गत मंसिर २१ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा दुई जना भारतीय नागरिकको भूमिका मुख्य रहेको खुलेको छ।
विमानस्थलको भन्सार कार्यालयको टोलीले दुबईबाट सुन भित्रिँदैछ भन्ने सूचना पाएपछि फ्लाई दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई पक्राउ गरेको थियो।
उनले कपडाको ज्याकेट बनाएर त्यसमा १४ किलो सुन लुकाएर ल्याएका थिए। उक्त सुन बरामद भएपछि कार्यालयले यस घटनाको अनुसन्धान गर्न छानबिन समिति समेत बनाएको थियो।
अहिले उक्त समितिले अनुसन्धान गरिरहेको छ।
यसअघि ९ किलो भेप सुन प्रकरण र ब्रेक शुमार्फत् भित्रिएको ६० किलो सुन प्रकरणमा चिनियाँ समूहको सक्रियता देखिएको थियो। अनुसन्धान समितिले यस प्रकरणमा दुई जना भारतीय नागरिकको भूमिका मुख्य रहेको देखाएको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए।
उनका अनुसार एक जना भारतीय नागरिक ‘गुरू’ भनिने व्यक्ति छन्। अर्का भारतीय नागरिक अंकित अग्रवाल हुन्।
दुई जनाको मिलेमतोमा दुबईदेखि काठमाडौं विमानस्थलमा रहेका कर्मचारी समेतलाई सेटिङमा मिलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको हो।
‘भारतीय दुई जनाको भूमिका मुख्य देखेका छौं। उनीहरू व्यापारी हुन् भन्ने छ। तर पृष्ठभूमि यकिन भएको छैन,’ पाण्डेले सेतोपाटीसँग भने, ‘त्यसबारे पनि अध्ययन गरिरहेका छौं। अहिलेसम्म पक्राउ परेकामध्ये मीनबहादुर मुख्य हुन्।’
गुरू भन्ने व्यक्ति भारतमा बसेर काम गर्ने खुलेको छ। यस्तै, अग्रवालले भने दुबईबाट सुन पठाउने गरेको खुलेको हो।
उक्त घटनामा अहिलेसम्म समितिले १० जनालाई पक्राउ गरेको छ। मीनबहादुर घले सुन मगाउने व्यक्ति हुन्। अर्का चन्द्र घले भने भरियाको रूपमा खटाएको पाइएको छ।
त्यसबाहेक एसी प्राविधिक राधाकृष्ण श्रेष्ठ, विमानस्थलकी सरसफाइ सुपरभाइजर सुशीला पाण्डे, सरसफाइ कर्मचारीहरू गणेश चेपाङ, कपिल ओझा, प्लमर शेरबहादुर बस्नेत, कामदार लेकबहादुर तामाङ, रमेश देउला र अनिल श्रेष्ठ पक्राउ परेका छन्।
उनीहरू सबै जना विमानस्थलमा कार्यरत कर्मचारीहरू हुन्।
१४ किलो सुन बरामद भएको घटनापछि विमानस्थलको भित्री नेक्सस भत्किएको भन्सार कार्यालय प्रमुख पाण्डेको दाबी छ।
दुबईमा बस्ने भारतीय नागरिक अंकित अग्रवालले चन्द्र घलेलाई सुन दिएर पठाएका थिए। त्यसरी ल्याइने सुन विमानस्थल अराइभलमा रहेको शौचालयभित्र लगेर उनी जस्ता भरियाले राख्ने गरेको अनुसन्धानबाट खुलेको छ। त्यहाँबाट सुन रहे/नरहेको यकिन गर्न प्लमर शेरबहादुर शौचालयमा पुग्थे। त्यसपछि सरसफाइ कर्मचारी लेकबहादुर तामाङ लगायतले निकालेर एसी प्राविधिक राधाकृष्णलाई बुझाउँथे।
त्यसपछि राधाकृष्णले सुन बाहिरसम्म पुर्याउने गरेको खुलेको हो। उनीहरू कर्मचारी भएकाले सहज रूपमै सुन बाहिर निकाल्ने गरेको देखिन्छ।
त्यहाँबाट सुन बाहिरिएपछि तहगत रूपमा सुन व्यापारीसम्म पुग्ने गरेको पाइएको छ।
ती सुन भित्र्याएपछि नेपालमै बेचबिखन हुन्थ्यो वा भारत लगेर बेचिन्थ्यो भन्नेबारेमा भने समितिले थप अनुसन्धान गरिरहेको छ।
‘सुन भारत नै जाने हो कि होइन भन्नेबारे हामी बुझ्दैछौं। आउने दुबईबाट हो। त्यहाँ निर्वाध रूपमा किनबेच गर्न पाइन्छ,’ प्रमुख पाण्डेले भने, ‘त्यसो भएको हुँदा त्यहाँबाट नेपालमा पटक/पटक पठाएको पायौं।’
यद्यपि भारतमा बस्ने गुरूले ती सुन बुझ्ने गरेको हुनसक्ने समितिको प्रारम्भिक अनुसन्धानमा देखिन्छ।
पटक/पटक पठाउँदा कति सुन भित्रियो भन्नेबारे पनि अनुसन्धान भइरहेको उनले बताए। सुन भित्र्याएबापत कर्मचारीहरूले एक लाखदेखि एक लाख ६० हजार रुपैयाँसम्म बुझेको अनुसन्धानबाट देखिन्छ। कतिपय रकम उनीहरूले बाँडेर लिएको पनि देखिएको छ।
कार्यालयले सुन बरामद गरेपछि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा छानबिन समिति बनाएको थियो। जसमा प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लीप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना छन्।
त्यसबाहेक समितिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), सरकारी वकिल कार्यालयसँग पनि सहयोग मागेको छ।
छानबिन समितिले आउँदो शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरिरहेको पनि विमानस्थल भन्सार कार्यालय प्रमुख पाण्डेले बताए।
‘अनुसन्धान गरेको २५ दिनभित्र हामीले मुद्दा दर्ता गर्नुपर्छ। छानबिन समितिले शुक्रबारसम्म प्रतिवेदन बुझाउने गरी काम गरिरहेको छ,’ उनले भने, ‘विस्तृत रूपमा अनुसन्धान भइरहेको छ। भित्री नेक्सस क्लियर हुनगरी काम भएको छ।’