काठमाडौंको न्युरोड क्षेत्रमा सवारी साधन पार्किङ गर्न रोक लगाइएको छ।
काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ गर्न रोकेको हो।
न्युरोड क्षेत्रमा मंगलबार बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएका थिए।
महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ।
प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले काठमाडौं टावरमा तीन सय वटा चारपाङ्ग्रे र सात सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने बताए।
धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ।
यसअघि महानगरले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध गरेको थियो।
तस्बिरहरू: