फेसबुक चलाइरहेकी नाबालिग बिना (परिवर्तित नाम) लाई एक जना पुरूषको फ्रेन्ड रिक्वेस्ट आयो।
त्यसदिन ‘मगर सारू’ नामको आइडीबाट रिक्वेस्ट आएको थियो।
फेसबुकमा रिक्वेस्ट आउनु कुनै नौलो कुरा थिएन। बिनाले सारूलाई चिनेकी थिइनन्। तैपनि उनले रिक्वेस्टलाई स्वीकार गरी आफ्नो फेसबुक दुनियाँमा स्वागत गरिन्।
साथी बनाएको केहीबेरमा सारूले फेसबुकमा मेसेज गर्न थाले। कुरा गर्न आएपछि बिनालाई अलि असहज महसुस भयो। सुरूमा नबोले पनि बिनाले पछि उनीसँग कुरा गरिन्। बिनाले रूची नदेखाई कुराकानी सुरू गरेकी थिइन्। तर पछि सारूले उनलाई दिनदिनै मेसेज गर्न थाले।
कुराकानी गर्दागर्दै उनीहरू झ्याम्मिन थाले। मेसेजबाट सुरू भएको उनीहरूबीचको सम्बन्ध भिडिओ कल गर्नेसम्मको निकट भयो।
दिनहुँ कुराकानी भएपछि बिनाले पनि त्यसलाई सहज रूपमै लिन थालिसकेकी थिइन्। तर सामाजिक सञ्जालमा भएको कुराकानी बिनाका लागि धेरै समय मीठो अनुभव भने हुन सकेन। त्यसरी अन्जान व्यक्तिबाट आएको रिक्वेस्टले उनको जिन्दगीमा जुन चोट दियो त्यो उनले सोचेकै थिइनन्।
एकदिन भिडिओ कलमा कुराकानी गरिरहँदा सारूले अश्लिल कुराकानी गर्न थाले। सारू त्यतिमै रोकिएनन्, उनले आफ्ना गोप्य अंगसमेत देखाएका थिए। बिनाले यो गतिविधिलाई इन्कार गरिन्। तर उनले बिनालाई फकाएर भिडिओ कलमा पटक-पटक नग्न भएर अश्लिल गतिविधि गरे।
त्यतिमात्रै नभएर उनले मेसेन्जरमा अरूले यौन सम्पर्क गरिरहेको भिडिओ पनि बारम्बार पठाएका थिए। यो गतिविधिले बिना आजित भइसकेकी थिइन्। उनलाई मानसिक रूपमै तनाव भइसकेको थियो।
बिनाले उनीसँग टाढिन खोजिन्, तर उनले हैरानी दिन छाडेनन्। यसरी पटक-पटक दु:ख हैरानी दिएपछि नाबालिग बिना भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो पुगेकी थिइन्। यो घटना २०७९ माघ महिनाको हो।
बिनाले ‘सारू मगर’ नामका व्यक्तिले अश्लिल गतिविधि गरी मानसिक तनाव दिएको भन्दै जाहेरी दिइन्। यसबारे साइबर ब्युरोले अनुसन्धान अघि बढायो।
अनुसन्धानका क्रममा सारू मगर भन्ने आइडी नै नक्कली भएको खुल्यो। उक्त आइडी चलाउने व्यक्ति सारू मगर थिएनन्। उनी प्यूठानको सरूमारानी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय सगीर अहमद रहेको खुल्यो।
प्रहरीले उक्त आइडी चलाइरहेको स्थानबारे फेसबुकको मेटा कम्पनीसँग समन्वय गर्यो। त्यसपछि उक्त आइडी नेपाल भित्रबाट नभई विदेशबाटै सञ्चालन भइरहेको पत्ता लाग्यो।
उनी दुबईमा बसेर बिनामाथि अश्लिल गतिविधि गरिरहेको भन्ने प्रहरीले फेला पार्यो। त्यसपछि प्रहरीले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोल शाखाको सहयोग लियो। ब्युरोले इन्टरपोललाई अहमदलाई पक्राउ गरिदिन अनुरोध गरेको थियो। त्यही अनुरोध अनुसार उनीविरूद्ध रेड नोटिस जारी गर्न पत्राचार गर्यो।
रेड नोटिस जारी भए पनि अहमद लामो समयसम्म फरार रहे। यता ब्युरोले उनलाई प्रतिवादी कायम गरेर गत वर्ष माघ २५ गते नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको थियो। यही पुसमा भने ब्युरोलाई अहमद दुबईमा फेला परेको खबर भयो। त्यसपछि नेपालकै टोली दुबई पुगेको थियो।
पुस ४ गते अहमदलाई पक्राउ गरी काठमाडौं फिर्ता ल्याइएको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले बताए। प्रहरीले पुस ६ गते काठमाडौं जिल्ला अदालतमा पेश गरेपछि उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएको थियो।
हाल अहमद कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा छन्। अहिलेको फराकिलो साइबर नेटवर्कमा कुनै पनि मानिसले जुनसुकै ठाउँमा भएका मानिसमाथि अपराध गरिरहेका हुन्छन्।
यस्तै बिनाकै प्रकृतिसँग मिल्दो घटनामा प्रहरीले एक जना नेपालीलाई इन्टरपोलकै माध्यमबाट पक्राउ गरी नेपाल फिर्ता ल्याएको छ।
नक्कली फेसबुक बनाएर अपरिचित युवतीसँग कुराकानी गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ५ सिर्कुमका प्रकाश जैसी भन्ने प्रकाश विकलाई पक्राउ गरेको हो।
