जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुस १ गतेदेखि सञ्चालन गरेको 'क्लिन स्वीप' अभियानपछि चोरीमा संलग्न, लागुऔषध कारोबारी तथा विभिन्न अपराधमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन्।
प्रहरीले अपराध नियन्त्रण गरी समाजमा शान्तिपूर्ण वातावरण सिर्जना गर्ने भन्दै 'क्लिन स्वीप अपरेसन' नाम दिएर घरघरमै पुगी फरार रहेका अभियुक्त पक्राउ गर्ने र चोरीका सवारीसाधन नियन्त्रण गर्न सुरू गरेको हो।
अभियान सञ्चालन गरेको १२ दिनको अवधिमा विभिन्न स्थानबाट चोरी गरिएका २३ वटा मोटरसाइकल बरामद गरिएको छ। त्यस्तै ती मोटरसाइकल चोरीमा संलग्न आठ जनालाई पक्राउ गरी उनीहरूविरूद्ध प्रहरीले अदालतमा मुद्दा समेत दर्ता गरेको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका उजुरी प्रहरीमा आउने क्रम बढेपछि टोली घरघरमै खटाएर मोटरसाइकल र चोरीमा संलग्नहरूको खोजी थालिएको जानकारी दिए।
'यहाँबाट मोटरसाइकल चोरी गरी कतिपय भारततर्फ र कतिपय पहाडी क्षेत्रमा लगेर बिक्री गर्न थालेपछि घरघरै पुगेर खोजी थालिएको हो,' उनले भने।
प्रहरी उपरीक्षक विकले चोरी गरिएका मोटरसाइकलहरू सस्तैमा पाएपछि किन्नेहरू पनि धेरै रहेको बताए। उनले चोरीमा संलग्नहरू अधिकांश पेशेवर चोरहरू नै रहेको र कतिपय भने लागुऔषधको कुलतमा फसेका सम्पन्न परिवारका व्यक्तिहरू समेत रहेको बताए।
मोटसाइकल चोरीमा संलग्न रहेका शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए। प्रहरीले मोटसाइकल चोरीमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो।
त्यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरस्थित श्रीनगर अटो ग्यारेजमा एउटै इञ्जिन नम्बरका दुइटा कार रहेको सूचनाका आधारमा दुइटै कार नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
बरामद गरिएका मोटरसाइकल सम्बन्धित धनीको खोजी गरी हस्तान्तरण गर्ने र धनी फेला पार्न नसके बेलहिया भन्सार कार्यालयमा बुझाउने विकले बताए।
रूपन्देहीमा मोटरसाइकल चोरीका घटना धेरै हुने र यसले अपराधको दर बढाएको उनले बताए।
प्रहरी उपरीक्षक विकले चोरीका मोटरसाइकल कुनै न कुनै दिन प्रहरीको नियन्त्रणमा पर्ने भएकाले कम मूल्यमा पाइयो भन्दैमा नकिन्न र आफ्ना सन्तानले कस्तो मोटरसाइकल प्रयोग गरेको छ भन्नेतर्फ निगरानी गर्न अभिभावकहरूलाई पनि आग्रह गरे।
'अहिलेसम्म प्रहरीले भेटाएको छैन भनेर चोरीका मोटरसाइकल सस्तोमा किन्ने र चढ्ने गरेको भए पनि हामीले घरघरै पुगेर नियन्त्रणमा लिने र चोरीमा संलग्नहरूलाई पक्राउ गर्ने अभियान थालेका छौं। ढिलोचाँडो त्यस्ता सबै मोटरसाइकल प्रहरीको नियन्त्रणमा हुने भएकाले सस्तो पाइयो भन्दैमा कसैले पनि नकिन्नु होला,' उनले भने।
पुरानो सवारीसाधन किनबेच गर्दा सवारी यातायात व्यवस्था कार्यालयमा गएर, कागजात हेरेर मात्र गर्न पनि उनले आग्रह गरे।
जिल्लाका विभिन्न स्थानमा छुट्टाछुट्टै टोली बनाएर चौबीसै घन्टा प्रहरी खटाइएको र उक्त टोलीले आपराधिक गतिविधिमा संलग्नहरूलाई नियन्त्रणमा लिने गरेको उनले जानकारी दिए।
उनका अनुसार अभियान सञ्चालन गरेको १२ दिनमा लागुऔषध प्रयोग र ओसारपसारमा संलग्न ९ जनालाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा समेत दर्ता गरिएको छ। पछिल्लो एक महिनामा अदालतबाट सजाय तोकिएका एक सय २ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको छ।
'पक्राउ परेका सबैलाई कारागार चलान गरिएको छ। उनीहरूबाट १९ वर्ष ११ महिना १७ दिन कैद भुक्तान र १२ लाख ८२ हजार ७११ रूपैयाँ जरिवाना असुलउपर हुने छ,'' प्रहरी उपरीक्षक विकले भने।
यस्तै प्रहरीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको पौने ५ लाख रूपैयाँ बराबरको प्याज बरामद गरेको छ।
शुक्रबार भन्सार छलेर अवैध रूपमा ल्याउँदै गरेको ३९ बोरा (एक हजार पाँच सय ६० किलो) प्याज बरामद गरिएको हो।
भारतबाट अवैध रूपमा ल्याउँदै गरेको प्याज लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १२ लोखडियाबाट बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहियामा पठाएको प्रहरीले जनाएको छ।
प्रहरीले प्याज लोड गरिएका आठवटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। यीमध्ये सातवटा नेपाली नम्बर प्लेटका र एउटा भारतीय नम्बर प्लेटका छन्।
प्याज चोरी तस्करीमा संलग्नहरू भने फेला नपरेको प्रहरीले जनाएको छ।