उपचारको क्रममा बिरामीहरूको मृत्यु भएको विषयलाई लिएर अस्पताल तोडफोड र चिकित्सकमाथि हुने हातपातका घटना पछिल्लो समय बढ्न थालेका छन्।
उपचारको क्रममा आइपर्ने जटिलतापछि बिरामीहरूको मृत्यु भइहाले आफूहरू नै असुरक्षित हुन थालेपछि कतिपय अस्पताल र चिकित्सकहरूले गम्भीर प्रकृतिका बिरामीहरूलाई अन्यत्र रिफर समेत गर्न थालेका छन्।
मानिसको जीवनसँग जोडिएको अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भइरहने आक्रमण र तोडफोडका घटनाले एकातर्फ अस्पतालमा उपचाररत अन्य बिरामीहरूमा मानसिक असर पर्छ भने अर्कोतर्फ अस्पताल र चिकित्सकहरूप्रतिको अविश्वासलाई बढाउने गर्छ।
बिरामीको मृत्युको विषयलाई लिएर अस्पताल र चिकित्सकहरूमाथि आक्रमणका घटना बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले त्यसको न्यूनीकरणको लागि पहल थालेको छ।
जिल्ला प्रशासन कार्यालयले लुम्बिनी प्रादेशिक अस्पतालसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रमा देखिएका जटिलता र ती जटिलताहरूको व्यवस्थापनको लागि छलफल गरेको हो।
जिल्लाका विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्थाका सञ्चालक, व्यवस्थापक, कार्यरत चिकित्सक, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार समेत सहभागी छलफलमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हुने हातपात र दुर्व्यवहारलाई निरूत्साहित गर्न शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने बताए।
‘स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हुने हातपात र दुर्व्यवहारलाई निरूत्साहित गर्न शून्य सहनशीलताको नीति अवलम्बन गर्नैपर्छ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने।
रूपन्देही जिल्लामा मात्र नभई अन्य जिल्लामा पनि स्वास्थ्य संस्थाहरूमा हुने गरेका घटनाहरूलाई मध्यनजर गरेर यस प्रकारको कार्यक्रम रूपन्देहीमा पहिलोपटक आयोजना गरिएको अर्यालले बताए।
‘अस्पतालमा अनपेक्षित खालको कुनै घटना हुने बित्तिकै स्वास्थ्यकर्मीमाथि हातपात र अस्पताल तोडफोडका घटना हुने गर्छन्, बिरामीहरूबाट पनि स्वास्थ्य संस्थाबाट अपेक्षित सेवा पाउन नसकेको र बिरामीको अवस्थाबारे समयमै सूचना पनि नगरिएको भन्ने गुनासो आइरहन्छ त्यसलाई कसरी हटाउन सकिन्छ भनेर यसप्रकारको कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने।
प्रमुख जिल्ला अधिकारी अर्यालले अनपेक्षित घटनाकै विषयलाई लिएर अस्पताल तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण, दुर्व्यवहार र बिरामीको मृत्युपछि शवलाई अगाडि राखेर पैसाको बार्गेनिङ गर्ने कुप्रथालाई निरूत्साहित गर्नैपर्ने र रूपन्देहीमा अब इतिहासमा सीमित राख्नुपर्ने बताए।
‘शवलाई अस्पतालको बेडमा राखेर वार्ता बस्ने र पैसाको बार्गेनिङ गर्ने कप्रथा रूपन्देहीमा अब इतिहास बन्नुपर्छ, यो छलफल त्यसैको सुरूआत हो,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने।
अर्यालले नेपालका राम्रा अस्पताल र चिकित्सक हुँदाहुँदै पनि उपचार खोज्दै विदेशमा जाने ठूलाबडाहरूका कारण पनि नेपालका चिकित्सक र स्वास्थ्य संस्थाहरूप्रति अविश्वास बढ्ने गरेको बताए।
प्रमुख जिल्ला अधिकारी अर्यालले कतिपय अवस्थामा उपचार र शल्यक्रियाको क्रममा चिकित्सकको आफ्नै सन्तान र परिवारका सदस्यको समेत ज्यान गएका उदाहरण प्रस्तुत गर्दै अस्पतालप्रतिको नागरिक आस्था र स्वास्थ्यकर्मी प्रतिको भरोसा र विश्वासलाई थप दरिलो बनाउनु नै समस्याको समाधान रहेको बताए।
उनले स्वास्थ्यकर्मीहरूले बिरामी र बिरामीको आफन्तको चाहनाअनुसार परामर्श र रोग अनुसारको उपचारलाई प्राथमिकता दिएर सेवाप्रवाह गर्न सुझाव दिए।
‘स्वास्थ्यकर्मीहरूले नागरिकलाई गुणस्तरीय सेवा दिनुको साथै सेवाबारेको सूचना, संवाद र समन्वयमा पनि त्यत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ, सामान्य नागरिकलाई चिकित्सकले आफ्नो समस्या ध्यान दिएर सुनिदियोस्, मुखमा हेरेर बोलिदियोस्, डिग्री लगाएर बिमार जाँचोस्, औषधीको बारेमा व्याख्या गरिदियोस् र बुझ्ने गरी औषधीको नाम लेखिदियोस् भन्ने अपेक्षा हुन्छ यति गरे पनि बिरामीको आधा रोग निको हुन्छ,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत विकले स्वास्थ्य संस्थाहरूलाई व्यापारको रूपमा नभई सेवा क्षेत्रका रूपमा व्यवस्थापन गर्न जरूरी रहेको बताए।
उनले बिरामीहरूको उपचार र सेवामा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई संवेदनशील बन्न सुझाव दिँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको सुरक्षामा प्रहरी प्रशासन जतिबेला पनि तयार रहेको बताए।
‘रोग लागेर अस्पताल गएको बिरामीलाई गुणस्तरीय सेवा दिएर घर फर्किने वातावरण तपाईंहरूले निर्माण गर्नुस्, हामीहरू तपाईंहरूको सुरक्षाका लागि जतिबेला पनि तत्पर छौं,’ उनले भने।
छलफलमा नेपाल चिकित्सक संघ लुम्बिनीका महासचिव एवं सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) का बालरोग विशेषज्ञ डाक्टर सन्तोष पोखरेलले बिरामीको मृत्यु भइहाले पैसामा क्षतिपूर्ति माग्ने प्रवृत्तिका कारण हातपात र तोडफोडका घटना बढेको बताए।
उनले हातपातमा संलग्नहरूलाई कानुनी कारबाही गर्नुको सट्टा राजनीतिक संरक्षण गर्दै जाँदा घटना दोहोरिँदै गइरहेको बताए।
‘स्वास्थ्यकर्मीले साँच्चै लापरबाही गरेकै हो भने पनि त्यसको लागि पनि कानूनी बाटोमा जाऔं तर, कानुनी बाटोमा जान नचाहने पैसामा क्षतिपूर्ति माग्ने परिपाटीको अन्त्य गर्नैपर्छ,’ डाक्टर पोखरेलले भने।
डाक्टर पोखरेलले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण हुन थालेपछि भोलि आइपर्न सक्ने घटनाबाट जोगिन अस्पतालले बिरामीहरूलाई अन्यत्र पठाएर आफू सुरक्षित हुनुपर्ने अवस्था सृजना हुने जोखिम औंल्याए।
‘कुनै बिरामीको उपचारको बारेमा चारैतर्फबाट चासो र दबाब आइरहँदा भोलि केही भइहाल्यो भने त्यतिबेलाको दबाब झेल्न सकिँदैन भनेर पहिले नै अन्यत्र पठाएर आफू सुरक्षित हुनुपर्ने अवस्था पनि नआउला भन्न सकिँदैन,’ उनले भने।
डाक्टर पोखरेलले कामको बोझसँगै डर र त्रासका कारण स्वास्थ्यकर्मीहरूले असुरक्षित महसुस गरिरहेको बताए।
कतिपय अवस्थामा डाक्टरहरूको प्रभावकारी काउन्सिलिङको अभाव, चिकित्सकहरूलाई तालिमको अभाव, दैनिक धेरै बिरामीको उपचार गर्नुपर्ने बाध्यता, न्यून पारिश्रमिक र दैनिक अपडेटको अभावले पनि घटना हुने गरेको बताए।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुदर्शन थापाले स्वास्थ्य क्षेत्रमा बेलाबेला देखिने समस्या समाधानका लागि नागरिकमा सचेतना बढाउनुको साथै स्वास्थ्यकर्मीहरूले पनि बोली र व्यवहारलाई सुधार गर्नुपर्ने बताए।
थापाले चिकित्सकहरूको बोली व्यवहार सुधार गर्न र बिरामी तथा उनीहरूका आफन्तको गुनासो सुन्नका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा छुट्टै तालिम विभाग स्थापना गरेर काम सुरू गरिएको जानकारी दिए।
जिल्ला समन्वय समिति रूपन्देही प्रमुख उमाकान्त चपाई र सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले चिकित्सक र बिरामी दुवै पक्षले राज्यलाई दोष लगाएर उम्कनुभन्दा पनि सबै मिलेर सुरक्षित समाज निर्माण गर्न र एकले अर्कोलाई विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका थिए।