सहकारीको अर्बौं रकम अपचलन गरी फरार रहेका गितेन्द्रबाबु (जिबी) राईसहित तीन जनाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिबी राई, पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगरविरूद्ध डिफ्युजन नोटिस जारी भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ गते उनीहरूविरूद्ध डिफ्युजन नोटिस जारी गर्न नेपाल प्रहरीको इन्टरपोल शाखाको अनुरोध गरेको थियो। उक्त अनुरोधपछि शुक्रबार तीन जनाविरूद्ध इन्टरपोल शाखाले नोटिस जारी भएको हो।
कुनै पनि देशमा अपराध गरी विभिन्न देशमा भागेका अपराधीलाई पक्राउ गर्न विभिन्न प्रकारका नोटिसहरू जारी गरिन्छ। फ्रान्सस्थित इन्टरपोल केन्द्रीय कार्यालयले विभिन्न देशको अनुरोधमा कुनै पनि अपराधीविरूद्ध रेड नोटिस, ब्लु नोटिस, ग्रिन नोटिस, एल्लो नोटिस, ब्ल्याक नोटिस, ओरेञ्ज नोटिस, युएन सेक्युरिटी काउन्सिल स्पेशल नोटिस र पर्पल नोटिस जारी गर्छ।
यसरी जारी गरेपछि इन्टरपोलमा सदस्य रहेका राष्ट्रले पनि अनुरोध अनुसार खोजी गर्छन्। यी विभिन्न प्रकारका नोटिस भए पनि जिबी राईसहित तीन जनाविरूद्ध भने डिफ्युजन नोटिस जारी भएको हो। डिफ्युजन नोटिस पनि कुनै अपराधीलाई पक्राउ गराउनको लागि जारी गरिने सूचना हो।
तर यसमा विशेषगरी अपराधी भागेर गएको हुन सक्ने स्थानको पहिल्यै पहिचान भई उक्त राष्ट्रलाई अनुरोध गरिने प्रकारको हो। ‘रेड नोटिसलगायत सबै इन्टरपोलका सदस्यहरूलाई थाहा हुने गरी दिइने जानकारी हो। डिफ्युजन नोटिस भनेको शंका लागेको कुन-कुन देश हो त्यहाँ अनुरोध गर्ने हो,’ प्रहरी स्रोतले भन्यो, ‘आवश्यकताअनुसार सबै सदस्य राष्ट्रलाई पनि गर्न अनुरोध गर्न सकिन्छ।’
अध्यागमन विभाग स्रोतका अनुसार जिबी राई नेपालबाट बाहिर गएको रेकर्डमा देखिँदैन। पूर्वअध्यक्ष थानबहादुर बुढामगर पनि नेपालबाट बाहिरिएको रेकर्ड देखिएको छैन।
रेकर्डमा नदेखिएकोले स्थलमार्गबाट उनीहरू भारत पुगेको हुनुपर्ने प्रहरी स्रोतले बतायो। भारतीय विमानस्थलबाट भने मलेसिया पुगेको हुनुपर्ने आशंका अनुसन्धान अधिकृतहरूको छ।
इन्टरपोलले त्यसअनुसार भारत र मलेसियालाई डिफ्युजन नोटिस पठाइसकेको छ। त्यस्तै अर्का एक जना पूर्वअध्यक्ष भूपेन्द्र राई भने अध्यागमनको रेकर्डमा देखिएका छन्।
उनी बेलायतमा गएको अध्यागमन स्रोतले बतायो। त्यस सूचनाको आधारमा प्रहरीले बेलायत प्रहरीसँग समन्वय गरी नोटिस पठाएको हो। ‘अहिलेसम्म जिबी राई र थानबहादुर अध्यागमन पास भएर गएको देखिएका छैनन्। भूपेन्द्र भने बेलायत गएको देखिएका छन्,’ अध्यागमन स्रोतले भन्यो।
यसरी नोटिस जारी भएपछि फरार रहेका व्यक्तिहरू भाग्न सक्ने सम्भावना कम हुन्छ। भारत, मलेसिया, बेलायतलगायत देशले अब ती फरार रहेका व्यक्तिहरूको खोजी गर्छन्।
नोटिस जारी भएका व्यक्तिहरूबारे कुनै सूचना प्राप्त भएमा सम्बन्धित देशले नेपाललाई सूचना प्रदान गर्छ।
‘उहाँहरूले आफ्नो सिस्टममा चेक गरेर देशमा इन्ट्री भएको छ वा छैन भनेर हेर्नुहुन्छ। सूचना प्राप्त भएपछि आधिकारिक रूपमा पक्राउ गर्नेतिर प्रहरी लाग्छ,’ उच्च स्रोतले भन्यो, ‘पक्राउ गरी ल्याउनको लागि फेरि रेड नोटिसमा पनि कन्भर्ट गर्छौं। सुरूमै गरेपनि हुन्छ, तर यो प्रक्रियाबाट छिटो हुने भएकाले हो। अनुसन्धान अधिकृतको अनुरोधमा यो जारी गर्ने प्रक्रिया अघि बढ्छ।’
डिफ्युजन नोटिस जारी भएपछि प्रतिवादी उम्किन सक्ने अवस्था पनि कम हुने प्रहरीले जनाएको छ। प्रतिवादी कुन देशमा छन् भन्ने यकिन भइसकेपछि कतिपय राष्ट्रले नेपाल प्रहरी आफैंलाई पनि लिन आउन अनुरोध गर्छ।
कुनै राष्ट्र आफैंले पनि पक्राउ गरी पठाउँछ भने कुनैले आधिकारिक कुटनीतिक च्यानलमार्फत् आउनलाई पनि भन्ने गर्छ। अहिलेसम्म सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरेको मुद्दामा तीन जना पक्राउ परी पुर्पक्षको लागि थुनामा छन्। कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक भविश्वर अर्याल र पूर्वसञ्चालक शिवबहादुर गुरूङ थुनामा छन्।
यसमा १९ जनाविरूद्ध पक्राउ पुर्जी भएको थियो। तीन जना बाहेक अन्य फरार छन्। जिबी राई ग्यालेक्सी फोर-केका सञ्चालक पनि हुन्। उक्त टेलिभिजन अहिले बन्द भइसकेको छ। राईविरूद्ध कास्कीमा १ हजार ३६ जनाले उजुरी दिएका छन्। जसअनुसार एक अर्ब ११ करोड रुपैयाँ अपचलन भएको उजुरी छ।
त्यसैगरी बुटवल, काठमाडौं लगायत जिल्लामा पनि उनले ठगी गरेको आरोप छ।
यो पनि: जिबी राईको जिन्दगानी, सधैं सधैंको बेइमानी!