माघे संक्रान्तिमा विशेषतः चाकु खाने चलन छ। माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौंको टोखामा रहेको विभिन्न चाकु उद्योगहरूमा यतिबेला चाकु बनाउने चटारो छ।
अरू समयभन्दा बढी माघे संक्रान्तिको बेला चाकु, तिलको लड्डु आदिको माग बजारमा बढ्ने गरेको छ।
तर अहिले साधारणभन्दा मसलेदार र स्पेशल चाकुको माग बढी रहेको व्यापारी बताउँछन्। मसलेदार चाकुमा नरिवल मिसाइएको हुन्छ। साथै स्पेशलमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइएको हुन्छ। जसले गर्दा अन्यभन्दा स्पेशल चाकुको मूल्य केही महँगो छ। यहाँ २५० ग्रामको साधारण चाकु २५ रूपैयाँमा बिक्री हुँदा मसलेदार चाकु १०० रूपैयाँमा बिक्री हुँदै आएको छ। चाकु काठमाडौं, भक्तपुर र ललितपुरबाहेक उपत्यका बाहिर र विदेशमा पनि जाने गरेको छ।
कसरी बनाइन्छ चाकु?
सखरलाई करिब एक घण्टा पकाइसकेपछि भाँडोबाट निकालेर चिस्याउनुपर्छ। चिसो पारेपछि कालो रंगको पाकेको झोललाई फिटेर पहेँलो रंगको बनाइन्छ। फिटेको चाकुलाई चाहिने मात्रामा तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ।
नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ। साथै, नेवार समुदायमा काजकिरियाको बेलामा पनि चाकु खाने गरिन्छ। त्यस्तै, चिसो लागेका मानिसलाई चाकु खुवाएमा सञ्चो हुने मान्यता छ।
तस्बिरहरू: