बढ्दो ध्वनि प्रदूषणबाट जनकपुरधामका बासिन्दा हैरान छन्। सवारीसाधनको चर्को हर्न सामाजिक–सांस्कृतिक कार्यमा बज्ने लाउडस्पिकर (चर्को ध्वनिको माइक) बाट पनि सताइएका छन्। यहाँ सामान्य पारिवारिक समारोहमा पनि चर्को आवाजमा गीत बजाउने चलन छ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा ‘कानै फुट्ने’ ध्वनि प्रदूषण छ। विभिन्न समारोह हुँदा मध्यरातसम्म सहरभरी फैलिने गरी लाउडस्पिकर बज्छ। घना बस्तीको सहरभित्रै गाडीको प्रेसर हर्न उस्तै चर्को हुन्छ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ मा ‘ध्वनि, वायु तथा जल प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभाव न्यूनीकरणका लागि संघीय कानून बमोजिम नेपाल सरकारले मापदण्ड निर्धारण गर्न सक्ने’ प्रावधान छ। कानून त छ तर त्यसअनुसार चर्को ध्वनि नियन्त्रण गर्न तीनै तहका सरकारले कुनै चासो देखाएका छैनन्।
जनकपुरमा बजिरहने चर्को ध्वनीबारे जनकपुरधाम उपमहानगरपालिकाका बासिन्दासँग कुरा गरेका छौँ। उनीहरूको अनुभव जस्ताको तस्तै :
मुकेशकुमार दुबे
(वडा नम्बर ८)
ध्वनि प्रदूषणले मलाई सुत्न अप्ठ्यारो भएको छ। दसैं, पूजाआजा र बिहेबारीको समयमा घरमा बस्नै गाह्रो हुन्छ। केटाकेटीको पढाइलेखाइमा असर परेको छ। हामी अबेरसम्म सुत्न सक्दैनौं, चर्को आवाजले राम्ररी निद्रा पर्नै दिँदैन। बल्लबल्ल निदाएको हुन्छ बिहानै चर्को हर्न बज्न थाल्छ। निद्रा नपुगेर दिनभर तनाव हुन्छ। सानो आवाजमा बजेको भए खासै समस्या हुँदैनथ्यो तर कानै खाने गरी बज्छ। सडकको चर्को हर्न सुनिरहँदा धेरैजसो मेरो टाउको टन्किन्छ।लाउड स्पिकर बजाउनु यहाँको फेसन हो। सानोठूलो जे कार्यक्रममा पनि लाउडस्पिकर बज्छ। मन्दिर, मस्जिद, घर सबैतिर बज्छ। बिहानदेखि दिउँभरि गाडीको हर्न अनि साँझदेखि मध्यरातसम्म लाउडस्पिकर बज्छ। गाडीको हर्न जति चर्को बजाए पनि कसैले केही कारबाही गर्दैन। यस्तो चर्को आवाज नियन्त्रण गर्न कोही चाहँदैन। पारिवारिक कार्यक्रममा जति ठूलो आवाजमा माइक इज्जत हुन्छ भन्ने मानसिकता छ।
यहाँ माइक बजाउन कम्पिटिसन (प्रतिस्पर्धा) हुन्छ।
आशा मिश्र
(वडा नम्बर ७)
मेरो घरअगाडि ठूलो साउन्डमा माइक बजिरन्छ। नजिकैका मन्दिर र मस्जिदमा बिहान चार बजेदेखि राती अबेरसम्म लाउडस्पिकर बजिरहन्छन्। बजाएपनि सानो आवाज पार्दा के हुन्थ्यो र?
हामी अलिक ढिला सुत्छौं, बिहान पनि अलिक ढिलो उठ्छौं तर माइकको आवाजले बिहान सुत्नै दिँदैन। घरमा एकअर्काले बोलेको पनि सुनिँदैन। मोबाइल फोनमा कुरा गर्न त झन गाह्रो हुन्छ। बिहे लगायतका समारोहमा बजाइने माइक चारै दिशामा राखिएका हुन्छन्। चर्को आवाजमा गीत बजाउने चलन छ।
पाँच मिनेट सडकमा उभिनुपर्यो भने गाडीको हर्नले मुटुको धड्कन बढ्छ, मुटु नै बाहिर निस्केला जस्तो हुन्छ। एकपटक सिडियो (प्रमुख जिल्ला अधिकारी) लाई भेटेर गुनासो गर्यौं, चर्को साउन्ड नियन्त्रण गरिदिनुपर्यो भनेर आग्रहगर्यौं। तर हाम्रो कुरा एक कानले सुनेर अर्को कानले उडाइदिए।
ठूलो साउन्डले चर्को आवाले सहरमा सबैलाई समस्या भएको छ तर नियन्त्रणका लागि कतैबाट पहल भएको छैन।
दिव्याकुमारी महतो
(वडा नम्बर ९)
म दिनभर ड्युटी गरेर गरेर घर जान्छु तर बाहिरको चर्को आवाजले आराम गर्न पनि दिँदैन। राति राम्ररी निद्रा पर्न पाउँदैन। हरेक दिन कसै न कसैको घरमा माइक बजेकै हुन्छ। बिहेको सिजनमा दिउँसो काम गर्न, घरमा बस्न र राति सुत्न पनि मुस्किल पर्छ। सबैले मनोरञ्जन गर्न पाइन्छ। मन्दिर र मस्दिजमा माइक बजाउन पाइन्छ तर अरूलाई असर पुर्याउनु भएन। सानो, ठिक्कको आवाजमा बजाउनु पर्यो। घरमा मनोरञ्जन गर्दा टोलका बासिन्दाको निद्रा बिगार्नु भएन। विद्यार्थीहरूको पढाइमा असर पुर्याउनु भएन। यत्ति कुरा पनि कसैले बुझ्दैनन्।
यहाँका मान्छेले त बजाउन खोज्छन् तर प्रशासनले हेर्नुपर्ने हो। कानून कार्यान्वयन गर्नुपर्ने हो। यसमा प्रशासनको ध्यान छैन। सबैसँग छलफल गरेर एउटा राम्रो निष्कर्षमा पुग्न प्रशासनले पहल गरे हुन्थ्यो। माइक र गाडीको हर्नको चर्को आवाजले हामी सहरवासी हैरान छौं।
बस्ने रमेश जयसवाल
(वडा नम्बर ८)
मेरो घरमा सानो बच्चा छ। चर्को आवाज सुन्नु परेर उ राम्ररी निदाउन पाउन्न निदाइहाले पनि बिचमा झस्किरहन्छ। यहाँ साउन्ड पोलुसन (ध्वनि प्रदूषण) एकदम धेरै छ। डिजे र हर्नको आवाजले सबैलई गाह्रो पारेको छ। मेरा बच्चाको हालत के होला! उसको स्वास्थ्य कस्तो होला, मलाई चिन्ता छ। यहाँ डिजे बाजा र माइक बजाउनमा देखासिकी हुने गरेको छ। केही वर्षअघिसम्म यति चर्को गरी माइक र डिजे बजाउने चलन थिएन। अहिले त कसले ठूलो आवाजमा बजाउने भन्ने प्रतिस्पर्धा चल्छ। युवा वर्गलाई डिजेको लत नै लागिसक्यो।
यो सरकार एक दिनमा टिकटक बन्द गराउन सक्छ, महिनादिनसम्म निषेधाज्ञा जारी गर्न सक्छ। जनकपुरको ध्वनि प्रदूषण किन नियन्त्रण गर्न नसकेको होला! राज्यले चाहने हो भने नियन्त्रण हुन सक्छ। राजनीतिक कार्यकर्ता, समाजिक अगुवा र धार्मिक अगुवाहरूसँग समन्वय गर्ने हो भने नियन्त्रण हुन्छ।
आशुतोष कर्ण
(वडा नम्बर १०)
डिजे र हर्नको चर्को आवजले घरमा सबैलाई डिस्टर्ब (अवरोध) भएको छ। सुतेका बालबालिकाहरू अचानक आत्तिँदै उठ्छन्। घरमा बिहान–बेलुका पढ्न पनि समस्या भएको छ। घरका ठूला मान्छेलाई चिडचिडापन हुन्छ।
प्रशासनले गएको दीपावलीमा ठूलो आवाजमा पटाका नपड्काउन भनेको थियो तर कसैले मानेन। ठूल्ठूला बमपटाका पड्काए। लक्ष्मी पूजाको रात पटाकाको ठूलो आवाजले मेरी आमाको ब्लड प्रेसर (रक्तचाप) बढ्यो, राति एक बजे अस्पतालमा लिएर जानुपर्यो।
डाक्टरले शान्त ठाउँमा बस्नु भने। घर छाडेर कहाँ जानु!
यहाँ पढालेखा मानिसहरू नै साउन्ड पोलुसन (ध्वनि प्रदूषण) मा संलग्न छन्। बर्थ डे, बिहे, पूजा, भजन अनेक नाममा ठूलो आवाजमा माइक बज्छ। यस गर्नु त जनस्वास्थ्यमा खेलवाड हो। यस्तो साउन्ड पोलुसन नियन्त्रण गर्न स्थानीय प्रशासनले र स्थानीय तहले ध्यान दिनुपर्यो।
पुरनेन्दु झा
(वडा नम्बर १३)
ठूलो अवाजमा बज्ने डिजे, माइक र हर्नले हाम्रो व्यक्तिगत र पारिवारिक जीवनमा ठूलो असर परेको छ। रातमा लेखपढ गर्न र सुत्न समस्या हुन्छ। एउटा घरमा डिजे बज्दा पूरै टोलमा असर पर्छ। साउन्ड पोलुसनको ठूलो समस्या छ। सबैलाई असर परेको छ तर बोल्ने हिम्मत कसैले गरेको छैन। यस्तै हो भने त कहिल्यै समाधान हुँदैन। जनस्तरबाट आवज पनि उठेको छैन। उपमहानगरपालिका जनप्रतिनिधिले चाहने हो भने साउन्ड पोलुसन नियन्त्रण हुन्छ। जनप्रतिनिधिले प्रहरीलाई सहयोग गर्नुपर्यो। कति ठूलो आवाजमा बजाउन पाउने भन्ने निर्धारण हुनुपर्यो।
असगर अली
(वडा नम्बर ६)
जनकपुरधामका सबै मानिसलाई यहाँको चर्को साउन्डको असर परेको छ। यहाँका धेरै मानिस हाई ब्लड प्रेसर (उच्च रक्तचाप) बाट पीडित छन्। मुटुका रोगीलाई झन् ठूलो समस्या भएको छ। डिजे, माइक र गाडीको हर्नको आवाज नियन्त्रण गर्नुपर्यो। डिजेमा अश्लील गीत पनि बज्ने गरेको छ। यसले जनकपुरको संस्कृतिमाथि पनि धावा बोलेको छ। डिजे त रोक नै लगाउनुपर्छ। मस्जिद र मन्दिरमा बज्ने माइकको आवाज घटाउनुपर्छ। प्रशासन अघि सर्ने हो भने कठिन छैन तर यहाँको प्रशासन नै सक्षम छैन। उपमहानगर प्रशासनले पनि ध्वनि प्रदूषण नियन्त्रण गर्न कुनै काम गरेको छैन। जनप्रतिनिधि र प्रशासन मिलेर काम गर्ने हो भने जनकपुरको ध्वनि प्रदूषण नियन्त्रण हुन्छ।
बजाउनै नपाउने भन्ने होइन तर अरूलाई असर पार्नु भएन छ। बजाउनेलाई पनि असर परेकै छ उल्टै प्रतिस्पर्धा हुने गरेको छ।
कुन्दन कौशिक
(वडा नम्बर ९)
घरघरमा बालबालिकालाई पढ्न समस्या भएको छ। कर्मचारी र कामदारहरू दिनभरको कामले थाकेर घर आउँछन् तर शान्त वातावरणमा आराम गर्न पाउँदैनन्। निद्रा लाग्न पाउँदैन।
