सुनसम्बन्धी जाँचबुझ आयोगले तस्करीमा संलग्न रहेको अभियोग लागेकाहरूमाथि बयान लिएको छ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग बनेको दुई महिनापछि आरोपीहरूको बयान लिइएको हो।
आयोगको कार्यालय सिंहदरबारभित्रै छ।
आयोगले केही दिनदेखि सुन तस्करीमा संलग्न व्यक्तिहरूको बयान लिइरहेको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा सरकारले पाँच सदस्यीय आयोग गठन गरेको थियो। गत असोज १६ गतेदेखि आयोगले काम सुरू गरेको थियो।
आयोगले हङकङबाट ल्याइएको विद्युतीय चुरोट (भेप) र ब्रेक प्याडमार्फत् भएको सुन तस्करीबारे छानबिन गरिरहेको छ। आयोगले अन्य सुन तस्करी, यसका अनुसन्धान प्रतिवेदनहरू पनि केलाएर अध्ययन थालेको हो।
गत कात्तिक १ गते गोरखापत्रमा सूचना जारी गर्दै सुन तस्करीसम्बन्धी कुनै पनि प्रहारका सूचना, अनुसन्धानका निकर्ष त्यसका प्रभाव, फैसला वा आदेश लगायत सूचना भएमा जानकारी दिन आयोगले आग्रह पनि गरेको थियो।
आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुन तस्करी अभियोग लागेकाहरूसँग बयान लिइएको बताए। आइतबारदेखि मंगलबारसम्म २२ जनाको बयान लिइएको छ।
भेपमार्फत सुन तस्करीमा संलग्न रहेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका राहुल महरासँग आयोगले मंगलबार बयान लिएको थियो।
राहुल पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन्। भेपमार्फत् सुन तस्करी गरेको प्रकरणमा महरा बाबु-छोराको नाम मुछिएको थियो।
आयोगले तीन चरणमा बयान लिनेछ। पहिलो चरणमा पुर्पक्षको लागि थुनामा रहेका नेपाली नागरिकहरूसँग मात्रै बयान लिएको हो।
दोस्रो चरणमा धरौटीमा छुटेका नागरिकहरू र तेस्रो चरणमा भने पुर्पक्षको लागि थुनामा रहेका चिनियाँ नागरिकहरूको बयान लिने तयारी छ। चिनियाँ नागरिकहरूको बयान लिन दोभासे चाहिन्छ।
‘आइतबारदेखि मंगलबारसम्म २२ जनाको बयान सकियो। एक दिनमा दुई-चार जनाको बयान लिइरहेका छौं, आज दुई जनाको बयान लिँदैछौं,’ अध्यक्ष आचार्यले भने, ‘आज नेपालीहरूको बयान सक्छौं।’ आयोगले बुधबार दिपेश बस्नेत र गोपाल सुवेदीको बयान लिँदैछ। उनीहरू भेपमार्फत तस्करी गरी ल्याएको सुन चोरी गरेको आरोपमा पक्राउ परी पुर्पक्षको लागि थुनामा छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पहिलो चरणको अनुसन्धान गरी दिपेश लगायतहरूविरूद्ध मुद्दा चलाएको थियो। सिआइबीले दोस्रो चरणमा भने राहुल लगायतविरूद्ध मुद्दा चलाएको थियो।
आयोगले यसबीच २२ जना विज्ञ र ४ वटा संघ/संस्थाका प्रतिनिधिहरूसँग छलफल र परामर्शको लिएको अध्यक्ष आचार्यले बताए। दुई महिनाका बीचमा आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय, अध्यागमन कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पावहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड र सुरक्षा निकायहरूको पनि स्थलगत अध्ययन र अवलोकन गरेको थियो।
त्यस्तै रसुवास्थित भन्सार नाका, तातोपानी नाका र दोलखास्थित लामाबगर समेत टोली पुगेको थियो। अध्यक्ष अधिकारीका अनुसार तिहारअघि रसुवा र त्यसपछि अन्य स्थानको अनुगमन गरिएको हो।
अनुगमन गर्ने क्रममा आयोगका अधिकारीले केही गम्भीर विषयहरू पाएको अध्यक्ष आचार्यले बताए। उनकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ‘भेहिकल स्क्यानर मेसिन’ राखिएको छ। उक्त मेसिनले सवारी साधनलाई स्क्यान गर्छ।
कार्गो गोदाममा राखिएको उक्त मेसिन भने चालु अवस्थामा छैन। ‘एयरपोर्टमा भेहिकल स्क्यानर मेसिन रहेछ। कहिले आएको भन्ने यकिन छैन। कार्गो गोदाममै छ। तर त्यसको प्रयोग भएको देखिएन,’ उनले भने।
रसुवा नाकामा ओहोरदोहोर गर्दा प्रयोग हुने स्क्यानर मेसिन छ। तर त्यो पनि चालु अवस्थामा नभएको पाइएको उनले बताए। उक्त नाकामा प्रहरी र भन्सार कर्मचारीको जनशक्ति पनि कम छ। मेसिन चालु नहुँदा तस्करीका सामान छुट्ने सम्भावना उच्च रहेको आयोगका अधिकारीहरूको बुझाइ छ।
उक्त मेसिन कहिले राखिएको र कहिलेदेखि नचलेको भन्ने यकिन छैन। ‘रसुवामा गएको स्क्यानर मेसिन सुरूदेखि नै चलाइएको छैन। किन नचलाइएको भन्ने प्रश्नमा चलाउने म्यानुअल नै छैन रे! कसरी चलाउने भन्ने थाहै छैन,’ उनले भने, ‘तातोपानी नाकामा मेटल डिटेक्टर छैन। आधारभूत रूपमा चाहिने साना मेसिन पनि छैनन्।’
यस्ता त्रुटिले भने तस्करी हुने सम्भावना उच्च हुने उनले बताए।
‘कतै भएका सामान प्रयोग भएका छैनन्। कतै भने सामान नै छैन। अनि तस्करले ल्याएको सुन छामछुम गरेर कसरी पत्ता लाग्छ त? मलद्वारमा राखेर तस्करी गर्ने गर्छन्। कपडामा सुन लेपेर ल्याउने पनि गरेको देखिन्छ। त्यस्तो कसरी भेटिन्छ त?,’ उनले भने।
भन्सार विभागका सूचना अधिकारी एवं निर्देशक पुण्यविक्रम खड्काका अनुसार रसुवा र तातोपानी नाकामा स्क्यानर मेसिन नयाँ किन्ने तयारीमा छ।
‘रसुवामा ब्यागेज/सामान स्क्यान गर्ने मेसिन छ। तर त्यो चलेन। त्यसलाई अपरेट गर्न गाह्रो भएको छ। नचलेपछि नयाँ किन्न खरिद प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘तातोपानीको लागि पनि खरिद गर्न लागिएको हो।’
विमानस्थलको गोदाममा राखिएको गाडी स्क्यान गर्ने मेसिन कहिले ल्याएको भन्ने यकिन नभएको गोदाम पारवाहान तथा गोदाम व्यवस्थापन शाखाकी प्रमुख सुनिता सिंहले बताइन्।
‘हामी आउनुअघि नै मेसिन यतिकै राखिएको थियो। हामी आएको दुई-चार वर्षमात्रै नभएको। त्यसलाई सञ्चालन गर्ने प्राविधिक पनि भएन, त्यसलाई प्रयोग गर्ने टेक्नोलोजी पनि भएन भन्ने सुनिएको हो,’ उनले भनिन्, ‘अहिले ठाउँ धेरै ओगटेकाले पार्टपूर्जाहरू छुट्याउन थालिएको छ।’
आयोगको टोलीले यी तीन निकायमा त्रुटि भेटिएपछि दोलखामा अनुमगन गर्न पुगेको थियो। त्यहाँ चिनियाँ नाकाबाट तस्करी भएर आएको ११ किलो सुन बरामद भएपछि आयोगको टोली त्यहाँ पनि पुगेको हो। जिल्ला अदालतबाट यस प्रकरणमा ९ जनालाई पुर्पक्षको लागि थुनामा, तीन जनालाई धरौटीमा र दुई जना साधारण तारेखमा छुटेका थिए।
यी सबै प्रकरणहरूमा लगानीकर्ता एउटा समूह, सुन पठाउने एउटा समूह र भरिया अर्को समूह हुने गरेको पनि आयोगको बुझाइ छ। गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। ब्रेक शुभित्र ६० किलो सात सय १६ ग्राम सुन बरामद भएको थियो।
सुन बरामद भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै सरकारलाई दबाब दिएको थियो। सरकारले पहिलो चरणको अनुसन्धान गर्ने सिआइबीलाई दिएको थियो।
सिआइबीले यसको अनुसन्धान गरी जिल्ला अदालत काठमाडौंमा बुझायो। असोज १९ गते जिल्ला अदालत काठमाडौंले दिएको पुर्पक्षको आदेशअनुसार २५ जना थुनामा पुगेका छन्। एक जना भने धरौटीमा छुटेका थिए।
चिनियाँ सक्रिय रहेको समूहले तीन सय किलो बढी सुन तस्करी गरेको सिआइबीको अनुमान गरे पनि ६० किलो सुन बरामद गर्यो। सिआइबीले अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि सरकारले असोज १५ गते आयोग गठन गरेको थियो।
सम्बन्धित समाचार: ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
११ किलो सुन प्रकरणः ९ जना पुर्पक्षका लागि थुनामा, ३ जनालाई धरौटीमा छाड्न आदेश
नेपालमा सुन तस्करीको साम्राज्य खडा गरेका दाओजिन वाङ!
महरा र उनका छोरासँग सम्पर्क भएका शंकास्पद चिनियाँले एयरपोर्टमा छोडेको सुन
१० महिनामा दोलखाबाट मात्रै आएको थियो तस्करीको ३९ किलो सुन