्मेलनका लागि बजेटमै ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो।
नौ जना नाबेल शान्ति पुरस्कार विजेता र यति धेरै विकास साझेदारहरूलाई एकै ठाउँमा सहभागिता गराएर गर्न लागिएको शिखर सम्मेलन लुम्बिनी प्रदेशमा मात्र नभई नेपालमै पहिलो (मेगा इभेन्ट) भएको मुख्यमन्त्री चौधरीले दाबी गरे।
‘यो नेपालकै मेगा इभेन्ट हो एकै पटक यति धेरै विशिष्ट व्यक्तिहरूको सहभागितामा गर्न लागिएको शिखर सम्मेलन नेपालकै पहिलो हो, कार्यक्रममा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कुराले हामीहरू अत्यन्त उत्साहित भएका छौं, यो कार्यक्रमले लुम्बिनीको विकासको लागि पनि महत्वपूर्ण भूमिका खेल्ने छ,’ मुख्यमन्त्री चौधरीले भने।
मुख्यमन्त्री चौधरीले बुद्धजन्म स्थल लुम्बिनीबाट बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करूणाको सन्देश दिनुको साथै लुम्बिनीको महत्वलाई विश्वभर फैलाएर यहाँको विकासमा साझेदार भित्र्याउने सम्मेलनको मुख्य उद्देश्य रहेको बताए।
मुख्यमन्त्री चौधरीले विश्वले नै मानेको लुम्बिनी जस्तो ऐतिहासिक, सांस्कृतिक र प्राकृतिकस्थल अन्यत्र कहीँकतै नभएकोले शिखर सम्मेलनमार्फत् लुम्बिनीको ‘ब्रान्डिङ’ गर्न सके लगानीका लागि दातृ निकायहरू लुम्बिनी खोज्दै आउने र लुम्बिनीबाटै मुलुकको आर्थिक विकास सम्भव हुने बताए।
‘लुम्बिनी जस्तो ठाउँ विश्वमा अन्यत्र कतै छैन यस्तो ठाउँबाट शान्तिको सन्देश दिनुको साथै विकसित र विकासोन्मुख राष्ट्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिले लुम्बिनीलाई विश्वकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा ब्राण्डिङ गर्न यो सम्मेलनले सघाउने छ,’ मुख्यमन्त्री चौधरीले भने।
फागुन २७ गतेदेखि २९ गतेसम्म हुने शिखर सम्मेलनका लागि परराष्ट्र मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अन्य मन्त्रालयहरू, योजना आयोग, लुम्बिनी प्रदेश भित्रका बालबालिका र शान्तिको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयहरूको संयोजनमा तयारीका कामहरू भइरहेको प्रवक्ता घिमिरेले बताए।
संघमा पराराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा १३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ भने मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ। त्यसैगरी लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालको संयोजकत्वमा सहजीकरण समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डेडिकेटेड सचिवालय गठन गरी विभिन्न तयारीका कामहरू अगाडि बढिरहेको घिमिरेले जानकारी दिए।
नेपालकै मेगा कार्यक्रमको रूपमा लिइएको शिखर सम्मेलनको संयोजन लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयका सचिव सुमन घिमिरेले गरिरहेका छन्।
तीन दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुने विदेशी तथा स्वदेशी सबै पाहुनाहरूको आवतजावत, आवास तथा खानपान, सुरक्षा व्यवस्थापन लगायतको काम तीव्र भइरहेको कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए।
फागुन २७ गतेको उद्घाटन र २९ गतेको समापन समारोह लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभा हलमा हुनेछन् भने अन्य विभिन्न समूहगत छलफलहरू आवासको लागि छनोट हुने होटलहरूमै सञ्चालन हुनेछन्।
बालबालिकाको समग्र विकास प्रक्रियामा देखिएका चुनौतीहरू आधुनिक दासत्व, बेचबिखन, बालविवाह, बालश्रम र प्राकृतिक विपत्तिको सिकार भइरहेका विश्वभरका बालबालिकाको संरक्षणका लागि छलफल हुनेछन्। छलफलपछि बालशोषण अन्त्यका लागि सबैको प्रतिबद्धतासहितको घोषणापत्र जारी गर्नेछ।