जाजरकोटको नलगाड नगरपालिका–१ चिउरी गाउँमा १९२ घरधुरी छन्। भुकम्पले सबैभन्दा धेरै क्षति पुगेको उक्त गाउँमा तीमध्ये आधा घरपरिवारले मात्र भित्र्याएको अन्न निकाल्न पाए।
अहिले गाउँका जोखिमपूर्ण संरचनाहरुलाई डोजर लगाएर फालिएको छ। डोजरले भत्काएका घरहरुबाट भाँडाकुडा र लत्ताकपडा मात्र निकाल्न सकियो। अन्न भने माटोमै मिल्यो।
सरकार, विभिन्न संघसंस्था र व्यक्तिबाट राहतस्वरुप प्राप्त खाद्यान्नले पालमुनि बसेका परिवारले गर्जो टारिरहेका छन्। अबको केही महिनाभित्र गाउँमा खाद्य संकट निम्तिने जोखिम देखिएको छ।
‘खाद्य संकट भन्दा पनि गाउँमा त भोकमारी नै पर्ला भन्ने पो पिर छ, आधा भन्दा बढी घरबाट अन्नपात निकाल्न पाइएन, हामीले राहतस्वरूप एकहोरो वितरण गरेको खाद्यान्न र घरहरूबाट निकालिएको खाद्यान्न बाँडीचुँडी तत्काल भोक टार्ने काम भएको छ,’ नलगाड–१ का वडाध्यक्ष धर्मेन्द्र महर भन्छन्, ‘अब खाद्य संकट सुरू भयो भने र समाधान हुन सकेन भने डेढ बर्ष जति नै लम्बिन्छ होला।’
महरका अनुसार वडाभर ८५० घरधुरी छन्। तीमध्ये ५०० जति घरधुरीमा पूर्ण क्षति भएको छ। वडाका सबै गाउँमा त्रिपालमुनि बसेकाहरूले नजिकै जसको घरबाट अन्न निकाल्न पाइएको छ, तिनैसँग अैंचोपैंचो गरेर छाक टारिरहेका छन्।
उत्पादन भन्दा भारत गएर हुने कमाईमा बढी निर्भर हुने गाउँका परिवारले भुकम्पका कारण खाद्य संकट व्यहोर्नुपर्ने निश्चित जस्तै भएको वडाध्यक्ष महर बताउँछन्।
‘अब लामो समयसम्म रोजगारीका लागि भारत जान पनि बन्द हुनेवाला छ, घरबाहिर बारीमा जहान–छोराछोरी छोडेर पुरूषहरू कसरी भारत जाउन्,’ उनले भने, ‘घरभित्र भित्र्याएको मकै, धान जस्ता बाली माटोमा मिसिएका छन्, गहुँ हुर्किने सिजनमा परिवारै तिनै खेतबारीमा बसेका छन्। यी विभिन्न कारणले खाद्य संकट हुनेवाला छ।’
कात्तिक १७ गतेको भुइँचालोबाट जाजरकोटका ६३ वटा वडाहरू प्रत्यक्षरुपमा प्रभावित छन्। तीमध्ये भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिकाका वडाहरू बढी प्रभावित भएका छन्। भुइँचालेबाट संरचनामा पूर्ण क्षति भएका र मानवीय क्षति भएका वस्तीहरूमा खाद्य संकट निम्तिने आकलन जिल्लाको विपद् व्यवस्थापन समितिले पनि गरेको छ।
यस्ता वस्तीहरुमा तीन महिनाभित्र खाद्य संकट निम्तिन सक्ने आकलन विपद व्यवस्थापन समिति को छ।
‘अबको तीन महिनापछि भुकम्पले बढी क्षति भएका वस्तीहरूमा खाद्य संकट आउन सक्छ, यलाई कसरी समाधान गर्ने भन्नेतर्फ लाग्नुछ,’ जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रजिअ सुरेश सुनार भन्छन्, ‘मंसिर महिनाभित्रै अस्थायी टहरा निर्माण र संकट हुन नदिनेगरि खाद्यान्न आपूर्तिमा सबैको सहकार्य जरूरी रहन्छ।’
बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरी पनि अबको तीन महिनापछि भुकम्पबाट बढी क्षति व्यहोर्नुपरेका वस्तीहरू खाद्य संकटको नजिक रहेको बताउँछन्। उनका अनुसार बारेकोटका ९ वटै वडाहरूका वस्तीहरुले भुकम्पका कारण कुनै न कुनै क्षति भोग्नुपरको छ। १ हजार भन्दा बढी घरहरू ढलेको उनले बताए। ढलेका घरमा भित्रिएको अन्न माटोमा मिलेको उनी बताउँछन्।
‘अहिले कात्तिक महिनामा विपद् आएको हुनाले सबैघरमा अन्न भित्रिएको थियो। नढलेका घरहरूमा भित्र्याइएको अन्न छ, पूर्ण क्षति भएका घरभित्रको अन्न माटोमा मिल्यो। त्यस्ता घरका परिवारले त अहिलेदेखि नै अभाव झेल्न सुरू भइसकेको छ,’ गिरीले भने, ‘केही महिनापछि पनि प्रभावित क्षेत्रका परिवार घर पुनर्निर्मामाण केन्द्रित हुनुपर्ने भएपछि उत्पादनतर्फ लाग्न पाउँदैनन्, त्यसैले उनीहरू सबै खाद्य संकटको नजिक छन्।’
जिल्ला कृषि विकास कार्यालय जाजरकोटले पूर्ण क्षति भएका घरहरूबाट खाद्यान्नमा भएको क्षतिको प्रारम्भिक विश्लेषण गरेको छ। पूर्णरूपमा क्षति भएका घरहरूको उत्पादनको हिसाबले खाद्यान्न क्षतिको विश्लेषण गर्दा १ हजार ९४० मेट्रिक टन खाद्यान्न नष्ट भएको देखिन्छ।
सबै घरधुरीमा नष्ट भएको खाद्यान्नलाई औषतमा विश्लेषण गर्दा भने २८ लाख २८ हजार ७२५ किलो खाद्यान्न नष्ट भएको प्रारम्भिक तथ्याङ्क बनाईएको कार्यालयका अधिकृत टोपबहादुर नेपालीले बताए। त्यो भनेको दुई हजार ८२९ मेट्रिक टन हो।
‘यसलाई जिल्लाको सरदर मुल्य सूचीअनुसार हिसाब गर्ने हो भने नौ करोड २६ लाख ५८ हजार ९०० रुपैयाँ बरारबरको खाद्यान्न नष्ट भएको भन्ने हाम्रो विश्लेषण छ,’ नेपालीले भने, ‘तर यो प्रारम्भिक डाटा मात्र हो, हामीले यसै कामका लागि प्राविधिक टोली खटाएका छौं, उहाँहरु घरघरमै पुगेर क्षतिको विवरण संकलन गर्ने भएकाले केही समय यकिन तथ्याङ्क आउन लाग्छ।’
भुकम्पका कारण यो बर्ष गहुँ उत्पादनमा निकै कमी आउने अनुमान कृषि विकास कार्यालयको छ। गहुँ हुर्किने समयमा भुइँचालोबाट प्रभावित मानिसहरू गहुँबारीमै टेन्ट लगाएर बसेकाले उत्पादनमा कमी आउने नेपाली बताउँछन्।
जाजरकोटमा मकैपछिको दोस्रो बाली गहुँ हो। जिल्लामा १० हजार ४०० हेक्टर जमिनमा गहुँ उत्पादन गरिन्छ।
यसैपनि बर्षेनी खाद्यान्न अपुग हुने जिल्लामा यो विपदले संकट निम्त्याउन सक्ने नेपाली बताउँछन्। उनका अनुसार गत बर्ष पनि जाजरकोटमा तीन हजार ४८८ मेट्रिक टन खाद्यान्न अपुग भएको थियो। प्रत्येक बर्ष ३ हजार ५०० मेट्रिक टन खाद्यान्न जिल्ला बाहिरबाट आयात गर्नुपर्ने उनले बताए।
प्रभावित क्षेत्रमा खाद्यान्न संकट भइहाले समाधान गर्ने प्रयासमा विपद व्यवस्थापन समिति लाग्ने जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए। उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डीपोहरुमा मौज्दातबाहेकको खाद्यान्न थप गर्ने तयारी गरिएको छ।
‘संकट परिहाल्यो भने टार्नका लागि प्रभावित वडाहरूमा पनि उपलब्ध भएजति खाद्यान्न भण्डारण गर्ने कि भन्ने छलफल चलेको छ, यसको निर्णय भने भईसकेको छैन,’ शर्माले भने।
प्रशासनले भुकम्प प्रभावित वस्तीमा हुन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै मौज्दात चामल थप्न निर्देशन दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख रामप्रसाद पौड्यालले बताए।
‘हामी विपद व्यवस्थापन समितिले अलर्ट रहन भनेकाले त्यसअनुसार थप चामल खरिदको प्रक्रियामा छौं, प्रभावित क्षेत्रहरूमा सस्तो चामलको माग भएको छ, हामीले सस्तो पाएका छैनौं,’ पौड्यालले भने, ‘तत्कालै कम्पनीबाट गाउँमा पुर्याउनुपर्ने अवस्था आएको छैन, केही समयभित्र मौज्दात चामलमा पनि थप गरिहाल्छौं।’
कम्पनीको सदरमुकामस्थित गोदाम र सदरमुकाम बाहिरका गोदाममा गरी तत्काल एक हजार क्वीन्टल चामल मौज्दात छ। अहिले मकवानपुर, जीरा मसिनो र मोटो चामल जिल्लामा रहेको उनले बताए।
भुकम्पबाट बढी प्रभावित क्षेत्रमा कम्पनीका तीनवटा गोदाम छन्। प्रभावित स्थानीय तहहरूमध्ये भेरी नगरपालिकाका लागि सदरमुकाम, नलगाडका लागि चौखा बजार र बारेकोटका लागि घाट भन्ने ठाउँमा गोदामहरू छन्। कम्पनीका चार वटा डीपो र चार वटा बिक्री केन्द्रमा केही समयभित्रै चामल मौज्दात राखिने कार्यालय प्रमुख पौड्यालले बताए।