कुनै दिन छोरो हिँड्ने पो भइहाल्छ कि! हिँडेरै स्कुल जान सक्ने भइदिए के चाहिन्थ्यो र!
कदाचित् यस्तो दिन आइदियो भने शान्ता न्यौपानेको खुसीले आकाश छुनेछ। अहिलेको बेचैन मनमा शान्त हुनेछ। त्यसपछि शान्ता राम्ररी निदाउनेछिन्। सपनामा मात्रै छोरो दौडिएको देख्ने छैनन्, छोरो साँच्चिकै दौडिएका हुनेछन्।
उनले यस्तो दिनको प्रतीक्षा गरेको १६ वर्ष भयो। दोस्रो सन्तान भएर जन्मेका छोराका दुबै गोडा भुसको आगोमा जलेका दिनदेखि उनी बेचैन छिन्। छोरो उभिएर हिँड्छ कि भन्ने कल्पना भइरहन्छ तर यस्तो खुसीको दिन आउला भन्ने विश्वास हुन छाडेको छ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–८, ओखरभिट्टाकी बासिन्दा शान्ताको सानै उमेरमा बिहे भयो। उमेर १८ वर्ष पूरा नहुँदै पहिलो सन्तान जन्माइन्। हाल उनी ४० वर्षकी भइन्, छोराछोरी पाँच जना छन्।
दोस्रो सन्तान भएर २०५९ सालमा छोरा जन्मे। उनको नाम शंकर राखियो। अहिले युवा उमेर भयो तर उनी हिँड्न सक्दैनन्। शारीरिक बनावट पनि अविकसितझैं देखिन्छ।
पहिलो सन्तान छोरी थिइन्। दोस्रो सन्तान छोरा जन्मिए। दिदीभाइ दुई सन्तान भएपछि घरमा खुसीयाली छायो। शंकर हुर्कंदै गए। एक वर्ष पुग्दा हिँड्न थाले। छोरो तातेताते गर्दै हिँडेको देखेर शान्ता मख्ख पर्थिन्। छोराको तोते बोलीसँगै आफ्नो बोली मिलाउँथिन्।
शान्ताको घरनजिकै स्कुल थियो। छोरी स्कुल जाने भएकी थिइन्। शंकर पनि दिदीसँगै जान्थे। घर नजिकैको स्कुल शंकरको खेल्ने थलो बनेको थियो। उनी पाँच वर्ष पुग्दासम्म दिदीसँगै स्कुल जान्थे र दिनभरि चौरमा खेल्थे।
‘दिदी स्कुल जाँदा ऊ (शंकर) पनि सँगै गइहाल्थ्यो,’ शान्ताले भनिन्, ‘चार पूरा हुँदासम्म भर्ना गरेका थिएनौं। हामी पनि बाबु (छोरो) दिनभर स्कुलमा खेल्छ, यता घरको काम गर्न पाइन्छ भनेर ढुक्क हुन्थ्यौं।’
शंकर पाँच वर्ष पूरा हुन चार महिना बाँकी थियो। अर्को शैक्षिक वर्षमा भर्ना गरिदिने सल्लाह भएको थियो। त्यहीबेला अकल्पनीय घटना भइदियो। शंकरका दुबै गोडाका घुँडामुनिको भाग आगोले जल्यो। त्यसपछि उनी उठ्नै सकेनन्।
कुरा २०६३ साल कात्तिकको हो।
आमाबुवाले घरबाट केही परको खेतमा गोठ बनाएका थिए। नजिकै बसेर खेतको काम गर्न सहज हुन्थ्यो। उनीहरूले काममा सजिलो हुन्छ भनेर खाना पकाउन र बस्न मिल्ने गरी गोठ बनाएका थिए। गोठको बाहिरपट्टिको सुख्खा ठाउँमा शंकरका हजुरबाले केरा पकाउन धुइँ बनाएका थिए। धुइँ भनेको दुइटा खाल्डो खनेर एउटामा काँचो केरा राख्ने र अर्कोमा धानको भुस हालेर आगो बालेर केरा पकाउने परम्परागत विधि हो।
शंकर सधैंझैं त्यस दिन पनि दिदीसँगै स्कुल गएका थिए। स्कुल छुट्टी घर आउँदा आमाबा धान काट्न खेतमा गएका थिए। किताबको झोला घरभित्र राखेर दिदी खेततिर गइन्। शंकर पनि दिदीका पछिपछि ओरालो लागे।
