उदयपुरबाट रोजिरोटीका लागि ३० वर्षअघि पोखरा आइपुगेका धनराज राई अहिले सटर भाडामा लिएर सानो किराना पसल चलाइरहेका छन्।
पसलमा फाट्टफुट्ट आउने ग्राहकलाई सामान बेच्नुबाहेक उनी टोलाएर दिन बिताउँदै छन्।
उनका २ भाइ छोरामध्ये कान्छो देवन राई रूसका तर्फबाट युक्रेनसँग लड्दा लड्दै मारिएका छन् भने जेठो छोरा घरमै आमा–बुवालाई सघाउँछन्। धनराजका श्रीमती उच्च रक्तचापको बिरामी छिन्। उनी बेलाबखत रोइरहन्छिन्। उनलाई सम्झाइ-बुझाइ गर्नुका साथै बाहिरी मान्छेसँग भेटघाट हुन दिएका छैनन्।
पोखरामा पढिरहेका देवन एक कन्सल्टेन्सीमार्फत् पोहोर कात्तिकमा रूस पुगेका थिए। विद्यार्थी भिसामा रूस पुगेका देवन वैशाखसम्म पढिरहेकै थिए। त्यतिबेलासम्म देवनका बुवा धनराज र आमा पनि खुसी नै थिए। जब, देवन रूसी सेनामा भर्ती भए, त्यसपछि उनीहरूले खतरा हुने भन्दै छोरा देवनलाई सम्झाइरहेका थिए।
‘रूसको सेनामा भर्ती भएँ भनेर फोनमा भनेपछि हामीले खतरा हुन्छ, किन आर्मीमा गएको भनेका थियौं,’ देवनको भनाई सम्झिँदै धनराजले भने, ‘खतरा छैन, साथीहरू पनि सबै गएका छन्, म पनि आर्मीमा भर्ती भएँ भनेको थियो।’
रूसी सेनामा भर्ती भएपछि देवनले एक महिनाको तलब भन्दै करिब ३ लाख रूपैयाँ घर पठाएका थिए।
रूसमा आफूले मोबाइल बैंकिङ चलाएको र मोबाइल रूसकै सुरक्षाकर्मीले राखिदिएकाले पैसा पठाउन नपाएको बताएका थिए। धनराजका अनुसार देवनले आफूसँग करिब १७ लाख रूपैयाँ भएको र मोबाइल फिर्ता पाउने बित्तिकै पठाइदिने बताएका थिए।
रूसी सेनामा भर्ती भएर ड्युटी थालेका देवन असोज १५ गते बुवाआमासँग भिडिओ कलमा बोलेका थिए। त्यतिबेला आफू १६ दिनका लागि अर्को क्याम्पमा जान लागेकाले फोन सम्पर्क नहुने बताएका थिए। असोज १७ गते पनि उनले आमालाई फोन गरेका थिए। राम्रोसँग जाऊ भनेर फोन राखेको धनराज सम्झिन्छन्।
अन्तिम पटक फोन सम्पर्क गर्दा देवनले भनेको १५ दिनपछि पनि फोन आएन। महिना दिन बित्दा पनि सम्पर्क हुन सकेन। एकैचोटि मंसिर १ गते युक्रेनसँगको युद्धमा छोरा मारिएको खबर आएको धनराजले बताए।
‘१५ दिनका लागि क्याम्प जान्छु भनेको छोरा महिना दिन हुँदा पनि सम्पर्क भएन, एकैचोटि यस्तो खबर आयो,’ उनले भने।
पोखरामा घर बनाएर बसे पनि धनराजको ठेगाना उदयपुरमै रहेछ। परराष्ट्र मन्त्रालयले छोरा बितेको पत्र उदयपुरको लिङचुङबुङ गाउँपालिका–१ को ठेगानामा पुगेको थियो। वडाध्यक्षले फोन गरेर यसबारे जानकारी गराएको धनराजले बताए।
त्यसपछि छोराको खोजखबर गर्न उनी काठमाडौं धाए। परराष्ट्र मन्त्रालय पुगेर छोराको शव ल्याइदिन निवेदन दिएको उनले बताए। निवेदन दिएर फर्किए पनि अहिलेसम्म कुनै जानकारी नभएको उनले बताए।
‘सरकारले छिटोभन्दा छिटो छोराको शव ल्याइदियोस्,’ उनले भने, ‘पढ्न भनेर पठाउँदै १० लाख ऋण लागेको छ, अब आफैंले कसरी ल्याउनु?’
देवनले फोनमा कुरा गर्दा अध्ययन र विभिन्न कारणले रूस पुगेका युवा मात्र होइन, दुबई, साउदी अरबलगायत देशबाट पनि नेपाली युवा रूसी सेनामा पुगेको बताएका थिए।