अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा समुदायलाई संरक्षणको महत्त्व बुझाउन अहिले पनि कवि एवं कलाकार तल्लीन छन्।
सोमबार मात्र पोखराबाट १९ जना कलाकारको समूह कास्कीको टुसे गाउँ पुग्यो। गाउँले जनजीवन र प्रकृति संरक्षणबारे उनीहरूले चित्र बनाए। गाउँलेलाई देखाए।
एक्याप स्थापना भएपछि गाउँलेलाई प्रकृति संरक्षणको महत्त्व बुझाउन २०४४ सालदेखि यस्तो अभियान थालिएको थियो। त्यति बेला संरक्षण कविता यात्रा नाम दिएर कवि एवं कलाकार गाउँगाउँ पुग्थे। स्थानीय जनजीवनका कविता र चित्रकला कोर्थे र गाउँले एवं स्कुले विद्यार्थीलाई सुनाउँथे।
'कविता र चित्रकलाले अन्नपूर्ण क्षेत्रको जैविक विविधता संरक्षणमा गुणात्मक फड्को मारेको छ,' कवि एवं कलाकार रमेश श्रेष्ठले भने, 'कविता र चित्रकलाले एक्यापको अभियान सफल पार्न ठूलो भूमिका खेलेको छ।'
कवि एवं कलाकार श्रेष्ठ एक्याप अन्तर्गत अन्नपूर्ण प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख हुन्। २०४३ सालमा घान्द्रुकबाट एक्याप गण्डकीका पाँच जिल्लामा फैलिएपछि उक्त अभियान थालिएको थियो। २०४९ सालमा पहिलो पटक 'संरक्षण कला यात्रा' नाममा चित्रकारको सिक्लेस पुग्यो। सिक्लेसमा कलाकारले बनाएको चित्र गाउँमा मात्र देखाएनन्, पोखरा आएर 'पानी रङमा सिक्लेस' शीर्षकमा प्रदर्शनी पनि आयोजना गरे।
त्यसयता चित्रकारको टोली मात्र गाउँगाउँ पुगेर स्थानीय रस्ती बस्ती र प्रकृतिका चित्र बनाउने कार्यशाला केही समय निरन्तर चल्यो। कोभिड–१९ महामारीले रोकिएको संरक्षण कला यात्राले सोमबार टुसे गाउँ पुगेर निरन्तरता पायो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन विश्वमै नौलो तरिकाले गरिएको थियो। एक्याप स्थापनाकालमा योगदान दिएका संरक्षणकर्मीहरू मिग्मा शेर्पा, हर्क गुरूङ, चन्द्रप्रसाद गुरुङ लगायतले समुदायमा चेतना जगाएर संरक्षण गर्नुपर्ने प्रयोग गरेका थिए।
त्यसअघि नेपाल र विदेशमा पनि संरक्षित क्षेत्रहरूमा सेना परिचालित हुन्थे। हतियारबद्ध सेना खटाएर प्रकृति संरक्षण गर्नुभन्दा स्थानीय समुदायलाई नै संरक्षणको महत्त्व बुझाएर संरक्षित क्षेत्र बनाउनुपर्ने संरक्षणविद्हरूको चाहनाअनुसार नै एक्याप स्थापना गरिएका थिए।
एक्याप क्षेत्रका जैविक विविधता एवं वन्यजन्तु जोगाउने काम सजिलो थिएन। शिक्षाबाट पछाडि परेका बासिन्दाको आयआर्जनको मुख्य स्रोत जंगल थिए। जंगली जनावरको शिकार गर्नु उनीहरूका दैनिकी थियो। गाउँगाउँमा, स्कुल स्कुलमा पुगेर एक्यापका कर्मचारी संरक्षणका महत्व बुझाउँथे।
एक्यापले आफ्नो क्षेत्र भित्रका स्कुलहरूमा 'प्रकृतिको सन्देश' नामक स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गरेका थिए। पाठ्यक्रममा एक्याप क्षेत्रभित्र पाइने जैविक विविधता, वन्यजन्तु, संरक्षणको आवश्यकता र महत्त्वका विषय समावेश थिए। यस्ता स्कुल र समुदायसम्म पुगेर कविहरू गाउँकै विषयवस्तुमा कविता कोर्थे। गाउँलेलाई सुनाउँथे। चित्रकार गाउँकै चित्र क्यानभासमा उतारेर गाउँलेलाई नै देखाउँथे।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रविन कडरियाले त्यति बेला कवि एवं चित्रकारले संरक्षणका पक्षमा खेलेको भूमिका बिर्सन नहुने बताए।
एक्याप स्थापना हुनुअघि नांगो डाँडा अहिले जंगल भएको छ। एक्याप क्षेत्रभित्र मात्रै २ प्रतिशत जंगल बढेको कडरियाले बताए।
'समुदायलाई सक्षम बनाएर संरक्षित क्षेत्र बनाउनु अहिले पनि चुनौतीपूर्ण छ। पहिले झनै चुनौती थियो,' उनले भने, 'सबैको साथले एक्याप समुदायबाट संरक्षित विश्वकै उदाहरणीय क्षेत्र बन्न पुग्यो। कवि कलाकारले जनचेतना जोगाउन गुणात्मक भूमिका खेल्नुभयो।'
अन्नपूर्ण क्षेत्रका जैविक विविधता जोगाउन अहिले समुदाय सक्षम बनेका छन्। संरक्षणको महत्त्व बुझेका छन्। स्थानीयबासीलाई गाउँबाट लखेटेर वा सेना परिचालन गरेर होइन, उनीहरूलाई सचेत गराएर पनि संरक्षित क्षेत्र बनाउन सकिन्छ भन्ने उदाहरण एक्यापले दिएको छ।
'नेपालकै सबैभन्दा ठूलो संरक्षित क्षेत्र अन्नपूर्ण क्षेत्रले स्थानीय समुदायलाई लखेटेर होइन, सचेत गराएर संरक्षित क्षेत्र बनाउन सकिन्छ भन्ने उदाहरण एक्यापले दिएको छ,' कडरियाले भने, 'विश्वका लागि अन्नपूर्ण क्षेत्र एउटा उदाहरण हो।'
विश्वलाई उदाहरण दिएको अन्नपूर्ण क्षेत्रमा कला यात्रामार्फत टुसे गाउँ पुगेका चित्रकारहरू भने सोमबार चिन्तित देखिए।
यसअघि आधा दर्जन गाउँ पुगेर कला यात्रा गरिसकेका वरिष्ठ चित्रकार दुर्गा बराल 'वात्सायन' ले हिमालमा हिउँ रित्तिँदा क्यानभासमा पनि हिमाल खुइलिएको बताए।
'पहिला पहिला माछापुच्छ्रेको चित्र बनाउँदा एकाध ठाउँमा मात्र कालो चट्टान देखिन्थ्यो। अहिले कालो पहाड बनाएर एकाध ठाउँमा हिउँका रेखा कोर्नुपर्छ,' उनले भने।
सोमबार टुसे गाउँबाट देखिएको माछापुच्छ्रे हिमालमा हिउँको भागभन्दा कालो चट्टानको भाग धेरै देखिएका थिए।
हरियाली पहाडमाथि उभिएका हिमाल हेर्दै वात्सायनले संरक्षण कला यात्रामा देखिएका कुरा क्यानभासमा उतार्दा अब माछापुच्छ्रे पनि हिमालभन्दा बढी कालो पहाड देखिने बताए।
'हिमालमा हिउँ नै छैन भने हामीले क्यानभासमा भरेर कहाँ हुन्छ र,' उनले भने।
उमेरले ८० नाघेका चित्रकार वात्सायनका अनुसार उहिले उहिले हिमालको खासै याद गर्थेनन्। मानिसहरू जीविका चलाउन र व्यवसायमा तल्लीन थिए। उनले पनि त्यति धेरै याद गरेका रहेनछन्।
'पुरनचौरमा म दाजुको घर जाँदा पहिलो पटक माछापुच्छ्रे हिमाल देखेर दंग परेको थिएँ। त्यसअघि खासै वास्ता थिएन,' उनले भने, 'पुरनचौरबाट देखिएका हिमाल पछि पछिसम्म सपनामा पनि आइरह्यो।'
त्यति बेला अहिलेजस्तो हिमाल छेक्ने घरहरू पोखरामा बनेका थिएनन्। पुरनचौरबाट देखिएको हिमाल पूरै हिउँले ढाकिएको थियो। एकाध घन्टामा हिँडेर पुग्न सकिएला जस्तो नजिकै उभिएको माछापुच्छ्रेको रोमाञ्चक दृश्य अहिले पनि आफ्नो सम्झनामा रहिरेको वात्सायनले बताए।
'अन्नपूर्ण क्षेत्रमा प्रकृति जोगाउन कला यात्रा गर्यौं। प्रकृति संरक्षण भयो पनि,' उनले भने, 'हिमालका हिउँ पनि हामीले सक्ने भए जोगाउन हिँड्थ्यौं। यो हाम्रो काबुमा रहेन।'
कलायात्रामा गाउँगाउँ पुगेर बनाइएका चित्रकला कतिपय कलाकारले बिक्री गर्छन्। देशविदेशका कला पारखीले लगेर सजाउँछन्। कतिपय चित्रकारका चित्र भने एक्याप आफैंले राख्छ। एक्यापले स्वदेशी तथा विदेशी पाहुना अन्नपूर्ण क्षेत्रमा आउँदा सोही कला यात्रामा कोरिएका चित्र उपहार दिन्छ।
'हामीले विदेशी पाहुनालाई संरक्षण कला यात्रामा कोरिएका चित्र उपहार दिन्छौं। मायाको चिनो भनेर अरू उपहार दिँदैनौं,' एक्यापको संग्रहालय प्रमुख एवं कलाकार श्रेष्ठले भने, 'चित्रका पछाडि संरक्षण कला यात्रामा जाँदा यसरी कोरिएको चित्र भनेर क्याप्सन लेखेर दिन्छौं जुन पाहुनाले खुब मन पराएका छन्।'
एक्याप प्रमुख कडरियाले जलवायु परिवर्तनका कारण हिमालमा हिउँ रित्तिने क्रम तीव्र बनेको बताए। पृथ्वीको तापक्रम बढेकाले हिउँ पग्लेर खुइलिँदै गएको उनको भनाइ छ। जलवायु परिवर्तनका विषयमा एक्यापले जनचेतना जोगाउने र अनुसन्धान गर्नेबाहेक अरू काम गर्न नसक्ने बताए।
'हाम्रो कारणले जलवायु परिवर्तन भएको होइन। हिमालमा हिउँ पग्लिने क्रम हामीले रोक्न पनि सक्दैनौं,' उनले भने, 'विकसित औद्योगिक राष्ट्रका कारण हाम्रा हिमाल खुइलिँदै गए। यसमा हाम्रो हात छैन।'
पृथ्वीको तापक्रम बढ्दा पहिलो असर हिमालमा पर्ने भन्दै उनले थोरै तापक्रम वृद्धि हुँदा पनि धेरै हिउँ पग्लिने बताए।