यज्ञकुमार प्रधानका ८३ वर्षीय आँखा दुई भैरव मूर्तिबाट हट्न मानिरहेकै थिएनन्।
मानून् पनि किन? करिब तीस वर्षपछि तिनले आफ्नो देवता घरका मूर्तिहरू फेरि देख्न पाएका थिए।
तीस वर्षअघि दोलखाबाट चोरी भई विभिन्न ठाउँ हुँदै अमेरिका पुगेका यी मूर्ति बुधबार पुरातत्व विभागलाई हस्तान्तरण गरिएको हो। ती दुई मूर्तिसँगै पाटन च्यासलको उमामहेश्वर र भक्तपुर हनुमानघाटको दुर्गाको मूर्ति पनि नेपाल फिर्ता भएका छन्।
आफ्ना मूर्ति हस्तान्तरण कार्यक्रममा पुगेका यज्ञकुमारले हामीलाई भने, ‘भगवानलाई पनि विदेश बस्न मन लागेनछ। त्यही भएर आफ्नो देश फिर्ता आउनुभयो।’
यी मूर्तिलाई अमेरिकास्थित नेवाः गुठीको सहयोगमा नेपालमा फिर्ता ल्याइएको हो। गुठीले बुधबार पुरातत्व विभागलाई यी मूर्ति हस्तान्तरण गरेको छ।
यी मूर्ति अमेरिकाबाट गत साताको सोमबार नै नेपाल आउने तयारीमा थिए। तर चारवटै मूर्ति हवाई जहाजबाट ल्याउन सम्भव नभएको नेवाः गुठीका अध्यक्ष विजयमान सिंहले बताए।
‘दुइटा भैरवका मूर्ति त हामीले आफूसँगै हवाई जहाजबाट ल्यायौं। अन्य दुई मूर्ति भने ढुंगाबाट बनेकाले तौल निकै धेरै थियो। त्यसकारण हामीले कार्गो गर्नुपर्यो जसकारण ढिलो आएको हो,’ उनले भने।
नेवाः गुठीले पहल नगरेको भए यी मूर्ति फिर्ता आउन अझै धेरै समय लाग्ने थियो। त्यसअघि यी मूर्ति कसरी चोरी भए भन्ने जानौं।
दोलखाका दुई भैरव मूर्ति एउटै महिना तर फरक सालमा चोरी भएका थिए – २०५० र २०५१ माघमा। चोरी भएर विभिन्न ठाउँ हुँदै यी मूर्ति पछिल्लो समय अमेरिका पुगेका थिए।
दोलखाका यी दुई भैरवका संरक्षणकर्ता एवं पुजारी हुन् यज्ञकुमार प्रधान।
यी मूर्ति उनको ‘नकछें प्रधान’ परिवारलाई अंशबन्डाको भागमा रूपमा परेका थिए। दुई भैरव आफ्नो भागमा अंशका रूपमा परेपछि उनको पुर्खाले आफ्नो देवता घर (आगम) मा राखेका थिए। त्यहीँ पुस्तान्तरण हुँदै उनी यसका संरक्षक भएका हुन्।
आफ्नो जिम्मामा भए पनि उनले ती भैरवको संरक्षण गर्न सकेनन्। एकै वर्षको अन्तरालमा ती भैरवका मूर्ति चोरी भए। चोरी गर्नेले दुई भैरवका टाउका मात्र काटेर लगेका थिए। मूर्तिको घाँटी भने मन्दिरमा त्यसै छाडिएको थियो। दुई मूर्तिमध्ये एउटाको घाँटीमा त्यसको निर्माण मिति उल्लेख छ। अभिलेख अनुसार मूर्तिको स्थापना मिति १५५० साल हो। यसलाई भगवान घरमा भने १६८९ सालमा स्थापना गरिएको थियो।
आफ्ना भगवानहरू चोरी भएपछि यज्ञकुमारले जिल्ला प्रहरी कार्यालय, काठमाडौंस्थित हनुमानढोकामा रहेको अपराध अनुसन्धान शाखादेखि विभिन्न ठाउँमा मूर्ति फिर्ता गर्नका लागि निवेदन दिएका थिए। तीस वर्षपछि बल्ल उनले आफ्ना मूर्तिहरू फिर्ता पाए।
नेपालका मूर्तिहरू फिर्ता ल्याउन पहल गरिरहेको अभियान ‘नेपाल हेरिटेज रिकभरी क्याम्पेन’ ले पुरातत्व विभागसँग समन्वय गर्दै अमेरिकास्थित म्यानहटनसँग पटकपटक छलफल र पत्राचार गरेपछि बल्ल यी भैरव र अन्य मूर्तिहरू फिर्ता आएका हुन्।
