कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेका छन्।
राजा शुद्धोधनको दरबार रहेको तिलौराकोटमा सिद्धार्थ गौतमले २९ वर्ष बिताएका थिए।
कपिलवस्तु सदरमुकाम तौलिहवादेखि करिब तीन किमी उत्तरतर्फ वाणगंगा नदी किनारमा तिलौराकोट छ।
बुद्ध दर्शन र जीवनमा महत्व रहेको तिलौराकोट प्राचीन शाक्य गणराज्यको राजधानी, पौराणिक सहर रहेको उत्खनन र अध्ययनबाट पुष्टि भएका थिए।
सिद्धार्थ गौतमको क्रिडास्थल भनेर चिनिने तिलौराकोटमा भएका उत्खननबाट जुटेको प्रमाणका आधारमा यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल भइरहेका छन्।
तर भारतीय दूतावासले भने बुद्ध जन्मस्थल लुम्बिनी आएर कपिलवस्तु भारतमा रहेको दाबीसहित फोटो प्रदर्शनी गर्यो। उत्तर प्रदेशको पिपरहवामा राजा शुद्धोधनले शासन गरेको दाबीसहित दूतावासले फोटो प्रदर्शनी गरेको हो। दूतावासले मंसिर २२ गते प्रदर्शनी गरेको थियो। उक्त प्रदर्शनी २ घण्टा मात्र भएको थियो।
लुम्बिनी विकास कोषको आँगनमै साँस्कृतिक उत्सव गरेर राजा शुद्धोधनले राज्य गरेको कपिलवस्तु भारतको पिपरहवामा रहेको र त्यहाँ सिद्धार्थ गौतमले आफ्नो जीवनको प्रारम्भिक उमेर बिताएको भन्दै दूतावासले प्रचार गरेको हो।
दूतावासले झुटो प्रचार लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामा, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेय, स्वास्थ्यमन्त्री राजु खनाल, सामाजिक विकास मन्त्री सिके गुप्ता, पूर्वमन्त्रीहरू हृदयेश त्रिपाठी, कृष्णध्वज खड्कालगायत साक्षी राखेर गरेको छ।
मायादेवी मन्दिर परिसरमै आयोजना भएको प्रदर्शनीमा दूतावासले भारतमा रहेका 'बुद्धिष्ट' स्थलहरूको फोटो र मण्डलको प्रदर्शनी गरेको थियो। प्रमुख अतिथि भएर गएका मन्त्री किरातीले मण्डल र फोटो प्रदर्शनी उद्घाटन गरेका थिए।
प्रदर्शनीमै राखेका तिनै फोटोमा कपिलवस्तु भारतको उत्तर प्रदेश पिपरहवामा रहेको, त्यहाँका राजा शुद्धोधन भएको र त्यहाँ सिद्धार्थ गौतमले प्रारम्भिक उमेर बिताएको उल्लेख गरिएको छ।
मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पोखरीको दक्षिण पश्चिम किनारमा राखेका तस्बिरमा राजा शुद्धोधनले भारतको पिपरहवामा शासन गरेको उल्लेख गरेको कुरालाई नेपालमा मन्त्री र मुख्यमन्त्रीलगायतले हेक्का गरेनन्।
भारतीय फिल्म निर्मातासमेत रहेका फोटोग्राफर बेनोय के बेहीले खिचेको भनिएका तस्बिरमा इसापूर्व तेश्रो शताब्दीका सम्राट अशोक बौद्धधर्मका पहिलो महान शाही संरक्षक रहेको र उनले पालादेखि नै बुद्धधर्म भारतको कुना-कुनामा हुँदै कश्मीरबाट उत्तरी हिमालय क्षेत्र चीन, कोरिया, श्रीलंका र जापानसम्म पुगेको उल्लेख गरिएको छ।
बुद्ध जम्मस्थल लुम्बिनीमै गरिएको फोटो प्रदर्शनीमा गौतम बुद्ध र लुम्बिनीसँग नेपालका सम्बन्धबारे उल्लेख छैन।
भारतीय राजदूत श्रीवास्तवसँगै फोटो प्रदर्शनी अवलोकन गरेका मन्त्री किरातीलगायतले कपिलवस्तुको तिलौराकोटको भगनावशेषजस्तै देखाइएको भारतको कपिलवस्तुको तस्बिरहरूको अवलोकन गरे पनि तस्बिरमा लेखिएका क्याप्सन पढ्न रूची देखाएनन्।
भारतीय राजदूत श्रीवास्तवले लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक उत्सव आयोजना गरेर दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको भन्ने अभिव्यक्ति दिएका थिए।
नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्धलाई सांस्कृतिक उत्सवले थप प्रगाढ बनाएको भन्दै उनले नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेको आफूले पाएको उनको भनाइ थियो।
लुम्बिनीका पूर्वमन्त्री एवं नेकपा एमालेबाट कपिलवस्तुबाट निर्वाचित प्रदेश सांसद विष्णु पन्थीले तिलौराकोटको इतिहास मेट्ने षड्यन्त्रमा सरकारका मन्त्री र मुख्यमन्त्री नै साक्षी बसेको आरोप लगाए। सक्कली कपिलवस्तु र तिलौराकोटलाई नक्कली बनाउने भारतको सुनियोजित चालमा संघीय मन्त्री, प्रदेशका मुख्यमन्त्री र मन्त्री साक्षी बस्नु बुद्ध र लुम्बिनीमाथिको घात भएको उनको भनाइ छ।
‘राजा शुद्धोधनको राजधानी कपिलवस्तु भारतको उत्तरप्रदेश पिपरहवामा छ भनेर भारतले पुष्टि गराउन उपयुक्त ठाउँ लुम्बिनीलाई रोज्यो, भारतको सुनियोजित चालमा सरकारका मन्त्रीहरु नै गौतमबुद्ध जन्मिएको मायादेवी मन्दिर परिसरमै आएर साक्षी बसेर लुम्बिनी र बुद्धमाथि नै ठूलो घात गरिएको छ,’ पन्थीले भने।
सांसद पन्थीले राजा शुद्धोधनले राज्य गरेको कपिलवस्तु भारतमा रहेको भन्दै मायादेवी मन्दिर परिसरमै फोटो प्रदर्शनी गर्नु र संघीय मन्त्री र मुख्यमन्त्री समेतले चुपचाप अवलोकन गरेर भारतको दाबीलाई पुष्टि गरिदिएको बताए। पन्थीले यसबारेमा फोटो प्रदर्शनी गर्ने अनुमति दिने दुवै पक्षले माफी मागेर गल्ती सच्चाउनुपर्ने बताए।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले प्रदर्शनीमा राखेका फोटोहरूको अवलोकन गरे पनि त्यसमा लेखिएका अक्षर सानो भएकोले के लेखिएको थियो भन्ने पढ्न नपाएको बताए।
‘फोटो प्रदर्शनीको अवलोकन गरेको हो तर अक्षर सानो भएको र चश्मा नलगाएकोले पढ्न खोजे पनि सकिएन,’ उनले भने। उपाध्यक्ष लामाले फोटोमा लेखिएको विषयमा पछि मात्रै थाहा पाएको र यसबारेमा भारतीय दूतावाससँग कुरा गरिसकेको बताए।
‘मैले पनि सामाजिक सञ्जालमा आएका टिप्पणीपछि मात्रै फोटोमा लेखिएको क्याप्सनबारे थाहा पाएँ, यसबारेमा दूतावासमा कुरा गरेको छु, दूतावासले आफैंले नभई फोटोग्राफरले फोटो प्रदर्शनीमा राख्दा गल्ती कमजोरी भयो भनेको छ, यसलाई हामी सच्याउँछौं,’ लामाले भने।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले आफू कार्यक्रममा सहभागी भए पनि फोटो प्रदर्शनी अवलोकन नगरेको बताए। ‘कसैले फोटो राख्दैमा केही हुँदैन,’ उनले भने, ‘शुद्धोधनको राजधानी सहर तिलौराकोट नै रहेको पुष्टि भइसकेको छ। तैपनि के भएको रहेछ म मुख्यमन्त्रीसँग सोध्छु।’