गोरखा जौबारीका मनबहादुर नेपालीलाई पोखरा महानगरपालिका नगर प्रहरीले पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ।
फेवाताल किनारमा शनिबार साँझ चटपटे बेच्न बसेकी श्रीमती मुनालाई सामान छोड्न जाँदा उनलाई नगर प्रहरीले पक्राउ गरेको हो।
'श्रीमानलाई आलु ल्याइदिनु भनेकी थिएँ। उहाँ आएर सामान राख्नेबित्तिकै नगर प्रहरी आएर लात्ताले हान्यो,' मुनाले भनिन्, 'बरू सामान उठाएर लैजानु, किन हातपात गर्नुभएको भन्दा पक्राउ गरेर लगे।'
फुटपाथबाट पक्राउ परेका मनबहादुर अहिले नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बैदाममा थुनामा राखिएका छन्। नगर प्रहरीले सहयोग गर्नुपर्यो भनेर ल्याएपछि आफूहरूले राखेको बैदाम प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए।
'उहाँहरूले ल्याउनुभयो, भोलि छानबिन होला,' उनले भने, 'भोलि छाड्ने कि नछाड्ने, भोलि नै थाहा हुन्छ।'
पोखरा महानगरका मेयर धनराज आचार्यले यसबारे बुझेर मात्र भन्न सक्ने बताए।
नगर प्रहरीले व्यक्ति पक्राउ गर्न पाउँछ भन्ने प्रश्नमा उनले भने, 'म अर्को घटना बुझ्दै छु। यसबारे बुझेर मात्र भन्छु।'
उनले त्यसपछि फोन उठाएका छैनन्।
मनबहादुर र मुनाको परिवार १० वर्षयता पोखरामा छ।
मनबहादुर पोखराको एक हार्डवयर पसलको गाडी चलाउँछन् भने मुना डेढ वर्षयता फेवाताल किनारमा चटपटे बेच्छिन्। चटपट बेच्नुअघि उनले अर्काको घरमा भाडा, कपडा लगायत धुने काम गर्थिन्।
मनबहादुरको मात्र होइन, फेवाताल किनारमा व्यवसाय गरेका अन्य साना व्यवसायीलाई पनि शनिबार साँझ नगर प्रहरीले दुर्व्यवहार गरेका छन्।
पोखराकी कल्पना गुरूङको चटपटे लगायत सामग्री नगर प्रहरीले लात्ताले हानेर फालिदिएको छ। चटपटे बेच्न राखेको भुजा, आलु लगायत सामग्री बाटोभरि छरपस्ट पारिदिएको कल्पनाले बताइन्।
'म बिरामी पनि छु। यहाँ चटपटे बेच्दा अलि अलि आम्दानी पनि हुने, फ्रेस पनि हुने भनेर आएको,' उनले भनिन्, 'नगर प्रहरी आएर लात्ताले हानेर सबै सामान बाटोभरि छरिदियो।'
कल्पना चटपटे बेच्न फेवाताल किनार आएको एक वर्ष भयो। यसअघि पोखराकै अमरसिंह चोकमा सानो होटल चलाउँथिन्। लकडाउन र आफैं कोरोनाले थलिएपछि होटल छाड्न परेको उनले बताइन्।
'लकडाउनले गर्दा होटल छोडेर फुटपाथमा आइपुगेँ। फुटपाथबाट पनि नगरपालिकाले लखेटेको छ, अब कहाँ जाने?,' उनले भनिन्।
उनले चटपटे बनाउने सामग्री पनि शनिबार नै किनेर ल्याएको बताइन्।
'साहुसँग उधारो सामान ल्याएकी थिएँ, यही बेचेर पैसा तिरौंला भनेर,' उनले भनिन्, 'सबै सामान बाटोमा छरिदियो। अब कसरी तिर्ने?'
कल्पनाका श्रीमान घर बनाउने मजदुरी काम गर्छन्। घर बनाउने व्यवसाय घट्दा श्रीमान पनि बेरोजगार बन्न पुगेको उनले बताइन्।
फुटपाथ खाली गराउने भन्दै फेवाताल किनार पुगेका नगर प्रहरीले फेवातालसम्मै राखेका कुर्ची-टेबल भने हटाएका छैनन्। केही ठेला व्यवसायीलाई पनि त्यत्तिकै छोडेका छन्। चटपटे, चिया, पानी लगायत बेच्ने निमुखा व्यवसायीलाई भने महानगरले दुश्मनी साँधेको अर्का व्यवसायी कमला भण्डारीले बताइन्।
'हामीलाई किन हो काम गरेर खान नदिएको, किन शत्रुको व्यवहार गरेको,' उनले भनिन्, 'हामी कहाँ जाने, के गर्ने हो महानगरले देखाइदिओस्।'
फुटपाथ व्यवसायी हटाउने नाममा नगर प्रहरीले व्यवसायीलाई दुर्व्यवहार गरेका छन्। नगर प्रहरीले ताल किनारमा हिँडेका युवाले किन यस्तो गरेको भनेर सोध्दा 'सिंगल सिंगल लड्न' चुनौती दिए।
फेवाताल किनारमा चटपटे बेच्न बसेकी एक महिलाले राखेको कुर्चीमा एक जना बिरामी बसेका थिए। बिरामी आराम गरेर बस्दासमेत नगर प्रहरीले लखेटेर कुर्ची उठायो। त्यहीँ बसिरहेका अर्का युवाले ती बिरामी व्यक्ति व्यवसाय गर्न बसेको होइन, आराम गरेको हो भनेर सम्झाउँदा नगर प्रहरीले लड्न चुनौती दिएका हुन्।
'म पनि यहीँको लोकल मान्छे हो। तिम्रो दादागिरी चल्दैन,' घुम्न गएका युवालाई लक्ष्य गर्दै नगर प्रहरीले भनेका छन्, 'लड्ने भए सिंगल सिंगल आइज!'
नगर प्रहरीले फेवाताल किनारका व्यवसायीका सामग्री लात्ताले हानेर फालिदिएपछि घुम्न गएका केही युवाले पैसा उठाएर सहयोग गर्ने तयारी गरेका छन्।
महानगरका मेयर आचार्यले भने यसबारे आफू बुझेर मात्र भन्न सक्ने भन्दै फोन राखेका थिए। त्यसपछि उनले फोन उठाएका छैनन्।
यी पनि पढ्नुहोस्-
पोखरा महानगर फेवाताल मिच्नेलाई केही गर्दैन, किनारामा चिया बेच्नेलाई कुटपिट
'सडक व्यवसायीलाई नगर प्रहरी आक्रमण गर्छ, नेपाल प्रहरी लगेर थुन्छ'