बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा हडपेको घटनाबारे शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सार्वजनिक गरेको छ।
लाजिम्पाटस्थित सिआइबीको नयाँ भवनमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो। उक्त सम्मेलनमा तीन जनालाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिए।
उद्योगी अरूणकुमार चौधरीसँगै प्रहरीले अजितनारायण सिंह थापा र संजय ठाकुरलाई पनि पक्राउ गरेको हो। अरूणकुमार उद्योगी एवं सांसद विनोद चौधरीका कान्छो भाइ हुन्।
व्यावसायिक घरानाका अरूणकुमार पक्राउ परेपछि बिहीबार साँझ नै उद्योगी व्यवसायीहरूले पत्रकार सम्मेलन गरी प्रहरीले अनुसन्धान नगरी पक्राउ गरेको दाबी गरेको थियो।
यसरी व्यवसायीहरूले प्रहरीले अनुसन्धान नै नगरी उद्योगीलाई पक्राउ गरेको भन्दै विवादास्पद बनाउन खोजेको भन्दै सिआइबीले यसबारे प्रष्ट्याएको थियो। ब्युरोका एसएसपी आचार्यका अनुसार सिआइबीले अरूण चौधरीसहित तीन जनालाई पक्राउ गर्न तीन महिनाभन्दा बढी समयदेखि अनुसन्धान गरेको छ।
‘पछिल्लो समयमा प्रहरीले अनुसन्धान नगरिकन व्यवसायीहरूलाई पक्राउ गरेको भन्ने कुराहरू आएको थियो। प्रहरीले लामो समय अनुसन्धान गरेको छ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘नेपाल सरकारको जग्गालाई एक जना अध्यक्ष थापाले एकल निर्णय गरेर १० रोपनी जग्गा निजीमा लगेको देखिन्छ।’
उनले थपे, ‘तीन महिनाभन्दा बढीको समयदेखि गरेको अनुसन्धानपछि पक्राउ गरेका हौं।’
घटनामा संलग्न अजितनारायण तत्कालीन अवस्थामा बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष थिए। अरूणकुमार चौधरी तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक थिए। त्यस्तै संजय भने पछिल्लो समय उक्त प्रालि र सिजी चाँदवाग रेसिडेन्सी प्रालिका संचालक थिए।
कसरी भयो सरकारी जग्गा निजी?
तत्कालीन श्री ५ को सरकारले बाँसबारीमा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामा कारखाना खडा गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयपछि मालपोत कार्यालय डिल्लीबजारले २०३७ कात्तिक २० गते बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा स्रेस्ता कायम गरेको थियो।
उक्त कारखानामा कार्यकारी अध्यक्ष थिए अजितनारायण। जुत्ता कारखाना सञ्चालन भइरहेको अवस्थामा त्यहाँ चौधरी समूहको प्रवेश भएको पाइएको प्रहरीले जनाएको छ।
एसएसपी आचार्यका अनुसार सुरूमा अरूणकुमार र अजितनारायणबीच एउटा प्रवर्द्धन सम्झौता भएको थियो।
‘तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण र चौधरी परिवारको तर्फबाट अरूणकुमारबीच एउटा प्रवर्द्धन सम्झौता भयो,’ आचार्यले भने।
त्यस प्रवर्द्धनमा बाँसबारीमा क्यानभास जुत्ता (स्पोर्टस जुत्ता) उत्पादन गर्ने भनेर च्याम्पियन फुटवेर लिमिटेड खोल्ने सहमति भएको थियो। उक्त कम्पनी खडा गर्दा ५१ प्रतिशत सेयर अरूणकुमारको, २५ प्रतिशत बाँसबारी छाला जुत्ता कारखानाको र २४ प्रतिशत सर्वसाधरणका लागि सेयर जारी गर्ने भनिएको थियो। त्यसरी सेयर बाँडफाँट गर्ने भनेर उनीहरूबीच प्रवर्द्धन सम्झौता भएको थियो।
कम्पनी रजिष्ट्रारको कार्यालयमा २०४३ कात्तिक २७ गते च्याम्पियन फुटवेयर लिमिटेड दर्ता भएको थियो। त्यसअघि नै भदौ १३ गते उक्त लिमिटेडको २५ प्रतिशत सेयर रहने भनेर दुई पक्षबीच निर्णय भएको एसएसपी आचार्य बताउँछन्।
उनका अनुसार पहिलो चरणमा उनीहरूले ६ रोपनी जग्गा निजीकरण गरेको देखिएको हो।
‘बाँसबारी छाला जुत्ता लिमिटेडको ६ रोपनी जग्गा त्यतिबेला च्याम्पियन फुटवेयरको नाममा हस्तान्तरण भएको देखिन्छ,' उनले भने, 'फुटवेयरको नाममा त्यसबेला १५ लाख रुपैयाँ बराबरको जग्गा हस्तान्तरण गरिएको देखियो। त्यसबेला प्रतिरोपनी २ लाख ५० हजार रुपैयाँ रहेछ।'
६ रोपनी जग्गा हस्तान्तरण भइसके पनि त्यसपछि जग्गा निजीकरण गर्ने प्रक्रिया भने नरोकिएको सिआइबीले बताएको छ। त्यसपछि बाँसबारी छाला जुत्ता लिमिटेडले ०४४ मंसिर १८ गते थप २६ लाख रुपैयाँ उक्त च्याम्पियन कम्पनीमा लगानी गरेको एसएसपी आचार्यले बताए।
‘०४४ मंसिर १८ मा बाँसबारी छाला जुत्ता कारखानाको २६ लाख रुपैयाँ लगानी भएको देखिन्छ। सुरूमा कम्पनी खडा हुँदा चालु पुँजी ५० लाख रुपैयाँ थियो। त्यसको २५ प्रतिशत लगानी गर्दा साढे १२ लाख मात्रै लगानी गर्नुपर्नेमा पहिले ६ रोपनी र त्यसपछि पुँजीलाई एक करोड बनाइएको थियो। र पछि ४ रोपनी पनि दिइएको देखिएको हो,’ उनले भने।
बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडले १२ लाख ५० हजार मात्रै लगानी गर्नुपर्नेमा २६ लाख २७८ रुपैयाँ लगानी गरेको बताइएको हो। यसमा सुरूमा सम्झौता गरेअनुसार २४ प्रतिशत सर्वसाधारणका लागि सेयर जारी गर्ने भनिएको थियो। तर त्यो सेयर जारी गर्नका लागि कहिल्यै पनि सार्वजनिक नगरिएको एसएसपी आचार्य बताउँछन्।
५१ प्रतिशत सेयरवालाहरू (अरूणकुमार पक्ष) ले बाँकी ७४ लाख रुपैयाँ लगानी हुनुपर्नेमा ८ लाख मात्रै लगानी गरेको अनुसन्धानमा देखिएको हो।
यसरी उनीहरूले १० रोपनी मात्रै नभएर ८ रोपनी गरी जम्मा १८ रोपनी नै जग्गा लिने उद्देश्य देखिएको पनि सिआइबीले जनाएको छ।
‘जुत्ता कम्पनी खडा गरेर कारखाना (च्याम्पियन जुत्ता) को १० रोपनी जग्गा र थप ८ रोपनी जग्गा लिने उद्देश्य रहेको देखिन्छ। किनभने जुन कारखाना बनेको थियो। त्यो दुई-तीन वर्षमै बन्द भयो,’ उनले भने।
जुत्ता कारखाना बन्द भइसकेपछि २०४९ असार ३० गते अर्थ मन्त्रालयले बाँसबारी छाला जुत्ता कारखानालाई निजीकरण गर्ने योजना अघि सारेको थियो। त्यही मौकामा अरूणकुमार चौधरी लगायतले बाँसबारी छाला जुत्ताको नाममा रहेको २५ प्रतिशत सेयर लिने योजना बनाएको देखिएको हो। महालेखा नियन्त्रण कार्यालयले लिलामी निकाल्नु भनेर भनिएको थियो।
२५ प्रतिशत सरकारी सेयर लिलामी गर्दा अरूणकुमारले नै खरिद गरेका थिए। अरूणकुमारले उक्त सेयर ३६ लाख रुपैयाँमा लिएको एसएसपी आचार्यले बताए। त्यसपछि २०५२ साउन ११ गते उक्त सेयर चौधरीको नाममा आएको थियो। लगत्तै बाँसबारी छाला जुत्ता पब्लिक लिमिटेडलाई साउन १२ गतेदेखि नै प्राइभेट लिमिटेडमा परिवर्तन गर्ने गरी प्रक्रिया अघि बढाएको पाइएको हो। त्यही वर्ष पुस ४ गते भने उक्त कम्पनी प्राइभेट बनेको सिआइबीले जनाएको छ।
‘सम्पूर्ण सरकारको जग्गा यसरी व्यक्तिको नाममा गएको देखिन्छ। च्याम्पियन प्रालिलाई नाम चेञ्ज गरेर सिजी चाँदवाग रेजिडेन्सी बनाएर प्रालि बनाएको थियो,’ उनले भने।
यसरी अनुसन्धानको क्रममा अहिलेसम्म तीन जनाको संलग्नता देखिएको सिआइबीले जनाएको छ। थप अनुसन्धानको क्रममा खुल्न आए अन्य व्यक्तिहरू पनि पक्राउ पर्ने सिआइबीले बताएको छ। हाल पक्राउ परेका अरूणकुमार चौधरी, अजितनारायण सिंह थापा र संजय ठाकुरमाथि प्रहरीले किर्ते तथा ठगी कसुरमा अनुसन्धान अघि बढाएको छ।
उनीहरूलाई अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यद्यपि यसमा छिटो अनुसन्धान बुझाउनू भन्दै सिआइबीलाई दबाब समेत दिएको पाइएको छ।
यसबारे पत्रकार सम्मेलनमा आचार्यले बताउन भने चाहेनन्। उनलाई पत्रकारले दबाबबारे प्रश्न गर्दा उनले प्रश्न आउट अफ ट्र्याकमा गएको बताएका थिए।
‘यो प्रश्न आउट अफ ट्र्याक गयो। हामीले के अपराध भएको छ, प्रहरीले के गर्यो र किन हामीले पक्राउ गर्यौं भन्नेबारे हो। अहिले आएर कन्ट्रोभर्सीका कुराहरू आएका छन्। वास्तवमा प्रहरीले अनुसन्धान नगरी पक्राउ गर्यो भन्ने विषयमा प्रहरीले डिटेल अनुसन्धान गरेको छ कि छैन, के कस्ता क्रियाकलापहरू भएका छन् त्यसको जानकारी दिन गरिएको हो,’ उनले भनेका थिए।
सबै तस्बिर: नवीनबाबु गुरूङ