ललितपुरको जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य झण्डै पाँच महिनादेखि अचेत छन्।
पुल्चोकस्थित होटल स्क्वायरको स्वीमिङ पुलमा उनलाई करेन्ट लागेको परिवारका सदस्यहरूको भनाइ छ।
शाक्यको उपचारका लागि घरमै मेडिकल उपकरण जडान गरिएका छन्। बेलाबेला चिकित्सकहरूले परीक्षण गर्छन् भने हेरचाहका लागि एक जना नर्स राखिएको छ।
सजिलमान झण्डै पाँच महिनादेखि अचेत रहेको उनका भाइ विवेकले सेतोपाटीलाई बताए। आफ्नो दाजु अचेत हुनुमा पुल्चोकस्थित होटल स्क्वायर जिम्मेवार रहेको उनको दाबी छ।
गत भदौ १५ गते शुक्रबार सजिलमान श्रीमती र छोरीसँगै होटल स्क्वायर गएका थिए। होटलमा रहेको स्वीमिङ पुलमा अपराह्न ३ बजेतिर उनले पौडी खेलेका थिए।
पेशाले व्यवसायी रहेका सजिलमानले स्वीमिङ गर्दागर्दै श्रीमती र साढे २ वर्षकी छोरीसँग फोटो खिचेका थिए। केहीबेरमा उनको हात लाइटमा पर्यो, करेन्ट लाग्यो। स्वीमिङ पुल छेउमा तीन वटा फोकस लाइट छ।
‘स्वीमिङ पुलसँगैको फोकस लाइट भएको ठाउँबाट बिजुली चुहावट भइरहेको रहेछ, पानीभित्रै भएका बेला दाइको हातले त्यहाँ छुन पुगेछ,’ विवेकले भने, ‘त्यसपछि उहाँलाई अस्पताल लगियो। अस्पतालमा लामो समय उपचार गराएपछि अहिले २४ सै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा घरमै उपचार गराइराखिएको छ।’
करेन्टको झट्कापछि सजिलमान केहीबेर बोल्न र चल्न सकेनन्। करेन्ट लागेको थाहा पाएपछि उनकी श्रीमतीले स्वीमिङ पुलबाट निकाल्न खोजिन् तर सकिनन्।
‘दाइलाई करेन्ट लागेको थाहा पाएपछि भाउजूले उहाँलाई निकाल्न खोज्नुभयो। भाउजूलाई पनि करेन्टको झट्का लागेछ,’ विवेकले भने, ‘दाइलाई करिब २०-२५ सेकेन्ड करेन्ट लाग्यो होला। पछि उहाँलाई निकालेर मेडिसिटी अस्पताल पुर्याइएको हो।’
अस्पतालले सजिलमानलाई हृदयघातसमेत भएको बताएको उनका भाइ विवेक बताउँछन्। पछि उपचारका लागि सजिलमानलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पनि लगिएको उनले जानकारी दिए।
‘दुइटा अस्पतालमा उपचार गराउँदा पनि सोचेजस्तो सुधार देखिएन। अहिले घरमै राखेर उपचार गराइराखिएको छ, आँखा खोल्नुहुन्छ, अवस्था सुधारोन्मुख छ,’ उनले भने।
होटलले बिजुली चुहावट नरोक्दा भएको लापरबाहीले सजिलमान अचेत अवस्थामा पुगेको भन्दै परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा होटल सञ्चालकविरूद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दिन पुगेका थिए। तर प्रहरीले समयमै जाहेरी नलिएको विवेक बताउँछन्। सरकारी वकिलमार्फत् जाहेरी दिइएपछि प्रक्रिया अघि बढेको जानकारी पाइएको उनले बताए।
‘हामीले घटना भएलगत्तै होटल स्क्वायर सञ्चालकहरूविरूद्ध जाहेरी दिन खोजेका थियौं। तर प्रहरीले लिन मानेन,’ उनले भने, ‘अहिले जाहेरी दर्ता भएको छ। यो घटनामा होटल सञ्चालकहरू दण्डित हुनुपर्छ। होटलमा समस्या देखिएपछि समाधान गर्नुपर्यो नि!, होइन भने बन्द गर्नुपर्यो।’
होटल सञ्चालकहरूलाई कारबाहीको माग राख्दै स्थानीय बासिन्दाले गत आइतबार पुल्चोकस्थित होटल स्क्वायर अगाडि प्रदर्शन गरेका थिए।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्तासमेत रहेका एसपी नवराज कार्कीले यस घटनामा क्षतिपूर्तिका विषयमा अदालत जान पीडितका परिवारलाई सुझाव दिइएको बताए।
‘परिवारले क्षतिपूर्तिको मागदाबी गरेकोले यो प्रहरी कार्यालयमा नभई अदालत जाने विषय हो भनेर पीडित परिवारलाई सुझाव दिएका थियौं,’ उनले भने, ‘पछि उहाँहरूले सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दिनुभयो। हामीले दर्ता गरेका छौं। यसबारे अनुसन्धान भइरहेको छ।’
यो घटनामा होटलका सञ्चालक रोमी अर्याल र अर्का एकविरूद्ध पक्राउ पूर्जीसमेत जारी भइसकेको छ। होटल सञ्चालकहरू केही समयदेखि भारतमा रहेको प्रहरी स्रोत बताउँछ। ‘उहाँहरूले उपचारका लागि भारतमा छौं भन्नुभएको छ, केही दिनमा स्वदेश आउने कुरा रहेछ,’ प्रहरी स्रोतले भन्यो।
यसबारे होटल सञ्चालकसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।