काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको पिल्लर नम्बर ४ कोठाभित्र डिएसपी अनिल घिमिरे छन्।
ठीक अगाडि बसिरहेका छन् खैरो रंगको सर्ट-पेन्ट बाहिर कालो ज्याकेट र टोपी लगाएका अर्का एक पुरूष। उनको हातमा हत्कडी लगाइएको थियो।
भित्र ती पुरूष केही बरबराइरहेका थिए, कोठा बाहिर पत्रकार र प्रहरी उभिएर उनका कुरा सुनिरहे। बीचबीचमा उनका कुरा सुनेर आसपास बसिरहेका गललल हाँसिरहेका थिए।
उनी भनिरहेका थिए- नेपाल पुलिसले छाड्दैन, १६ वर्षपछि सरहरूले मलाई समातेर ल्याउनुभयो।
यसरी कोठामा बोलिरहेको केहीबेरमा शुक्रबार बिहान साढे ११ बजे कार्यालयको हलमा पत्रकार सम्मेलन सुरू भयो।
पत्रकार सम्मेलनमा कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले १६ वर्षअघि हिरासतमा रहेका प्रतिवादीलाई भगाएको आरोपमा एक जनालाई पक्राउ गरेको बताए।
पक्राउ पर्ने नेपाल प्रहरीकै पूर्वजवान रौतहट पथरावुधराम-३ का ४१ वर्षीय वीरबलराय यादव छन्। उनलाई डिएसपी घिमिरेको टोलीले बिहीबार झापा प्रहरी र भारतीय प्रहरीको समन्वयमा पक्राउ गरी काठमाडौं ल्याएको हो।
२०६४ सालमा लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाइ नयाँ बानेश्वरले खैरो हेरोइनको मुद्दामा एक जना भारतीय नागरिकलाई पक्रेको थियो।
पक्राउ पर्नेमा पूर्वीचम्पारन सिरसिया नुनयाडी ग्राम, थाना रक्सौल बस्ने ३९ वर्षीय असरफ आलम थिए। उक्त इकाइले असरफलाई पक्राउ गरी थप अनुसन्धानका लागि तत्कालीन महानगरीय प्रहरी परिसर, काठमाडौंमा बुझाएको थियो। परिसर त्यतिबेला हनुमानढोकामा थियो।
अनुसन्धानका लागि परिसरमा हिरासतमा रहेका असरफ कसरी भाग्ने भन्ने दाउमा थिए। त्यतिबेला परिसरमा प्रहरी जवान वीरबल पनि कार्यरत थिए।
हिरासतमा हुँदा असरफ र ड्युटीमा खटिएका वीरबलको बेलाबेलामा भेट हुन्थ्यो। त्यही एक भेटमा असरफले मौका छोपेर दाउ चाले।
‘एक करोड दिन्छु, मलाई यहाँबाट छुटाइदेऊ,’ अफरसले जवान वीरबललाई भने।
वीरबल रायलाई सुरूमा त उनको कुरा मजाक लाग्यो। पक्राउ पर्नेहरूले हिरासतबाट छुटाइदेऊ भन्नु स्वाभाविक पनि थियो।
तर त्यतिबेला असरफ अलि गम्भीर देखिएका थिए जब पैसाको कुरा आयो। प्रहरी जवान वीरबलको मनमा एक करोड पाउने लोभ जाग्यो। सुरूमा एक करोड दिन्छु भने पनि पछि चाहिँ उनीहरूबीच मोलमोलाइ भयो। वीरबल असरफलाई १० लाख रुपैयाँमै छुटाइदिन सहमत भए।
पैसा पाउनुअघि वीरबलले असरफलाई छुटाइदिनुपर्थ्यो। त्यसको लागि वीरबलले २०६४ साल जेठ ९ गतेको दिन रोजे।
त्यस राति साढे ८ बजेको थियो। उनले एउटा नक्कली चिट बनाएर असरफलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले बोलाएका छन् भनेर हिरासत कक्षमा ड्युटीमा खटिएका प्रहरी अधिकारीलाई बुझाए। त्यस चिटमा उनले इन्स्पेक्टरको हस्ताक्षर समेत किर्ते गरे।
इन्स्पेक्टरले बोलाएका छन् भनेर वीरबलले असरफलाई हनुमानढोकास्थित कार्यालयको माथिल्लो कक्षमा लगे। त्यहाँ पुर्याएर हत्कडी खोलिदिए, कपडा फेर्न लगाए। असरफसँगै वीरबलले पनि कपडा फेरे। त्यसपछि राति नै कसैले नदेख्नेगरी दुबै जना कार्यालय परिसरबाट निस्केर हिँडेको डिएसपी अनिल घिमिरेको भनाइ छ।
‘दुबै जना हिरासतबाट भागेर कालिमाटी-कलंकी-बुटवल-रक्सौल हुँदै कलकत्तासम्म पुगेका थिए,’ उनले भने।
पत्रकार सम्मेलन जारी रहँदा वीरबलले केही आफ्ना कुरा भने भन्न भ्याए। जसक्रममा उनले काठमाडौंदेखि बुटवलसम्म जाँदै गर्दाको क्षणबारे सुनाए। लामो यात्रा हुने बसमा सिनेमा देखाउन टिभी राखिएका हुन्छन्।
त्यतिबेला अमिताभ बच्चनको सिनेमा चलिरहेको पनि उनले सुनाए। जहाँ एउटा सिनमा अपराधीलाई भगाउने व्यक्तिलाई प्रहरीले समाएको देखाइएको थियो।
आफैंले गरेको अपराधको घटनासँग मेल खाएपछि उनको मनमा पनि चिसो पस्यो। जसकारण भारत भागेको उनी बताउँछन्। त्यही बेला आफूले अपराध गरेर भाग्दै गरेको महसुस भएको पनि उनले बताए।
‘अमिताभ बच्चनको फिल्म हेरिरहँदा अपराधीलाई भगाएको पनि देखें। तर प्रहरीले ती अपराधीलाई समाएको थियो। त्यसपछि म भारतमा भागें,’ पत्रकार सम्मेलनमा सार्वजनिक हुँदै गर्दा उनले भने।
सम्मेलनमा उनले पिल्लर नम्बर ४ कोठामा भनेका कुराहरू पनि दोहोर्याए, ‘थुनुवालाई भगाएर लगेको थिएँ। १६ सालपछि सरहरूले मलाई समाएर ल्याए। जसले गल्ती गर्छ नेपाल पुलिसले छाड्दैन। जहाँबाट पनि ल्याउन सक्छ। त्यसैले यस्तो काम गर्न हुन्न।’
कोलकत्तासम्म असरफ र वीरबल सँगै हिँडेका थिए। त्यहाँ पुगेर असरफले १० लाख दिने भनेका थिए। तर उनले ६ लाख २५ हजार रुपैयाँ पाए।
नेपाल फर्किए जेल पुग्छु भन्ने महसुस भइसकेका वीरबलले त्यहाँ केही न केही काम गर्नुपर्ने थियो।
६ लाख बढी रकम पाएका उनले त्यहीँ दुई वटा ट्याक्सी किनेका थिए। एउटा आफैं चलाए, अर्को चलाउन अर्कै मान्छेलाई लगाए।
लाइसेन्स, आधार कार्ड, रासन कार्ड, भोटर आइडी कार्ड पनि भारतै बनाएर जीवन चलाउन उनले सुरू गरिसकेका थिए। विवाह गरेर उनी श्रीमतीसँगै कोलकत्तामा बस्न थालेका थिए।
वीरबलले १६ वर्षको समयमा ९ वटा ट्याक्सी किनिसकेका छन्। एउटा अझै पनि उनैले चलाउँछन्, अन्य चलाउन अरूलाई लगाएका छन्।
यसबीच ११ वर्षसम्म पनि उनी र असरफबीच कुराकानी हुन्थ्यो।
भेटघाट हुँदा पनि वीरबलले अरसफसँग १० लाख दिन्छु भनेर ६ लाख मात्रै दिएको भनेर गुनासो गर्ने गर्थे। तर पाँच वर्षअघिदेखि भने असरफले सम्पर्कबिच्छेद गरे।
असरफ अझै पनि फरार छन्। यद्यपि प्रहरीले असरफ बस्ने ठेगाना पत्ता लगाएको छ। उनी पनि छिट्टै पक्राउ पर्ने डिएसपी घिमिरेले बताए।
पक्राउ पर्दा वीरबल ड्युटीमै थिए। उनी खैरो रंगको सर्ट-पेन्ट लगाएर ट्याक्सी चलाइरहेका बेलामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
वीरबलमाथि प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अन्तर्गत अनुसन्धान अघि बढाएको छ।
पक्राउबाट उम्काउन वा थुनाबाट भगाउन नहुने कसुरअन्तर्गत प्रहरीले अनुसन्धान अघि बढाएको हो।
यस कसुर अनुसार भगाउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने उल्लेख छ। राष्ट्र सेवकको हकमा भने उनलाई दोब्बर सजाय हुनसक्ने कानुनी व्यवस्था छ।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी