भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौंको राणाकालीन भवन केशर महल चिटिक्क देखिन थालेको छ।
२०७२ को भूकम्पले क्षतिग्रस्त बनेपछि भएको पुनर्निर्माणको काम करिब करिब सकिन लागेको हो।
२०७६ मंसिरदेखि जेडसिजिआइ-खानी कम्पनीले सुरू गरेको केशरमहलको पुनर्निर्माणको काम करिब ९० प्रतिशत सकिएको कम्पनीले जनाएको छ।
अहिले बगैंचा निर्माणदेखी, रंगरोगन, ढल निर्माण, बिजुली जडान आदिको काम धमाधम भइरहेको छ। अब फागुन दोस्रो वा तेस्रो साता सरकारलाई सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने निर्माण कम्पनीका तर्फबाट इन्जिनियर नरकान्त सापकोटाले सेतोपाटीलाई बताए।
वि.सं. १९५२ तिर वीर शमशेरले जीत शमशेरका लागि यो दरबार बनाइदिएका थिए। चन्द्र शमशेरले विक्रम सम्वत् १९६५ सालमा किनेर आफ्नो छोरा केशर शमशेरलाई दिएपछि उक्त दरबारको नाम केशरमहल रहन गएको बताइएको छ।
वि.सं. २०३० सालमा सिंहदरबारमा भएको आगलागीपछि सिंहदरबारबाट केशरमहलमा शिक्षा मन्त्रालय सारिएको थियो भने २०६८ को भूकम्पमा चर्किएपछि पुन: सिंहदरबारमा मन्त्रालय सारिएको थियो भने यहाँ एनओसी शाखा र केशर पुस्तकालय रहेको थियो।
अब हस्तान्तरण पश्चात यहाँ शिक्षा मन्त्रालयले आफ्ना कार्यालयहरू राख्नेछ भने केशर पुस्तकालय यहीँ रहनेछ।
तस्बिरहरू: