एक साताअघि मोटरसाइकलको ठक्करबाट धनुषाको हंसपुर नगरपालिका–६ की ६५ वर्षीया रामफुलेशरी देवी गम्भीर घाइते भइन्। जनकपुरको अस्पताल पुगुन्जेलमा उनको शरीरबाट धेरै रगत बग्यो। डाक्टरले तुरुन्तै रगत दिनुपर्छ भने।
डाक्टरको कुराले परिवाजनलाई आतेस भयो। रामफुलेशरीलाई ‘ए नेगेटिभ’ समूहको रगत चाहिन्थ्यो। यो समूहको रगत परिवारका कुनै सदस्यमा थिएन। छिमेकी र आफन्तजनमा पनि थिएन।
रेडक्रसको ब्लड बैंकमा पनि उपलव्ध भएन।
धेरै प्रयास गर्दा पनि ‘ए नेगेटिभ’ रगत पाउन नसकेर रामफुलेशरीको ज्यान जोखिममा परेको उनका गाउँले दिनेश साहले थाहा पाए।
दिनेशले ‘ब्लड फर नेपाल’ नामको संस्थाले बिरामीका लागि रगत जुटाउने गरेको फेसबुकबाट थाहा पाएका थिए। उनले तुरुन्तै फोन गरे।
‘मैले ब्लड फर नेपालका एक जना भोलेन्टियर (स्वयंसेवक) लाई फोन गरेँ। बिरामीको स्थिति जानकारी गराएपछि केही बेरमै रगत दिने मान्छे रेडक्रसमा आइपुगे,’ दिनेशले भने, ‘तुरुन्तै रगत नपाएको भए उहाँ (रामफुलेशरी) को ज्यान जान सक्थ्यो। रगत दिएपछि उहाँलाई राम्रो भयो।’
हाल भक्तपुरको लोकन्थलीमा बस्ने गरेकी प्रिया झाको प्रसूतिको समय भएको थियो। उनलाई अचानक निकै गाह्रो भयो। आफन्तले पाटन अस्पताल पुर्याए। डाक्टरले तुरुन्तै शल्यक्रिया गर्नुपर्ने भयो, रगत खोजी गर्नू भने।
प्रियाका लागि ‘ओ नेगेटिभ’ रगत चाहिन्थ्यो। रेडक्रसको ब्लड बैंकमा पाइएन। सम्भावित ठाउँहरूमा प्रयास गर्दा पनि पाइएन। रगत नभएर शल्यक्रिया रोकिने स्थिति भयो।
अन्ततः जनकपुरका सरोजकुमार महतोले रगत जुटाइदिए।
‘मैले करिब डेढ सय फोन गरेँ तर कतैबाट पनि रगत उपलव्ध भएन। हामी धेरै तनावमा पर्यौँ,’ प्रियाकी नन्द पुसा पोद्दारले भनिन्, ‘एकजना साथी मार्फत सरोजजीसँग राति साढे एक बजे फोनमा कुरा भयो। उहाँले बिहान रगत व्यवस्था हुन्छ भनेपछि ढुक्क भयो।’
भोलिपल्ट बिहानै सरोजले एक जना रक्तदातासँग सम्पर्क गराइदिए। शल्यक्रियाबाट प्रियाको प्रसूति भयो।
ब्लड फर नेपाल रक्तदाता खोजेर बिरामीलाई रगत उपलव्ध गराउने काम गर्दै आएको नाफा नकमाउने गैरसरकारी संस्था हो। यो संस्थाले रामफुलेशरी र प्रियाजस्ता धेरै बिरामीका लागि रगत जुटाएको छ।
ब्लड फर नेपालका संयोजक सरोजका अनुसार संस्थाले पाँच वर्षमा २२ हजार बिरामीलाई रगत उपलव्ध गराएको छ। चालु आर्थिक वर्षमा हालसम्म संस्थामार्फत ६ सय जनाले रगत पाएको तथ्यांक छ।
ब्लड फर नेपालमार्फत चालु आर्थिक वर्षको हालसम्म १५० जना दाताले रक्तदान गरेका छन्। अन्यलाई रेडक्रस र ब्लड बैंकबाट रगत जुटाइएको हो।
संस्थाले फेसबुक, फोन, ह्वाट्स एप र प्रत्यक्ष भेटमार्फत रगत जुटाउने काम गर्छ।
सरोज भन्छन्, ‘हामी डोनर (रक्तदाता) र बिरामीका बीचमा मेडिएटर (माध्यम) को काम गर्छौं। हामीले अहिलेसम्म रक्तदान गर्ने १० हजार व्यक्तिको नाम–ठेगानाको डाटा संकलन गरका छौँ।’
संस्थाले केही रक्तदाताको तथ्यांक रेडक्रस र ब्लड बैंकबाट समेत संकलन गरेको छ।
संस्थाले डाटा हेरेर कुन ठाउँका बिरामीलाई कुन समूहको रगत चाहिएको हो भन्ने निधो गरेर तुरुन्तै पुग्न सक्ने रक्तदातालाई फोन गर्छ र बिरामीका अफन्तसँग सम्पर्क गराइदिन्छ। यस कामका लागि संस्थामा स्वयंसेवकहरू छन्।
सरोजका अनुसार हाल चारवटा प्रदेशका विभिन्न ठाउँमा सय जना स्वयंसेवक छन्। उनीहरू धेरैजसो विद्यार्थी हुन्। सरोज र अन्य स्वयंसेवी युवाहरू आफूलाई अभियानी वा समाजसेवी भन्न रुचाउँदैनन्।
‘हामी असल नागरिक बन्ने जमर्को गर्दै छौँ। बिरामीलाई रगत जुटाइँदिदाको खुसी बयान गरेर साध्य हुँदैन, बेग्लै आनन्द महसुस हुन्छ,’ सरोज भन्छन्, ‘हामी रगत जुटाइदिएर पैसा लिँदैनौँ। जीवनयापनका लागि आआफ्नै काममा छौँ।’
ब्लड फर नेपालले पहुँचबाट टाढा रहेका परिवारका बिरामीलाई प्राथमिकतामा राख्ने गरेको छ। संस्थाले बढीभन्दा बढी स्वयंसेवक र रक्तदातालाई आपसमा जोड्ने प्रयास गरेको छ।
यो संस्था गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पुग्न बाँकी छ। यी प्रदेशमा पुग्न स्वयंसेवक र रक्तदाताको खोजी हुँदै छ।
संस्थामा आबद्ध हुन चार सय रुपैँया शुल्क तोकिएको छ। संस्थाले आबद्ध व्यक्तिलाई परिचयपत्र, प्रतीक चिह्न र टी–सर्ट दिन्छ। संस्थाले स्वयंसेवकलाई अभिमुखीकरण सेवा पनि दिन्छ।
सन् २०३० सम्म नेपालमा रेडक्रस वा ब्लड बैंकबाट सबै समूहको रगत उपलव्ध गराउने लक्ष्यका साथ काम गरिरहेको सरोजको भनाइ छ।
‘हामी ब्लड डोनेसन क्याम्पेन (रक्तदान शिविर) चलाइरहेका छौँ। देशको कुल जनसंख्याको दुई प्रतिशत व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्ने हो भने अस्पतालमा रगत अभाव हुँदैन,’ सरोज भन्छन्, ‘अहिले करिब १.२ प्रतिशत जनसंख्याले मात्रै रक्तदान गर्ने गरेको छ।’
उनका अनुसार रक्तदानका लागि जनचेतना बढ्दैछ। रक्तदान गर्नेको संख्या बढ्दैछ। रक्तदान गराउन ब्लड फर नेपालले कतै आयोजक त कतै संयोजकका रूपमा काम गर्ने गरेको छ।
यो संस्थाले पाँच वर्षमा एक लाखभन्दा बढी दातासम्म पुगेको छ।
ब्लड फर नेपालका स्वयंसेवकहरूले ‘रगतका कुरा’ नाममा जनचेतना अभियान चलाइरहेका छन्।
‘चियागफ, सामाजिक सञ्जाल, व्यक्तिगत भेट र सार्वजनिक ठाउँमा थोरै भए पनि रगतको कुरा गर्छौं। रक्तदान गर्नुभएको छ कि छैन भनेर सोध्छौँ,’ सरोज भन्छन्, ‘रक्तदानको महत्व बताउँछौँ। स्कुल, कलेजमा रगतका कुरा गर्न थालेका छौँ।’
ब्लड फर नेपालले विद्यालयमा कक्षा आठदेखि माथिका विद्यार्थीका लागि रक्तदानबारे चेतनामूलक कार्यक्रम चलाउने गरेको छ।
‘हाम्रो अभियान प्रभावकारी देखिएको छ। विद्यार्थीहरू उत्साहित भएका छन्। अभिभावक भेलामा पनि रगतका कुरा गर्ने गरेका छौँ,’ स्वयंसेवक जयकृष्ण महतो भन्छन्, ‘हामी रक्तदानको आवश्यकता र फाइदाको कुरा गर्छौं। रक्तदानका सम्बन्धमा मानिसमा रहेको भ्रम चिर्ने प्रयास गर्छौं।’
प्रहरीको तथ्यांकले नेपालमा हरेक पाँच मिनेटमा एउटा सवारी दुर्घटना हुने गरेको देखाउँछ। सवारी दुर्घटनामा परेका व्यक्तिलाई रगत चाहिने हुन सक्छ। अधिकांश शल्यक्रियामा बिरामीलाई रगत आवश्यक पर्छ।
‘हरेक स्थानीय तहले रगत व्यवस्थापनका लागि बजेट छुट्याउनुपर्छ,’ सरोज भन्छन्, ‘यसमा ठूलो बजेट लाग्दैन। हरेक स्थानीय तहले औसतमा वार्षिक ५० हजार रुपैयाँ छुट्याउने हो भने रगत अभाव हुँदैन।’
उचित व्यवस्थापनको ज्ञान नहुँदा पनि रगत अभाव भएको उनको भनाइ छ। उनका अनुसार एउटा पोकाबाट तीन जना बिरामीका लागि रक्ततत्व निकाल्न सकिन्छ। एउटै रगतबाट प्लेट्लेट्स, प्लाज्मा र आरबिसी निकाल्न मिल्छ। धेरैजसो ठाउँमा एउटा पोकाबाट यीमध्ये एउटा मात्र रक्ततत्व निकालिन्छ।
अस्पतालमा रगत अभाव हुनुको अर्को कारण अस्पताल आफैँ पनि हो। पच्चीसभन्दा बढी शय्याका अस्पतालमा ब्लड बैँक राख्नुपर्ने नियम छ। यहाँ दुई सय शय्यासम्मका कतिपय अस्पतालले समेत ब्लड बैंक राखेका छैनन्।
रगतको माग पूरा गर्न सरकार गम्भीर नरहेको सरोजको आरोप छ।
उनको विचारमा रक्तदातालाई प्रोत्साहनको जरुरी छ। रक्तदाता सार्वजनिक रूपमा सम्मानित र पुरस्कृत हुने हो रक्तदान बढ्ने उनको विश्वास छ। जनचेतना बढाउन विद्यालयको पाठ्यपुस्तकमा पाठ राख्न पनि आवश्यक छ।
कसरी सुरु भयो त ब्लड फर नेपाल?
कुरा २०७३ सालको हो। बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुरमा उपचाररत एक क्यान्सर रोगीलाई ‘बी नेगेटिभ’ रगत चाहिएको थियो। सरोजले जनकपुर गएर रगत दिए तर ती बिरामीले नियममित रूपमा रगत पाएनन्।
अर्को पटक रगत नपाएपछि सरोजले रगत दिएको चौथो दिन ती बिरामीको मृत्यु भयो। त्यस घटनाबाट सरोज आहत भए। त्यसपछि उनले फेसबुकमा रक्तदानका लागि आह्वान गर्न थाले।
पढाइका सिलसिलामा काठमाडौं पुगेपछि सरोज लियो क्लबसँग जोडिए। क्लबको संगतमा परेपछि उनी बिरामीका लागि रगत जुटाउने अभियानमा लागे। अभियान व्यवस्थित बनाउन आफ्नो पहलमा २०७५ सालमा ‘ब्लड फर नेपाल’ दर्ता गराएर संस्थागतरूपमा अघि बढे।
यसरी ब्लड फर नेपालले बिरामीका लागि स्वयंसेवक र रक्तदातामार्फत रगत जुटाउने काम गर्दै आएको छ।