अमेरिकाको म्यानहटनका अनुसार यी दुई भैरवका मूर्ति चोरी भएपछि हङकङ लगियो। त्यसपछि न्युयोर्कमा लिलाम भयो। अनि एउटा मूर्ति रूबिन र अर्को डलास म्युजियम पुग्यो।
पाटनको च्यासलमा रहेको उमामहेश्वरको मूर्ति भने चोरी भएर अमेरिकाको ब्रुकलिन म्युजियम पुगेको थियो। म्युजियमलाई यो मूर्ति बेन र रोस्लिन सेप्स नामका व्यक्तिले सन् १९९१ मा उपहार स्वरूप दिएका थिए। त्यसमा भएको अभिलेखले यो मूर्ति नेपालको हो भनेर प्रमाणित हुन्थ्यो।
अभिलेखमा मूर्तिबारे भन्दा पनि मूर्ति राखिएको फल्चा (पाटी) बनाउने मान्छेको विवरण छ।
त्यसमा लेखिएको छ, 'सन् १८८८ (नेपाल सम्बत ७०९) मा काठमाडौं ओमबहालका गोपाल भारोले यो फल्चा निर्माण गरेका थिए।'
मूर्तिबारे यति विवरण पत्ता लागिसकेपछि नेपाल हेरिटेज रिकभरी क्याम्पेनले यसको अनुसन्धान थाल्यो। अनुसन्धान क्रममा यो मूर्ति पाटनस्थित च्यासल हितिमा रहेको पत्ता लाग्यो।
च्यासल हितिमै खिचिएको मूर्तिको एउटा पुरानो फोटो हन्टिङटन आर्काइभमा फेला परेको थियो। त्यसअनुसार सन् १९७० मा यो मूर्तिको फोटो हन्टिङटनले खिचेको थियो। यो मूर्ति उक्त फल्चाबाट कहिले हरायो भन्नेबारे त्यहाँका स्थानीय र सरोकार निकायले जाहेरी दिएको प्रमाण छैन। यही थियो भन्ने मानिसको स्मृतिमा भने छ। हन्टिङटनको फोटोले भने यो मूर्ति सन् १९७० पछि मात्र हराएको भने भन्न सकिन्छ।
अर्को मूर्ति दुर्गाको हो। यो मूर्ति भक्तपुरस्थित हनुमानघाटको रहेको पुरातत्व विभागले जनाएको छ।
यस मूर्तिमा दुर्गाका चारवटा टाउका र दस हात छन्। एक हातमा उनले हतियार बोकेकी छन्। म्यानहटनले सार्वजनिक गरेको विवरण अनुसार यो मूर्ति भारतका सुवास कपुर भन्ने मूर्ति चोरको गिरोहले चोरी गरेको हो। कपुरले सञ्चालन गरेको ‘जीशान’ र ‘जाहिद बट’ भन्ने सञ्जालमार्फत यो मूर्ति तस्करी गरिएको थियो।
‘नेपालबाट मूर्ति चोरी भएर भारतको बैंकक हुँदै सन् २००० तिर अमेरिका पुर्याइएको थियो,’ म्यानहटनले आफ्नो विज्ञप्तिमा लेखेको छ, ‘एक दशकसम्म हामीले कपुर र उनको गिरोहले चोरेका सामग्रीहरूको अनुसन्धान गरेका थियौं। सन् २०११ देखि २०२३ सम्ममा हामीले उनको सञ्जालले चोरी गरेका २५ सय वटाभन्दा बढी सामग्री संकलन गरिसकेका छौं।’
नेपाल र दक्षिण एसियाका सामग्रीहरू चोरी गर्ने कपुर र उनका गिरोहका केही मानिस अहिले जेलमा सजाय भोगिरहेका छन्। उनीहरूले चोरेका सामग्री भने म्यानहटनले जुन देशको हो, त्यही देशमा फिर्ता गरिरहेको छ।
त्यही क्रममा दुर्गाको मूर्ति नेपालको हो भन्ने भएपछि नेपाल हेरिटेज रिकभरी क्याम्पेनले एकसाथ फिर्ता ल्याउने पहल गरेको हो।
गत महिना म्यानहटनले यी चारै मूर्ति न्यूयोर्कका नेपाल कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।
