ढल्केवर–जनकपुर सडकखण्डमा ६ लेनको कालोपत्रे सडक बनेपछि यस क्षेत्रका बासिन्दा खुसी छन्। फराकिलो र धुलोमुक्त चिल्लो सडकले यात्रुहरूको समय बचत भएको छ, रोजगारी बढेको छ, सडक किनारा र आसपासमा जग्गाको भाउ बढेको छ।
यति हुँदाहुँदै पनि यही सडकखण्डमा ६ लेनका दुई वटा पुल निर्माणको काम अलपत्र पर्दा यात्रुहरू हैरान छन्। दुईतिरको फराकिलो बाटोका बीचमा साँघुरो पुलका कारण जनधनको क्षतिका घटना पनि भएका छन्।
पुरानो सपही पुल जीर्ण छ। निर्माणको सबै काम पूरा नहुँदै नयाँ पुलमा गाडी चल्न थालेका छन्। त्यस्तै बसही पुल साँघुरो र जीर्ण छ। यहाँ बन्दै गरेको नयाँ पुल चार वर्षदेखि अलपत्र छ।
बितेका तीस महिनामा बसही पुल क्षेत्रमा १२ पटक र सपही पुल क्षेत्रमा २० पटक सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ। ती दुर्घटनामा ९ जनाको मृत्यु भएको र ५३ जना घाइते भएको जिल्ला ट्रफिक कार्यालय, धनुषाले जनाएको छ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार यी दुबै पुलमा ससाना दुर्घटना भइरहन्छन्। मृत्यु भएको, गम्भीर घाइते भएको वा सवारी साधनमा ठूलो क्षति भएको घटनामात्र प्रहरीमा पुग्छ।
बसही पुल अलपत्र पर्नुमा निर्माणमा ठेकेदार र सडक डिभिजन कार्यालय दुबै जिम्मेवार रहेको मिथिला नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नन्दकिशोर यादवको आरोप छ।
‘हामीले सडक डिभिजन कार्यालय र ठेकेदारलाई पुल छिटो बनाउनुहोस्, पुल नबन्दा धेरै दुर्घटना भयो, जनधनको क्षति भयो भनेर बारम्बार भनेका छौँ तर वास्ता गर्दैनन्। उनीहरूले वेवास्ता गरे सडक विभागले ठेकदारलाई काममा लगाउन सक्नुपर्ने हो,’ उनी भन्छन्, ‘पुलको दुबैतर्फ ६ लेनको राम्रो सडक छ। गाडी तीव्र गतिमा आउँछ। दुई लेनको साँघुरो पुलमा अचानक रोकिनु पर्दा अनियन्त्रित भएर दुर्घटना हुने गरेको छ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा निर्माणाधीन पुल क्षेत्रमा भएका १० वटा दुर्घटनामा चार जनाको मृत्यु भयो,
२४ जना घाइते भए। आर्थिक वर्ष २०७९/८० मा भएका १३ वटा घटनामा २ जनाको मृत्यु भयो, १५ जना घाइते भए। त्यसैगरी चालु आर्थिक वर्षको पुस पहिलो सातासम्म ९ वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो, १४ जना घाइते भए।
धनुषाका ट्राफिक प्रहरी प्रमुख रहेका प्रहरी निरीक्षक शेखरकुमार साहका अनुसार तीव्र गतिका कारण पुल निर्माण क्षेत्रमा गाडी दुर्घटना हुने गरेको छ।
बसही खोलामा ६ लेन पुल निर्माणका लागि ‘नागार्जुन हेम कन्स्ट्रक्सन जेभी’ र तत्कालीन ‘जटही–जनकपुर–ढल्केवर ६ लेन सडक कार्यालय, बर्दिबास’ बीच सम्झौता भएको थियो। २०७६ साल असार ३१ गते भएको सम्झौतामा २०७८ साल असार ३० गतेसम्म पुल निर्माण पूरा गर्ने भनिएको थियो। मूल्य अभिवृद्धि कर (भ्याट) सहित १४ करोड ८ लाख २२३ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो तर निर्माण सक्नुपर्ने अवधिमा जग हाल्ने काम पनि पूरा भएन। कार्यालयले ठेकेदारलाई फेरि म्याद थपिदियो।
थपिएको म्यादअनुसार पनि २०८० असार ३० गतेसम्ममा बनिसक्नुपर्ने थियो तर हालसम्मका ३० प्रतिशतमात्रै भौतिक प्रगति भएको छ। ठकेदार कम्पनीले २६ प्रतिशत भुक्तानी लिइसकेको छ।
कोभिड–१९ महामारीपछि ठेकेदारको लापरबाहीले पुल निर्माण हुन नसकेको साइट इन्जिनियर विवेक झाको भनाइ छ।
‘कम्पनीले फेरि म्याद थप्न प्रस्ताव गरेको छ। हामीले समयमा काम नगरेकाले ठेक्का किन नतोड्ने भनेर चिठी लेखेका छौँ,’ झाले भने, ‘सुरुमा कोभिड (कोरोना भाइरस संक्रमण महमारी) को कारणले काम हुन सकेन। पछि ठेकेदारले लापरबाही गर्यो।’
चालु आर्थिक वर्षमा सरकारले बसही पुलका लागि १० लाख रुपैयाँ मात्रै विनियोजन गरेको झाले बताए। उनका अनुसार अहिलेको ठेक्का तोडेर अर्को ठेक्का गर्न पनि बजेट सुनिश्चित नभएकाले म्याद थप गर्र्नुपर्ने अवस्था आउनसक्छ।
लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपहीमा हर्दिनाथ नदीको पुल निर्माणका लागि पनि २०७६ साल साउन १२ गते ठेक्का सम्झौता भएको थियो। सम्झौतामा दुई वर्षमा काम पूरा गर्ने शर्त थियो तर साढे चार वर्षमा पनि काम पूरा भएको छैन।
मूल्य अभिवृद्धि कर (भ्याट) सहित १४ करोड ५९ लाख ५८ हजार ८५८ रुपैयाँमा ‘सूर्या एन्ड सन्स प्राइभेट लिमिटेड, सुनसरी’ ले ठेक्का लिएको थियो। काम सक्ने भनिएको अवधिमा पुलको जग पनि हालिएन। ठेदारले २०८० माघ १३ गतेसम्मको थप म्याद पाएको छ।
इन्जिनियर झाका अनुसार थप म्याद सकिन १५ दिन बाँकी रहँदा ८९ प्रतिशत भौतिक प्रगति भएको छ। भुक्तानी ८७ प्रतिशत भएको छ। चालु आर्थिक वर्षमा यो पुलका लागि पनि सरकारले १० लाख रुपैयाँमात्रै बजेट विनियोजन गरेकाले निर्माण सम्पन्न हुनेमा शंका छ।
‘जटही—जनकपुर—ढल्केवर ६ लेनसडक कार्यालय’ ले सडक निर्माण पूरा भएपछि एक वर्षअघि दुबै पुल निर्माणको जिम्मेवारी सडक डिभिजन कार्यालय, जनकपुरलाई हस्तान्तरण गरेको थियो।
पुल निर्माणमा ढिलाइ भएको विरोधमा स्थानीयवासीले पटकपटक आन्दोलन समेत गरेका छन्। निर्माण कार्य ढिलो भएको कुरा लिएर आफू पाँचपटक सडक डिभिजन कार्यालय पुग्दा पनि सुनुवाइ नभएपछि एक महिनाअघि चक्काजाम गरेर विरोध जनाएको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रमेशकुमार साहले बताए।
‘वरिवरिका बासिन्दालाई धुलोले हैरान पारेको छ। बालबालिका र बुढापाकाहरूको स्वास्थ्यमा गम्भीर असर परेको छ। यहाँ पसल चलाउन कठिन भएको छ,’ साहले भने, ‘दुईपटक सडक जाम गरेर आन्दोलन गरेपछि मात्रै काम अघि बढ्यो। अहिले फेरि सुस्त भएको छ। हाम्रो पीडा न ठेकेदारले बुझ्छ न सडक डिभिजन कार्यालयले।’
काम फटाफट अघि नबढे फेरि आन्दोलन गर्ने उनको चेतावनी छ।