प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) विश्व सम्पदा केन्द्रमा अन्तिम मनोनयन दस्तावेज पेस भएको छ।
नेपाल सरकारका तर्फबाट फ्रान्सका लागि नेपाली राजदूत एवं यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधिर भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई बुधबार औपचारिक रूपमा मनोनयन दस्तावेज पेस गरेका हुन्।
यूनेस्कोले २७ वर्ष पहिले नै तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो। तिलौराकोट सिद्धार्थ गौतमबुद्ध हुर्किएको र आफ्नो २९ वर्ष उमेर बिताएको स्थल हो।
ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक पहिचान बोकेको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सन् १९९६ देखि नै प्रमाण र आधारहरू जुटाउन प्रयास थालिएको थियो। नेपाल सरकारले भने २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटमा राखेपछि बल्ल यसको प्रक्रिया सुरू गरिएको थियो।
राजा शुद्धोधनको दरबार गौतमबुद्धको क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि यो अवधिमा त्यहाँ थुप्रै पटक उत्खनन् गरी पर्याप्त आधार र प्रमाण फेला परेका थिए।
यूनेस्को जापानिज फण्ड इन ट्रष्ट परियोजनाअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि तिलौराकोटमा गरिएको वैज्ञानिक पुरातात्विक उत्खननपछि पर्याप्त आधार र प्रमाणहरू जुटाएपछि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया अगाडि बढाइएको थियो।
तिनै प्रमाणका आधारमा विगत दुई वर्षदेखि राष्ट्रिय/अन्तर्राष्ट्रिय पुरातत्व विज्ञहरूले विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आवश्यक प्रमाणसहितको प्रतिवेदन तयार गरेका हुन्।
तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृतका लागि रणनीतिक मनोनयन दस्तावेज तयार गर्ने विज्ञहरूको समूहमा अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा.डंकन मार्सलको नेतृत्वमा सम्पदा विशेषज्ञ प्रो. डा. रविन कनिङघम, डा. मार्क म्यानुअल, प्रोफेसर योकियो निशिमुरा, प्रो. म्याक्स डिग, डा. क्रिस्टोफ डेविस, डा. काई वाइजे, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, यनि जोशी, पुरातत्व विभागका प्रवक्ता रामबहादुर गुरूङ, निर्देशक समितिका सदस्य सचिव एवं लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती, बसन्त विंडारी लगायत सहभागी थिए।
तिलौराकोटलाई विश्व सम्पदा केन्द्रमा सूचीकृतका लागि पुरातत्व विज्ञहरूको उक्त टिमले तयार गरेको प्रतिवेदन यसअघि गत सेप्टेम्बरमा यूनेस्को विश्व सम्पदा केन्द्रमा पहिलो चरणको प्रस्तावित मनोनयन दस्तावेज पेश गरिएको थियो।
केन्द्रमा अन्तिम मनोनयन दस्तावेज पेश भइसकेपछि अब भने यूनेस्कोको मूल्यांकन टिमले सन् २०२४ भित्रै तिलौराकोटमै आएर अध्ययन गर्नेछ।
उक्त टिमले गरेको मूल्यांकनपछि सन् २०२५ को जुलाईसम्म सूचीकृतको अन्तिम निर्णय दिनुपर्ने छ। हाल युनेस्कोमा १९५ मुलुक सदस्य छन्। सूचीकृत गर्ने वा नगर्ने भनेर निर्णय गर्ने अधिकार भने २१ वटा राष्ट्रलाई मात्र रहेको छ। तिनै २१ वटा राष्ट्रहरूको निर्णयको आधारमा यूनेस्कोले निर्णय गर्नेछ।
यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश गरिएको मनोनयन दस्तावेज पास भए तिलौराकोट सम्पदा सूचीमा सूचीकरण हुने नेपालको पाँचौं सम्पदा बन्नेछ। पुरातत्व विभागका अनुसार विश्वका १ हजारभन्दा बढी साइटहरू विश्व सम्पदा सूचीमा सूचीकृत भइसक्दा नेपालका भने काठमाडौं, लुम्बिनी, सगरमाथा र चितवन राष्ट्रिय निकुञ्ज गरी चार वटा क्षेत्र मात्रै सूचीकरण भएका छन्।
हाल तिलौराकोटसँग नेपालका विभिन्न १५ वटा क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत भएपछि बुद्धसँग जोडिएको लुम्बिनी पछिको सबैभन्दा महत्वपूर्ण सम्पदा क्षेत्र बन्ने छ। पटक पटक गरिएका उत्खननमा तिलौराकोटभित्र प्राचीन इटा र ढुंगाका दरबारका तीन वटा भग्नावशेष भेटिएका छन्।
तिलौराकोट उत्खनन् तथा विश्वसम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेज तयार गर्ने विज्ञ टिमको नेतृत्व गरिरहेका सम्पदा विशेषज्ञ प्रो.डा. रविन कनिङघमका अनुसार तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा तीनसय वर्षअघि नै व्यवस्थित पौराणिक सहर रहेको तथ्य सहितका प्रमाण फेला परेका छन्।
सिद्धार्थ गौतमबुद्धको जन्म २५ सय वर्षअघि भएपनि तिलौराकोटमा भेटिएका प्रमाणको आधारमा त्योभन्दा तीन सय वर्षअघि नै तिलौराकोटमा मानव सभ्यता र पौराणिक सहर रहेको पुष्टि गरेको छ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रमा पेश हुनु निकै खुसीको कुरा भएको बताएका छन्।
‘संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागसहित विज्ञका रूपमा दुर्हाम विश्व विद्यालयका प्रोफेसरहरूको टोलीले लामो समयदेखि गरेको कामले सार्थकता पाउनु हाम्रो लागि मात्रै होइन सम्पदाप्रेमी सबैका लागि खुसीको कुरा हो,’ शाक्यले भने।
उनले तिलौराकोट सन् २०२५ सम्ममा विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने तयारीसहित कोषका तर्फबाट आवश्यक प्रक्रिया सुरू भएकाले सबैको सकारात्मक साथ र सहयोगको लागि आग्रह गरे।
लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले औपचारिक रूपमा अन्तिम मनोनयन दस्तावेज पेस भएसँगै तिलौराकोटलाई विश्व सम्पदा केन्द्रमा दर्ता गर्ने विधिवत् प्रक्रिया अगाडि बढेको बताए।