बुटवलको अत्यन्त व्यस्त र सवारीसाधनको चाप हुने कालिकापथ सडक विगत तीन दिनदेखि अवरूद्ध छ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीले पर्यटन प्रवर्द्धनका लागि भन्दै हरेक वर्ष कालिकापथमा सडकको आवागमन बन्द गरेर खाना महोत्सव आयोजना गर्दै आएको छ।
यसपालि शनिबारदेखि महोत्सव सुरू हुने भएपनि स्टल निर्माणका लागि भन्दै शुक्रबार साँझदेखि नै सडकको आवागमन बन्द गरिएको थियो।
बुटवल उपमहानगरपालिका-९ स्थित तीनकुने चोकदेखि नयाँ बसपार्क सम्मको कालिकापथ सडकको दुवैतर्फ स्टल निर्माण गरी खाना महोत्सव गर्दा स्थानीय व्यवसायी, सर्वसाधारण र स्कुल कलेजका विद्यार्थीले सास्ती खेप्नुपरेको छ।
‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारासहित सुरू भएको रात्रीकालीन खाना महोत्सवका कारण सास्ती सहनुपरेको स्थानीयको गुनासो छ। तर स्थानीय सरकार र प्रशासनले सडक बन्द गरेर महोत्सव गर्न अनुमति दिएपछि उनीहरू पनि खुलेर बोल्न सक्दैनन्।
‘स्थानीय प्रशासन र सरकारले अनुमति दिएपछि हामीहरूले विरोध गरेर के भयो र? बेकारमा विरोध गरेको भनेर सधैंलाई नराम्रो किन हुनुपर्यो, कालिकापथमै पसल सञ्चालन गर्दै आएका एक व्यवसायीले भने।
उनले तीनकुनेदेखि बसपार्क सम्मको सडक बन्द गरेर महोत्सव सञ्चालन गर्दा आफ्नो व्यापार ठप्प हुने गरेको बताए।
खाना महोत्सवका लागि तीनकुनेदेखि नयाँ बसपार्क सम्मको एक किलोमिटर बढी सडकमा अत्यावश्यक साधन दमकल र एम्बुलेन्स समेत छिर्न नसक्ने गरी स्टल निर्माण गरी सडक बन्द गरिएको छ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीले एकातर्फ व्यस्त रहने चारलेन सडक नै अवरूद्ध गरेर खाना महोत्सव आयोजना गरेको छ भने अर्कोतर्फ स्टलको नाममा सार्वजनिक सडकबाट व्यवसायीसँग रकम असुल गरेको छ।
महोत्सवमा विभिन्न जातजातिका खानाका परिकारसँगै एक सय चारवटा स्टल सहभागी छन्। सहभागीमध्ये जातजातिका खानाका परिकारबाहेक अन्यबाट प्रति स्टल १२ हजार रुपैयाँ लिने गरिएको छ।
संघका अध्यक्ष लेखनाथ भण्डारीले स्टल भाडा भन्दापनि महोत्सव व्यवस्थापनको लागि प्रति स्टल १२ हजार रुपैयाँ लिने गरिएको बताए। उनले स्थानीय प्रशासन र स्थानीय सरकारसँगको समन्वयमा महोत्सव आयोजना गरिएको दाबी गरे।
तर बुटवल उपमहानगरपालिकाले भने सवारीसाधनको आवतजावतलाई वैकल्पिक सडकको व्यवस्था गरी महोत्सव आयोजना गर्न सहमति दिएपनि स्टलबाट पैसा लिने विषयमा भने कुनैपनि जानकारी नगराइएको बताएको छ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणि खनालले कुनै पनि बहानामा सार्वजनिक सडकबाट रकम लिन नपाइने र महोत्सवमा स्टलवापत रकम लिएकोबारे उपमहानगरपालिकालाई कुनैपनि जानकारी नगराइएको बताए।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि सहभागी स्टलबाट रकम लिएबारे जिल्ला प्रशासनलाई पनि कुनै जानकारी नभएको बताए। प्रमुख जिल्ला अधिकारी अर्यालले कुनैपनि महोत्सवको नाममा सार्वजनिक सडक बन्द गरेर रकम असुल गर्ने कार्य स्वीकार्य नहुने बताए।
बुटवलको मुख्य सडकमा सवारीसाधनको चाप बढेपछि वैकल्पिक सडकको रूपमा योगिकुटीदेखि अस्पतालसम्म पुग्न यो सडक निर्माण गरिएको हो। दुबैतर्फ नाली सहित फराकिलो चारलेनमा निर्माण गरिएको यो सडकमा मुख्य सडकमा जस्तै साना सवारी साधन, मोटरसाइकल र रिक्साको अत्यन्त चाप हुने गर्छ।
सार्वजनिक सडकमा सर्वसाधारणको आवागमनमा अवरोध हुने गरी कुनैपनि व्यापार व्यवसाय, महोत्सव वा सभा सम्मेलन गर्नु उपभोक्ताहरूको हित विपरिको कार्य हुने उपभोक्ता अधिकारकर्मीहरू बताउँछन्।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य ऋषि आजादले सिमित व्यक्ति र संस्थाको हितलाई हेरेर आम उपभोक्ताको अधिकारको हनन् गर्न नपाइने बताए। उनले पर्यटन प्रवर्द्धन गर्ने दायित्व सबैको भएपनि सडकको आवागमन नै बन्द गरी स्टलको नाममा पैसा उठाएर महोत्सव गर्नु गलत भएको बताए।