उनले फेसबुकमा आफ्नो नाम प्रकाश जैसी राखे पनि उनको वास्तविक नाम भने प्रकाश विक रहेको पछि खुलेको थियो। उनले ती युवतीसँग लामो समय कुराकानी गरिसकेका थिए। कुराकानी गर्नेक्रममा उनीहरूबीच भिडिओ कलमा भएका अश्लिल संवादहरू प्रकाशले रेकर्ड पनि गरेका थिए।
यसरी रेकर्ड गरी उनले सामाजिक सञ्जालमा अपलोड गरी ती युवतीको चरित्र हत्या गरे। त्यति मात्रै नभएर युवतीका आफन्त, साथीभाइ समेतलाई पठाएर चरित्र हत्या गरेपछि युवती साइबर ब्युरो पुगेकी हुन्।
अनुसन्धानको क्रममा प्रकाश वैदेशिक रोजगारीका लागि मलेसियामा रहेको खुलेको थियो। ब्युरोले इन्टरपोलसँग सहयोग लिएर उनलाई गत साउनमा पक्राउ गरी काठमाडौं फिर्ता ल्याएर कारबाही अघि बढाएको थियो।
एसपी रायले नक्कली आइडी बनाएर चरित्र हत्या गर्ने, दु:ख हैरानी दिनेहरू विरूद्ध ब्युरोमा थुप्रै उजुरीहरू आउने गरेको बताउँछन्। नक्कली आइडी बनाएको भन्ने उजुरीमात्रै गत साउन यता १०५१ वटा छन्। जसमध्ये सेक्सटिङसम्बन्धी १८६, पोर्नोग्राफी सम्बन्धी ७७ वटा र १७ वटा मोर्फिङसम्बन्धी उजुरी परेका छन्।
ब्युरोका अनुसार यस आर्थिक वर्षमा मात्रै साइबर अपराधमा संलग्न भएका एक सय बढीको कारबाहीका लागि इन्टरपोलसँग समन्वय गरेको छ। यस्ता मुद्दामा ब्युरोले अनुसन्धान गरिरहेको छ।
यसरी विदेशमा बसेर अपराध गर्नेमध्ये कतिपयलाई विदेशकै कानुनअनुसार पनि कारबाही प्रक्रिया अघि बढाएको ब्युरो प्रवक्ता एसपी रायले बताए।
केही समय अघिको घटना हो- नेपालमै रहँदा एक जोडी युवा-युवतीबीच प्रेम भएर कुराकानी हुने गर्थ्यो। त्यसैबीच युवक कोरिया गए। प्रेममा रहेका युवा र युवतीबीच भिडिओ कलमा अश्लिल कुराकानीहरू पनि भएका थिए।
तर त्यसैबीच युवतीले युवक विवाहित रहेको थाहा पाइन्। त्यही थाहा पाएपछि युवती उनीबाट टाढिँदै गएकी थिइन्। त्यसको रिसमा युवकले नक्कली फेसबुक प्रोफाइल बनाएर युवतीको चरित्र हत्या हुने गरी तस्बिर तथा भिडिओहरू हाल्न थाले।
पीडितले ब्युरोमा उजुरी गरेपछि इन्टरपोलको सहायता लिएको एसपी रायले बताए। ‘हामीले पनि इन्टरपोललाई पत्र लेखेका थियौं, पीडितलाई पनि लेख्न लगायौं। पछि कोरियामै व्यक्तिको पहिचान भएर उनीमाथि त्यहीँको कानुन अनुसार कारबाही भयो,’ उनले भने।
२०७७ मा त साइबर ब्युरोबाट बोलेको भन्दै विभिन्न व्यक्तिहरूमाथि ब्ल्याकमेल पनि भएको भन्ने उजुरी परेको थियो। ब्युरोकै नाममा कतिपय युवतीलाई अश्लिल तस्बिर र भिडिओ पठाउन लगाइएको थियो। यस्तो घटना भएको भन्ने उजुरीपछि ब्युरोले विज्ञप्ति नै जारी गरेर यसबारे सचेत रहन अनुरोध गरेको थियो।
अनुसन्धान गर्ने क्रममा यसरी घटना गराउने व्यक्ति अष्ट्रेलियामा रहेको खुलेको एसपी राय बताउँछन्। जसपछि प्रहरीले अष्ट्रेलियाकै कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाएको थियो।
‘एक पुरूषले अष्ट्रेलियामा बसेर त्यस्तो गरिरहेको भन्ने थाहा पाएपछि हामीले त्यहीँको कानुनअनुसार कारबाही गर्न प्रक्रिया थालेका थियौं,’ उनले भने, ‘कारबाही भयो, अहिले विदेशमा बसेर साइबर अपराध गर्नेहरू घटना छन्। यसका लागि हामीले इन्टरपोलमार्फत कारबाहीको प्रक्रिया अघि बढाएका हुन्छौं।’
यसरी विदेशमा बसेर अपराध गर्ने घटनामा प्रहरीले कारबाही गरिदिन वा पक्राउका लागि सहयोग गरिदिन भनेर अनुरोध गरे पनि कतिपय समयमा असहयोग गरेका घटना पनि छन्। नाबालिग, महिलामाथि हुने अपराधका घटनामा सहयोग प्राप्त गर्ने सम्भावना उच्च हुने एसपी रायले बताए।
‘विदेशमै कारबाही गराउनको लागि भने उनीहरूको कानुनअनुसार पनि मेल खाएको हुनुपर्छ। कतिपय घटनामा उनीहरूको कानुनसँग मेल खाँदैन त्यस्तो बेला कारबाही गराउन अलि अप्ठेरो हुन्छ। तर उनीहरूको कानुनसँग मेल खाएका घटनामा भने सहयोग हुन्छ,’ उनले भने, ‘गम्भीर प्रकृतिका घटनामा भने सहयोग हुने गरेको छ।’