‘आमा अब हामी सैन्य तालिमको लागि केही महिना जंगल क्षेत्रमा जानुपर्छ, मोबाइलमा सम्पर्क नहुन पनि सक्छ, मिल्यो भने यतैबाट सम्पर्क गर्छु तालिमबाट नफर्किंदासम्म तपाईंहरू नआत्तिनु होला!’
कपिलवस्तुका रूपक कार्कीले गत असार पहिलो सातातिर घरमा रहेकी आमालाई रूसबाट यसै भन्दै फोन गरेका थिए।
कपिलवस्तुको बाणगंगा–१ मन्द्रेली टोलका मानबहादुर र लक्ष्मी कार्कीका एक्लो छोरा थिए २४ वर्षीय रूपक। दिदी सरलाको केही वर्ष पहिले विवाह भइसकेको थियो।
पढाइमा तेज भए पनि घरको आर्थिक अवस्था कमजोर भएकाले १२ कक्षा पास गरेपछि नै रूपकले रोजगारीका लागि विदेश जाने योजना बनाएका थिए।
दक्षिण कोरिया जाने योजनाका साथ भाषा सिकिरहेका रूपकले विद्यार्थी भिसामा सजिलै रूस जान पाइने थाहा पाएपछि रूसको प्रक्रिया थालेका थिए।
२०७८ सालको चैततिर प्रक्रिया सुरू गरेका रूपक साढे दुई महिनामै २०७९ जेठमा रूस उडेका थिए।
रूपकसँगै बाग्लुङका युवराज पौडेल पनि एकैसाथ रूस गएका थिए।
काठमाडौंको ड्रीम इन्टरनेसनल कन्सल्टेन्सीमार्फत् विद्यार्थी भिसामा रूस गएका रूपकले एक वर्ष होटलमा काम गरे। होटलमा काम गर्दा घरमा आमाबुवासँग नियमित सम्पर्क गरिरहन्थे। गत जेठमा रूसी सेनामा भर्ति भएपछि भने घरमा बुवाआमासँग पनि सम्पर्क पातलो बनेको थियो।
‘त्यहाँको सेनामा भर्ती भएपछि तिन–चार पटक मात्रै आमासँग कुरा भएको रहेछ!,’ रूपककी काकी पूजा कार्कीले भनिन्।
होटलमा काम गर्दा आम्दानी थोरै भए पनि सुरक्षित हुने भएकाले बुवा आमा ढुक्क थिए। होटलको काम छोडेर सैनिकमा भर्ती भएपछि असुरक्षाको भयले आमाबुवा त्रसित थिए।
तर पनि बेलाबेला फोन गर्दा आफूले सैनिक तालिम लिइरहेको र सुरक्षित रहेको भन्दै बुवाआमालाई चिन्ता नलिन बारम्बार सम्झाइरहन्थे।
असार पहिलो सातातिर फोन गर्दा पनि उनले त्यसै गरी आमालाई सम्झाउँदै तालिम सकिएपछि आफैँले फोन गर्ने वाचा गरेका थिए।
रूस र युक्रेनबीचमा भइरहेका युद्धका खबरले लक्ष्मी र मानबहादुरको मन आत्तिन्थ्यो। रूपकले आफू तालिममा जाने बताएको र सम्पर्क गर्ने कुनै माध्यम नभएकाले बुवाआमालाई रूपकले गर्ने फोन पर्खिनुको विकल्प थिएन। आमालाई तालिमबाट फर्किएपछि फोन गर्ने बताएका रूपकको त्यसपछि कहिल्यै फोन आएन।
