नेपालका विश्वविद्यालय र क्याम्पसहरूमा इञ्जिनियरिङ पढ्ने विद्यार्थी संख्या घटेको विषय पछिल्लो समय चर्चामा छ।
यसबारे सामाजिक सञ्जालमा चासो, चिन्ता र हल्लाहरू छन्।
कतिले कक्षा १२ पास गर्नेबित्तिकै विदेश जाने चलन बढेकाले नेपालका क्याम्पसमा विद्यार्थी अभाव हुँदै गएका गुनासा गरेका छन्।
गुणस्तरीय शिक्षाको खोजी गर्दै विद्यार्थी बिदेसिएका हुन् भन्नेहरू पनि छन्।
हामीले यसबारे त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान (आइओई), काठमाडौं विश्वविद्यालय, इञ्जिनियरिङ पढाउने अरू विश्वविद्यालयसँग कुरा गर्यौं।
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. भोला थापाले पछिल्ला दुई वर्षका तुलनामा यसपालि विद्यार्थी बढेको बताए।
'केयूका सात संकायमा गरी यसपालि १५ प्रतिशतले विद्यार्थी बढेका छन्,' उनले सेतोपाटीसँग भने, 'समग्रमा विद्यार्थी संख्या र कोटाअनुसार भर्ना प्रतिशत नै बढेको छ।'
विद्यार्थी बढेकाले केयूले बिई (कम्प्युटर र सिभिल) मा गरी कुल १२० सिट थप्नुपरेको उपकुलपति थापा बताउँछन्।
त्रिवि आइओईका डिन शशीधरराम जोशीले पनि गत वर्षभन्दा यसपालि विद्यार्थी संख्या वृद्धि भएको जानकारी दिए।
'गत वर्षभन्दा नेपाली विद्यार्थीको भर्ना अहिले बढेको छ। आंगिक क्याम्पस पुल्चोक, थापाथली, पश्चिमाञ्चल, पूर्वाञ्चल र चितवन इञ्जिनियरिङमा एक, दुई विषयबाहेक अरूमा सिटअनुसार नै विद्यार्थी भर्ना भइसकेका छन्,' उनले भने।
इञ्जिनियरिङ पढाइ हुने अन्य विश्वविद्यालयमा पनि बिई (सिभिल र कम्प्युटर) तर्फ सिटअनुसार विद्यार्थी भर्ना भएका छन्। केही निजी क्याम्पसहरूमा भने विद्यार्थी भर्ना थोरै घटेको देखिन्छ।
अब नेपालमा इञ्जिनियरिङ पढाइ हुने विश्वविद्यालय र क्याम्पसमा यसपालि भएका विद्यार्थी भर्नालगायत विषयमा चर्चा गरौं।
केयूमा बढे विद्यार्थी:
काठमाडौं विश्वविद्यालयमा विगतका वर्षहरूमा भन्दा विद्यार्थी संख्या बढेको छ।
उपकुलपति प्रा. भोला थापाका अनुसार इञ्जिनियरिङसहित सात संकायमै विद्यार्थी बढेका छन्।
केयूमा इञ्जिनियरिङ, शिक्षा, विज्ञान, चिकित्सा, मानविकी, व्यवस्थापन र कानुन संकायमा पढाइ हुँदै आएको छ।
पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा विद्यार्थी बढेकै देखिन्छ। इञ्जिनियरिङ संकायमा शैक्षिक सत्र सन् २०२१/२२ को तुलनामा यसपालि १३ प्रतिशतले विद्यार्थी बढेका छन्।
सिटका आधारमा भर्ना भएका विद्यार्थी हेर्दा सन् २०२१/२२ मा ७५ प्रतिशत रहेकामा यसपालि बढेर ८८ प्रतिशत पुगेको छ।
