राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले इञ्जिनियरिङ कलेजहरूमा सिटअनुसार विद्यार्थी भर्ना नभएको देखाउने तथ्यांक सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।
उनले राखेको पोस्टले सिट क्षमताअनुसार कलेजहरूमा विद्यार्थी भर्ना नभएको देखाउँछ। कलेजमा विद्यार्थी घटेको निष्कर्ष निकालेका महामन्त्री पाठकले यसो हुनुमा 'स्वघोषित अग्रगमनकारी राजनीतिक शक्ति, नेता र कार्यकर्ता तथा उनीहरूका पछुवा बुद्धिजीवीको सामूहिक सफलता हो' भन्दै व्यंग्य गरेका छन्।
'देशभरका इञ्जिनियरिङ कलेजहरूमा खाली सिटको फराकिलो तथ्यांक देखेर कत्ति आश्चर्य लागेन। यो स्थितिसम्म आइपुग्नु स्वघोषित अग्रगमनकारी राजनीतिक शक्ति, तिनका नेता/कार्यकर्ता, उनीहरूका पछुवा बुद्धिजीवी समेतको सामूहिक सफलता हो,' मंगलबार फेसबुकमा पाठकले पोस्ट गरेका थिए, 'देशको हरेक क्षेत्र हरितन्नम बनाई भ्रष्ट नेता र लम्पट कार्यकर्ता मात्र यहाँ रहने मिसनमा उनीहरू सफल हुँदै छन्। कतिपयले योजनाबद्ध ढंगले काम गरेको यसैका लागि थियो, धेरैले नजानेरै पछ्याए। जस-जसले यो स्थिति ल्याइँदैछ भनेर लेख्यौं, बोल्यौं- ती सबै जना उनीहरूका प्रतिगमनकारी भयौं। खराब भयौं। अब आँखा अगाडि भयावह स्थिति देखेपछि नेत्र खुल्छ कि?'
महामन्त्री पाठकले मात्र होइन, दुई-तीन दिनयता सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरूले सोही तथ्यांक आधार बनाएर इञ्जिनियरिङ कलेजहरूमा शैक्षिक सत्र २०८०/०८१ का लागि स्नातक तहमा विद्यार्थी घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्, त्यो पनि सत्यतथ्य नबुझी!
हामीले त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान (आइओई) का डिन शशीधरराम जोशीसँग इञ्जिनियरिङ कलेजहरूमा भइरहेका विद्यार्थी भर्नाबारे सोध्दा प्रक्रिया जारी नै रहेको बताए।
उनले त्रिविका आंगिक र सम्बन्धन प्राप्त गरी कूल १५ वटा इञ्जिनियरिङ क्याम्पसमा भर्ना जारी रहेको र अझै एक महिनासम्म विद्यार्थीले भर्ना हुन पाउने बताए।
पुल्चोक क्याम्पस, चितवन क्याम्पस, नेसनल कलेज अफ इञ्जिनियरिङ, पूर्वाञ्चल क्याम्पस, ख्वपः कलेज अफ इञ्जिनियरिङ, थापाथली क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, काठमाडौं इञ्जिनियरिङ कलेज, सगरमाथा इञ्जिनियरिङ कलेज, एड्भान्स कलेज अफ इञ्जिनियरिङ, काठफोर्ड इन्टरनेसनल कलेज अफ इञ्जिनियरिङ, हिमालय कलेज अफ इञ्जिनियरिङ, ललितपुर इञ्जिनियरिङ कलेज, कान्तिपुर इञ्जिनियरिङ कलेज र जनकपुर इञ्जिनियरिङ कलेजमा विद्यार्थी भर्ना जारी छ।
यीमध्ये पुल्चोक, पश्चिमाञ्चल, पूर्वाञ्चल, थापाथली र चितवन त्रिविका आंगिक क्याम्पस हुन्।
कात्तिक १४ गतेदेखि २० गतेसम्म भएको प्रवेश परीक्षामा करिब ८ हजार विद्यार्थी सहभागी रहे। विद्यार्थीले हासिल गरेको मेरिटका आधारमा भर्ना लिइन्छ। विद्यार्थीले धेरै क्याम्पसमा प्रवेश परीक्षा दिन्छन् तर पायक पर्ने कलेजमा पढ्ने गर्छन्।
इञ्जिनियरिङ अध्ययन संस्थानले सबै कलेजहरूमा विद्यार्थी भर्नाका लागि केन्द्रीकृत भर्ना अनुगमन समिति पनि बनाएको छ। विद्यार्थी भर्नाबारे कार्यविधि पनि छ। कार्यविधिअनुसार सबै क्याम्पसले विद्यार्थी भर्नाका विवरण अनलाइनमा राख्छन्। यही मंसिर ७ गतेदेखि क्याम्पसहरूले (बिई/बिआर्क) मा भर्ना लिइरहेका छन्।
'हामीले विद्यार्थी भर्ना सूची १२ औं पटकसम्म पनि निकाल्ने गरेका छौं। मंसिर २४ गते तेस्रो भर्ना सूची निकालिएको छ,' डिन जोशीले भने, 'भर्ना सूची पूरै ननिकालेसम्म सिटअनुसार विद्यार्थी भर्ना भएनन् भन्ने निष्कर्ष निकाल्न मिल्दैन।'
अन्तिम भर्ना सूची निस्केपछि मात्रै सिटअनुसार विद्यार्थी भर्ना भए कि भएनन् भन्ने निष्कर्ष निकाल्न मिल्ने उनले बताए।
'अहिले बल्ल तेस्रो भर्ना सूची निकालिएको छ। दसौं, बाह्रौंसम्म सूची निकालेको विगतको अनुभव छ,' उनले भने, 'अझै साढे एक महिना भर्ना प्रक्रिया जान सक्छ। हाम्रो वेबसाइटमा भर्ना पुस्तिका २०८० भन्ने छ, त्यसमा आइओईको भर्ना प्रक्रियालगायत सबै लेखेको छ।'
हिजोआज सामाजिक सञ्जालमा सिटअनुसार इञ्जिनियरिङ पढ्न विद्यार्थी भर्ना भएनन् भन्ने झल्काउने तथ्यांकमा सत्यता नभएको उनले बताए।
'हाम्रो भर्ना प्रक्रिया चलिरहेको छ, अझै साढे एक महिना चल्छ। अनि अहिले नै विद्यार्थी भर्ना हुन आएनन् भनेर निष्कर्ष निकाल्न मिल्छ?,' डिन जोशीले भने, 'सामाजिक सञ्जालमा जे पनि लेखिदिन्छन्, के भन्ने!'
१५ वटै इञ्जिनियरिङ कलेजका निर्धारित सिट विद्यार्थी भर्नाका लागि डिन कार्यालयले केन्द्रीकृत प्रणाली नै बनाएको छ।
'निर्धारित सिट र त्यहाँ विद्यार्थी भर्नाजस्ता सबै सूची डिन कार्यालयमा हुन्छ। सोहीअनुसार नै विद्यार्थी भर्ना चल्छ,' उनले भने, 'पारदर्शी बनाउन दिनहुँजस्तो कहाँ कति भर्ना भए हेर्न मिल्ने बनाएका छौं तर चाहिने नचाहिने हल्ला भइरहेको छ।'
क्याम्पसहरूमा विभिन्न विषयमा इञ्जिनियरिङ पढाइ हुने र विगतमा पनि कुनै विषयमा एक, दुई सिट खाली हुने देखिएको बताए।
'यसपालि सबै सिटमा विद्यार्थी भर्ना हुन्छन् कि हुँदैनन् भन्ने पूरै भर्ना प्रक्रिया सकेपछि मात्र भन्न सकिन्छ,' उनले भने, 'गत वर्ष पनि कुनै-कुनै विषयमा पूरै सिट भर्ना भएको थिएन।'
पुल्चोक इञ्जिनियरिङ क्याम्पस स्ववियु सभापति विराज अर्यालले पनि पूरै भर्ना सूची नआएसम्म विद्यार्थी घटे भन्न नमिल्ने बताए।
'बल्ल तेस्रो भर्ना सूची आएको छ। तेस्रो भर्ना सूचीसम्म यसअघि पनि सिटअनुसार विद्यार्थी भर्ना भएका थिएनन्। त्यसैले चौथो, पाँचौं गर्दै भर्ना सूची खोलिने गरिएको थियो,' उनले भने, 'भर्ना प्रक्रिया अझै केही समय जारी रहन्छ, बिस्तारै सिट भरिन्छ।'
विद्यार्थीहरूमा सूचना प्रविधि, कम्प्युटर लगायतमा रूचि देखिएकाले केही विषयमा भने विद्यार्थी घट्न सक्ने उनले बताए।
'विद्यार्थीको रूचि आइटीतर्फ धेरै हुँदा त्रिविका सिभिल इञ्जिनियरिङ संकायमा विद्यार्थी कम हुन्छन् कि भन्ने मात्रै चिन्ता हो। भर्ना हुने विद्यार्थी कम भएका होइनन्, प्रवेश परीक्षाका प्रतिस्पर्धी विगतका भन्दा केही कम भएका हुन्,' उनले भने।
आइओईको भर्ना तथ्यांकअनुसार बुधबारसम्म पुल्चोक क्याम्पसमा ६२४ सिटमध्ये ३० मात्रै खाली छ। ४३२ सिट रहेको थापाथलीमा १०८ खाली छ। त्यस्तै ४३२ सिट रहेको पश्चिमाञ्चलमा ११९ र ५२८ सिट क्षमता रहेको पूर्वाञ्चलमा १०१ सिट खाली छ।
३८४ सिट रहेको काठमाडौं इञ्जिनियरिङमा १५५ सिट खाली छ। २८८ सिट रहेको कान्तिपुरमा २२७ र १४४ सिट रहेको सगरमाथामा ६५ सिट खाली छ। उता ३३६ सिट रहेको एड्भान्समा १६६ र २४० सिट रहेको हिमालयमा १४१ सिट खाली छ। त्यस्तै २४० सिट रहेको नेसनलमा ३३ सिट खाली छ।
साथै ९६ सिट रहेको ललितपुरमा ६३ र १९२ सिट रहेको काठफोर्डमा १११ सिट खाली छ। १९२ सिट रहेको जनकपुरमा १७१ सिट खाली छ भने १९२ सिट रहेको ख्वपःमा ४३ र २४ सिट रहेको चितवनमा २ सिट मात्र खाली रहेको आइओईको तथ्यांकले देखाउँछ।
निजी र सरकारी गरेर १५ वटा इञ्जिनियरिङ कलेजसँग जम्मा चार हजार ३ सय हाराहारी विद्यार्थी पढाउने क्षमता छ। जबकि यी कलेजमा भर्ना हुन ८ हजार बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका छन्। यसले पनि भर्ना प्रक्रिया नै पूरा नभइकन इञ्जिनियरिङ कलेजहरूले विद्यार्थी पाएनन् भन्नु तथ्यसंगत नभएको देखाउँछ।
त्यस्तै केमिकल, मेकानिकल, सिभिल, अटोमोबाइल, इलेक्ट्रिकल, एग्रिकल्चर, इलेक्ट्रोनिक कम्युनिकेसन र कम्प्युटर इञ्जिनियरिङ विषयका धेरै सिटमा विद्यार्थी भर्ना हुन बाँकी रहेको तथ्यांकले देखाउँछ।
'अब केही चरणमा भर्ना सूची निकालेपछि यी विषय पढ्ने विद्यार्थी करिब भरिन्छन्,' डिन जोशीले भने।
त्रिविका कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसालले पनि अहिले नै इञ्जिनियरिङतर्फ सिटअनुसार विद्यार्थी भर्ना भएनन् भन्न नमिल्ने बताए।
'अहिले भर्ना चलिरहेको छ। भर्खर तेस्रो सूची बल्ल प्रकाशित भएको छ, १२ औं सूचीसम्म जान्छ। हामीले अहिले सिट खाली देखाउनुको अर्थ भनेको विद्यार्थीलाई यो-यो कलेजमा खाली छ है भनेर भनिदिएको हो,' उनले भने, 'खाली भएको भन्नाले सिटअनुसार विद्यार्थी नआएको भन्ने गलत बुझाइ भयो। त्यो होइन।'