रूसी सेनामै रहेका युवराज पौडेलले गत साउनमा रूपककी दिदी सरलालाई फेसबुक म्यासेन्जरमा एउटा सन्देश पठाएका थिए।
‘केही समयदेखि रूपक सम्पर्कमा छैनन्, परराष्ट्र मन्त्रालयमार्फत् खोजीका लागि पहल गर्नुहोला!,’ उनले सन्देशमा भनेका थिए।
गुल्मीमा रहेकी सरलाको मोबाइल बिग्रिएको थियो। युवराजले म्यासेन्जरमा पठाएको सन्देश बिग्रिएको मोबाइलको डिस्प्लेमा देखिने कुरा भएन।
युवराज भने आफूले पठाएको सन्देश सरलाले कहिले हेर्छिन् भन्ने पर्खाइमा थिए। युक्रेनसँगको युद्धमा उनी आफैँ पनि घाइते भएर क्याम्पमा उपचार गरिरहेका थिए।
सँगै गएको साथी सम्पर्कविहीन भएपछि युद्धमै मारिएको हुनसक्ने आशंकाले खोजीको लागि पहल गर्न सन्देश पठाएका थिए।
सरलाले आफ्नो सन्देशको कुनै जवाफ नदिएपछि युवराजले कपिलवस्तुकै सुमन कार्कीमार्फत् अघिल्लो महिना सन्देश पठाए।
सुमन र रूपक दुबैजना कपिलवस्तुकै कार्की भएकोले चिनेजानेको हुनसक्ने भन्दै युवराजले सुमनसँग सम्पर्क गरेका थिए।
रूपकलाई चिन्ने बताएपछि युवराजले सुमनसँग रूपक सम्पर्कमा नरहेको र युद्धमा परेको हुनसक्ने भन्दै खोजीका लागि पहल गर्न आग्रह गरेका थिए।
रूपक सम्पर्कमा नरहेको खबर सुमनले उनका भिनाजु, काका गौतम र काकी पूजालाई सुनाएका थिए।
‘दाइ र दिदीलाई बाबु युद्धमा परे रे भनेर सुनाउन सक्ने अवस्था नै थिएन, तालिमबाट फर्किएपछि छोराले फोन गर्छ भन्दै पर्खिएर बस्नुभएको थियो,’ काकी पूजाले भनिन्।
युवराजले दिएको सल्लाह बमोजिम रूपकका भिनाजु र काका काकीले रुसी सेनामा भर्ती भएका रूपक सम्पर्कविहीन भएकाले खोजि गरिदिन भन्दै एकमहिना पहिले परराष्ट्र मन्त्रालयमा निवेदन दिए।
गाउँघरमा भने रूपक युद्धमा मारिएको गाइँगुइँ हल्ला चलिसकेको थियो। सरकारी निकायले आधिकारिक जानकारी नगराए पनि गाउँमा हल्ला फैलिइसकेको थियो। बुवाआमालाई मुख खोलेर भन्ने हिम्मत भने कसैले गर्न सकेका थिएनन्। दुईसाता अघि बाणगंगा नगरपालिका–१ का वडा अध्यक्ष सञ्जुकुमार सारूमगरलाई परराष्ट्र मन्त्रालयमार्फत् खबर आयो– ‘रुस गएका बाणगंगा–१ का रूपक कार्कीको युद्धका क्रममा मृत्यु भएको छ, यो खबर घरपरिवारसम्म पुर्याइदिनुहोला!’
एक्कासि आएको दुःखद् खबरले वडाअध्यक्ष सारुमगर अलमलमा परे।
जति नै दुःखद खबर भएपनि सुनाउनु नै पथ्र्यो। वडा सदस्यहरू र गाउँका बुद्धिजीवीसहित रूपकको घरमा गए। घरमा बुवाआमा थिएनन्। छिमेकी र काका काकीलाई रूपकको युद्धमा मृत्यु भइसकेको खबर सुनाए।
उनीहरूले असार १५ गते नै यद्धमा रूपकको मृत्यु भइसकेको खबर परराष्ट्र मन्त्रालयबाट आएको बताएका थिए।
रूपकको परिवार भने जेठमा मात्रै रूसी सेनामा भर्ती भएको र असारदेखि तालिम सुरू हुने भनेकोले तालिम नलिई युद्धमा गएको भनेर विश्वास नै गरेनन्।
‘नेपालको सेना र पुलिसमा एकडेढ वर्ष तालिम लिएपछि मात्रै पास हुने चलन थाहा थियो, त्यहाँ पनि तालिम नलिई युद्धमा लड्न पठायो होला भनेर कसरी विश्वास गर्नू!,’ पूजाले भनिन्।
तर सोमबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति देखेपछि पनि कार्की परिवार छाँगाबाट खसेजस्तै भएको छ। सैन्य तालिमपछि फोन गर्छ भन्दै फोनको पर्खाइमा बसेका बुवाआमाले अझै पनि छोराको मृत्यु भयो होला भनेर स्वीकार गर्न सकेका छैनन्।
‘परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तीमा हाम्रो बाबुको पनि मृत्यु भएको पुष्टि गरिएको छ तर, बाआमाले अझै पनि स्वीकार गर्न सक्नुभएको छैन,’ काकी पूजाले भनिन्।
मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै युक्रेनविरूद्धको युद्धमा रूसी सेनाकातर्फबाट लडिरहेका ६ जना नेपाली नागरिक मारिएको पुष्टि गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुसी सेनामा कार्यरत रूपकसहित गोरखाका सन्दीप थपलिया, पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको मृत्यु भएको जनाएको छ। विज्ञप्तिमा उनीहरूको मृत्यु के कसरी कहाँ भयो भन्ने जानकारी भने दिइएको छैन।
तर, रूसको इभानोभो क्षेत्रको स्मृति पुस्तक नामको रूसी वेबसाइटमा रूपक कार्कीको मृत्यु ३० जून २०२३ अर्थात् २०८० असार १५ मा भइसकेको उल्लेख छ।
रूपक रूसी सेनाका तर्फबाट विशेष सैन्य कारवाहीमा सहभागी भई युक्रेनको युद्धस्थलमा खटिएको बेला मारिएको सोही वेबसाइटमा उल्लेख गरिएको छ।
सोही वेबसाइटमा रूपकको शव इभोनोभो क्षेत्रको नोभो–तालित्स्कीमा गाडिएको तस्विर समेत पोष्ट गरिएको छ।
परराष्ट्र मन्त्रालयले रूस सरकारलाई पत्र पठाउँदै आफ्ना ६ जना नागरिकको शव पठाइदिन र उनिहरूका परिवारलाई क्षतिपूर्ति दिनका लागि आग्रह समेत गरेको छ।
२०४८ सालमा पाल्पाको मुझुङबाट बसाई सरेर वाणगंगा झरेका मानबहादुरले दुःखजिलो गरेर दुई छोराछोरीलाई हुर्काउने र पढाउने गरेका थिए। सानो टुक्रा जमिनमा लगाएको खेतीको आयस्ताले परिवारको पेट भर्न धौधौ हुन्थ्यो। ज्यालामजदुरी गरी छोराछोरीको भोको पेट भरिदिन्थे।
इँटाको गाह्रो मात्र लगाएर बनाइएको दुईकोठे घरले अहिले पनि उनको आर्थिक अवस्थालाई चित्रित गरिदिन्छ।
त्यही घर र जग्गा पनि रूपकलाई रूस पठाउन बैंकमा धितो राखेर १२ लाख रुपैयाँ ऋण लिएका थिए। होटलमा काम गर्दा १०/२० हजार रुपैयाँ पठाउने गरेका रुपकले रुसी सेनामा भर्ती भएपछि भने पैसा पठाएका थिएनन्।
‘तालिम अवधिभरी पैसा धेरै दिँदैन रे, तालिम सकेपछि भने महिनाको नेपाली डेढ लाख रुपैयाँसम्म हुन्छ भन्थ्यो, आफू नै रहेन,’ काकी पूजाले भनिन्।
रूपक रूस गएदेखि नै बुवा मानबहादुर घरभित्रै पूजापाठमा मात्र लागिरहने पूजाले बताइन्। ‘बाबु गएदेखि नै दाइले पूजापाठ मात्रै गरिरहनुहुन्छ, अहिले पनि भित्र ध्यान र पूजापाठ गरिरहनुभएको छ, दिदी खबर सुनेपछि नै रोइरहनुभएको छ, बुढेशकालमा सहारा होला भनेको छोरा यसरी चटक्क छोडेर जाँदा सबैलाई बज्रपात भएको छ,’ उनले भनिन्।