यही साताको आइतबार राति जाजरकोटको नलगाड नगरपालिका–५, ऐरारी गाउँका राजकुमार शाही आफ्नो गाउँ फर्किंदै थिए।
बारेकोट गाउँपालिका–८ को लैखम र नलगाड नगरपालिका–५ को सिर्केज्युला जोड्ने नलसिंह गाडमाथिको पुल तर्दै गरेका उनी अचानक खोलामा खसे। तत्काल स्थानीयले उद्धार गरेर प्राथमिक उपचारपछि अस्पताल लैजाँदै गर्दा बाटोमै २५ वर्षीय राजकुमारको मृत्यु भयो।
राजकुमार अब्बल भलिबल खेलाडी र प्रशिक्षक थिए। फोनमा कुरा गर्दै हिँडिरहेका उनी नट-बोल्ट फुस्किएर माथि उठेको फलामको फलेकमा खुट्टा ठोक्किँदा खोलामा खसेका थिए। उनी ठोक्किएको ठाउँमा जाली पनि च्यातिएको छ।
उक्त झोलुंगे पुल वर्षौंदेखि जीर्ण अवस्थामा छ। खोलामाथि धराप थापेजस्तो झोलुंगे पुलका कारण राजकुमारको ज्यान गएपछि अहिले सामाजिक सञ्जालमा स्थानीय सरकारको चर्को आलोचना भइरहेको छ।
अधिकारप्राप्त स्थानीय सरकारले जीर्ण पुल समयमै मर्मत नगर्दा युवकले अकालमा ज्यान गुमाउनु परेको आरोप लागेको छ।
त्यही पुलबाट १४ वर्षअघि एक युवती खसेकी थिइन्। पुलको छेउमा खसेकाले सामान्य चोट मात्र लाग्यो। त्यसपछि ठूलो क्षति नभए पनि सानोतिनो दुर्घटना हुने गरेको स्थानीयवासी चन्द्रबहादुर शाहीको भनाइ छ।
‘मानवीय क्षति भएको थिएन तर साना घटना धेरै भएका थिए। यसपालि त ज्यानै गयो,’ उनले भने, ‘भारी बोकेका घोडा र खच्चड पुलमा खुट्टा छिरेर अल्झिन्थे। हामी वारिपारिका मान्छे भेला भएर उद्धार।’
चन्द्रबहादुरका अनुसार नलसिंह गाडमाथिको झोलुंगे पुलबाट बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका धेरै बस्तीका मानिसहरू वारपार गर्छन्। उक्त पुल २०५१ सालमा बनेको हो। सुरुमा काठको फलेक हालेर पुल चलाइएको थियो। त्यसको ६ वर्षपछि २०५७ सालमा फलामको फलेक हालिएको थियो।
त्यही बेलादेखि पुल बिग्रिँदै गएको चन्द्रबहादुरले बताए।
‘फलामको डेक (फलेक) ले पुल भरिएको थिएन। खाली ठाउँमा गाउँलेहरूले काठका डेक बनाएर हाले,’ उनले भने, ‘त्यसपछि अपुग भएका ठाउँमा फलामको डेक हाल्ने योजना धेरै पटक बने पनि काम भएन। काठका डेक पुराना भएपछि हामी गाउँलेले नै फेर्ने गरेका थियौं।’
सुरुमै फलामको फलेक नपुगेर काठ राखेको पुल समयमै मर्मत नहुँदा यात्रुलाई जोखिम भयो। पुल मर्मतको लागि कसैले वास्ता नगर्दा बारको जाली पनि च्यातिएर जोखिम झन बढेको छ।
चन्द्रबहादुरका अनुसार पुल पुनर्निर्माणका लागि २०७४ सालमा जिल्ला समन्वय समितिसँग सम्झौता भएको थियो। उपभोक्ता समिति पनि गठन भएको थियो। सामानको बिलभरपाई नमिलेपछि काम पूरा भएन।
‘सम्झौता भएपछि उपभोक्ता समिति गठन गर्यौं। सम्झौता भएको ६–७ महिनापछि सामान आयो,’ उनले भने, ‘सामान आउनुअघि सर्भे गर्दा पुलको भार थेग्ने क्षमता पनि थप्नुपर्छ भनेपछि हामीले ५–६ लाख बराबरको काम गराएका थियौं। सामानको बिलभरपाई नमिलेपछि पैसा आएन र पुल मर्मतको योजना पूरा भएन।’
जीर्ण पुलका कारण मानवीय क्षति भएपछि मर्मतका लागि पहल भइरहेको नलगाड नगरपालिका–५ का वडाध्यक्ष ओमप्रकाश वलीले बताए। पुल मर्मतका लागि बनेको उपभोक्ता समितिको पैसा डुबेपछि स्थानीय तह वा वडाबाट नयाँ योजना ल्याउन नसकेकाले मर्मत नभएको उनले बताए।
‘म निर्वाचित भएर आएको केही समयमै पहिलेको समितिसँग बसेर पुल मर्मत गर्न ताकेता गरेका थियौं। समितिले समन्वय समितिसँग गरेको सम्झौता र आफूले काम गराएको खर्चको बिल हामीलाई देखाएपछि नयाँ योजना हाल्न सकिएन,’ उनले भने, ‘अहिलेको घटनापछि तत्काललाई पहिले आएको सामान ल्याएर पुल मर्मतको काम सुरु गर्ने र सम्झौता अनुसार रकम व्यवस्था गर्ने कुरा भएको छ।’
वडाध्यक्ष ओलीले मर्मतको काम चाँडै सुरू हुने पनि बताए।