'आवेदन दिनेहरू (विद्यार्थी) बढेपछि हामीले नेपाल इञ्जिनियरिङ काउन्सिलबाट बिई कम्प्युटर र सिभिलमा ६०-६० सिट थपको स्वीकृति लियौं,' उपकुलपति थापाले भने, 'सूचना, प्रविधि जस्ता केही नयाँ शैक्षिक कार्यक्रम पनि थपेकाले विश्वविद्यालयमा विद्यार्थी बढेका छन्।'
बिई सिभिल र कम्प्युटरतर्फ आवेदन धेरै परेकाले कोटा थपेर पढाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
'बिई सिभिल र कम्प्युटरतर्फ धेरै आवेदक थिए। स्वदेशमै पढ्ने उहाँहरूको इच्छा सम्बोधन गर्न हामीले व्यवस्थापन गर्न सकिनेसम्म थप सिट थपेका हौं,' उनले भने।
बिई कम्प्युटर पढ्न केयूमा यसपालि एक हजार चार सय जनाले आवेदन दिएका थिए। विश्वविद्यालयले यसपालि शैक्षिक कार्यक्रमबारे समुदायलाई जानकारी गराएको थियो। केही नयाँ शैक्षिक कार्यक्रम थप गरेको थियो भने छात्रवृत्तिसमेत बढाउँदा विद्यार्थी बढेका हुन्।
साथै केयूले सर्वोत्कृष्ट विद्यार्थीलाई कम्तीमा एक वर्ष विश्वविद्यालयमै रोजगारी सुनिश्चित गरेको छ।
केयूमा बिई पढ्न पूर्ण शुल्कतर्फ ८ लाख ५० हजार रूपैयाँ लाग्छ। भर्नाकै बेला निर्धारित सिट संख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिने गरिएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयमा इञ्जिनियरिङका विभिन्न विषयमा ४८० सिट छ। अहिलेसम्म ४२१ जना विद्यार्थीले भर्ना गरिसकेका छन् भने थप कोटामा भर्ना प्रक्रिया जारी छ।
केयूमा बिई कम्प्युटर, इलेक्ट्रिकल, मेकानिकल, सिभिल, केमिकल, माइनिङ, आर्टिफिसियल, आर्किटेक्चर इञ्जिनियरिङ पढाइन्छ। कम्प्युटर, सिभिल र मेकानिकलमा १२० का दरले सिट छ भने अरू कार्यक्रममा सिट संख्या घटीमा ३० र ६० सम्म छ।
त्रिविका आंगिकमा छन् विद्यार्थी, सम्बन्धन लिएका निजीमा केही घटे:
इञ्जिनियरिङ पढाउने त्रिविका आंगिक क्याम्पसमा सिटअनुसार विद्यार्थी भर्ना भएका छन्। सम्बन्धन प्राप्त क्याम्पसहरूमा भने गत वर्षहरूका तुलनामा विद्यार्थी केही घटेका छन्।
त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थान (आइओई) मा इञ्जिनियरिङतर्फ भर्ना र पढाइ चलिरहेको छ। त्रिविका आंगिक र सम्बन्धन गरी १५ क्याम्पसको स्नातकमा इञ्जिनियरिङ पढाइन्छ। यसका लागि जम्मा ४३४१ सिट छ।
आइओईका डिन शशीधरराम जोशीले इञ्जिनियरिङ पढ्ने विद्यार्थी नघटेको बताए।
'गत वर्षभन्दा विद्यार्थी बढेका छन्। पुल्चोक, थापाथली, पश्चिमाञ्चल, पूर्वाञ्चल र चितवनमा एक, दुई विषयबाहेक अरूमा सिटअनुसार विद्यार्थी भर्ना भए,' उनले भने।
त्रिवि आंगिक क्याम्पस पुल्चोकमा इञ्जिनियरिङका ८ कार्यक्रमका लागि ६२४ सिट छ। तीमध्ये मेकानिकल इञ्जिनियरिङ (पूर्ण शुल्कतर्फ) एउटा कोटा खाली छ। त्यो एक सिटमा पनि विद्यार्थी भर्ना हुने उनी बताउँछन्।
४३२ सिट रहेको काठमाडौंको थापाथली क्याम्पसमा अटोमोबाइल इञ्जिनियरिङतर्फ १२ सिट खाली छ।
४३२ सिट नै रहेको पोखरास्थित पश्चिमाञ्चल क्याम्पसमा ५१ सिट खाली छ। स्नातक तह भर्ना समितिले माघ १३ गते १२ औं पटक भर्ना आह्वान गरेको छ। अटोमोबाइलतर्फ ३३, इलेक्ट्रिकलतर्फ १२, जिओमेट्रिक्सतर्फ ५ सिट र मेकानिकलतर्फ एक सिट खाली देखिन्छ।
पूर्वाञ्चल क्याम्पस धरानमा ५२८ सिटमध्ये ६३ खाली छ। मेकानिकलमा ३२ र एग्रिकल्चरमा ३१ सिटमा विद्यार्थी भर्ना हुन बाँकी छ।
चितवन इञ्जिनियरिङ क्याम्पसमा सिटअनुसार विद्यार्थी भर्ना भइसके। यहाँ २४ सिट थियो।
'हामीले आर्किटेक्चर इञ्जिनियरिङ मात्रै पढाउँछौं। सबै सिटमा विद्यार्थी भर्ना भइसके, पढाइ सुरू गरिसकियो,' क्याम्पसकी प्रशासन प्रमुख दुर्गा केसीले भनिन्।
चितवन इञ्जिनियरिङमा पहिलो चरणमै अधिकांश विद्यार्थी भर्ना भए।
'हामीलाई विद्यार्थी अभाव छैन। गत वर्षहरूमा पनि समयमै सिट विद्यार्थी भर्ना हुन्थे,' उनले भनिन्।
त्रिविबाट सम्बन्धन प्राप्त प्राय: निजी क्याम्पसहरूमा सिट क्षमताअनुसार भर्ना भएका छैनन्। तर निजी क्याम्पसमा पनि बिई कम्प्युटर र सिभिलतर्फ विद्यार्थी घटेका छैनन्।
काठमाडौं इञ्जिनियरिङमा सिट क्षमता ३८४ भए पनि १४७ सिट खाली छ। २८८ सिट भएको कान्तिपुर इञ्जिनियरिङ कलेजमा १९३ तथा १४४ सिटको सगरमाथा इञ्जिनियरिङ कलेजमा २६ जना विद्यार्थी भर्ना हुन बाँकी देखिन्छ।
३३६ सिट रहेको एड्भान्स कलेजमा १४६ र २४० सिट रहेको हिमालय कलेजमा ११३ सिट खाली छ। २४० सिट रहेको नेसनल कलेजमा २६ सिट खाली छ। ९६ सिट रहेको ललितपुर इञ्जिनियरिङमा २४ सिट र १९२ सिट रहेको काठफोर्डमा ८८ सिट खाली छ। त्यस्तै १९२ सिटको जनकपुर इञ्जिनियरिङमा १७२ र १९२ सिट रहेको ख्वप: कलेजमा १५ सिट खाली छ।
विद्यार्थी भर्ना आह्वान गर्दै सूचना निकालिएकाले यी सिट लगभग भरिने आइओईका डिन जोशीको दाबी छ।
'विगतका अभ्यास हेर्दा बाह्र-तेह्र पटकसम्म पनि भर्ना आह्वान गरेर सूचना निकाल्ने गरिएको छ,' उनले भने, 'पढाइ सुरू भएको दुई सातासम्म पनि भर्नाका लागि आह्वान गर्न मिल्छ।'
गत कात्तिक १४ गतेदेखि २० गतेसम्म आइओईले गरेको प्रवेश परीक्षामा ९ हजार सात सय विद्यार्थी सहभागी भएकामा ६ हजार सात सय १५ जनाको मेरिटअनुसार नाम निस्किएको थियो।
इञ्जिनियरिङ क्याम्पसमा विद्यार्थीले हासिल गरेको मेरिटका आधारमा भर्ना लिइन्छ। विद्यार्थीले धेरै क्याम्पसमा प्रवेश परीक्षा दिए पनि पायक पर्नेमा पढ्ने गर्छन्।
त्रिविमा चार वर्षे इञ्जिनियरिङ पढ्न विद्यार्थीले चार लाख ९० हजार रूपैयाँ तिर्नुपर्छ। सम्बन्धन प्राप्त क्याम्पसले भने यसको दोब्बर शुल्क लिने गरेका छन्। शुल्क धेरै भएर पनि निजी क्याम्पसमा विद्यार्थीको आकर्षण केही घट्दो छ।
पोखरा विश्वविद्यालय १० प्रतिशत सिट खाली राखेर पढाइ, आउन लाग्यो परीक्षा:
पोखरा विश्वविद्यालयमा पनि इञ्जिनियरिङ पढाइ हुन्छ। केन्द्रीय क्याम्पसमा २३४ सिटका लागि भर्ना लिइन्छ। बिई सिभिल, सिभिल र रूरल, कम्प्युटर, सफ्टवेयर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विषय पढाइ हुन्छ। इञ्जिनियरिङ पढाउन विश्वविद्यालयका १६ क्याम्पसमा ३४५६ सिट छ।
विश्वविद्यालयले गत मंसिरदेखि नै इञ्जिनियरिङ पढाइ सुरू गरेको र अब परीक्षा तयारीमा जुटेको शिक्षक सञ्जय बरालले बताए।
यो विश्वविद्यालयमा बिई सिभिल पढ्न ६ लाख २३ हजार रूपैयाँ पर्छ भने बिई कम्प्युटर, सफ्टवेयर, इलेक्ट्रिकल विषय पढ्न ५ लाख ८७ हजार दुई सय रूपैयाँ लाग्छ। शिक्षक बरालका अनुसार १० प्रतिशत जति सिट खाली राखेर पठनपाठन सुरू गरिएको थियो।
'अब हामी भर्ना लिँदैनौं। परीक्षा आउन लागिसक्यो, रूटिन निकाल्ने तयारी छ,' उनले भने, 'नयाँ भर्ना अर्को वर्ष साउन-भदौतिरबाट सुरू होला।'
अरू १५ क्याम्पसले पनि यसअघि नै पढाइ सुरू गरिसकेका थिए।
पूर्वाञ्चलमा केही घटे विद्यार्थी:
पूर्वाञ्चल विश्वविद्यालयमा इञ्जिनियरिङतर्फ दुई हजार तीन सय ६५ सिट छ। विश्वविद्यालय केन्द्रीय क्याम्पससहित १८ क्याम्पसमा बिईका विभिन्न विषय पढाइ हुन्छ। विश्वविद्यालयका निर्देशक तेजराज गिरीले गत वर्षभन्दा विद्यार्थी केही घटेको बताए।
'विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सिभिलतर्फ ९६ सिटमा सबैमा भर्ना भएको छ,' गिरीले भने, 'इलेक्ट्रिकल ४८ सिटमध्ये ३२, कम्प्युटर ९६ सिटमा ४१, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसनमा ६० मा ३ जना विद्यार्थी मात्रै भर्ना भएको देखिन्छ।'
इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसनतर्फ विद्यार्थीको आकर्षण कम रहेको उनले बताए।
यहाँ बिई सिभिल र इलेक्ट्रिकल पढ्न पूर्ण शुल्कतर्फ पाँच लाख ९० हजार रूपैयाँ र कम्प्युटर तथा इलेक्ट्रोनिक्सतर्फ ३ लाख ९४ हजार रूपैयाँ लाग्छ।
'सर्वोत्कृष्ट विद्यार्थीलाई योभन्दा कम शुल्कमा पढाउँछौं। आरक्षणका विद्यार्थीलाई १० हजार दुई सयमै बिई पढाइन्छ,' उनले भने।
विगत वर्षको तुलनामा पूर्वाञ्चल केन्द्रीय क्याम्पस र सम्बन्धन प्राप्तमा पनि विद्यार्थी घटेका छन्। तर विश्वविद्यालयले सबै क्याम्पसहरूको तथ्यांक उपलब्ध गराउन सकेन। विद्यार्थी घट्नुमा विदेश जानु एक कारण रहेको उनी बताउँछन्।
'कक्षा १२ पास गरेपछि विद्यार्थी विदेश जाने गरेका छन्। त्यसको केही प्रभाव परेको छ,' उनले भने, 'नयाँ क्याम्पस खुलेर विद्यार्थी बाँडिएका छन् जस्तो लाग्दैन।'
सुदूरपश्चिममा भरिभराउ:
सुदूरपश्चिम विश्वविद्यालयले बिई सिभिल र कम्प्युटर विषय पढाउँछ।
'सिभिल र कम्प्युटरतर्फ ४८-४८ सिटमा विद्यार्थी भर्ना भइसके। पढाइ सुरू गरिसकियो। गत वर्ष पनि विद्यार्थी अभाव थिएन,' इञ्जिनियरिङ संकायका डिन किसानदत्त भट्टले भने।
पूर्ण शुल्कतर्फ तीन लाख रूपैयाँमा विद्यार्थीले यहाँ इञ्जिनियरिङ पढ्न पाउँछन्। छात्रवृत्तितर्फ ५२ हजार रूपैयाँ मात्र तिरे पुग्ने उनले बताए। अधिकांश विद्यार्थी सुदूरपश्चिम र कर्णालीका छन्।
विश्वविद्यालयले ११ वर्षदेखि सिभिल इञ्जिनियरिङ पढाउँदै आएको छ। कम्प्युटरतर्फ भने छैटौं सेमेस्टरको पढाइ चलिरहेको उनले जानकारी दिए।
मध्यपश्चिममा सिभिलमा भरिभराउ, हाइड्रोपावर पढ्ने शून्य:
मध्यपश्चिम विश्वविद्यालयले बिई हाइड्रोपावर, सिभिल र कम्प्युटर विषय पढाउँछ। विभागीय प्रमुख गोविन्द खत्रीका अनुसार तीन विषयमा ४८ सिटका दरले कुल १४४ सिट छ।
'सिभिलमा ४८ जना नै भर्ना भए। कम्प्युटरमा ४८ सिटमध्ये १९ जना मात्रै भर्ना भएका छन्,' उनले भने, '४८ सिटको हाइड्रोपावरमा भने एक जना भर्ना भएनन्।'
गत वर्ष सिभिलमा ४८, कम्प्युटरमा ३३ र हाइड्रोपावरमा २१ जना विद्यार्थी थिए।
'यो वर्ष विद्यार्थी घटे। पढ्न विदेश पढाउने कल्सन्टेन्सीहरूको प्रभाव पर्यो,' उनले भने।
कक्षा १२ पास गर्नेबित्तिकै सरकारले एनओसी दिन नहुने उनले बताए।
'सरकारको फितलो नीतिले विद्यार्थी विदेश गए, पैसा पनि गयो,' उनले भने, 'कक्षा १२ पास गर्नेबित्तिकै एनओसी दिन भएन। विदेशमा पनि नेपाली विद्यार्थीले दु:ख पाए।'
सुदूरपश्चिममा इञ्जिनियरिङ पढ्न पूर्ण शुल्कतर्फ चार लाख ७२ हजार रूपैयाँ लाग्छ। ७२ हजार रूपैयाँमा छात्रवृत्तिमा पढ्न पाइन्छ।
'हाइड्रोपावर र कम्प्युटरमा छात्रवृत्तिकै कोटा खाली छ। विद्यार्थी बाहिर जाने क्रम नरोके नेपालका विश्वविद्यालय गौशाला बन्छ,' उनले भने।
नेपालमा ५३ क्याम्पसमा स्नातक तहमा इञ्जिनियरिङ पढाइ हुन्छ। यी कलेजमा करिब ११ हजार विद्यार्थी पढाउने क्षमता छ। तर निजी क्याम्पसहरूमा सिट क्षमताअनुसार पूरा विद्यार्थी भर्ना भएका छैनन्।