नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउन अध्यागमन विभागदेखि प्रहरी र नेपाल वायुसेवा निगमका कर्मचारीको समेत मिलेमतो हुने पाइएको छ।
नक्कली कागजात बनाएर भिजिट भिसामा जानेहरू र उनीहरूलाई त्यसरी भिजिट भिसामा विदेश पुर्याउन संलग्न गिरोहबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असोजदेखि चलाएको अपरेशनबाट यसमा अध्यागमनका कर्मचारीदेखि प्रहरी र नेपाल वायुसेवा निगमकै कर्मचारीको संलग्नता भेटेको हो।
कार्यालयका डिएसपी गोविन्द पन्थीका अनुसार असोजयता गिरोहमा संलग्न ३२ जना पक्राउ परेका छन्।
मंगलबार र बुधबार पक्राउ परेका नरवीर खड्का, अरबिन यादव र होम पोखरेललाई कार्यालयले आज सार्वजनिक गरेको छ।
डिएसपी पन्थीका अनुसार खड्का अध्यागमन विभागका अध्यागमन अधिकृत हुन्। यादव र पोखरेल वायुसेवा निगमका कर्मचारी हुन्।
यही गिरोहमा संलग्न भएको आरोपमा अपराध अनुसन्धान कार्यालयको टोलीले त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई यसअघि नै पक्राउ गरेको थियो।
त्यस्तै ६ जना कन्सल्टेन्सी सञ्चालकहरू पनि यसअघि नै पक्राउ परेका थिए।
वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे प्रहरी हिरासतमा रहेको डिएसपी पन्थीले जानकारी दिए।
३२ जनालाई पक्राउ गरेपछि प्रहरीले उनीहरूबीचको कनेक्सनबारे अनुसन्धान गरेको थियो।
डिएसपी पन्थीका अनुसार नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश लैजान ट्राभल कम्पनीबाट सुरू हुने प्रक्रिया अध्यागमन विभाग हुँदै वायु सेवा निगम र विमानस्थलमा खटिने प्रहरीसम्म जोडिन्छ।
सरकारले महिलाहरुलाई घरेलु कामदारको रूपमा खाडी मुलुक जान/लैजान रोक लगाएको छ। यहीँनेर यो सेटिङले काम गर्छ। डिएसपी पन्थीका अनुसार कुबेत, दुबई, सिंगापुर लगायतका देशहरूमा घरेलु कामदारका रूपमा महिलाहरूलाई पठाउन यो गिरोहले काम गर्छ।
अन्य मुलुकमा मानिसहरूलाई भिजिट भिसामा पठाउन यो गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
कुनैपनि देशमा भिजिट भिसामा जानका लागि शैक्षिक प्रमाणपत्रदेखि बैंक ब्यालेन्स र बैंक स्टेटमेन्ट देखाउनुपर्छ।
‘विदेश जानेहरुबाट निश्चित पैसा लिएर आवश्यक कागजपत्र बनाउने कामदेखि त्यसलाई सदर गर्ने सबै काम यही गिरोहबाट भएको देखियो,’ डिएसपी पन्थीले भने।
गिरोहले कसरी गर्थ्यो काम?
डिएसपी पन्थीका अनुसार भिजिट भिसामा जाने व्यक्तिहरू ट्राभल कम्पनी र कन्सल्टेन्सीले खोज्थ्यो। कागजात मिलाउने सबै जिम्मेवारी काम तिनै कन्सल्टेन्सी र ट्राभल कम्पनीले लिन्थे।
कागजात बनेपछि त्यसको विवरण सम्बन्धित कन्सल्टेन्सी र ट्राभल कम्पनीले अध्यागमन विभागका कर्मचारीलाई जानकारी गराउँथ्यो।
अध्यागमनका कर्मचारीले त्यसबारे सूचना दिएपछि वायुसेवा निगमका कर्मचारीले टिकट मिलाउँथे।
अध्यागमनले वायुसेवा निगमका कर्मचारी हुँदै विमानस्थलमा खटिने प्रहरीलाई समेत त्यो विवरण उपलब्ध गराएपछि सजिलै भिजिट भिसामा मानिसहरूलाई यो गिरोहले विदेश पठाउँदै आएको डिएसपी पन्थीले जानकारी दिए।
यसरी काम गरेपछि गिरोहका हरेक व्यक्तिले निश्चित रकम लिने गरेको डिएसपी पन्थीले बताए।
‘मुख्यतः अध्यागमनका कर्मचारीले मोटो रकम लिने, त्यसपछि अन्य व्यक्तिहरूले पनि केही रकम लिँदा रहेछन्,’ उनले भने।
कागजपत्रदेखि होटल मिलाएवापत् ट्राभल कम्पनी र कन्सल्टेन्सीले एक जनाबाट १० देखि १५ हजार रूपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको छ।
अध्यागमनका कर्मचारीले भने एकै जनाबाट ५५ हजार रूपैयाँसम्म लिने गरेको डिएसपी पन्थीले बताए। ‘दोस्रोपटक जाने व्यक्तिहरूबाट भने अध्यागमनका कर्मचारीले ४० देखि ४४ हजार रूपैयाँसम्म लिने गरेको देखियो,’ उनले भने।
निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीले प्रतिव्यक्ति १० हजार रूपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको छ।
यसरी पठाइएका व्यक्तिहरू सजिलै भिजिट भिसामा विदेश जाने गरेको डिएसपी पन्थीले जानकारी दिए।
नक्कली कागजातहरू लिएर भिजिट भिसामा वैदेशिक रोजगारीका लागि मानिसहरू विदेश जाने गरेको भन्ने सूचनापछि कार्यालयले अनुसन्धान अघि बढाएको हो।
पक्राउ परेकामध्ये ९ जनामाथि प्रहरीले संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। १२ जनामाथि लिखत सम्बन्धी कसुर र ८ जना धरौटीमा छुटिसकेका छन्।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको डिएसपी पन्थीले जानकारी दिए।