त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन कार्यालयका कर्मचारीहरूले काम रोकेपछि उडानहरू प्रभावित बनेका छन्।
बुधबार अध्यागमनका कर्मचारीहरूले बिहान ११ बजेदेखि साढे १२ बजेसम्म काम रोकेका हुन्। फेरि बेलुकी ५ बजेदेखि पनि केहीबेर काम रोकेपछि उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
‘अध्यागमनमा बिहान ११ बजेदेखि साढे १२ बजेसम्म मान्छे थिएनन्। २५ वटा काउन्टरमा एक-दुई जना मात्रै मानिस थिए। फेरि ५ बजेदेखि मानिसहरू थिएनन्,’ झाले भने, ‘काठमाडौं आएका जहाजका यात्रुहरू कुरेर बसेपछि कर्मचारीहरू पछि आए।’
यसरी अध्यागमनका कर्मचारीहरूले काम रोकेपछि दुई वटा फ्लाइट ढिलो भएको उनले बताए। दिउँसो उड्नुपर्ने इन्डिगो र थाइ एयरको जहाज ढिला उडेको थियो।
उनका अनुसार कर्मचारीहरूले किन काम रोकेको कारण भने खुलाएका छैनन्। अवैध रूपमा भिजिट भिसामा मानिसहरूलाई विदेश पठाउने कार्यमा अध्यागमनका कर्मचारीहरूको संलग्नता भएको विषयमा अनुसन्धान भइरहेको खुलेको उनले बताए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध रूपमा भिजिट भिसाको दुरूपयोग गरी अध्यागमनकै कर्मचारीहरूको मिलेमतोमा विदेश पठाउने गरेको खुलेको बताए।
प्रहरीले अध्यागमन अधिकृत नरविर खड्कालाई पक्राउ गरी संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। यसमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ।
प्रहरीले सबै कर्मचारीहरूलाई सोधपुछ गर्दै बयान लिन लागेको भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन्।
यसबारे अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालसँग बुझ्दा उनले कर्मचारीहरूले काम नरोकेको दाबी गरे।
‘काम नै रोकेको चाहि होइन। गुनासो सुनुवाइ गर्नुपर्ने थियो, सकिसक्यो,’ उनले भने।
यसबारे विस्तृत रूपमा बताउन अनुरोध गरेपछि उनले कर्मचारीहरूको ड्युटी समय र प्रहरीले पत्राचार गरेको विषयमा कुराकानी भएको बताए।
‘कर्मचारीहरूको ड्युटी बढी भएको, कर्मचारीहरूको सरूवा भएको र त्यसको भार परेको, प्रहरीले सबैलाई बोलाउने गरी पत्राचार गरेको हुनाले, निर्दोष मान्छेलाई पनि बोलाउने हुनाले क्लियर गर्नुपर्यो भनेर हो,’ उनले भने, ‘काम दिउँसै देखि भइरहेको छ।’
दिउँसो साढे १२ बजेसम्म रोकिएको र अहिले ५ बजेदेखि पुन: सेवा रोकेको बारे पनि उनले अस्वीकार गरे।
‘साथीहरू ड्युटीमै छन्, डेस्कमै छन्, केही पनि रोकिएको छैन,’ दिउँसो कर्मचारीहरू थिएनन् नि भनेपछि उनले भने, ‘कार्यालय प्रमुखसँग यसो गुनासो राखेका हुन्। दिउँसो खाजा खान जाँदा, ड्युटी सिफ्ट चेन्ज हुँदा होला।’
तस्बिरहरू: