बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको घटनामा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन्।
सोमबार अस्पतालमा उपचाररत सुत्केरी महिलाको मृत्यु भएपछि मंगलबार महिलाका आफन्तहरूले मेसु बस्यालमाथि कुटपिट गरेका थिए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) दान बहादुर थापाले उक्त घटनामा संलग्न सात जनालाई बुधबार बिहान पक्राउ गरिएको जानकारी दिए।
पक्राउ पर्नेहरूमा मृतक महिलाको भाइ हरि राजकोटी, प्रगती थापा, लिला थापा, प्रकृति थापा, कुमार थापा, मिलन राना र दिलबहादुर थापा रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।
सुत्केरी महिलाको मृत्यु भएको घटनाबारे आज बिहान २ बजे अस्पतालमा अस्पताल प्रशासन र प्रहरीले पीडित पक्षसँग संयुक्त छलफल गरेको थियो।
छलफलका क्रममा पीडित पक्षका केही व्यक्तिहरूले डाक्टर बस्याललाई कुटपिट गरेका थिए। उनीहरूको आक्रमणबाट बस्यालको टाउको र छातीमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।
आक्रमणबाट गम्भीर घाइते भएका उनलाई घटना लगत्तै लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो। अहिले उनलाई आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
घटना लगत्तै कुटपिटमा संलग्नलाई पक्राउ गरिएको डिएसपी थापाले जानकारी दिए। तर, प्रहरीले उनीहरूविरूद्ध कुनै कारबाही प्रक्रिया अगाडि बढाएको छैन।
अहिले प्रहरी जनशक्ति अस्पताल तर्फ नै केन्द्रित भएकोले पक्राउ परेकाहरुसँग सामान्य सोधपुछ बाहेक अन्य कुनैपनि कारवाही प्रक्रिया अगाडी नबढाइएको डिएसपी थापाले बताए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत विकले पनि राती भएको घटनालाई साम्य पार्न चिकित्सकलाई कुटपिट गर्ने सातजनालाई पक्राउ गरिएको भएपनि अन्य कुनै कारवाही प्रक्रिया अगाडी नबढाईएको बताए।
‘पक्राउ परेकाहरुलाई कस्तो कारवाही प्रक्रिया अगाडी बढाउने भन्दा पनि अहिलेको पहिलो काम भनेको अस्पतालमा उत्पन्न परिस्थितीलाई साम्य बनाउनु हो, उनले भने।
के थियो घटना?
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा गुल्मी घर भई हाल भैरहवा बस्दै आएकी ३५ वर्षीया भवानी राजकोटीलाई सुत्केरी व्यथाले च्यापेपछि अस्पताल लगिएको थियो। मंसिर ११ गते शल्यक्रिया गरी उनलाई सुत्केरी गराइएको थियो। उनले ५ किलोको बच्चा जन्माएकी थिइन्।
मृतक भवानीकी दिदी चन्द्रा सिंजापतिका अनुसार भवानीले लुम्बिनी प्रादेशिक अस्पतालमा नियमित गर्भ परीक्षण गर्दै आएकी थिइन्। अस्पतालले मंसिर २२ गतेका लागि प्रसूती डेट दिएको थियो।
बच्चाको तौल धेरै भएकाले पाँच दिन पहिले लुम्बिनी प्रादेशिक अस्पतालमा चेकजाँच गराएका थिए। रिपोर्टपछि बच्चाले आमाको पेटभित्रै दिसा गरेकाले तत्काल शल्यक्रिया गर्न डाक्टरहरूले सुझाएका थिए।
लुम्बिनी अस्पतालले चिकित्सक र शय्या अभाव भएको भन्दै भवानीलाई अन्यत्र लैजान भनेको चन्द्रा सिंजापतिले बताइन्।
उनलाई सोमबार बिहान साढे आठ बजेतिर मात्र आम्दा अस्पताल लगिएको थियो। अस्पतालले सोमबार विहान ११:७ बजे शल्यक्रिया गरी ५ किलोग्रामको बच्चा निकालिएको थियो।
शल्यक्रिया गरी बच्चा निकालेपछि भवानीको स्वास्थ्य पनि सामान्य नै थियो। भोलिपल्ट (हिजो) बिहान भवानीलाई शय्याबाट उठाउने क्रममा अचानक चक्कर लागेर ढलेपछी उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
चन्द्राका अनुसार भवानीको मृत्यु भएपछि अस्पताल प्रशासनले शव वाहन बोलाएर उनको शव गाडीमा राखिदिएको थियो। त्यसपछि उनका आफन्तहरू आक्रोशित भइ तोडफोडमा उत्रिएका थिए।
‘बहिनीको मृत्यु भएपछि ज्वाइँ निशान थापा बेहोस जस्तै बन्नुभएको थियो, मैले ज्वाइँलाई सम्हाल्नेकी बच्चालाई सम्हाल्ने अवस्थामा पुगेकी थिएँ, त्यस्तो बेलामा शवलाई अस्पतालबाट बाहिर निकाल्न लागेपछि जम्मा भएका आफन्तहरु आक्रोशित भईहाल्छन्,’ चन्द्राले भनिन्।
अस्पतालले भने सहमति भएर पनि शव गाडीमा राखिइसकेको अवस्थामा आक्रोशित समूहले अस्पताल तोडफोड गरेको बताएको छ।
अस्पताल तोडफोड भएपछि प्रशासनले प्रहरीको रोहबरमा पीडितसँग छलफल गरेको थियो। छलफल रातिसम्मै चलेको थियो। अन्तिममा मृतकका आफन्तहरूले मेसु बस्यालमाथि आक्रमण गरेका थिए ।
उनीहरूले कुर्सीको खुट्टा भाँचेर त्यसले बस्यालमाथि आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ।
उनीहरूले अस्पतालको लापरबाहीका कारण भवानीको मृत्यु भएको भन्दै ५० लाख रूपैयाँ रकम क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए।
‘भर्खर जन्मिएको बाबु र घरमा रहेको ६ वर्षको छोरीको भविष्य सुनिश्चित गरिदिन अस्पताल प्रशासनसँग ५० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका थियौं, सहज रुपमा क्षतिपूर्ति दिएको भए घटना अगाडी बढ्ने थिएन,’ उनले सेतोपाटीसँग भनिन्।
उक्त घटना पछि आम्दा अस्पतालमा प्रहरीले सुरक्षा दिएर राखेको छ।
बिहान साढे दुईबजे देखि अस्पताल भित्र रहेका विरामी र विरामीका आफन्त कोहिपनि बाहिर निस्किन पाएका छैनन् भने बाहिरबाट पनि अस्पताल प्रवेश गर्न रोक लगाईएको छ।
प्रहरीको सुरक्षामा रहेको अस्पतालमा कुनैपनि नयाँ बिरामीको भर्ना गरिएको छैन। अस्पताल जाने बिरामीलाई अस्पतालको गेटबाटै फर्काइएको छ।
आइसियूमा उपचाररत डा. बस्यालको स्वास्थ्य अवस्था अहिले खतरामुक्त र स्थिर रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए।
नेपाल चिकित्सक संघ लुम्बिनीले चिकित्सकमाथी कुटपिट गर्नेहरुलाई कारवाही गर्न माग गरेको छ।