नेवाः गुठीका अध्यक्ष विजयमान सिंहका अनुसार नेपालको मूर्तिबारे थाहा पाउनेबित्तिकै उनीहरूले न्यूयोर्कका नेपाल कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई सम्पर्क गरेका थिए। त्यहाँबाट फिर्ता ल्याउन धेरै समय लाग्ने जानकारी आएपछि गुठीबाटै ल्याउन पहल गरियो।
‘केही समय लाग्यो तर सबै प्रक्रिया पुर्याएपछि उहाँहरूले नेपाल फिर्ता ल्याउन दिनुभयो,’ मूर्ति लिएर नेपाल आएका नेवाः गुठीका अध्यक्ष विजयमानले भने, ‘हामीले ल्याउँछौं भनेर पहल नगरेको भए अझै धेरै समय लाग्थ्यो।’
नेवाः गुठीमार्फत पहिलोपटक भगवानहरू लिन जाँदा तिनलाई चिसो छिँडीमा देख्दा निकै नराम्रो लागेको अनुभव साट्दै उनले भने, ‘सुरूमा त्यस्तो अवस्थामा देख्दा भगवानको अनुहार नै दुःखीजस्तो देखेका थियौं। हामीले लिन गएपछि हाँस्नुभएजस्तो अनुभव हामीले गर्यौं’
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार नेपालबाट सन् १९६० देखि १९९० सम्ममा बढी मूर्तिहरू चोरी भएका छन्। सन् २००० पछि भने नेपालका मूर्ति चोरी हुने क्रम कम भयो।
‘१९५० भन्दा पहिले चोरी भएका मूर्तिको रिपोर्ट हामीसँग छैन,’ उनले भने, ‘सन् १९५० पछि नेपाल संसारका लागि खुल्यो र पर्यटनको पनि विकास भयो। त्यससँगै नेपालका मूर्ति हराउनेक्रम बढेको थियो।’
पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार सन् १९८६ देखि नेपालका मूर्ति पुरातत्व विभागमा फिर्ता भइरहेका छन्। विभागले अहिलेसम्ममा करिब १४९ मूर्ति फिर्ता ल्याइसकेको उनले बताइन्।
‘हाम्रा कति मूर्तिहरू अझै पनि बाहिर छन्। त्यसको यकिन तथ्यांक हामीसँग छैन। नेवाः गुठीझैं विदेशमा रहेका नेपालीहरूले मूर्ति फिर्ता गर्न पहल गर्ने हो भने हाम्रो मूर्ति फिर्ता गर्न धेरै सहयोग हुने थियो,’ उनले भनिन्।
नेपाल फिर्ता भएका यी चार वटै मूर्ति छिट्टै यथास्थानमै प्रतिस्थापन गर्ने पनि उनले बताइन्।
दोलखाका यज्ञकुमार आफ्नो भगवानलाई आफ्नो देवता घरमा फिर्ता ल्याउन आतुर छन्।
‘०७२ सालको भुइँचालोले हाम्रो देवता घरमा क्षति पुगेको थियो। त्यो घर अहिले लगभग जीर्णोद्धार भइसक्यो। हामी छिट्टै वहाँलाई त्यहाँ स्वागत गर्नेछौं।’
दोलखाबाट उनीसँगै आएका अर्का स्थानीय अनिलचन्द्र श्रेष्ठ पनि आफ्नो भगवानलाई फिर्ता ल्याउन उत्साहित भएको बताउँछन्। दोलखाका दुई भैरव चोरी भएपछि त्यहाँ नयाँ भैरवको मूर्ति स्थापना गरिएको थियो। पुरानो भैरव फर्किएपछि पुरानोलाई पनि यथावत् राख्दै पूजा गर्ने योजना रहेको उनले बताए।
‘हामीले पूजा गर्दै आएकाले अहिले भएका भैरव पनि हाम्रो भगवान नै हुन्। पुराना आउँदैमा यी भगवान हामीले पन्छाउन मिल्दैन। त्यसैले सबैलाई पूजा गर्छौं,’ अनिलचन्द्रले भने।
पाटन च्यासल र भक्तपुरका स्थानीयहरू पनि आफ्नो भगवान हेर्न पुरातत्व विभाग आएका थिए।