नेपालमा पछिल्लो समय तस्करीको सुन भित्रिरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र दोलखालगायत सीमा नाकाबाट अवैध सुन भित्रने गरेका छन्।
तर गत साता काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट तस्करीबाट आएको गाँजा बरामद भयो।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी गोविन्द थपलियाका अनुसार अमेरिकाबाट तस्करीको गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा खोजबिन गरिएको थियो।
गत बुधबार विमानस्थल भन्सार कार्यालयको कार्गो कम्पेक्समा प्रहरीले चेकजाँच गर्दा कतार एयरवेजमा केही बाकस भेटिए। तालीमप्राप्त कुकुर पनि खटाएर प्रहरीले एकै प्रकृतिका २४ थान कार्टुन बाकस फेला पार्यो। खोलेर हेर्दा त्यसभित्र ५५ किलो ३२ ग्राम गाँजा भेटिएको हो।
गाँजा अमेरिकाबाट कतार हुँदै काठमाडौं ल्याइएको रहेछ। यति धेरै परिमाणमा गाँजा मगाउने व्यक्ति को हो प्रहरीले अहिलेसम्म भेउ पाउन सकेको छैन। ब्युरोले यसमा संलग्नहरूको खोजी गरिरहेको बताएको छ।
ब्युरोका डिएसपी नारायण रञ्जितकारले संलग्न व्यक्तिको खोजी भइरहेको बताए। ‘स्पिकर जडान गरेको काठको बाक्साभित्र लुकाएको अवस्थामा हामीले गाँजा बरामद गरेको हो,’ उनले भने, ‘कसले गाँजा मगाएको हो भन्ने हामी खोज्दैछौं।’
तस्करीमा गाँजा नेपाल आएको यो पहिलो घटना भने होइन। यसअघि पनि पटक-पटक अमेरिकाबाट गाँजा आएको छ। नेपालमा गाँजा खेती गर्न पाइन्न।
नेपालमा पाइनेभन्दा फरक प्रकृतिको गाँजा तस्करीबाट आउने गरेको छ। ‘अमेरिकाबाट ल्याइएका गाँजामा ‘पिएचसी’ उच्च हुने रहेछ। सेवनकर्ताहरूले त्यही भएर अमेरिकी गाँजा मगाएको देखिन्छ,’ उनले भने, ‘यो गाँजा कडा राग आउने खालको छ।’
नेपालमा अवैध रूपमा खेती गरिएका गाँजा प्रतिकेजी २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ। अमेरिकाबाट ल्याइएको गाँजा भने महँगोमा बिक्री हुने अनुमान प्रहरीको छ।
सामानभित्र लुकाएर र पार्सलभित्र पनि गाँजा तस्करी गरेर ल्याउने गरेको पाइएको छ। गत साता प्रहरीले हुलाकबाट आएको नौ सय ग्राम गाँजा बरामद गरेको थियो। पार्सलमार्फत् हुलाक हुँदै गाँजा ‘रिसिभ’ गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। ब्युरोले यसमा संलग्न व्यक्तिलाई पक्राउ पनि गरेको थियो।
गत फागुनमा चकलेट र खेलौनाभित्र लुकाएर गाँजा ल्याएको भेटेपछि प्रहरीले भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको थियो। त्यतिबेला ६.९ किलो गाँजा बरामद भएको थियो।
अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस, टेक्सास र ओरिगनबाट नेपालमा गाँजा आउने गरेको अनुसन्धानबाट खुलेको छ।
‘अमेरिकाका कतिपय राज्यभित्र रहेका डिपार्टमेन्टल स्टोरमा अरू सामान किने जसरी नै गाँजा किन्न पाइने रहेछ। उनीहरूले थोरै-थोरै परिमाणमा किन्दा रहेछन्,’ डिएसपी रञ्जितकारले भने, ‘धेरै परिमाणमा गाँजा जम्मा गरेपछि नेपाल पठाउने गरिएको रहेछ।’
उनकाअनुसार खरिदकर्ताले ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जालबाट अमेरिकीहरूसँग कुराकानी गर्ने गरेका छन्। सक्रिय नरहने खालका फेसबुक पेजबाट अमेरिकी नागरिकसँग कुराकानी गरी गाँजा मगाउने गरेको पाइएको छ। यसरी गाँजा भित्रन थालेपछि ब्युरोले अमेरिकाको सम्बन्धित निकायलाई जानकारी गराउने तयारी गरेको छ।
अमेरिका मात्रै नभएर बेलायत, नेदरल्याण्ड र क्यानडाबाट पनि गाँजा भित्र्याउने गरेको छ। ब्युरोको तथ्यांकअनुसार ०७६ कात्तिक ४ गते क्यानडाबाट आएको पार्सलमा पहिलो पटक ६.४ किलो गाँजा र ७ किलो चरेस बरामद भएको थियो। त्यसयता ब्युरोले २८ जनालाई पक्राउ गरिसकेको छ।
१७ पटक बरामद भएका गाँजा अधिकांश अमेरिकाबाट ल्याइएका छन्। १३ पटक अमेरिका, दुई पटक क्यानडा, बेलायत र नेदरल्याण्डसबाट एक-एक पटक गाँजा नेपाल भित्रिएको छ।
यी देशबाट ल्याइएका गाँजा भारतीय बजारमा पठाउने गरिएको छ। दुई पटक भने नेपाली बजारकै लागि भित्र्याएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। गत साता आएको गाँजाको बजार कहाँ को यकिन भइनसकेको प्रहरीले जनाएको छ।