प्रशासनले ध्वनि प्रदूषण नियन्त्रण गर्न सूचना त निकाल्छ तर अनुमगन गर्दैन। नगरपालिकासँग ध्वनि प्रदूषण नियन्त्रण गर्ने कुनै योजना र कार्यक्रम छैन्।
ध्वनि प्रदूषणको असरबारे जनचेतना जगाउने कार्यक्रम गर्नु पर्यो। स्थानीय तहले ध्यान दिने हो भने ध्वनि प्रदूषण नियन्त्रण हुन्छ। जनकपुरमा ध्वनि प्रदूषण धेरै छ, जनस्वास्थ्यमा असर परेको छ भन्ने सबैलाई थाहा छ तर नियन्त्रणका लागि पहल भएको छैन।
गोविन्द साह
(वडा नम्बर १५)
टोलमा दिनैपिच्छे कुनै न कुनै पूजा भएको हुन्छ। बिहेको सिजन आएको छ, डिजेले सुत्न दिँदैन। घरभित्र एउटाले बोलेको आवाज अर्कोले सुन्दैन। साउन्ड घटाउन आग्रह गर्दा मानिसहरू झगडा गर्न आउँछन्।
हामी कहिलेकाहीँ वडाध्यक्षलाई भन्छौं। उहाँले पहल गर्दा केही कम हुन्छ फेरि तर एकदुई दिनमा उस्तै चर्को बज्छ। धेरै घर भएकैतिर माइक घुमाइदिएको हुन्छ।
कानूनी कारबाही नहुने भएपछि ध्वनि प्रदूषणको वास्ता नगरी मनोरञ्जन गर्न चाहनेहरूको मनोबल बढेको छ। हाम्रो प्रशासन निकम्मा छ। जनप्रतिनिधिहरू पनि चुपपाच बसेका छन्।
रिन्कु यादव
(वडा नम्बर ४)
डिजे, माइक र गाडीको हर्नले हैरान पारेको छ। घरमा र अफिसमा काम गर्न, बाटो हिँड्न पनि गाह्रो भएको छ। वरिपरिबाट चर्को आवाज आउँछ। मेरो त लेखपढ गर्ने काम हो। ध्वनि प्रदूषणका कारणले मेरो काममा असर परेको छ।
यस्तो ध्वनि प्रदूषण नियन्त्रण गर्ने कानून छ। प्रशासनले ध्यान दिने हो भने नियन्त्रण हुन्छ। नागरिकहरूले पनि कुरा बुझ्नु पर्यो। जिल्ला प्रशासन कार्यालय अगाडि नै चर्को साउन्ड बजेको हुन्छ तर नियन्त्रणका लागि कुनै काम हुँदैन। कानून कार्यान्वयन गर्ने र गराउने काम जिल्ला प्रशासन कार्यालयको हो तर उसले वास्ता गरेको छैन।
डिजे र माइक बजाउनै हुँदैन भन्ने होइन तर जनस्वास्थ्यमा अपर पर्ने गरी बजाउनु भएन। कानून कार्यान्वयन गर्ने जिम्मेवार निकायहरूले पहल गर्ने हो भने समस्या समाधान हुन्छ। यसमा अब जनकपुर उपहानगरका जनप्रतिनिधि अघि सर्नु पर्यो।
यो पनि हेर्नुहोस: