पशुपति विकास कोषले वनकाली क्षेत्रमा सञ्चालन भइरहेका साना पसलहरू सार्ने भएको छ।
मंगलबार पशुपति विकास कोष र काठमाडौं महानगरपालिका-८ को समन्वयनमा उक्त साना पसलहरू हटाइ नयाँ ठाउँमा व्यवस्थापन गर्ने काम भइरहेको वडाध्यक्ष आशामान संगतले जानकारी दिए।
उनका अनुसार वनकाली क्षेत्रमा सडक निर्माणको काम हुने हुँदा उक्त पसलहरू हटाइ नयाँ ठाउँमा व्यवस्थापन गर्ने काम भइरहेको हो।
'अहिले साना पसलहरू सञ्चालन भइरहेको ठाउँमा ढललगायत बाटोमा ढुंगा छाप्ने काम हुन लागेको छ,' उनले भने, 'त्यसैले हामीले उहाँहरूलाई निर्माण कार्य अवधिभर ती पसल हटाउन आग्रह गरेका थियौं र विकल्पमा छाता राखी पसल सञ्चालन गर्न भनेका थियौं।'
तर पसल व्यवसायीहरूले आफ्नै लगानीमा अस्थायी संरचना बनाएर पसल सञ्चालन गर्ने बताएपछि पसलका लागि अस्थायी संरचना निर्माण भएको उनले बताए।
वडाध्यक्ष संगतका अनुसार वनकाली क्षेत्रमा सञ्चालन भइरहेका १५२ वटा पसल अब पुरानो वनकाली धर्मशाला अघिको बाटोमा रहने छ। अहिले बिस्तारै ती पसल सार्ने काम समेत भइरहेको उनले बताए।
यस्तै, यही साताभित्र सबै पसल नयाँ ठाउँमा सारिसक्ने उनले बताए।
अहिले अस्थायी रूपमा बनेको पसलको संरचनामा पसल नम्बर लगाउने काम भइरहेको छ।
तस्बिरहरू: