जब आनन्दीदेवीको नजर घरअगाडिको ढलान सडकको ढक्कनमा पुग्छ तब उनको आँखाबाट आँसुको धारो बग्न थाल्छ। ढक्कन पुरानो भएर खिया लाग्दैछ तर दिनहुँजसो आइरहने नातिको सम्झनाले उनको मनको घाउ ताजा बनाइदिन्छ।
उनी १७ महिना उमेरको नातिसँग दिनभर रमाउँथिन्। नातिसँगै खेल्थिन्। त्यही नाति साढे पाँच महिनाअघि एक दिन अचानक आफ्नै घरअगाडि सडकको खुला मंगालमा खसेर बित्यो।
त्यसयता आनन्दीका आँखा ओभाएका छैनन्। रुँदारुँदै आनन्दी बिरामी पर्न थालेकी छन्। पैसा नभएर उपचारका लागि जान पनि सकेकी छैनन्।
उपभोक्ता समिति र ठेकेदारको लापरबाहीले जनकपुरधाम उपमहानगरपालिका–२५, केउटानी टोलका रञ्जित मुखिया र पुनिताका छोरा रोहन गत भदौ २९ गते ढलान सडकमा नाली निर्माणका क्रममा बनाइएको मंगालमा परे। त्यसमा भरिएको गहुँत र पानीमा डुबेर तत्कालै उनको मृत्यु भयो।
रोहनकी आमा पुनिताको अवस्था पनि हजुरआमा आनन्दीकै जस्तो छ। गरिबीका कारणले यसै पनि घरमा खाद्यान्न अभाव छ, अझ रोहनको मृत्युशोकले उनीहरूको खानाको टुंगो छैन। सासूबुहारी दुबै जना बिरामी पर्ने गरेका छन्।
रोहनका बाबु रञ्जि कतारमा छन्। उनले कमाएर पठाएको पैसाको धेरै हिस्सा साहुको ऋणको किस्ता तिर्दैमा ठीक्क छ। बाँकी रहेको रकमले छाक टार्न मुश्किल पर्छ।
घरको छानो त्रिपालले ढाकिएको छ। केही दिनदेखि लगातार चलेको शीतलहरमा त्रिपालबाट तपतप पानी चुहिने गरेको छ। यही जाडोमा डाक्टरले सासूबुहारी दुबैलाई थाइराइड बढेको छ भनेका छन्। डाक्टरले औषधि खानुपर्छ, बेलाबेला थाइराइड जाँच गराउनुपर्छ भनेका छन्। दुबै जनाको शरीर सुन्निएको छ।
निर्माणको काममा भएको लापरबाहीले रोहनको मृत्यु भएको ठहर भएपछि उपभोक्ता समितिले राहतका लागि पीडित परिवारलाई घटना भएको दिनले एक महिनाभित्र दुई लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको थियो। कानूनी कारबाहीमा नजाने शर्तमा स्थानीयवासी समेतको रोहबरमा वडा नम्बर २५ का वडाध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी र रोहनकी हजुरआमा आनन्दीका बीच सहमति भएको थियो।
घटना भएको साढे पाँच महिना पूरा भयो तर उपभोक्ता समितिले राहतको रकम दिएको छैन। पुनिता र आनन्दी वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षलाई भेटेर गुहार लगाउँदा लगाउँदै हैरान भएका छन्।
दिने भनेर प्रतिबद्धता जनाएको रकम पाउन आग्रह गर्दा उपभोक्ता समितिका पदाधिकारीहरूले गैरजिम्मेवार जबाफ दिने गरेका छन्। आनन्दीका अनुसार अहिले त पैसा पाउन नातिलाई मंगालमा हालेको आरोप लगाउन थालेका छन्।
यस्तो आरोपले आनन्दीको मन छियाछिया भएको छ। आँसुको धारो बढेको छ, सँगै आक्रोश पनि थपिएको छ तर उनीसँग कुनै उपाय छैन।
‘पुलिसमा र अड्डाअदालतमा नजाने भनेर सहमति गर्न लगाए, दुई लाख रुपैयाँ दिन्छौँ भने। गाउँका सबैले भनेपछि हामीले मान्यौँ,’ उनले भनिन्, ‘हामीले पढेलेखेको छैन। अड्डाअदालत जान पनि सक्दैनौँ। अहिले त पैसाका लागि नाति मारेको भन्न थालेका छन्। यस्तो कुरा सुनेर मेरो छाती फाट्छ।’
आनन्दी र पुनितालाई उपभोक्ता समितिबाट पैसा आउने आशा मरिसकेको छ। अब उनी घटनाको छानबिन होओस् र दोषीमाथि कानूनी कारबाही होओस् भन्ने चाहन्छिन् तर त्यस प्रक्रियामा अघि बढ्ने विषयमा उनीहरू अन्जान छन्।
उपभोक्ता समितिले राहतको पैसा नदिएपछि केही स्थानीयवासीले आनन्दीलाई ‘पञ्चायती’ बसाउन सल्लाह दिएका छन्। पञ्चायती बसाउन कसलाई भन्ने हो, कसले आफूहरूलाई मद्दत गर्छ, आनन्दी र पुनिता अन्योलमा छन्।
गाउँटोलका गन्यमान्य व्यक्तिहरू बसेर छलफल गर्ने र निर्णय गर्ने प्रक्रियालाई ‘पञ्चायती बस्ने’ भन्छन्।
आनन्दी भन्छिन्, ‘हाम्रो कुरा कसैले सुन्दैन। पञ्चायती बस्न कोही पनि आउँदैन।’
रोहनको मृत्युको घटनापछि वडा नम्बर २५ का वडाध्यक्ष चन्देश्वर साहले उपभोक्ता समिति र पीडित परिवारलाई छलफलमा जुटाएर राहत रकम दिने गरी सहमति गराएका थिए।
सहमति अनुसार पीडित परिवारले किन रकम पाएन त?
‘एक महिनामै पैसा दिन्छौँ भनेका थिए तर उपभोक्ता समितिका पदाधिकारीले अहिलेसम्म दिएका छैनन्। हामीले जति ताकेता गरे अटेर गरेका छन्,’ वडाध्यक्ष साह भन्छन्, ‘तीन जनाले बराबरी गरेर दुई लाख रुपैयाँ दिनुपर्नेमा एक जनाले महिना दिनअघि हामीकहाँ ६६ हजार रुपैयाँ जम्मा गरेका छन्। दुई जनाले कुरै सुनेका छैनन्। अब फेरि ताकेता गर्छौं।’
मंगालसहित १६ फिट चौडाइको साढे तीन सय मिटर लामो सडक निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा स्थानीयवासी शम्भु मण्डलको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको थियो।
पीडित परिवारसँग भएको सहमतिअनुसार उपभोक्ता समितिका अध्यक्ष मण्डल, सचिव र कोषाध्यक्षले बराबर रकम गरेर दुई लाख रुपैयाँ दिनुपर्ने थियो। अध्यक्ष मण्डलले आफ्नो भागको पैसा दिएका छैनन्। कोषाध्यक्ष एक जना महिला थिइन्, उनले पनि दिएकी छैनन्। टोलमा उनको नाम थाहा हुने व्यक्ति फेला परेनन्, घरपरिवार भने टोलका सबैलाई जानकारी छ।
सचिव थिए अनित चौधरी। अनित स्वदेशमा छैनन्। उनका हजुरबा कौशलकिशोरले ६६ हजार रुपैयाँ जम्मा गरेको वडाध्यक्ष साहले बताए। पीडित परिवारलाई दिनुपर्ने राहत रकमबारे सेतोपाटीले कुरा गर्न प्रयास गर्दा उपभोक्ता समितिका पदाधिकारीहरू सम्पर्कमा आउन चाहेनन्।
उपभोक्ता समितिले ढक्कन नलगाई मंगाल खुलै छाडेको थियो। ढक्कन लगाउन स्थानीयवासीले माग गरेका थिए तर ढक्कन लगाइएन। समयमा ढक्कन लगाउन वडाध्यक्ष साहले उपभोक्ता समितिलाई दबाब नदिएको स्थानीयवासीको आरोप छ।
संघीय आयोजना कार्यान्वयन इकाइ, धनुषा कार्यालयको ५० लाख रुपैयाँ बजेटमा सडक ढलान भएको थियो। उपभोक्ता समितिले कानूनविपरीत ठेकेदारमार्फत् काम गराएको थियो। सडकमा राखिएका ५१ वटा मंगालमा ढक्कन नलगाई कार्यालयले भुक्तानी दिएको थियो।
उपभोक्ता समितिसँगको विवादमा ठेकेदारले ढक्कन आफ्नो घरको छतमा राखेका थिए। रोहनको मृत्युपछि भने स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका थिए। त्यसपछि मात्र ठेकेदारले ढक्कन लगाएका थिए।
उपभोक्ता समितिले दिने भनेको पैसा पाएको भए आनन्दी र पुनिताले केही कर्जा तिर्ने थिए। घरमा खपडाको छानो हाल्ने थिए। बचेको पैसाले आफ्नो उपचार गराउने थिए।
आनन्दीका अनुसार परिवारमा १० लाख रुपैयाँ ऋण छ। रोहनको जन्म हुँदा पुनितालाई जनकपुरको एउटा निजी अस्पतालमा राख्नु परेको थियो। एक हप्ता त आइसियुमै राख्नु पर्यो। त्यसबेला साढे एक लाख रुपैयाँ खर्च भयो।
‘अस्पतालमा पैसा तिर्न ऋण खोज्दा कसैले दिएनन्। छोरीले ३ सैकडा तीन रुपैयाँ (३६ प्रतिशत) ब्याजमा ऋण खोजिदिई,’ आनन्दीले भनिन्, ‘पहिलो नाति जन्मिँदा पनि ७० हजार रुपैयाँ खर्च भएको थियो।’
रञ्जित विदेश जाँदा पनि ऋण लिनु परेको थियो। घरासयी खर्चका लागि लिएको ऋण पनि बढेको बढ्यै छ।
बढ्दो ऋणले चिन्तामा परेकी आनन्दी भन्छिन्, ‘विदेशमा छोराको कमाइ भएको छैन। पैसा नभएर हामी अस्पताल जान पनि पाएका छैनौं।’
केउटानी टोलका धेरैजसो दलित परिवार उपचारका लागि निजी अस्पताल र क्लिनिकमा पुग्छन्। पुनितालाई सुत्केरी गराउन पनि दुबै पटक निजी अस्पतालमै लैजानु परेको थियो।
सरकारी अस्पतालमा ठिक समयमा डाक्टर नआउने र राम्रो उपचार नपाउने भएकाले निजी अस्पताल जानु परेको आनन्दीको भनाइ छ।
‘बुहारी धेरै छटपटाएकी थिइन्। डाक्टरले पेटमा पानी थोरै छ भनेका थिए तर भोलिमात्रै अप्रेसन गर्छु भनेर हिँडे,’ आनन्दीले भनिन्, ‘बुहारीलाई गाह्रो भएपछि हामीले प्राइवेट (निजी) अस्पताल लग्यौं।’
टोलकी बासिन्दा पवनदेवी मण्डलले पनि बुहारीलाई प्रसूतिका लागि प्रादेशिक अस्पताल लगिन्। बुहारी व्यथाले दिनभर छटपटाइन्। पवनदेवीका अनुसार उनीहरूले समयमा हेरिदिन डाक्टरलाई धेरै हारगुहार गरे तर त्यस दिन नहेर्ने टुंगो लाग्यो।
‘डाक्टरले हेर्दै हेरेन, नर्सले मात्रै हेरे। साँझमा बच्चा पेटमै मर्यो तैपनि डाक्टरले अप्रेसन गरिदएन,’ पवनदेवीले भनिन्, ‘हामीसँग पैसा थिएन। ऋण काढेर प्राइवेट अस्पतालमा पुर्याएर बुहारीको ज्यान बचाएँ।’
गरिबको भनिएको सरकारी अस्पतालमा राम्रो उपचार नपाउँदा तिनै गरिबहरू महँगो अस्पताल जान बाध्य छन्।