गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनको माग गर्दै रूपन्देहीका उद्योगी व्यवसायीले आइतबारदेखि विमानस्थल अगाडि धर्ना सुरू गरेका छन्।
गत शुक्रबारदेखि सडक आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीको नेतृत्व गर्दै लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डेय पनि विमानस्थल अगाडि धर्नामा बसेका हुन्।
निर्माण सम्पन्न भएर उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान सुरू हुन नसकेको भन्दै उद्योगी व्यवसायीहरू दबाबमूलक आन्दोलनमा उत्रिएका छन्।
रूपन्देहीका ३२ वटा संघसंस्थाहरूको साझा सञ्जाल सिद्धार्थ सञ्जाल रूपन्देहीले अगुवाइ गरेको आन्दोलनमा लुम्बिनीका गृहमन्त्री पाण्डेय र सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान समेत सहभागी हुँदै ऐक्यबद्धता जनाएका छन्।
आइतबार विमानस्थल अगाडि धर्ना दिँदै गृहमन्त्री पाण्डेयले काठमाडौंमा बसेकाहरूमा काठमाडौंभन्दा बाहिरका आयोजना सञ्चालन हुनुहुँदैन भन्ने मानसिकताको कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको बताए।
‘काठमाडौंमा बसेकाहरूमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्यो भने भैरहवा अगाडि जाला भन्ने डर होला तर, भैरहवा अगाडि जानु भनेको समग्र नेपाल नै अगाडि जाने हो,’ उनले भने।
सञ्जाल रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रधानमन्त्री, पर्यटनमन्त्रीदेखि नागरिक उड्डयन प्राधिकरणलगायत सरोकारवाला निकायसँग पटकपटक छलफल र ज्ञापनपत्र बुझाउने गरिए पनि कुनै सुनुवाइ नभएकोले बाध्य भएर धर्नामा उत्रिनुपरेको बताए।
अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा दिइएको धर्नामा व्यवसायीहरूले विमानस्थलको अन्य भौतिक संरचना निर्माण भएको डेढ वर्षसम्म पनि श्रम स्वीकृति कार्यालय, भिसा सेन्टर, मेनपावर कार्यालय, रोजगार तालिम केन्द्र, स्वास्थ्य परीक्षण केन्द्र लगायतका आवश्यक संरचना तयार नगरी सरकारले लुम्बिनीवासीलाई झुक्याउने काम गरेको बताए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले एउटा पनि नियमित उडान छैन। मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको डेढ वर्ष भइसक्दा समेत नियमित उडान नहुँदा विमानस्थललाई लक्षित गरी लगाइएको निजी क्षेत्रको अर्बौं लगानी तहसनहस नै भएको छ।
नियमित अन्तर्राष्ट्रिय उडान गर्न पटक-पटक सरकारलाई दबाब दिँदै आएका व्यवसायीले चरणबद्ध अन्दोलन घोषण गरेर विमानस्थलअघि दैनिक दुई घण्टा धर्ना बस्न थालेका हुन्। विमानस्थल पूर्णक्षमतामा संचालन नहुँदासम्म आन्दोलनलाई अझै कडा गराउँदै लैजाने अध्यक्ष ज्ञवालीले बताए।
२०७९ जेठ २ गते उद्घाटन गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरूमा कुवेतको जजिरा एयरलाइन्सले सातामा तीन वटा उडान गरेको थियो। त्यसको केही समयपछि हिमालय एयरलाइन्सले पनि चार्टर्ड उडान सुरू गरेको थियो। अहिले दुबै एयरलायन्सले उडान रोकेका छन्।
नेपाल एयरलाइन्सले पनि अहिले ट्रान्जिट उडान मात्र गरिरहेको छ। यसबाट सरकार र यस क्षेत्रको निजी क्षेत्र दुबैले फाइदा उठाउन सकेका छैनन्।
अघिल्लो हप्ता भैरहवा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आन्दोलन स्थगित गरेर व्यवसायीलाई वार्तामा आउन आह्वान गरेका थिए। मन्त्री किरातीले पुस २ गते काठमाडौंमा वार्ता गरी विमानस्थलको समस्या समाधान गरिने आश्वासन दिएका थिए।
सञ्जालका अध्यक्ष ज्ञवालीले पुस २ गतेसम्म विमानस्थलमा नियमित धर्ना दिने र काठमाडौंमा हुने वार्ताबाट पनि समस्या समाधान नभए अर्को चरणको आन्दोलन घोषणा गर्ने बताए। व्यवसायीहरूले यसअघि मंसिर २५ गतेदेखि आन्तरिक उडानलाई रोक्ने सम्मका आन्दोलन घोषणा गरेका थिए।
आन्दोलन संघर्ष समितिका संयोजक तथा सञ्जालका उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलमा चाहिने सबै संरचना तत्काल पूरा गरी नियमित रूपमा उडान सुरू नगर्दासम्म आफूहरूको आन्दोलन नरोकिने बताए।
भारत सरकारको सहयोगमा २०२३ सालदेखि भैरहवा विमानघाटको रूपमा सञ्चालनमा आएको यो विमानस्थललाई २०७१ सालमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कामको थालनी भएको थियो।
२०७४ सालमै निर्माण सम्पन्न भइसक्नु पर्ने भए पनि पाँच वर्ष ढिलो गरी २०७९ साल जेठ २ गते उद्घाटन गरिएको विमानस्थल नियमित सञ्चालन भने हुन सकेको छैन।