काठमाडौंको तार्केश्वर नगरपालिका-४ मिलन बस्ती बस्ने ३४ वर्षीय सुजन बस्नेत झन्डै चार महिनादेखि प्रहरी परिसर र अदालत धाइरहेका छन्।
गाडीका पार्टपुर्जा बेच्ने उनले अहिले आफ्नो व्यवसायमा खासै ध्यान दिन पाएका छैनन्। उनी कहिले प्रहरी वृत्त बालाजु पुग्छन्, त कहिले जिल्ला अदालत काठमाडौं।
असोज ५ गते दिउँसो १ बजे मिलन बस्तीस्थित उनी बस्ने फ्ल्याटमा दिउँसै चोरी भएको थियो। त्यसदिन दाइको इन्गेजमेन्ट भएकाले उनी परिवारसहित फ्ल्याटमा ताला लगाएर निस्किएका थिए। इन्गेजमेन्टको कार्यक्रम सकेर फर्किंदा साँझ ५ जति बजेको थियो। उनको फ्ल्याटको मूल ढोका खुलै थियो, कोठाभित्र रहेको दराज पनि खुला थियो।
‘ढोका खुलै देख्दा चोरी भएको शंका लागेर मैले प्रहरीलाई खबर गरिहालेँ,’ सुजनले भने।
उनीसँग भएको सुनको गहना रानीहार, बाला, माइली तिलहरी, छड्के तिलहरी, चन्द्रमा, चाँदीको कमरवन, चाँदीका पाउजू, चोकर, घडी, ल्यापटप ब्याग, हुवावेको मोबाइल र २० हजार रुपैयाँ नगद चोरी भएको प्रहरीकै अघि पत्ता लाग्यो।
त्यसपछि यी सामान चोरी भएको भनेर सुजनले प्रहरी वृत्त बालाजुमा लिखित जाहेरी दिए।
अनुसन्धानको क्रममा प्रहरीले चार जनालाई पक्राउ गर्यो। अनिल विक, रामचन्द्र घले, संचित तामाङ र सुशील भन्ने जितबहादुर घले पक्राउ परे।
‘खासमा अरूकै सामान चोरी भएको अनुसन्धान हुँदा उनीहरू फेला परेका थिए,’ सुजनले सेतोपाटीसँग भने, ‘हाम्रोमा पनि चोरी गर्न आएका उनीहरू नै भएको सिसिटिभी फुटेजबाट देखियो।हाम्रो सामान चोरी भएको ४५ दिनपछि मात्रै उनीहरू पक्राउ परेका थिए।’
पक्राउ परेपछि बयानको क्रममा उनीहरूले चोरेको सुनको गहनाहरू हेटौंडामा रहेकी साथीलाई दिएको बताएका थिए। त्यसपछि प्रहरीसँगै आफू पनि हेटौंडा गएको सुजनले बताए।
त्यहाँबाट आफ्ना सुनका गहनाहरू लिएर उनी प्रहरीसँगै काठमाडौं फर्किए।
सुन बरामद भएपछि सुजन खुसी थिए। किनभने हराएका बहुमूल्य सामान फिर्ता पाउने आश बलियो भएको थियो। उनले काठमाडौंस्थित प्रहरी वृत्त बालाजुमा पुगेपछि प्रहरीसँग अनुरोध गरेर सुनका गहनाका फोटो खिचेका थिए।
प्रहरीले हेटौंडाबाट सुनको रानीहार, तिलहरी, बाला र केही टुक्रा सुन बरामद गरेको थियो। अनुसन्धानको क्रममा प्रहरीले बरामद गरेको सुन तौलिन सुन चाँदी पसलमा लैजान्छ।
प्रहरीले मनमैजुस्थित न्यू श्रेष्ठ सुन चाँदी पसलबाट सुनको मूल्य र सुनको तौल समेत यकिन गराएको देखिन्छ। मंसिर ६ गते सुन पसलले प्रहरी वृत्त बालाजुलाई पत्र लेख्दै सुनको तौल र त्यसको मूल्य यकिन गरी पठाएको थियो।
त्यसदिन प्रतितोला सुन एक लाख १२ हजार ९ सय रुपैयाँ देखिन्छ। बरामद भएका सबै सुन सक्कली नै रहेको भनेर पनि पसलले प्रमाणीकरण गरिदिएको थियो।
एउटा ७ लालको टुक्रा, ३१ लालको अर्को टुक्रा, ६५ लालको तिलहरी, २ तोला ३ लालको रानीहार र १ तोला १२ लालको बाला भनेर सुनचाँदी पसलले प्रमाणीकरण गरेको सुजनले बताए।
त्यही बेला सुजनले आफ्नो सामान फिर्ता भने पाएनन्। प्रहरीले सबै प्रक्रिया सकेपछि अदालतबाट मात्रै फिर्ता हुन्छ भनेको थियो। मुद्दा अदालतमा पुगिसकेको थियो। मुद्दा दर्ता भइसकेपछि आफ्नो गहना प्राप्त कसरी गर्ने भनेर सोध्न काठमाडौं जिल्ला अदालत गएको सुजन बताउँछन्।
‘म केही समयअघि पनि अदालत गएको थिएँ। बकपत्र नसकिएसम्म सुन दिन मिल्दैन भनियो,’ सुजनले भने।
उनी अदालतमा त आफ्नो सुन सुरक्षित होला भनेर ढुक्क थिए। बकपत्र लगायतका कामहरू सकिएपछि सरकारी वकिल कार्यालय काठमाडौंबाट पत्र लिएर उनी सोमबार जिल्ला अदालत काठमाडौंमा पुगे।
सुन लिनलाई अदालतको जिन्सी शाखा (स्टोर) मा उनी पुगे। उक्त शाखाका कर्मचारीले एउटा ढड्डामा सही छाप गर्न लगाए। उनले गरे।
‘सुन लिन स्टोरमा गएको थिएँ। तल जाँदा एउटा ढड्डा हुँदो रहेछ। त्यसमा सुन बुझिलिएको भनेर पहिले सही छाप लगाउन दिनुहुँदो रहेछ। सिधै सामान दिनु हुँदैन रहेछ,’ उनले भने, ‘मुद्दा फाँटका हाकिम साब पनि आउनुभएको थियो। मैले ल्याप्चे हानेँ।’
तर उनले सुन तुरून्तै पाएनन्। उनलाई बाहिर ४५ मिनेट जति कुर्न भनिएको थियो। केहीबेर कुरेपछि करिब अपराह्न ३:४५ बजेतिर सुजन भित्र गए।
‘४ बजे बन्द हुने भएकाले सर फेरि बन्द हुने हो कि भनेर भित्र गएको थिएँ। ल हिँड्नुस् भनेर मलाई लगे। सुरूमा झ्यालबाटै हार हो नि हैन? भनेर सोध्नुभएको थियो। हो भनेको थिएँ,’ उनले भने, ‘पछि हेर्दा त सुन कसैले चलाइसकेको जस्तो देखियो। रानीहारको टुक्रा नै गायब छ। बाला चाहिँ ठीकै छ।’
जिल्ला अदालतमा सुन हेर्दा रानीहार टुक्रा पारिएको देखिएको उनले बताए। त्यसबाट कति तौलको सुन गायब भएको छ भन्ने यकिन नभएको सुजन बताउँछन्। तिलहरीमा राख्ने सुन पनि कुच्चिएको अवस्थामा देखिएको उनले बताए।
यसरी प्रहरी वृत्तमा देखेको सुन र अदालतबाट सामान फिर्ता लिन खोज्दाको सुन फरक पाएपछि भने सुन नलिई फर्किएको उनले बताए।
‘यस्तो देखेपछि मैले थप हेरिनँ। सुन नै साटफेर गरेको छ कि, के गरेको छ आफैंले चेक गर्ने कुरा पनि भएन,’ उनले भने, ‘अब यति नै भए पनि लिएर हिँडौं कि भन्ने सोचेको त थिएँ। घाटा भए पनि ठीकै छ भन्ने सोचेँ। तर मेरोमात्रै यस्तो भएको होइन भन्ने पनि लाग्यो। अनि मैले यत्तिकै सुन नलिने निर्णय गरेँ। त्यसपछि त्यहाँका कर्मचारीले सुन बुझिलिन बाँकी भन्ने चिर्कटो दिनुभएको छ।’
अदालतमै आफ्नो सुन तलमाथि भएको देखेपछि अब कहाँ जाने र के गर्ने भन्ने थाहा नभएको सुजन बताउँछन्। हराएका अरू सामान पाइएन, पाइएको सुन समेत त्यस्तो अवस्थामा देखेपछि उनी तनावमा छन्।
'चोरबाट बरामद नभएका सामानको त आश मारिसकेको थिएँ,' उनले भने, 'सुन पाइयो भनेर चित्त बुझाएको तर यस्तो भयो, म त तनावमा छु।'
त्यसपछि उनी स्रेस्तेदार रामप्रसाद शर्माको कार्यकक्षमा गुनासोसहित पुगेका थिए।
‘प्रहरीले बुझाउँदा पनि रुजु गरेर बुझाउने रहेछ। तर त्यहाँ के भयो भन्ने थाहा छैन,’ उनले भने, ‘स्रेस्तेदारकहाँ बुझ्न भनेर पनि गएको थिएँ। यस्तो भयो भनेर गएको थिएँ। उहाँले सोध्नुपर्छ भनेर भन्नुभयो। पछि फेरि सोध्दा मैले अघि नै भनिसकेँ नि सोध्नुपर्छ भनेर भन्नुभयो। त्यसपछि त्यहाँबाट म निस्किएँ।’
सुजनको सुनबारे अदालतले पनि विवरण राखेको रहेछ।
अदालतको जिन्सी नम्बर १४४२८ को सामान विवरणमा लेखिएको छ- तिलहरी उल्लेख गरेको तर पाप्रो मात्र थान-१ (६५ लाल)। रानीहार टुक्रा २ वटा (२ तोला ३ लाल उल्लेख गरेता पनि (अन्दाजी १७.६०) जति रहेको, १ तोला १२ लाल उल्लेख गरेको सुनको बाला थान-१, ३१ लाल उल्लेख गरेको सुनको टुक्रा थान-१,७ लाल उल्लेख गरेको सुनको चेन जस्तो टुक्रा थान १, घडी थान-१ लेखिएको छ।
यस विवरणमा रानीहारबारे फरक कुरा लेखिएको छ। प्रहरीकहाँ भएको विवरण र अदालतको ढड्डामा भएको विवरण फरक देखिन्छ।
प्रहरी वृत्त बालाजुका प्रमुख डिएसपी मनोजित कुँवरले यसरी बरामद भएका सुनहरू सनाखत र रुजु गरेरमात्रै अदालतमा बुझाइएको बताए।
‘बरामद भएपछि सनाखत गरिन्छ। हामीले बुझाउँदा पनि सनाखत गरेका हुन्छौं। फोटो खिचिएको पनि हुन्छ। जस्तो बुझायो त्यस्तै हुनुपर्छ,’ उनले भने।
सुनलाई टुक्रा पारिएको विषयमा सोध्दा यसबारे अदालतमै बुझ्नुपर्ने उनले बताए।
‘यो अदालतमै गएर बुझ्नुपर्छ। हामीले मुचुल्का गर्दा यति तौलको यति सुन छ भनेर उल्लेख गरेका हुन्छौं,’ उनले भने,‘यसबारे हामीलाई जानकारी भएन।’
जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामप्रसाद शर्माले भने यसबारे आफूले जिन्सी शाखा (स्टोर) का कर्मचारीलाई सोधपुछ गरेको र थप बुझ्न बाँकी रहेको बताए।
‘सुजनजी पनि मकहाँ आउनु भएको थियो। त्यसपछि मैले जिन्सी शाखाका कर्मचारीहरूलाई बोलाएर के भएको हो भनेर सोधेँ। उहाँहरूले त जस्तो आएको त्यस्तै विवरण उतारेर राखेका छौं भन्ने जवाफ दिनुभएको छ,’ उनले भने, ‘यसबारे हामीले थप बुझ्ने, के भएको रहेछ भनेर छानबिन गर्छौं।’
उनका अनुसार प्रहरीले सरकारी वकिलकहाँ फाइलका साथ बरामदी सामान बुझाउँछ, सरकारी वकिलले अभियोगपत्रका साथ बरामदी सामान अदालतको दर्ता फाँटमा पेश गर्छ। मुद्दा दर्ता भइसकेपछि बरामदी सामान जिन्सी शाखामा बुझाइन्छ। जिन्सी शाखामा त्यो सामान बुझिलिँदा त्यहाँका कर्मचारीले जोखेर, रुजु गरेर विवरण उतारेर मात्र राख्ने गरेको स्रेस्तेदार शर्माले बताए।