खेतका कान्लामा हाम फालिरहेका छुकछुके बालक शंकरले केरा पकाउने धुइँ बनाएको खाल्डो देखेनन्। हामफाल्दा भुसको आगो बलिरहेको खाल्डोमा परे। उनी आगोमा परेको कसैलाई थाहा भएन। खाल्डोबाट निस्कन सकेनन्। कति बेर आगोको खाल्डोमा छटपटाए, त्यो पनि पत्तो भएन।
कतिबेर पछि हो, दिदीले शंकर चिच्याएको सुनिन्। दौडिएर पुग्दा त भाइ आगोमा परेर चिच्याएको चिच्यायै छ। कसै गरेर उनले बाहिर निकालिन्।
‘दिदीसँगै जान्छु भनेर दौडिएको रहेछ, आगोमा परेछ। भाइ चिच्याएको सुनेपछि दिदी दौडिँदै उकालोतिर गइछ र आगाको खाल्डोबाट निकालिछ,’ उदास भावमा शान्ताले भनिन्, ‘हामी धान काट्न खेतमा गएका थियौं। नजिकमा ठूला मान्छे पनि रहेनछन्। तत्कालै ठूला मान्छेले देखेको भए यस्तो (अशक्त) हुने थिएन होला।’
शान्ता र उनका श्रीमान रात परेपछि गोठमा फर्किए। उनीहरू पुग्दा दिदी ढुंग्रोले फुकेर भाइको गोडा शीतल बनाउँदै थिइन्। उनी पनि जम्मा सात वर्षकी त थिइन्!
‘घुँडादेखि तलको भाग सबै जलेको थियो। छोरालाई त्यो अवस्थामा देखेर म अर्धचेत भएँ। केही पनि उपाय भएन,’ शान्ताले १४ वर्षअघिको त्यो कहालीलाग्दो घटना स्मरण गरिन्, ‘तत्कालै अस्पताल लैजाने अवस्था थिएन। हामीलाई त बिस्तारै निको हुन्छ भने लागेको थियो।’
उनीहरूले सात दिनसम्म घरमै ओखतीमूलो गरे। शान्ताका श्रीमान पनि बिसन्चो थिए। उनीहरूसँग पैसा थिएन, नजिकमा अस्पताल पनि थिएन। कर्जा लिएर टाढाको अस्पताल जानु पर्थ्यो। अहिले जस्तो यातायातको सुविधा पनि थिएन। सात दिनपछि शान्ताले शंकरलाई डोकोमा बोकेर मेडिकल (सानो क्लिनिक) पुर्याइन्। साथमा तेस्रो सन्तान पनि थिए।
‘शंकरलाई पछाडि डोकोमा बोकेँ। सानो छोरालाई अगाडि बोकेँ अनि पिलीसम्म पुगेँ,’ त्यस दिनको कष्ट सम्झँदै शान्ताले भनिन्, ‘त्यस दिन पनि पैसा थिएन। छोरीलाई स्कुलले छात्रवृत्ति भनेर दिएको आठ सय रुपैयाँ लिएर बाबु (शंकर) लाई मेडिकल लगेकी हुँ। माइतमा आमाले खबर सुनेर भाइका हात केही पैसा पठाइदिनुभयो।’
त्यति बेला पिलीमा सानो मेडिकल (क्लिनिक) थियो। मेडिकलका स्वास्थ्यकर्मीले केही औषधि र एउटा मलम दिए। त्यस दिन जम्मा १४ सय रुपैयाँ खर्च भयो। छोरीको छात्रवृत्ति र आमाले माइतबाट पठाएको पैसाले मेडिकलको खर्च टर्यो।
जलेको भाग मलमले शीतल बनायो। केही दिनमा मलम सकियो। शंकर मलम लगाइदेऊ भन्न थाले। शान्ताले मलमको साटो घिउ दलिदिइन्। घिउ दलेर हो कि, घाउ बल्झियो। थप उपचारका लागि मेडिकल वा अस्पताल लगेनन्। केही दिनमा घाउ त निको भयो तर हिँड्ने छाँटकाँट देखिएन।
‘घाउ निको भए पनि हिँड्न सकेन। हिँडिहाल्छ कि भनेर आश गर्यौं,’ शान्ताले भनिन्, ‘बाह्र वर्षको हुँदासम्म पनि नहिँडेपछि स्कुल भर्ना गरिदियौं। बोकेर स्कुल पुर्यायौं। दुई दिन बोकेर लगेपछि अर्को दिन जान मानेन।’
अरू विद्यार्थीले हेरेको हेर्यै गरे। कसैले अचम्म मानेर हेरे। कोही हाँसे। सम्भवतः शंकर दुई दिनमै हैरान भए। त्यसै कारणले होला स्कुल जान मानेनन्।
‘उसले नमानेपछि हामीले पनि धेरै कर गरेनौं। शरीर पनि बढेन। अपांग भयो। अब जिन्दगी यस्तै भयो भनेर घरमै राख्यौं,’ शान्ताले भनिन्, ‘घाउ निको भएपछि घुँडा टेकेर हिँड्न थालेको थियो। एक दिन सिँढीबाट लडेर हात भाँच्चियो। त्यसपछि धेरै दिन ओछ्यानमा सुत्यो अनि हिँड्न बिर्स्यो।’
अहिले शान्तालाई समयमा छोराको उपचार गराएनौं भन्ने पछुतो लाग्छ।
‘त्यतिबेला ऋणकर्जा गरेरै भए पनि ठूलो अस्पताल लैजान सकेको भए यस्तो अपांग हुने थिएन कि जस्तो लाग्छ,’ उनले भनिन्, ‘गाडी नचल्ने, बोकेर लैजानुपर्ने, पैसा थिएन। घरमा निको हुन्छ भन्ने आश गरेर बस्यौं। अहिले पछुतो लाग्छ।’
घरमा युवा अवस्थाको अशक्त छोरो छ, उसको भविष्य कस्तो होला! शान्ताको मन यस्तै कुराले पिरोलिन्छ।
शारीरिक रूपमा अशक्त भए पनि आमाबाबु शंकरलाई पढाउन चाहन्थे। उनी पनि स्कुल जान पाएर खुसी भएका थिए तर स्कुलमा अनुकूल वातावरण नभएपछि निराश भए अनि जानै मानेनन्।
‘मलाई पढ्ने मन छ। धेरै पढ्ने सपना अधुरो रह्यो। मलाई हेरेर अरू विद्यार्थी हाँस्छन्। म स्कुल गएर पढ्नै सक्दिनँ,’ शंकर भन्छन्, ‘राम्रो सुविधा भएको स्कुल भए पढ्ने थिएँ।’
शंकर अहिले घरमै पढ्दै छन्। उनलाई पढाउन घरमा एक जना शिक्षक आउँछन्। अहिले उनी पाँच कक्षाका विद्यार्थी हुन्।
‘सहयात्रा’ परियोजनाको ‘घरमै स्कुल’ अर्थात् ‘स्कुल एट होम’ मा पढ्दै छन्। परियोजनाअन्तर्गत गाउँकै शिक्षक नियुक्त गरेर घरमै पढाउने व्यवस्था भएपछि उनले पढ्न पाएका हुन्। उनी अहिले पाँच कक्षामा पढ्छन्। पढाइ पाँच वर्षअघि सुरू भएको हो।
शंकरलाई पढाउने शिक्षिक नन्दशोभा न्यौपानेका अनुसार पढ्न सुरू गरेदेखि नै शंकर कक्षामा प्रथम भएका छन्। घरमा पढे पनि उनी स्कुलकै विद्यार्थी हुन्। ‘स्कुल एट होम’ मा पनि स्कुलकै विद्यार्थी सरह हुन्छ। परीक्षा पनि स्कुलबाटै हुन्छ।
निरन्तर घरमा पढ्ने वातावरण भए छोराको भविष्य राम्रो हुने थियो भन्ने शान्तालाई लागेको छ। स्कुल एट होमले शंकरको आत्मबल बढाएको छ। उनले स्वध्यायनबाटै पनि औपचारिक शिक्षा पढ्ने सोच बनाएका छन्।
‘घरमा भए पनि वा विद्यालयमा भए पनि, उपयुक्त वातावरणमा पढ्न पाए राम्रो हुने थियो,’ भन्छन्, ‘त्यसरी पढ्न मिलेन भने आफैं पढ्दै अघि बढ्छु।’
छोराको यस्तो साहसले शान्तालाई केही सान्त्वना मिलेको छ तर मन पिरोलिन छाडेको छैन।